अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 03:11

वेश्या र महावेश्या

राजबाबु श्रेष्ठ 'सागर' २०७५ चैत २० गते २३:०९ मा प्रकाशित

विपन्नमा कोही शरीर बेच्छिन्, तर मनको भने उनी कुमारी हुन्छिन् । कोही कोही सम्पन्नतामा पनि आफ्नो शरीर बेच्छिन्, बेच्छन् तर पैसाको लागि होइन । केवल ऊ आफ्नो यौवनको आगो निभाउन चाहाँन्छिन् चाहाँन्छन् विपरीत लिङ्बाट ।

तर कोही कोही यी दुबैमध्ये कुनै गर्दिनन्, गर्दैनन् तर पनि ऊ व्यभिचार गरिरहन्छिन् । गरिरहन्छन् तर शरीरले होइन, केवल मनले । तर पनि उ बाहिरबाट पवित्र देखिरहेको हुन्छ । समाजको चस्मामा । तर उसैलाई थाहा छ कि ऊ कत्तिको पवित्र अथवा दूषित भन्ने कुरा । यिनीहरू, यौनप्यासको तन्द्रामा लठ्ठिरहेको हुन्छ । भित्रभित्रै यौनको कुहिएको तालमा मनमनै गोता लगाई रहेको हुन्छ ।

तर समाजहरू, वेश्यालाई मात्रै घृणा गर्छन् । एकतर्फी वेश्यालाई मात्रै, घृणा र पतितको चस्माबाट हेर्छन् । फेरि त्यही समाजभित्रबाट केही व्यक्ति भने, त्यही वेश्याहरूबाट यौन प्यास मेटाई तृप्त हुन्छन् । जबकि, उनीहरूको घरमा धर्मपत्नी रहन्छ र खुट्टा धुएर पानी खाई, लोग्नेको लामो आयुको प्रार्थना गर्छन् । तर पुरुषहरू उनै पवित्रपत्नीलाई धोका दिइरहेको हुन्छ । तर व्यभिचारीको तुस भने कहिल्यै मरेको हुन्न त्यस्ता पुरुषहरूमा ।

यदि, वेश्या बन्नु घृणित काम हो भने, वेश्यहरूसङ्ग गै यौन प्यास मेटाएर आउने पुरुषहरू कसरी साध्य हुन सक्छ ? पुरुषहरू, वेश्या नै भए पनि, एकछिनको चरम आनन्द लिएर तृप्त हुन चहांन्छन् तर त्यही वेश्यालाई, अर्धाङ्गिनी बनाउन भने कदापि स्विकार्दैनन् ।

किनकि, उनीहरू आफ्नो पत्नीमा सतीत्व खोज्छन् । तर आफूहरू भने, आफ्नो पतित्व गुमाएका हुन्छन् ।पत्नीहरू भने, पतित्व गुमाएका पतिहरूलाई पनि स्विकार्नु बाध्य हुनु पर्छ । यो हो हाम्रो खोक्रो आदर्शको कालो डरलाग्दो वास्तविकता ।

तर यही घृणित काम पत्नीहरूले गरेको भए, पतिहरू आफ्ना पत्नीहरूलाई घर निकाला गरिदिन्छ । के शुद्धता भनेको केवल नारीहरूले मात्रै राख्नु पर्ने हो र ? पुरुषहरूको कुनै दायित्व हुन्न यसमा ? सोही काम मजबुरीमा गरे नारीहरूले, वेश्या कहलिने, तर त्यही वेश्याबाट तृप्त हुने पुरुषहरू भने, अगेना माथिको ओभानोको ओभानो नै रहिरहने ।

कोही कोही पत्नीहरू पनि छन् यस्ता, आफ्ना रामजस्ता पतिलाई विश्वासघातको थाङ्नामा सुताएर पर पुरुषसँग यौन प्यास मेटाई आफू तृप्त हुन्छिन् र पतिलाई शङ्कासम्म हुन दिँदिनन् । पतिको नजरको सामुन्ने एक कुशल प्यारी अर्धाङ्गिनी पतिव्रतताको अभिनय गरिरहने यस्ता स्त्रीको पनि, मनबाट व्यभिचारको तुस कहिल्यै हराएर जाँदैन ।

जबकि, विपन्नतामा वेश्यावृत्ति गर्ने र सम्पन्नतामा यौन प्यास मेटाउने दुवैको स्त्रीको यौनाङ्ग र परस्त्रीसङ्ग यौन प्यास मेटाउने पुरुषको यौनाङ्गमा कुनै भिन्नता छैन । आखिरी सन्तुष्ट हुने चीज भनेको स्खलन नै त हो ।

फेरि किन यिनीहरू सन्तुष्ट हुन्नन् ? यिनीहरूमा किन यसरी निकोटिनको तलतल जिउँदो भएर जन्मिरहन्छ ? यसरी यौन तृप्त भएपछि पनि ।

मत भन्छु, यस्ता स्त्री र पुरुषहरू झनै, महाको वेश्या र रण्डो हुन् । किनकि, यिनीहरूमा धोका र विश्वासघातको कालो पर्दा लागेको हुन्छ । तर वेश्यामा भने, इमानदारीको खुला नीलो आकाश भेटिन्छ ।

फेरि किन वेश्या मात्रै, घृणाको पात्र बनिरहनु पर्ने ? वेश्याहरू शरीरले व्यभिचारी गर्छ तर मनमा व्यभिचार हुँदैन । तर जसले शरीरले गर्दैन व्यभिचार, तर उसको मनले भने व्यभिचार गरिरहेको हुन्छ । केवल उसको मनको व्यभिचारको तुस भने सधैँ बसिरहन्छ ।

अब भन्नुस् ए समाज हो ! को हो ठुलो व्यभिचारी ? शरीरबाट गर्नेकी, मनबाट गर्ने व्यभिचार ठुलो ? जसले मनबाट व्यभिचार गरिरहेको हुन्छ । अवश्य नै उसले शरीरबाट व्यभिचार गरेरै छाड्छ, मौका परे । उनीहरू घरको कुखुरालाई सिकार गर्न, घर अगाडिको दाउराको कुन्युमा लुकेर बसेको चतुरो स्याल झैँ त हुन् ।

अब भन्नुस् तपाइहरू नै, को हो ठुलो वेश्या ? त्यो हिसाबले हेर्ने हो भने त म वेश्यालाई बिलकुलै पवित्र देख्छु । किनकि, उनीहरूमा छलकपट र धोका भन्ने चीजहरू बिलकुलै हुँदै हुँदैन । जस्तो जे छ, छ । उनीहरू सिसाजस्तै पार्दर्शी देखिन्छन् ।

किनकि, वेश्याहरू भन्न सक्छ, आफूलाई वेश्या हुँ भनेर । वेश्यालयमा, वेश्याहरूलाई आफू कुमारित्व रहेको प्रमाण पेस गरिरहनु पर्दैन । तर मनका व्यभिचारी पुरुष र स्त्रीहरू, आफूलाई समाजको सामुन्ने निर्वस्त्र भएर स्विकार्न सक्तैनन् । उनीहरू आफ्नो लोग्ने र स्वास्नीलाई सत्य कुरा भनेर पानी परेर छ्याङ् आकाश भएजस्तो छ्याङ्ग हुनै सक्तैनन् उनीहरू ।

त्यसैले, उनीहरू वेश्याहरू भन्दा पनि महाको वेश्याहरू हुन् ।

किनकि, मोक्ष भन्ने कुरा शरीरले होइन, मनले देखि हुनु पर्दो रहेछ । जसको मनमा तुस रहिरहन्छ, उसले मोक्षको बाटो कहिल्यै पाउँदैन ।