अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 08:53

आज विश्व अहिंसा दिवस

डा. दुर्गा दाहाल, “अनुभव” २०७६ असोज १५ गते १८:१४ मा प्रकाशित

अहिंसा परम धर्म हो । हिंसाबाट कुनै पनि समस्याको दीर्घकालीन र सर्वकालीन समाधान निक्लिँदैन । क्षणिक रूपमा कसैले हिंसाद्वारा केही कुराहरू/ द्रव्यहरू प्राप्त गर्ला तर परन्तुमा हिंसा गर्ने व्यक्तिलाई मानसिक शान्ति मिल्दैन ।

धेरै टाढा नगई, नेपालकै परिप्रेक्ष्यमा हेर्दा पनि हुन्छ । कामरेड प्रचण्ड र बाबुराम भट्टराईलाई हेरौँ । अरूलाई हिंसा र अशान्ति दिएर खोइ शान्ति भयो त उहाँहरूलाई । यिनीहरू त केवल प्रतिनिधि पात्रहरू मात्र हुन ।

इतिहासको अलिक पछिल्लो कालखण्डमा गएर हेर्दा नक्सलाईट हरूलाई पनि हेर्न मिल्छ जसले लुकेर, छलेर धेरैको ज्यान लिएका थिए । अन्ततोगत्वा, हतियार त्यागेर यिनीहरू पनि शान्ति र अहिंसाको पक्षमा आए । ( यद्यपि यी दुवै थरीहरू कार्यार्थ र प्रकृतार्थमा अझै मानवता वादी, शान्ति वादी र अहिंसा वादी हुन कि हैनन् भन्ने सवालमा शङ्कै छ)

जङ्गली जनावरहरू हिंसक हुन्छन् । घर, परिवार, समाज र समुदायमा बस्ने मानिसहरू जहिले पनि अहिंसा, प्रेम, शान्ति र सद्भावमा विश्वास राख्छन् ।

हिंसा गर्ने, परपीडन, अत्याचार, व्यभिचार, बलात्कार र भ्रष्टाचार गर्ने मानिस हरूलाई समाजमा बस्ने कुनै अधिकार हुन्न । यिनीहरू असामाजिक हुन्छन्, अमानवीय र ध्वंसात्मक प्रकृतिका हुन्छन् । यिनीहरूलाई सामाजिक रूपमा पनि बहिष्कार र तिरस्कार गरिनु पर्छ ।

गल्तीहरू दुई किसिमका हुन्छन् । क्षम्य र अक्षम्य । अक्षम्य गल्ती हरूलाई अपराध भनिन्छ । बलात्कार, चरम भ्रष्टाचार, मानव तस्करी, मानव हत्या, मानव बेच बिखन आदिलाई अहिलेको सभ्य संसारमा अक्षम्य कुकृत्य मानिन्छ ।

आधुनिक सभ्यताको पोसाक पहिरिएर जङ्गली युगको व्यवहार गर्ने मनुष्य रूपी प्राणीलाई धिक्कार छ । यदि सभ्य समाजमा बस्ने चाहना कसैले राख्छ भने सर्वप्रथम खुद सभ्य हुनु पर्छ । हैन भने, उसले लुगा फुकालेर जङ्गल पस्नु पर्छ । सभ्य हुन्छु भनेर जङ्गलबाट आएका हरूले सभ्य, सौम्य र शालीन भएर शान्ति स्थापनार्थ मानव हितमा लाग्नु पर्छ । समाज र समुदायको कल्याण गरेर प्रायश्चित गर्नु पर्छ ।

कुनै व्यक्ति ज्ञानी र विद्वान हुँदाँ हुँदै पनि विवेकी नहुन सक्छ । उदाहरण स्वरूप, मानिस मार्ने व्यक्ति हरूलाई लिन सकिन्छ । यिनीहरू कहिल्यै विवेकी हुन सक्तैनन । मानिस मार्ने व्यक्तिहरू कुनै पनि कल्याणकारी राष्ट्रको राष्ट्रप्रमुख र स्थानीय प्रमुख पनि हुन नपाउनु पर्ने हो तर विडम्बना यस्तै मानिसहरू साम, दाम, दण्ड, भेदका आधारमा हत्या र हिंसाकै बलले शासनमा टिकी रहने प्रयत्न गर्छन् ।

स्मरण रहोस् हत्या र हिंसाद्वारा मानव जातिको कहिल्यै कल्याण हुन्न; अपितु समझदारी, माया, ममता, अहिंसा, शान्ति र सद्भावना बाटनै सबै समाधान हरूको स्थायी समाधान निस्किन्छ ।

आजको यो अहिंसा दिवसको अवसरमा महा मानव बी. पी कोइराला र महात्मा गान्धीलाई सम्झिन चाहन्छु । बी. पी कोइरालाले महात्मा गान्धीको अङ्ग्रेज विरोधी अहिंसात्मक आन्दोलनको परिणाम स्वरूप भारत स्वतन्त्र भएको देखेका थिए । पछि गएर, अहिंसाकै माध्यमबाट राष्ट्रिय, प्रजातन्त्र र समाजवादको सिद्धान्तद्वारा नेपालको उज्ज्वल भविष्यको कल्पना गरेका थिए ।

तर विडम्बना । नेपाली काँग्रेसका अहिलेका तथाकथित (अपवाद बाहेक) नेताहरूले ज्ञात वा अज्ञातवश आफ्नो दुनो सोझ्याउन बी. पीको नाम बेचेर नेपाली काँग्रेसको मान र शान बेच्न पनि उद्यत भएका छन् ।

अब, बी. पी अनुयायी नेपाली काँग्रेसका नेता र कार्यकर्ता हरूले पार्टीलाईन विपरीत कार्य गर्ने नेताहरूलाई पदच्युत गर्नु पर्छ चाहे शेर बहादुर देउबानै किन नहुन ।

नेकपा र अहिलेको सरकारले के गर्दैछ र कुन दिशा तर्फ गई रहेको छ भन्ने कुरा मैले व्याख्या गरी रहनु परोईन ।