अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

अमेरिकामा नेपाली मूलका वैज्ञानिक डा झा ‘सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित

विजय थापा २०७६ कार्तिक ३० गते १०:४४ मा प्रकाशित

डिसी, नेपाल जनकपुर धनुषा देवदिहा घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक डा सतिश चन्द्र झा ‘सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् । उनी इन्टेल संस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसनले सम्मान गरेको हो । उनलाई उक्त पुरस्कार इन्टेलका प्रमुख कार्यकारी अधिकारी (सिइओ) बब स्वानले टप इन्भेन्टर २०१९ अवार्ड अर्थात् सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मान गरेका हुन् । यो पुरस्कार शीर्ष अन्वेषकहरूलाई दिइन्छ जसको योगदान / आविष्कारहरूले नयाँ र उदाउँदो प्रविधिहरूको विकासमा ठुलो प्रभाव पार्दछ । डा झा वायरलेस सञ्चार सञ्जाल र टेक्नोलोजीको क्षेत्र भित्र विश्व स्तरका अन्वेषक र समस्या समाधान कर्ता हुन्।

यी क्षेत्रहरू बिच-पहिले कहिल्यै समाधान नभएका समस्याहरू समाधान गर्ने उनको विशिष्ट र अतुलनीय दृष्टिकोण महत्त्वपूर्ण छ , जुन ११० भन्दा बढी आविष्कारहरू अमेरिकाको प्याटेन्टको रूपमा स्वीकृत भएका छन् । उनको असाधारण अनुसन्धानको परिणामस्वरूप नवीन र अग्रणी प्रविधिहरू छन् जुन वायरलेस, इन्टरनेट प्रयोगकर्ताहरूको वर्तमान अनुभव र वायरलेस नेटवर्कको भावी पीढीमा प्रयोगकर्ताको अनुभवमा उल्लेखनीय वृद्धिको लागि उपयोग गर्न सकिन्छ । सन् २००४ मा डा झाले त्रिभुवन विश्व विद्यालयबाट बिई गरेका हुन् भने उनले सन् २००७ मा एआइटी थाइल्यान्डबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् ।

सन् २००७ मा फ्रान्सबाट सञ्चार अंतर्जाल तथा सेवामा एमएससी गरेका छन् । यसको साथै सन् २०१३मा क्यानडाको ब्रिटिस कोलम्बिया विश्व विद्यालयबाट ईसिईमा विद्यावारिधि (पिएचडी) गरेका छन् । हाल उनी वरिष्ठ अनुसन्धान वैज्ञानिकको रूपमा अमेरिकाको विश्व प्रसिद्ध इन्टेल कर्पोरेसनको इन्टेल ल्याबमा कार्यरत छन् । उनी ५ जी/६जि सेलुलर मोबाइलको अनुसन्धान लगायत अन्य महत्त्वपूर्ण अनुसन्धानमा संलग्न छन् । उनले यसको अतिरिक्त फ्रेन्च क्षेत्रीय कर्पोरेसन फेलोशिप २००७ ,थाइल्यान्डमा दि आओयागी पुरस्कारद्वारा सबै भन्दा उत्कृष्ट शैक्षिक प्रदर्शन पुरस्कार बाट सम्मानित भएका छन् ।

सन् २००५ मा थाइल्यान्डका राजाद्वारा राखिएको एसियाको लागि शैक्षिक छात्रवृत्ति प्राप्त गर्नुको साथै सन् २००७ मा नेपालका राष्ट्रपतिद्वारा नेपाल बिद्याभुषण प्राप्त गरेका छन् । अमेरिकामा स्थापित मधेसी एसोसिएसन इन अमेरिका(एमएए -MAA )ले छापा विज्ञप्ति जारी गर्दै सम्मानित हुनु हुने वैज्ञानिक डा सतिश चन्द्र झालाई बधाई दिएको छ ।

प्रतिक्रिया