अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

पाकिस्तान अधिनस्थ काश्मीर भारतकै हिस्सा हुने बिदेशमन्त्री जयशंकरको घोषणा

बिआरटीनेपाल २०७६ असोज १ गते ९:१३ मा प्रकाशित

भारतीय विदेशमन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतकै हिस्सा हुने घोषणा गर्नुभएको छ । आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा मंगलबार पत्रकार सम्मेलन नै गरी विदेशमन्त्री जयशंकरले सो घोषणा गर्नुभएको हो ।

‘पाकिस्तान अधिनस्थ काश्मीरको बारेमा भारतको दृष्टिकोण प्रष्ट छ । पाकिस्तान भारतको हिस्सा हो र हामीलाई लाग्छ एक दिन त्यो भारतको हिस्सा हुनेछ,’ जयशंकरको भनाई थियो । उहाँले संविधानको धारा ३७० को बारेमा पनि खुलेर कुरा राख्नुभयो । ‘यो दुईपक्षीय मुद्दा होइन । यो भारतको आन्तरिक मुद्दा हो । पाकिस्तानको साथ धारा ३७०को मुद्दा छँदै छैन । पाकिस्तानसँग आतंकवादको मुद्दा छ,’ संविधानको धारा ३७० को बारे प्रष्ट पार्दै विदेशमन्त्री जयशंकरले भन्नुभयो । जयशंकरभन्दा पहिला भारतका अरु पनि थुप्रै नेताहरुले पाकिस्तान अधिनस्थ काश्मीरलाई भारतको हिस्सा बनाइने बताउँदै आउनुभएको थियो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले हरियाणाको पंचकुलामा एक चुनावी सभालाई सम्बोधन गर्दै यदि भारतको पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो वार्ता केवल पाकिस्तान अधिनस्थ काश्मीरको मामिलामा हुने बताउनु भएको थियो । भारतका गृहमन्त्री तथा भाजपाका अध्यक्ष अमित शाहले संसदमा बोल्दै संविधानको धारा ३७० मा बहस गर्दै चीन अधिनस्थ र पाकिस्तान अधिनस्थ काश्मीर भारतका अभिन्न हिस्सा भएकोले यसको लागि आफूहरुले ज्यानसमेत दिने घोषणा गर्नुभएको थियो ।

यस्तै केन्द्रीय मन्त्री जितेन्द्र सिंहले अबको एजेण्डा पाकिस्तानको कब्जामा रहेको काश्मीरलाई भारतको अभिन्न हिस्सा बनाउनु भएको बताउनु भएको थियो । भाजपाका राष्ट्रिय महासचिव राम माधवले धारा ३७० अब इतिहास भइसकेको जनाउँदै अब भारतले अन्य कुरामा सोच्नुपर्ने र त्यसमा पाकिस्तान अधिनस्थ काश्मीर पनि रहेको जनाउनु भएको थियो ।केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि पाकिस्तान अधिनस्थ काश्मीर आफूहरुको भएको जनाउँदै भारतकै हुने प्रष्ट पार्नुभएको थियो । उहाँले यो सबै हिन्दुस्तानीको भावना भएको र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हिन्दुस्तानको भरोसा रहेको समेत उल्लेख गर्नुभएको थियो । पाकिस्तान अधिनस्थ काश्मीर भारतकै हुने उहाँको दाबी थियो ।

अर्का नेता शिवराजसिंह चौहानले पाकिस्तान अधिनस्थ काश्मीर बनाउनको लागि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु जिम्मेवार रहेको आरोप लगाउनुभएको थियो । केन्द्रीय मन्त्री रामदास अठावलेले पाकिस्तानले आफू अधिनस्थ काश्मीर भारतलाई सुम्पनु राम्रो हुने समेत जनाउनु भएको थियो । उहाँले पाकिस्तान अधिनस्थ काश्मीरका मानिस पाकिस्तानसँग खुसी नरहेको र उनीहरु भारतको हिस्सा बन्न इच्छुक रहेको धारणा राख्नुभएको थियो ।

जम्मु काश्मीरका राज्यपाल सत्यपाल मलिकले पनि भविश्यमा पाकिस्तान अधिनस्थ काश्मीरका जनताले आफ्नो भूभागलाई भारतमा गाभ्नुपर्यो भन्ने माग राख्ने दिन आउने बताउनुभएको थियो । यसैगरी भारतका स्थल सेनाप्रमुख बिपिन रावतले पनि पाकिस्तान अधिनश्त कश्मीर भारतको बनाउने घोषणा गर्नुभएको थियो । ‘पाकिस्तान अधिनस्थ कश्मीरको लागि पनि एजेण्डा तयार भइसकेको छ । भारतको हिस्सा बनाउनेछौं,’ रावतको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू