अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

कोलोराडोमा ११० औ लक्ष्मी जयन्ती तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते ९:२३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको आयोजनामा थ्रन्टन, कोलोराडोमा ११० औँ लक्ष्मी जयन्ती तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा महाकवि देवकोटाको कृतित्व तथा व्यक्तित्वको चर्चा, साहित्यकार उपमा आचार्यद्वारा लिखित छन्द कवितासंग्रह ‘मातृवन्दना’को विमोचन, साहित्यिक रचनाहरूको वाचन, तथा देवकोटाद्वारा सिर्जित गीत गायन भएको थियो ।

च्याप्टरको अध्यक्ष तारा अधिकारीको सभापतित्व पश्चात् सुरु भएको उक्त कार्यक्रममा सहभागी साहित्य अनुरागीहरूलाई च्याप्टरका महासचिव सम्झना खनाल आचार्यले आफ्नो स्वागत भाषणद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरूले महाकवि देवकोटाको तस्बिरमा पुष्प अर्पण गरेर आफ्नो श्रद्धा व्यक्त गरेका थिए भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टिजका सदस्य डा. विजयराज शर्माले देवकोटाको जीवनी र कृतित्व माथि चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तारा अधिकारी, साहित्यकार प्रमीला शर्मा, साहित्यकार आचार्य प्रभा तथा कोलोराडो च्याप्टरका उपाध्यक्ष मिना पौडेलले साहित्यकार उपमा आचार्यलाई पुष्प गुच्छाद्वारा र खादाद्वारा स्वागत र सम्मान गर्नु भए पश्चात् संयुक्त रूपमा उहाँद्वारा लिखित छन्द कवितासंग्रह ‘मातृवन्दना’को विमोचन गर्नुभएको थियो । पूर्व अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले साहित्यकार उपमा आचार्यको संक्षिप्त जीवनी तथा वहाँद्वारा लिखित छन्द कवितासंग्रह ‘मातृवन्दना’ माथिको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । यसै गरी साहित्यकार उपमा आचार्यले आफ्नो कृति ‘मातृवन्दना’ को पृष्ठभूमि र यसलाई लेख्न प्राप्त भएको प्रेरणाको विषयमा जानकारी दिनुभएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्माले कार्यक्रमको सम्बन्धमा आफ्नो मन्तव्य राख्नुको साथै महाकवि देवकोटा माथि लेखिएको आफ्नो गजल सुनाउनुभएको थियो । यसै गरी कार्यक्रममा गायक रविन रेग्मीले देवकोटाको ‘यात्री’ कवितामा आधारित ‘कुन मन्दिरमा जान्छौ यात्री?’ बोलको गीत गाउनुभएको थियो भने गायिका तथा भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी सम्झना पाण्डेले देवकोटाको ‘मुना मदन’बाट लिइएको गीत गाएर सुनाउनुभएको थियो ।

यसको अतिरिक्त कार्यक्रममा सहभागी साहित्यकारहरूले महाकवि देवकोटासँग सम्बन्धित तथा अन्य कविता र गजलहरू वाचन गर्नुभएको थियो । यसरी रचना वाचन गर्नुहुनेहरुमा आचार्य प्रभा, निर्मल प्याकुरेल, छवि रसाइली, केशव आचार्य, मैयाँ अधिकारी, वासुदेव खनाल, सम्झना आचार्य खनाल, प्रमीला शर्मा, भूपेन्द्र महत, विजयराज शर्मा, मिना पौडेल, कृष्ण मुरारी ढुङ्गेल, ज्ञानेन्द्र गदाल, ज्ञानेन्द्र राज काफ्ले र पदम विश्वकर्मा हुनुहुन्थ्यो । कार्यक्रमको अन्तमा अनेसास, कोलोराडो च्याप्टरका अध्यक्ष तारा अधिकारीले कार्यक्रम आयोजना गर्न सहयोग गर्ने तथा कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रमको समापन गर्नुभएको थियो।

कार्यक्रमको बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।



प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू