अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

स्मृतिमा सुदूर पश्चिम – राजेन्द्रमान डङ्गोल

राजेन्द्रमान डङ्गोल २०७५ पुष १९ गते २३:१२ मा प्रकाशित

धेरै अघिदेखि मलाई सुदूर पश्चिम घुम्ने तलतल थियो किन कि मैले सपनामा धेरै पटक कैलालीको घोडाघोडी ताल र टीकापुर पार्क, कञ्चनपुरको चाँदनी–दोधाराका बस्तीहरू, र डडेल्धराको अमर गढी घुमी सकेको थिएँ । म सुदूर पश्चिमको प्राकृतिक सौन्दर्यमा चर्ल्याम्मै डुबिसकेको थिएँ । यहाँको भ्रमणको अनुकूल समयको पर्खाइमा थिएँ ।

२०७१ फाल्गुण २८ गतेका दिन गाउँ पर्यटन प्रबद्र्घन मञ्च–नेपालका अध्यक्ष चित्र गुरुङको फोन आउँछ ।

उनी भन्छन्, “राजेन्द्रजी ! तपाईँ नेपाल पर्यटन बोर्डले आयोजना गर्न लागेको सुदूर पश्चिमको अवलोकन भ्रमणमा भिटोफको तर्फबाट प्रतिनिधित्व गर्नु पर्ने भयो, भ्रमणको टोली भोलि छुट्दैछ ।”

आजको भोलि नै यात्राको निम्ति निस्कनु मेरालागि कदापि सम्भव थिएन ।

मेलै भनेँ, “भोलि नै हिँडी हाल्न त असमर्थ छु । अरू कसैलाई नै भन्नु होला ।”

वास्तवमा मेरो निमित्त यो एउटा राम्रो अवसर थियो । अवसर मात्र राम्रो भएर पो के गर्नु ! नचाहेर पनि मैले यसलाई ‘मिस’ गर्नु पर्ने भयो । यस्तै कुराहरू खेल्दै थिए म भित्र । फेरि मोबाइलको घण्टी बज्छ ।

अध्यक्ष चित्र गुरुङले भने, “कार्यक्रम एक दिन पछि सरेको छ । जान मिल्छ कि मिल्दैन र ”
त्यो एक दिनको ढिलाइले भ्रमणका लागि निस्कन मलाई वातावरण सहज बन्यो ।
मैले भनेँ, “ठिक छ, म जान्छु ।”

उनले किशोर खड्कासित सम्पर्क गर्न नम्बरसमेत दिए । मैले उनलाई सम्पर्क गरेँ र आवश्यक जानकारीहरू लिएँ । फाल्गुण ३० गते नेपाल पर्यटन बोर्डमा बिहान ठिक छः बजे आउन उनले मलाई सुझाए ।

पहिलो दिनको यात्रा
मन उत्साह र उमङ्गले भरिएको थियो । किशोरजीले भने बमोजिम ठिक छ बजे नै नेपाल पर्यटन बोर्डमा पुगेँ । तर, त्यहाँ कोही पनि आई सकेका थिएनन् । केही क्षण यता–उता टहल्लि रहेँ । सडकमा गुड्ने गाडीहरूले काठमाडौँ सहरको सीमाहीन आकाशमा धुलो र धुवाँको तरङ्ग फिजाउँदै थिए । बिस्तारै–बिस्तारै सहभागीहरूको आगमन हुन थाल्यो । एनटिबिका खड्गविक्रम शाह र एडभान्स मोनिटरका सम्पादक किशोर खड्का पनि आई पुगे । एनटिबिसंगैको होटेलमा चिया पिउन्जेल सबै जना आइसकेका थिए ।

माइक्रो बस तयार थियो हाम्रालागि । सुदूर पश्चिमको यात्रा प्रारम्भ ग¥यौँ सवा सातमा । गाडी चढेपछि खड्गजीले आफ्नो परिचय दिए । सहभागीहरूको पनि आपसमा परिचय गर्न लगाए र यात्राको मार्ग बारे छोटो जानकारी गराए । त्यो दिनको यात्रा टीकापुरसम्मको रहेछ । काठमाडौँबाट ६१० किलो मिटरको दुरी ।

माइक्रोवशमा सवार सहभागीहरू मध्ये निजी क्षेत्रका पाँच, पर्यटन विभागका कर्मचारी एक, पत्रकार दुई, संविधानसभाका सभासद् (एमाले र एमाओवादीका) दुई जना र पर्यटन बोर्डका खड्गविक्रम शाह गरी हामी एघार जना थियौँ ।

अघिल्ला अवलोकन भ्रमणहरूमा माननीयहरूको सहभागिता मैले देखेको थिइनँ । सुदूर पश्चिमको यो भ्रमणमा सभासद्हरूसमेतको सहभागिता देख्दा मलाई खुसी लाग्यो । प्रभावकारी पर्यटन नीति नियमहरूको अभाव खट्किरहेको अवस्थामा माननीयहरूलाई पनि स्थलगत भ्रमणमा सहभागी गराएर सुदूर पश्चिमको पर्यटकीय सम्भावनाहरूको बारेमा बुझ्न÷बुझाउन र समग्र पर्यटन प्रवर्द्धनका बारे नयाँ नीति बनाउनका लागि कामयाब होस् भनेर उनीहरूलाई पनि निमन्त्रणा गरेको हुनु पर्छ भन्ठानेँ ।

बसमा यात्रा गर्दा माननीयहरू समक्ष यस्तै कुराहरूका बारेमा आपूmलाई जानकारी भएसम्मका कुराहरू राखौँला भन्ठानेको थिएँ तर राजनीतिक प्रसङ्ग कहाँबाट उठ्यो थाहै भएन । नेपाली नागरिक हुनुको नाताले संविधानको बारेमा सभासद्हरू समक्ष जिज्ञासा राख्नु अस्वाभाविक होइन । फेरि जिज्ञासा मेट्ने त्यो एउटा राम्रो अवसर पनि थियो । बसमा सवार भएकाहरू कुनै न कुनै दलमा झुकाव राख्दथे । सुरु भयो स्वाभाविक राजनीतिक बहस । वर्तमान राजनीतिक गतिरोध र नयाँ संविधान विषयको छलफल गहिराइसम्म पुग्यो । अन्तरिम संविधानका धाराहरूमा भएका सहमति र प्रकृयाका सवालहरू पनि उठे । प्रश्न र प्रतिप्रश्नहरू पेचिला बन्दै गए । छलफल चाहेर भयो, नचाहेर पनि भयो । पृथक् राजनीतिक दलका ती दुई सभासद्हरू एक आपसमा दोषारोपण गर्दथे र आ–आफ्नै पार्टी र बिचारलाई सही साबित गर्ने प्रयत्न गर्दथे ।

मैले आफूलाई बिआईसिसि हलभित्र भएको महसुस गरेँ । बहस यस्तो लाग्थ्यो कि बसभित्र साँच्चीकै संविधान सभाकै बैठक चलिरहेछ । सभाध्यक्ष बिनाको त्यो बैठकमा उठेका लोकतन्त्रका कुराहरूमा निरङ्कुशताको ज्वारहरू समानान्तर भएर उठ्थे । बहस लोकतन्त्रको सौन्दर्य भए पनि उनीहरूका तर्क र प्रस्तुतिमा निरङ्कुशता झल्किन्थ्यो, लोकतन्त्रभित्रको निरङ्कुशता ।

मेरो भूमिका एउटा कुशल श्रोताको मात्र थियो । तापनि मभित्र मौन आगाका लप्काहरू उठ्दथे र गाडीको चालसँगै मेरो प्रत्येक श्वास–प्रश्वासमा विशाल जुलुस अगाडि बढिरहेको हुन्थ्यो तर मभित्रको मेरो जुलुसमा आवाजसहितको नारा थिएन, विद्रोहसहितको आक्रोश थिएन र क्रान्तिसहितको लक्ष्य पनि थिएन ।

पृथ्वी राजमार्गमा गुड्ने सवारी साधनहरूको अत्यधिक चाप र बिचबिचमा भएका दुर्घटनाहरूले भएका गतिरोधको कारण सोचेजस्तो छिटो दुरी पार गर्न सकिरहेका थिएनौँ । नारायण घाट नछिचोलुन्जेल कतिपय ठाउँहरूमा त हामी केही बेर रोकिन बाध्य भयौँ । लोकतन्त्रपछि सभासद्हरू राजमार्गलाई लोक मार्ग भन्दा रहेछन् ।

मैले एक जना सभासद्सित जिज्ञासा राखेँ, “माननीयज्यू, राजमार्गलाई लोक मार्ग भन्ने हो भने, राजधानीलाई लोक धानी, राजश्वलाई लोकश्व अनि राजपुरलाई लोकपुर भने हुन्न र !
उनी फिस्स हाँसे ।

नवलपरासीको गैँडाकोटमा पुगेर लन्चको लागि गाडी रोकियो र रोकियो केही क्षणका लागि राजनीतिक बहस पनि । बहसमै रमाइरहेकोले होला भोक लागेको पनि पत्तो थिएन । त्यतिखेरसम्म हामीले लगभग १७० कि.मि. को दुरी पार गरेका थियौँ । टीकापुर पुग्न अझै ५११ कि. मि. बाँकी थियो ।

खानापछि गन्तव्यका लागि गाडी अगाडि बढ्यो । गाडीको रफ्तारसँगै पुलपुलेसा, हरिया जङ्गल, झुलिरहेका बालीनाली र वासन्तीमय सुन्दर बस्तीहरू, दृश्य बनेर आँखा अगाडि आउँथेँ । हामी ती सबै दृश्यहरूलाई आस्वादन गर्थ्यौँ । र, त्यसैमा रम्न सके जति रम्थ्यौँ पनि । तराईको चढ्दो गर्मी त्यसमाथि पनि खाना खाएर गाडीको बन्द सिसाभित्र बस्दा हल्का गरम भएको महसुस हुँदै थियो । एक–दुई जना त लो लाउन थालिसकेका थिए । धुलोले गर्दा गाडीको सिसा खोलिराख्न पनि नमिल्ने र बन्द गरिरहन पनि नसकिने अवस्था थियो । हल्का एसी खोलिन्छ होला भन्ठानेको थिएँ तर होइन रहेछ । अगाडिको सिटका साथीहरू सिसा खोल्थे तर बन्द गरिहाल्नु पथ्र्यो । चालकले त महसुस गरेनन् नै, सबैभन्दा अघिल्लो सिटमा विराजमान आयोजक के बि शाहलाई एसीको प्रयोग गर्नुपर्छ भन्ने लागेन वा उनले चाहेनन् । सायद उनी एसी प्रयोग गरेबापत लाग्ने एनटिबिको जगेडा खर्च जोगाउन चाहन्थे वा गाडीवालासितको सम्झौता नै त्यस्तै थियो । चालक बाहेक गाडीमा सवार हामी सबै बिस्तारै–बिस्तारै झकाउँन थाल्यौँ । गाडीभित्र वातावरण शान्त हँुदै गयो, तलाउको शान्त तरङ्ग जस्तै ।

दाउन्नेको छेउछाउ पुग्दा सबै ब्युँझिसकेका थियौँ । चालकले गाडी रोके । एक मिनेट जति हामी सबै गाडी बाहिरको ताजापनमा घोलियौँ । सहयात्री राजेन्द्र सुवेदी दाउन्नेको खानाको खूब बयान गर्दै थिए । खाना खानका लागि ताँती रहेको राजनीतिक बहसले फेरी निरन्तरता पायो । उही बहस, उही तर्क ! चली रह्यो, चली नै रह्यो । जनताको चाहनालाई एक्लो तर्क कामयावी हुन सक्दैन । एक अर्कामा गरिने दोषारोपण मात्रै समस्याको समाधान पनि होइन । प्रश्नलाई सधैँ प्रतिप्रश्नको ढाल बनाउने कायदा त नेपालीहरूको पुरानै संस्कार नै हो ।

गुड्दा–गुड्दै शीतल भएको महसुस हुँदै थियो । यात्रा सुरु गर्दा हामीभन्दा धेरै पछाडि रहेको घाम हामी बुटवल पार गर्दा हामीभन्दा धेरै अगाडि पुगिसकेको थियो । लाग्थ्यो, घाम सुदूर पश्चिम काटेर पनि धेरै अगाडि पुगिसकेको छ । घामले जति जति डाँडा काट्दै जान्थ्यो, पछाडिबाट अँध्यारोको साम्राज्यले हामीलाई छोप्दै गइरहेको हुन्थ्यो । कुसुम पुग्दा घडीमा आठ बजी सक्छ । हामी भोकाइ सकेका हुन्छौँ, थाकिसकेका हुन्छौँ । गन्तव्य अझ धेरै पर छ । हल्का खाजा खाएर टीकापुर पुग्न आतुर हुन्छौँ । त्यहाँबाट एक जना सहभागी थपिन्छन् । उनी थिए मनबहादुर । हिमाल चढ्ने भएकोले उनलाई सुदूर पश्चिमको आङ्रीता भनिँदो रहेछ । तिन घण्टापछि टिकापुरको होटेल सिद्धार्थ पुग्छौँ । ६१० कि.मि. को दुरी पार गर्न लगभग सोह« घण्टा लागेछ । रातको एघार बजिसकेको हुन्छ । पहिलो दिनको यात्रा टुङ्गिन्छ । त्यतिखेरसम्म थकाइले चुर भइसकेका हुन्छौँ । त्यति थकाइ त मलाइ दिनभरको पदयात्रामा पनि भएको थिएन । खानपिन सकेर ओच्छयान पुग्दा मध्य रात भैसकेको हुन्छ ।

घोडाघोडी तालमा रमाउँदा
भोलिपल्ट अर्थात् दोस्रो दिन टीकापुर स्थित कालु हमालको बनाना रेष्टुरेन्टमा बिहानको खाजा खाएर टीकापुर पार्क भ्रमण गर्ने र त्यसपछि होटेल फर्केर स्थानीयहरूसितको अन्तर्क्रिया कार्यक्रम सहभागी भई सुखदको घोडाघोडी ताल अवलोकन गरेर महेन्द्रनगर तर्फ लाग्ने कार्यक्रम थियो । सोही बमोजिम हामी सात बजे नै तयार भएर होटेलबाट निस्क्यौँ । बस्ती वरपर झुलिरहेका बालीनाली अलि पर देखिने जङ्लका दृश्यहरूले सिँगारिएको टीकापुर आफैँमा एउटा बगैँचाजस्तो लाग्थ्यो ।

करिब सवा आठ बजेतिर हामी बनाना रेस्टुरेन्ट पुग्यौँ । रेस्टुरेन्ट हेर्दा सामान्य तर विशेषता असामान्य रहेछ । आहा ! कति सुन्दर ! छेउमा पौडी पोखरी, बीचभागमा रेस्टुरेन्ट, पन्छीहरूको चिरविराहटर र क्याम्पिङको पनि सुविधा । एग्रो टुरिजमको अवधारणा अनि इको टुरिजमको उत्कृष्ट नमुना बनाना रेस्टुरेन्ट एउटा राम्रो रिफ्रेसमेन्ट सेन्टर रहेछ । केरा बगैँचा, केराकै बोटको छहारी, सात प्रजातिका केरा, केराकै परिकारहरू सैँतिस थरी । जनजिब्रोमा बनाना किङ भनिने कालु हमालको परिकल्पना ।

विगत तिस वर्षदेखिको मिहिनेतले उनी आफ्नो खुट्टामा उभिन सक्षम भएका मात्र छैनन्, अरूलाईसमेत रोजगारीको अवसर दिन सक्ने भएका छन् । एग्रो टुरिजमको पाठशाला बनिसकेको आफ्नो मौलिक विशेषता बोकेको रेस्टुरेन्ट र रिसोर्टले टीकापुरको पर्यटकीय आकर्षणमा महत्त्वपूर्ण भूमिका खेलेको देखियो ।

केराबाट बुङ्गाको अचार, निम्की, तरकारी, चिप्स, पकौडा, मःम, खीर, छ्याङ, ब्रान्डदेखि अमलेट लगायत सैँतिस थरी सुलभ मूल्यका परिकारहरू नै उनको रेस्टुरेन्टको विशेषता हो । हामीले कालु हमालसित पनि साक्षातकार गर्ने मौका पाएका थियौँ ।

उनी भन्छन्, “अन्य ठाउँहरूमा पनि यस्तै खालको रिफ्रेसमेन्ट सेन्टर खोल्न सकिन्छ सुन्तला वा आँप वा स्याउजस्ता फलपूmलका परिकारसहितका ।”

उनी थप्छन्, “असीमित नयाँ सम्भावनाहरूलाई सरकारले बुझ्दैन, न त कुनै खालको सहयोग गर्ने नीति नै छ । उहिले–उहिले मानिसहरू कन्दमूल खाएर नै बाँच्थे । वास्तवमा अन्न नपुग्ने ठाउँहरूमा केरा फलाउन सकेमा केराका परिकारले पनि मानिसलाई कहिल्यै पनि अनिकाल लाग्दैन । फेरि केरा कागजको वैकल्पिक स्रोत पनि हो । दक्षिण भारत र बङ्गलादेशमा बन्ने सारीहरूको कच्चा पदार्थ केरा नै हो । नेपालमा केराको सुप्लाबाट रेसालाई धागोसम्म बनाउने मेसिन छ तर थ्रेड बनाउने मेसिन नभएकोले कपडा उत्पादन गर्न सम्भव भइरहेको छैन । केराको बोटमा भएको पानीबाट वैद्यहरूले पिसाब सम्बन्धी ओखती पनि बनाउँछन् । यसको बोट र बोक्रालाई गुइँठा बनाएर खाना पकाउने इन्धनको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।”

झन्डै चालिस मिनेट जति त्यहाँ बिताएछौँ । केराका थुप्रै परिकारहरू चाख्यौँ । अम्लेट, मःम, चिप्स, छ्याङ, ब्रान्डी, बुङ्गाको अचार आदि । परिकारहरू अलिअलि चाख्दाचाख्दै मज्जाले अघाइएछ ।

त्यसपछि हामी टीकापुर उद्यानतर्फ लाग्यौँ । सहयोगी भावना भएका कालु हमाल पथप्रदर्शक बनेर हामीलाई उद्यान घुमाइदिए । र, त्यहाँको पर्यटकीय सम्भावनाहरूका बारेमा पनि सुझाए ।

कर्णाली नदीको किनारमा पचासी बिघा क्षेत्रफल ओगटेको टीकापुर पार्क सुदूर पश्चिमको एउटा मनमोहक पर्यटकीय आकर्षण रहेछ । २०२४ सालमा राजा महेन्द्र शुक्लाफाँटामा सिकार खेल्दाखेल्दै बेहोस भएपछि त्यहाँ ल्याइएको र २४ दिनको उपचार पश्चात् काठमाडौँ फिर्ती भएपछि त्यस ठाउँलाई पार्कको रूपमा विकास गरिएको थियो ।

प्रवेशद्वारको अगाडि रजत स्तम्भ, यसको अघिल्तिर महेन्द्र आरोग्य गृह, रत्न उद्यान, बायाँतर्फ आकर्षक शैलीमा निर्माण गरिएको वीरेन्द्र विश्राम र ऐश्वर्य उद्यान रहेका छन् । वसन्तको पल्लवी मौसममा मुस्कुराउने फुलहरू आफैँमा सुन्दर, त्यसमाथि पनि शान्त वातावरण, चिटिक्क पारिएका लेन सजावटले उद्यानलाई झनै आकर्षक बनाएको छ ।
यहाँको अवलोकन पछि कालु हमालले हामीलाई कर्णाली नदीको किनारतर्फ डो¥याए । फराकिलो भएर बगी रहेको नदीको पारिपट्टि किनारमा नदीले छोडेको सानो ठाउँ रहेछ, जहाँ हिउँद भरी ¥याफिटिङ्, फिसिंङ्, बिच भलिबल, स्विमिंङ्जस्ता गतिविधि गर्न सकिने बताउँदै थिए उनी ।

कर्णाली नदीको विभाजित दुई भँगालोले बनाएको सानो टापुलाई उनी अस्थाईल्याण्ड भन्छन् । हुन पनि हो ! कर्णाली नदी बढेपछि त्यहाँ बिचको आनन्द लिन असम्भव हुने र वर्षा सुरु हुनु अगावै हिउँदमा तयार पारिएका संरचनाहरू हटाइ सक्नुपर्ने भएकाले अस्थाईल्याण्ड भन्नु स्वाभाविक हो । समुन्द्री बिचको आनन्द लिन थाईल्याण्डसम्म गई रहनु नपर्ने रहेछ । कर्णालीको किनारमै थाईल्याण्डको समुद्री बिचको आनन्द लिन सकिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट कर्णालीमा पानीको प्यास मेट्न आउने जङ्गली जनावरहरू समेत अवलोकन गर्ने सौभाग्य पाइने रहेछ ।
हामी डुङ्गा चढेर पारि गयौँ । त्यहाँको केही दृश्यहरू क्यामरामा कैद ग¥यौँ ।

देख्दैमा पौडी खेलिहालौँ जस्तो लाग्ने शान्त भएर बगिरहेको कर्णालीमा पर्यटन युग पाक्षिकका प्रकाशक लोकेन्द्र विक्रम शाह पौडी खेलेरै वारपार गरे । उनले पौडेको देख्दा मलाई बाल्यकालको सम्झना आयो । उनले पौडेको हेरिरहेँ ।

हामीले त्यहाँ धेरै लामो समय बिताउन पाएनौँ । सवा एघार भैसकेको थियो । अन्तरक्रियाका लागि होटेलमा स्थानीय व्यक्ति विशेषको उपस्थिति भैसकेको थियो । हामी हतारिँदै होटेल फर्क्यौँ र सिधै सभाकक्ष तर्फ लाग्यौँ । उनीहरू हाम्रो प्रतीक्षामा थिए । राजनीतिकर्मी, स्थानीय व्यवसायी र स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

अन्तरक्रिया सुरु भयो परिचयात्मक कार्यक्रमबाट । सहभागी सबैले सुदूर पश्चिममा पर्यटकीय सम्भावनाहरूको बारेमा आ–आफ्नो कुराहरू राखे । खोक्रा आश्वासनले दिक्क भैसकेका उनीहरूका गुनासाहरू बढी थिए, राज्यले उपेक्षा गरेको महसुस गर्थे उनीहरू । आशाभन्दा बढी उनीहरूमा निराशा नै झल्किन्थ्यो । तर पनि उनीहरू कति सहन शील रहेछन् ! मैले उनीहरूमा विद्रोहको भावना कत्ति पनि भेटिनँ । निजी क्षेत्रको प्रतिनिधिको हैसियतले उनीहरूसित आफ्नो अनुभव बाँड्ने र पर्यटनप्रतिको भावना जगाइदिने बाहेक हामीसित केही पनि थिएन । सुदूर पश्चिममा नेपाल पर्यटन बोर्डको शाखा हुनु पर्छ भन्ने उनीहरूको जोडदार मागमा हाम्रो नैतिक समर्थन थियो ।

आयोजककै निर्देशनमा होला अन्तरक्रिया हुँदाहुँदै टेबलमा मासु–च्यूरा आइसकेको थियो । मैले सोचेँ, समयको सदुयोग गर्न यसो गरेको हुनुपर्छ । अन्तत्र्रिmया र खानपिन एकैसाथ सकियो । स्थानीयरू आफ्नो बाटो लागे हामी आ–आफ्ने कोठा तर्फ । लगभग सवा दुई घण्टा भैसकेको रहेछ त्यो कार्यक्रममा बसेको पनि । समय पनि छिटो छिटो बितिरहेको जस्तो लाग्थ्यो । त्यतिखेर घडीमा पौने दुई बजेको थियो । आधा घण्टापछि होटेलबाट निस्कने कुरो भए पनि थप बिस मिनेट कुर्नु प¥यो । करिब पौने तिनमा हामी होटेलबाट निस्क्यौँ । पूर्व निर्धारित कार्यक्रम अनुसार निस्कन आधा घण्टा ढिलो भैसकेको थियो ।

यात्रा अगाडि बढ्छ, महेन्द्रनगरतर्फ । टिकापुरबाट एमाओवादीका अर्का एक सभासद् पनि थपिन्छन् हाम्रो भ्रमण दलमा । अझै डेढ सय कि.मि. को यात्रा पार गर्नुछ । अघिल्लो दिनको लामो यात्राको थकाई मेटिई सकेको थिएन । जीउमा आलस्य बढिरहेको थियो । ३२ कि.मि को दुरी पार गरेपछि सुखद आइपुग्छ । हामी रमणीय घोडाघोडी ताल अवलोकनका लागि रोकिन्छौँ । हामी त्यहाँ पुग्दा एक जोडी हरी हाँस विचरण गर्दै थिए, माया प्रीति साट्दै थिए । तलाउ जङ्लको बिचमा भएकोले चराहरूको चिरबिर सुनिन्थ्यो । तालको गेटको घोडामाथि चढेर दुई जोडी बाँदर एकले अर्काको जुम्रा हेर्दै गरेको दृश्य पनि कम रोचक थिएन । बाँदरहरू पनि कति मिलेर बसेका ! सहयात्री साथीहरू दृश्य कैद गर्दै थिए क्यामरामा । घोडाघोडी ताल स्थित शिव मन्दिरका पुजारीहरूले हामीलाई फुल माला सहित बैद्घिक मन्त्र उच्चारण गरेर स्वागत गरे ।

अचम्मको विशेषता बोकेको रहेछ यो तालले । समुन्द्री सतह देखि २०५ मिटर उचाइ, १३८ हेक्टर जमिनमा १९ कुनामा पञ्चमुखाकार भएर फैलिएको, औसत गहिराई ४ मिटर अनि पौराणिक महत्त्व बोकेको ।

श्रीमद् भागवतदेवी पुराणको षष्टम् स्कन्द अध्याय १६ देखि २३ सम्ममा उल्लेख भए अनुसार समुद्र मन्थन गर्दा उत्पन्न भएको उच्चैश्रवा घोडा चढेर रेमन्त नामक सूर्य पुत्र भगवान् विष्णु कहाँ गएका थिए । लक्ष्मीले उनलाई एकाग्र चित्तले हेर्दा विष्णुले परपुरुषप्रति अशक्त भएको भनी घोडीको रूप लिनुपरोस् भनेर श्राप दिएछन् । त्यसपछि प्रायश्चितका रूपमा लक्ष्मीले रामा शिखर पर्वतदेखि दक्षिणको घना जङ्गल, पश्चिमतिर कालिदास नदी र पूर्वमा तमसा नदीको बिचमा अवस्थित पुत्रेश्वर महादेवको शिवलिङ्गमा तपस्या गर्ने वाचा गरिन् । सोही अनुरूप प्रत्येक दिन पुत्रेश्वर महादेवको शिवलिङ्गमा १०८ कमलको फुल अर्पण गर्दै नियमितरूपमा पूजापाठ गर्न थालिन् । यस क्रममा एक दिन पूजापाठ गर्दै गर्दा एउटा कमलको फुल मुसाले लगिदिएछ । पूजापाठ खण्डित नहोस् भनेर लक्ष्मीले आफ्नै स्तन काटेर १०७ कमलको फुलसँगै चढाउँदा भगवान् शिव प्रकट भई पुत्र वरदान दिनु भएको र तुरुन्तै विष्णुलाई लिन आफ्नो दूत पठाएछन् । त्यसपछि विष्णु पनि घोडाको रूप लिएर आएछन् । लामो समयपछि लक्ष्मीसित मिलन हुंदा विष्णु र लक्ष्मी दुवै यती हर्षित भएछन् कि दुवैको हर्षाश्रु जमेर तलाउ नै बन्न गयो र त्यस तलाउको नाम घोडाघोडी तलाउ भयो भन्ने उल्लेख भएको पाइन्छ ।

यस आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू (जहाँ दर्जनौँ जातका रैथाने माछाका प्रजाति पाइन्छ) समेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुई सय ४८ हेक्टर रहेको छ । हालसम्मको अध्ययन अनुसार यहाँ ४५० प्रजातिका वनस्पति, १४० प्रजातिका चराचुरुङ्गीहरू, १४४ थरी जडीबुटी र ३४ थरी स्तनधारी जनावर पाइएको छ । भनिन्छ, तालको नजिकै एउटा माम्साहारी रुख पनि छ । हामी त्यहाँसम्म पुग्न सकेनौँ । यदि मांसाहारी रुख भएको कुरा साँचो हो भने यो नै पर्यटकीय उपज हुन सक्छ ।

पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने यती सुन्दर घोडाघोडी ताल काम नलागेर फ्याँकिएको लोटा जस्तै भएको रहेछ । पिँजडाको सुगाजस्तै प्राकृतिक अँजुलीको बन्धन भित्र थुनिएर रहेको यो तलाउ युगान्तकारी परिवर्तनको द्योतक नै हो । अव्यक्त तलाउमा असम्बोधित प्रश्नहरू मात्र होइनन्, अनगिन्ती पीडाका तरङ्गहरू भेटिए । कस्तो विडम्बना ! उसले मौन भएर मागेको खुसी र चाहेको स्वतन्त्रता हामी बुझ्दैनौँ । हामीले सोचिरहेका छैनौँ कि यसलाई पनि सुम्सुम्याउनु पर्छ, जगाउनु पर्छ र हँसाउनु पर्छ भनेर ।

घोडाघोडी ताल हेरेर आँखालाई धीत मरेन । एकोहोरा हेरीरहुंजस्तो आँखा चिम्म नगरी । तलाउको प्रत्येक कुना–कुनामा पुगेर आफ्नो प्रतिबिम्ब सजाइरहु जस्तो । डिलमा बसेर पानी खेलाऊ र उठेका तरङ्गहरूसंगैै आफूभित्र गुम्सिएका पीडाहरूलाई पनि तलाउ भरी फिँजाइ दिउँजस्तो तर समय घुर्की सकेको थियो । घोडाघोडी तालको अवलोकनलाई यतिकैमा बिट मार्न बाध्य भयौँ ।

सुखदको आकाश कालो बादलले ढाकिएकोले शीतल अनुभूति भइरहेको थियो । महेन्द्रनगर तर्फ गाडी निरन्तर अगाडि बढ्दा बढ्दै झमक्क साँझ परेको पत्तै भएन । आकाशमा ताराहरू मधुरो प्रकाश छर्दै टिमटिमाउन थालिसकेका थिए । जति जति महेन्द्रनगर नजिक पुग्थ्यौँ, ताराहरू पनि त्यति नै आफैमा उज्याल्लिइरहेका हुन्थे । ठ्याक्कै तिन घण्टा लागेछ । महेन्द्रनगर पुग्दा आठ बजिसकेको थियो । सबैले थाकेको महसुस गरिसकेका थिए । ओपेरा होटेलको कोठामा छिरिसकेपछि आराम गरेर खाना खानका लागि नौ बजे मात्र डाइनिङहलमा ओल्र्यौ ।

सपनामा घुमी सकेका ठाउँहरू पुग्दा
भ्रमणको तेस्रो दिन । म नब्यूँझदै मेरो रुम पार्टनर राजेन्द्र सुवेदी तयार भएर तल ओर्लिसकेका रहेछन् । कतिखेर तयार हुने र होटेल छोड्ने भन्ने कुरा मेरो जानकारीमा थिएन । आठ बजे मात्र तयार भएर डाइनिङहलमा ओर्ले । कतिपय साथीहरू नास्ता गर्दै थिए । नास्ता सकिने बित्तिकै कञ्चनपुर जिल्लाको शुक्लाफाँटा र चाँदनी दोधारा अवलोकन लागि निस्क्यौँ । शुक्लाफाँटा जाने बाटोमा पर्ने रहेछ महेन्द्रनगर एर्पोट । अवलोकन ग¥यौँ, त्यहाँ कुनै जहाज थिएन । शुक्लाफाँटाको हरियाली नजिकको एर्पोट उजाड देखिन्थ्यो । जहाज चल्न छोडेको दशकौँ भैसकेको त्यो एर्पोटमा गाई र बाख्राहरू चरिहेका थिए । नेपाल एअरलाइनसकै प्रतीकजस्तै लाग्थ्यो त्यो एर्पोट जसको उपादेयता मानिसहरूलाई हिउँदयाममा घाम ताप्न र बच्चाहरूका लागि क्रिकेट खेल्ने मैदान मात्र रहेछ । गहिरिएर अवलोकन गरिरहनु नपर्ने भएकोले हामी सिधै शुक्लाफाँटा तर्फ लाग्यौँ ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शुक्लाफाँटाको सुन्दरता र जैविक विविधताको हिसाबले पर्यकटहरूको चहपहल जनखालको हुनुपर्ने हो तर त्यो विल्कुल थिएन । प्रवेशद्वार सुनसान थियो ।

हामीले वार्डेनसित पनि भेट्ने मौका पायौँ । उनले शुक्लाफाँटाको यावत वस्तुस्थितिबारे हामीलाई जानकारी गराए । हामी आरक्षणभित्र प्रवेश ग¥यौँ र करिब तिन सय मिटर परसम्म पुग्यौँ । अझ भित्रसम्म पुग्न सकेको भए सायद पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुन्ड र गैँडा पनि देख्न पाइन्थ्यो होला तर समयाभावको कारणले धेरै भित्रसम्म जान सकेनौँ । चराचुरुङ्गी र एउटा भाले मयूर देख्यौँ । वार्डेनले दिएको तथ्याङ्क अनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्षमा तिनसयको सङ्ख्यामा बाह्र सिङ्गा, सत्र बाघ र आठ गैँडा र सयौँ प्रजातिका चराहरू छन् ।

उनी भन्छन्,“आरक्षभित्रका पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण तारा ताल, रानी ताल, बाउन्ने ताल, शिकारीताल, सलगौडी तालले बर्सेनि प्राकृतिक गहिराइ गुमाउँदै गएका छन्, तालहरू जलकुम्भी, नर कट लगायतका वनस्पतिले भरिएकाले सौन्दर्यता घट्दै गएको छ ।”

वास्तवमा तालहरू पर्यकीय आकर्षण मात्र होइनन्, वन्यजन्तुका लागि पानी पिउन र विभिन्न प्रजातिका चराचुरुङ्गी लगायत गोहीको वासस्थान पनि हो । सिमसार क्षेत्रको मौलिकता नै प्राकृतिक सुन्दरता हो ।

हामीले शुक्लाफाँटा वन्यजन्तु आरक्षमा त्यति लामो समय बिताएनौँ । अवलोकन गर्नु पर्ने ठाउँहरू धेरै थिए । हरेक पलको महत्त्व थियो हाम्रा लागि । त्यहाँबाट निस्केपछि मैले सपनामा घुमिसकेको चाँदनी–दोधारा तर्फ हाम्रो यात्रा तय भयो ।

करिब बिस मिनेटको ड्राइभिङपछि महेन्द्रनगरदेखि चौध किलोमिटर पश्चिममा पर्ने महाकाली नदीमा बनाइएको दोधारा–चाँदनी झोलुङ्गे पुल पुग्यौँ । नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल नै यही हो र दक्षिण एसियाको पनि लामा झोलुङ्गे पुलहरूमध्येको एउटा हो । चौध सय मिटर लामो झोलुङ्गे पुल आफैमा एउटा पर्यटकीय आकर्षण हो । पुलबाट उत्तरतर्फ शारदा ब्यारेज लगायत चुरे पर्वतश्रृङ्ला, पश्चिममा दोधारा–चाँदनी बजार र दक्षिणमा परसम्म देखिने महाकाली बगरको दृश्यहरूमा आँखा डुलाउँदा–डुलाउँदै केही समय त्यत्तिकै बित्दो रहेछ । पुलमा हिँडेर महाकाली नदी पार गर्नुको मज्जा नै अर्कै हुँदो रहेछ, फोटो खिच्दै जाँदा पुलको चौध सय मिटर लम्बाई पार गर्न हामीलाई पैँतिस मिनेट लागेछ । पुलबाट दोधारा–चाँदनीलाई हेर्दा बगैँचाजस्तै लाग्थ्यो । दोधारा–चाँदनीका बस्तीहरू रूखैरूखहरूले घेरिएका देखिन्थे । महाकाली नदीमा नयाँ पक्की पुल बनाई गड्डाचौकीबाट पर्यटक भित्रिने हो भने भविष्यमा दोधारा–चाँदनी स्वप्न बगैँचाको सहरको रूपमा विकसित हुन सक्दछ ।

दोधारा–चाँदनीमा हामी केही बेर टहल्लियौँ, दृश्यहरू क्यामरामा कैद ग¥यौँ र एक कप चिया पियौँ । त्यस पछिको हाम्रो गन्तव्य थियो शारदा ब्यारेज । त्यहाँ पुग्दा नेपालको सीमा समाप्त भैसकेको थियो । नेपालको वास्तविक सीमाभन्दा वरैसम्म गिद्घे आँखाहरू बसाइँ सरिसकेका रहेछन् । त्यति फराकिलो महाकालीमा बाँध बाँधेर पानी जमाइएको छ । तर, नेपालको नहरमा कमिला हिँडिरहेको देखिन्थ्यो । कस्तो बाध्यता हाम्रो ! हामीले विवश भएर हेरिरहनु परेको छ, महाकालीसित कालो साम्राज्यले निर्मम ठट्टा गरिरहेको । निशङ्कोच भएर हेरिरहनु परेको छ, आफ्नै आँखा सामु आमाको बलात्कार भइरहेको । शारदा ब्यारेजको डिलमा बसेर महाकालीलाई हेरुन्जेलको हरेक पल ममाथि युग पहिरोले थिचेको महसुस भइरह्यो । वास्तवमा मैले त प्रेम मात्र गरको हुँ, मेरो देशलाई, आफैलाई र आफ्नै आकाशलाई । म कान्छी औँला काटिएको यो देशको एउटा निरीह नागरिक, देश प्रतिको मेरो प्रेममा कुनै नारा थिएन र न त कुनै मञ्च नै । म त अस्तित्वको छातीमा वेश्या भएर कालो साम्राज्यसित बलात्कृत भैसकेको रहेछु । मैले मेरो देशको अधिनायक, सबल प्रशासक र स्वतन्त्रताका समर्थकहरूलाई सम्झेँ । हामीले त्यो ठाउँमा पनि धेरै बेर बिताएनौँ । मलाई त्यहाँ बसिरहन मन पनि लागेन । त्यहाँबाट देखिने सुन्दर दृश्यहरूले मलाई कत्ति पनि लोभ्याई रहेका थिएनन् ।

महेन्द्रनगर स्थित पर्यटन बोर्डको अफिसमा कार्यरत एक जना अधिकृत पनि हामी सितै थिए । उनले हामीलाई कार्यालय देखाए । त्योसँगै अध्यागमनको कार्यालय पनि थियो । सामान्यभन्दा सामान्य थियो त्यहाँको कार्यालय । केका लागि हो त्यो कार्यालय भन्ने नै मैले बुझ्न सकिनँ । एकैछिनमा हामीलाई त्यहाँबाट रेस्टुरेन्ट तर्फ लगियो । दुई बजिसकेको रहेछ । खानापछि रेस्टुरेन्ट मालिकसित छोटो परिचय गर्ने बित्तिकै हामीहरू डडेलधुराका लागि प्रस्थान गरिहाल्यौँ ।

अत्तरिया आईपुगेपछि नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटा भेटिए । उनी धनगढीसम्म जहाजमा आएका रहेछन् । बोर्डका सदस्य भएकाले यसै अवलोकन भ्रमणको सिलसिलामा आएकाले डडेलधुरा जाने कार्यक्रम रहेछन् । उनी पनि हाम्रै टोलीमा मिसिए । तर, उनी छुट्टै गाडीमा सवार थिए । हामीहरू लाग्यौँ डडेलधुरातर्फ । डडेलधुरातर्फ लागुन्जेल पर्यटकको पर्खाइमा रहेका चुरे फेदका सुन्दर झिलमिला र वेतकोटजस्ता तालहरूका बारेमा पनि चर्चा गरियो । सुदूर पश्चिमको बस्ती, पहरा र जङ्गलहरूमा पनि पर्यटनको आवाज प्रतिध्वनित भएर गुञ्जिरहेको पाइयो । घनाजङ्गलका बिचमा अवस्थित वेतकोट ताल धार्मिक विश्वास र मान्यताका हिसाबले पवित्र मानिँदो रहेछ ।

जति जति अगाडि बढिन्थ्यो उति उति चिसो हावाले स्पर्श गथ्र्यो । महेन्द्रनगरबाट अत्तरियासम्मको हल्का गर्मीले शरीरमा निस्केका पसिना पनि हावाले पिएपछि शीतल महसुस हुँदै गयो । बिस्तारै–बिस्तारै हामी सबै चिसियौँ । सबैले गाडीका सिटतिर फ्याँकिएका जाकेट शरीरमा उन्न थाल्यौँ ।

हरियो बिम्ब सजाएर उभिएका पहाडको छातीमा गुडिरहेका थियौँ हामी । जङ्गलको बाटो अनि भिरहरूमा मुस्कुराई रहेका लालीगुराँसका पूmलहरू देख्दा मन पनि असरल्लै फुल्थ्यो । आहा ! कति रमणीय ! पुरै आकाश निलो थियो । घोडाको लगामजस्तै घामको किरणले धर्तीभरि लगाम कसिरहेझैँ लाग्थ्यो । त्यो अपूर्व आभा थपिएको क्षणमा हामी जति जति उचाइमा पुग्थ्यौँ, त्यत्ति नै सुन्दर मानव बस्तीहरू बरबर आउँथे । बेनाम पहाडका अनगिन्ती सुखद थुम्काहरू देखिन्थे । उत्तरतर्फ अपी र सैपालका सेताम्मे हिमश्रृङ्खलाहरू आकाश छुन उभिइरहेका थिए । यस्तो लाग्थ्यो, स्वर्ग यहीँ छ । सुख यहीँ छ । यहाँका मान्छेहरू सुखी छन् र खुसी पनि छन् । मैले राज्यको आश्वासन सुदूर पश्चिमको हरेक बस्ती, पहरा र जङ्लहरूमा प्रतिध्वनित भइरहेको पाएँ ।

पर्यटन युगका सम्पादक लोकेन्द्र शाह र एडभान्स मोनिटरका, किशोर खड्का औँलाले देखाउँदै भनिरहन्थे, “ ऊ… त्यो डोटी जाने बाटो । उत्तापट्टी सिलगढी, बडिमालिका पदयात्रा मार्ग यतापट्टीबाट जाने ।”

उनीहरू सुदूर पश्चिमकै भएकाले स्वाभाविकरूपमा हामीलाईभन्दा बढी जानकारी थियो । हाम्रालागि उनीहरू पथप्रदर्शक नै थिए । घामले साँझको पाटामा बान्की परेको डडेलधुरा डाँडाको शिर चुमिरहेको थियो । हामी निरन्तर गुडी नै रह्यौँ किन कि हामी पनि उज्यालैमा डडेलधुरा चुम्न चाहन्थ्यौँ । तर डडेलधुराको होटेलमा पुग्दा सात बजी सकेको थियो । कोठाको प्रबन्ध मिलाउन केही समय लाग्यो । कोठामा छिर्दा साँढे सात भैसकेको थियो । आठ बजे खाना खानाका लागि डाइनिङ हलमा ओर्लन भनिएको थियो । केही क्षण आराम गरेर म तल अ‍ोर्लेँ ।

खानापछि राजेन्द्र सुबेदी भन्दै थिए, “भोलि बिहान सात बजे उठी सक्नु पर्छ रे दाइ, उग्र तारा मन्दिर र अमर गढीको भ्रमणपछि अन्तक्र्रिया पनि छ रे ।”

हाम्रो यात्राको दैनिक कार्य तालिका नै त्यस्तै थियो – खानु, घुम्नु, अन्तक्र्रियामा सहभागी हुनु र गाडी चढ्नु । सायद यही थियो अवलोकन भ्रमणको औचित्य । म कोठातर्फ लागेँ । अघिल्लो दुई रात मलाई खासै राम्ररी निन्द्रा परेको थिएन । त्यो रात राम्ररी निदाउने आशामा थिएँ ।

अमरगढीको अवलोकन
भोलिपल्ट बिहान (यात्राको चौँथो दिन) म सात बजे उठ्दा डडेलधुरा पुरै ब्युँझिसकेको थियो । झ्यालबाट चाहिएर हेर्दा घामको लालीले पूर्व क्षितिज रङ्गिई सकेको थियो । बाहिर कौसीमा निस्केर हेरेँ । सिङ्गो सुदूर पश्चिम नै जग मगाई सकेको रहेछ । सोह«सय मिटरको उचाइको डडेलधुरामा त्यति बेला हल्का चिसो थियो ।

मैले हतार–हतारमा नुहाई धुवाई गरेँ र एक कप चिया पिएँ । त्यतिखेरसम्म साथीहरू सबै तयार भई सकेका रहेछन् । हामी उग्र तारा मन्दिरतर्फ लाग्यौँ । उग्र तारा मन्दिर डडेलधुराको डाँडोभन्दा अझै माथि रहेछ । किंवदन्ती अनुसार पच्चिस सय वर्ष पहिले सीँका जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएको भन्ने जनविश्वास रहेछ ।
मैले पुजारीसित भलाकुसारी गर्ने मौका पाएँ ।

उनले भने, “उग्र तारा दुर्गादेवी शक्तिपिठहरू मध्यको एक हो । संसारका सबै देवीहरूले मोक्ष मागे तर उग्रताराले मोक्ष मागिनन् ।”
मन्दिरमा भक्तजनहरूको भिड भैसकेको थियो । मैले उग्रताराको दर्शन गरेँ तर केही मागिन्न आफ्नालागि । सुदूर पश्चिममा पर्यटन विकास होस् भनेर कामना मात्र गरेँ । केवल सुदूर पश्चिमका लागि ।

उग्रताराको दर्शन गरेपछि अमर गढी तर्फ लाग्यौँ । अमर गढी हाम्रा वीरपुर्खाहरूको युद्धकौशलताको ज्वलन्त प्रमाण हो । रणबहादुर शाहका शासनकाल र अधिराजकुमार नरबहादुर शाहको प्रत्येक्ष नेतृत्वमा सञ्चालित नेपाल एकीकरण अभियानमा बि. स. १८४७ मा सेती नदीको नारीदाङमा गोर्खालीफौजसित डोटेली फौजको हार भएको थियो । यसै क्रममा सोही वर्ष कर्णालीपारि शासन व्यवस्था चलाउन र युद्घ बिस्तार गर्न खटिएका अमरसिंह थापाले यो ढुङ्गे किल्लाको निर्माण गराएका थिए ।

उनको विजय अभियान कुमाउको राजधानी अल्मोडा, गढवाल र काङ्गडासम्म पुगेको थियो । जुन थुम्कामा यो किल्ला बनेको छ, पुरै थुम्का ढुङ्गाका पर्खालले घेरिएको छ । किल्लाको परिधि नाप्न मसित केही थिएन । परिधिलाई पर्खालको बाहिरबाट पाइलाले नापेँ । दुइसय तेइस पाइला रहेछ । यति पुरानो किल्ला हेर्दा यस्तो लाग्छ कि यो केही वर्ष अघि मात्र बनेको हो । पर्खालको जगको चौडाइ लगभग वाह« फिट छ र करिब दश फिटको उचाइ साँघुरिँदै साँढे पाँच फिटमा टुङ्ग्याएको छ । पखार्लभित्र चारै पट्टी बङ्करहरू बनाइएका छन्, जसमा रहेको प्वालबाट बाहिर बन्दुकको नाल मात्र छिर्छ, दुस्मनहरूलाई देख्न सकिन्छ तर बाहिरबाट भित्र देख्न सकिँदैन न त गोली नै छिर्छ । पर्खाललाई मजबुत पार्नका लागि प्रत्येक साँढे दुई मिटरको फरकमा काठका पिलरहरू राखिएका छन् । अचम्म्को कुरा त्यहाँ प्रयोग गरिएका काठहरू अझै पनि जस्ताको तस्तै छन् ।

अमर गढी देख्दा जोस नपलाउने कुनै पनि नेपाली हुँदैन । यस्तो लाग्छ, आफै अमरसिंह बनेर जाऊँ अल्मोडा र आक्रमण गरूँ त्यहाँका राजा महेन्द्र चन्दलाई । फेरि जाऊँ गढवाल र युद्घ गरूँ त्यहाँका राजा प्रद्युन्न शाहसित अनि फर्काऊँ बि.स. १८७९ को लडाइँमा गुमेका सम्पूर्ण भूभागहरू । यसमा प्रयोग गरिएका ढुङ्गाहरू लामा लामा, बाक्ला र फराकिला छन् ।

मैले त्यहाँका सेना अधिकृतसित जिज्ञासा राखेँेँ, “मान्छेले बोकेर ल्याउनै असम्भव लाग्ने ती बडेमान्का ढुङ्गाहरू कसरी ल्याइए होलान् !”
उनले भने, “तान्त्रिक विधिबाट मसान जगाएर सम्पूर्ण ढुङ्गाहरू मसानलाई बोकाइएको रहेछ ।”

उनले थपे, “दक्षिण पश्चिम पट्टी दुई सय मिटर पर एउटा धारा छ, जसलाई रानी धारा भनिन्छ जुन धारा जान किल्ला भित्रबाट सुरुङमार्फत जानु पर्छ । र, नुहाउँदा लगाएको भित्री वस्त्रलाई त्यहीँ त्यत्तिकै छाडेर फर्कनु पर्दो रहेछ, त्यसैले त्यहाँ अहिले पनि छाडिएका भित्री वस्त्रहरू भेटिन्छन् ।”

हामीले माल पायौँ तर चाल पाउन सकेनौँ । पर्यटकीय स्थल बनाउन सकिने सम्भावना हुँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्त्वको अमरसिंह गढी महत्त्वहीन अवस्थामा देख्दा मेरो मनै कुँडियो । त्यहाँ त केवल शून्यता मात्र थियो । त्यही शून्यताले मलाई गिज्याइरहेको थियो । मेरा सहयात्रीहरू होटेल तर्फ लागिसकेका थिए । कुँडिएको मन लिएर म पनि होटेलतर्फ फर्के ।

अन्तक्र्रियाका लागि हलमा स्थानीय एफएम, टिभी, विभिन्न सङ्घ–संस्था लगायत थुप्रै व्यक्ति विशेषको उपस्थिति भैसकेको थियो । परिचयात्मक कार्यक्रमसँगै अन्तक्र्रिया सुरु भयो । गुनासका पोकाहरू खोलिन थाले । आफैमा सुन्दर सुदूर पश्चिम, सोहसय मिटरको उचाइमा रहेको डडेलधुरा र यस क्षेत्रमा भएका प्राकृतिक एवं सांस्कृतिक विविधता अनि इतिहास र परम्पराजस्ता अथाह सम्भावनाका वावजुत पनि यो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास हुन नसक्नु विडम्बना नै थियो ।

अन्तक्रियाकै सवालमा एक जना युवक हामीलाई सुझाउँदै थिए, “दार्चुलाको ताक्लाकोटबाट मानसरोवर जाने छोटो बाटो यतै छ, खप्तडलाई गल्फ ल्कवको रूपमा विकास गर्न सकिन्छ, प्याराग्लाइडिङ गर्ने ठाउँ पनि छ ।”

वास्तवमा पोखराबाट प्याराग्लाइडिङ् विस्थापित हुन लागेको सन्दर्भमा सुदूर पश्चिमको यो ठाउँ जरुर विकल्प हुन सक्दछ । साक्षात् भगवान् नै प्रकट भएको सुदूर पश्चिममा धार्मिक पर्यटनको पनि त्यत्तिकै सम्भावना छ । सुदूर पश्चिममा अनगिन्ती संस्कृतिहरू मौजुदा छन् । गौरा पर्व सुदूर पश्चिमको मात्र होइन, सिङ्गो नेपालकै सांस्कृतिक सम्पदा हो । दिपायल एर्पोट सञ्चालन गर्न सकेको खण्डमा पर्यटन लहर आउन सक्छ । धेरै निराशा र अलिकति आशाको दियो जगाएर बसेका डडेल्धुराबासी पर्यटनका लागि राज्यबाट प्रतिबद्घता चाहन्छन् । अन्तक्र्रियामा राज्यसँग सम्बन्धित तिन सभासद् र नेपाल पर्यटन बोर्डका एक जना सदस्य थिए । उनीहरूले भन्नुपर्ने कुरा भने । हामी निजी क्षेत्रबाट गएका अवलोकनकर्ताहरूले पनि धैर्यताको बाँध नटुटाउन डडेल्धुराबासीलाई आग्रह गर्‍यौँ । उनीहरूले नेपाल पर्यटन बोर्डका तर्फबाट राखिएका कुराहरू विश्वस्त नभइरहेको जस्तो प्रतीत हुन्थ्यो । एक जना महिला सहभागीले त नेपाल पर्यटन बोर्डका प्रतिनिधिलाई धन्यवाद अहिले होइन, तपाइहरूले भनेका कुराहरू पूरा भएपछि मात्र दिउँला भन्नुले पनि त्यसको पुष्टि गथ्र्यो । राज्यले दिँदै आएको उधारो खुसीको बदला उनीहरूले यो पटक ‘धन्यवाद’ लाई ताँती राखे । अन्तक्र्रिया सकियो । हामी धनगढी पक्र्‍यौँ न्यानो स्वागत र उधारो धन्यवादका साथ ।

नमिठो अनुभूति भएको क्षण
डडेलधुराबाट धनगढी आइपुग्दा तिन बजी सकेको थियो । हामी पुग्नुअघि नै पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ पुगिसकेका थिए । टानका अध्यक्ष रमेश धमला र नेपाल पर्यटन बोर्डका कर्मचारी हिक्मतसिं ऐर पनि त्यहाँ मौजुदा थिए । कार्यक्रम रहेछ अन्तक्र्रियाकै । जता गयो त्यतै अन्तक्र्रिया !

म दिग्भ्रमित भएँ अन्तक्र्रियाहरूमा । अवलोकन भ्रमण अन्तक्र्रियाका लागि हो वा अन्तक्र्रियाका लागि अवलोकन भ्रमण हो मैले अलि बुझ्न सकिरहेको थिइनँ । हामी सिधै हलमा प्रवेश ग¥यौँ । हल ठुलो थियो । जिविस, नगर पालिका, सिडियो, स्थानीय सञ्चारकर्मी, राजनीतिकर्मी, बुद्घीजिवी, लगायत व्यवसायीहरूको बाक्लो उपस्थितिले त्यो हल खचाखच भैसकेको थियो । नेपाल पर्यटन बोर्डका कर्मचारी हिक्मतसिं र केवि शाह कार्यक्रमको प्रारूप बनाउँदै थिए । मलाई लाग्यो, आज यहाँ कार्यक्रम भव्य हुँदै छ । मैले सोचेँ– अवलोकन भ्रमण गर्ने निजी क्षेत्रका प्रतिनिधिहरूलाई एक ठाउँमा राखिन्छ र सुदूर पश्चिमको पर्यटकीय सम्भावनाहरूको बारेमा उनीहरूबाट सोही जिज्ञासा हुन्छ ।

कार्यक्रम सुरु भयो । अन्तक्र्रिया कार्यक्रमका अध्यक्षता गरे पर्यटन सचिवले । आसन ग्रहण गराइयो टानका अध्यक्ष, सभासद्हरू, नेपाल पर्यटन बोर्डका सदस्य र कर्मचारीहरूलाई । र, उनीहरूलाई स्वागत पनि गरियो रङ्गिन खादाले । यो देख्दा यस्तो लाग्थ्यो कि त्यो अवलोकन भ्रमणमा सामेल हुनेहरू पर्यटन सचिव, टानका अध्यक्ष, नेपाल पर्यटन बोर्डका एक सदस्य र दुई कर्मचारी मात्र हुन् । गाउँ पर्यटन प्रर्वद्घन मञ्च–नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने स्वयं म र राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका प्रतिनिधि राजेन्द्र सुवेदी र निजी क्षेत्रका अन्य तिन जनाको नाम नै लिइएन । कार्यक्रमको प्रारूप बनाउने नेपाल पर्यटन बोर्डका कर्मचारी हिक्मतसिं र केवि शाहले हाम्रा नाम बिर्से वा नाम लिइरहनु आवश्यक नै ठानेनन् । यसरी नाम समेत पनि नलिइएकोमा राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका प्रतिनिधि राजेन्द्र सुवेदी त्यति खुसी थिएनन् र अन्य साथीहरू पनि त्यस्तै देखिन्थे ।

उनीहरू खिन्न हुँदै भन्दै थिए, “हामी त खानकै लागि मात्र आएको जस्तो भयो । हल भित्रका मान्छेहरूले पनि के भन्ठाने होलान् !”

सचिवज्यूबाट अन्तक्र्रियाका लागि फ्लोर खुला गर्नु भयो । अन्तक्र्रिया लामै समयसम्म चल्यो । मैले महसुस गरेको त्यो अन्तक्र्रिया विल्कुल टीकापुर र डडेलधुराको जस्तै थियो । यस अर्थमा कि, सुदूर पश्चिम उही । मानिसहरूका समस्या उही । प्रश्नहरू उही । पिडाका तरङ्गहरू उही । सम्बन्धित निकायहरूले दिने गर्ने आश्वासन उही ।

धनगढी त्यही ठाउँ हो जहाँ २०६३ मा सुदूर पश्चिम महोत्सव हँुदा काठमाडौँबाट गएका प्रमुख अतिथिलाई २१ बुन्दे मागको प्रतीकको रूपमा २१ किलोको माला पहि¥याइएको थियो । विगतका खोक्रा आश्वासनहरूले दिक्क भैसकेका सुदूर पश्चिमले त्यसदेखि नै राज्यसित प्रस्तुत हुने अचम्मको नयाँ शैली अपनाई सकेको थियो । अन्तक्र्रियामा बस्दाबस्दै मलाई भित्रभित्रै लागिसकेको थियो कि उनीहरू अन्तक्र्रियामा प्रस्तुत भएका कुराहरूप्रति उनीहरू विश्वस्त छैनन् । वजनदार पूmलको मालाले स्वागत गर्ने धनगढीले आज वजन विहीन खादा लगाइदिनुले पनि यही कुरालाई सङ्केत गथ्र्यो । हामीले गरेको सुदूर पश्चिमको अवलोकन भ्रमणलाई सुदूर पश्चिमले नै अवलोकन गरिरहेको प्रतीत भइरहेको थियो । यो अन्तक्र्रिया फेरि पनि अन्तक्र्रियामा मात्र सीमित रहे सुदूर पश्चिमले काठमाडौँसित प्रस्तुत हुने नयाँ तरिका कस्तो होला त्यो भने भविष्यकै गर्भमा छ । अन्तक्र्रियामा मैले पनि आफ्ना कुराहरू राखेँ । र, कामना गरेँ, सुदूर पश्चिमलाई राज्यले उपेक्षा गरिरहेको छ भन्ने महसुस अब कसैले गर्नु नपरोस भनेर ।

झमक्क साँझ पर्दा कार्यक्रम पनि सकियो । कार्यक्रम सकेपछि राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका प्रतिनिधि राजेन्द्र सुवेदीले नेपाल पर्यटन बोर्डका हिक्मतसिं ऐरसित अलिकति असन्तोष व्यक्त गरे । कार्यक्रममा उनी अपमान भएको ठान्दथे । फेरि यस्ता कमी कमजोरीहरू पहिल्याइदिनु कर्तव्य पनि हो । अपमान गर्न नखोजिएको भए पनि आयोजकको असावधानीले सम्मान गरेको जस्तो लाग्दैनथ्यो । तर मैले यसलाई गम्भीर रूपमा लिइनँ ।

कार्यक्रमको समाप्तिसँगै हामी सुदूर पश्चिमको अवलोकन भ्रमणको अन्तिम चरणमा आइपुगेका थियौँ । अवलोकन गर्ने ठाउँ नभएर हो वा समय नभएर हो, धनगढीमा अन्तक्र्रिया बाहेक अरू कुरा अवलोकन गरिएन । भोलिपल्ट घर फर्कने कुरामा खुसी थियौँ तर लामो यात्रा गर्दा हुने थकानले हामी आँत्तिइ सकेका थियौँ । हामीलाई यसैले पिरोली रहेको थियो । नेपाल पर्यटन बोर्डले हामीलाई धनगढीबाट काठमाडौँ फर्कने चाहिँ जहाजबाट गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने पनि लाग्यो ।

होटेलको कोठामा प्रवेश गर्ने बित्तिकै राजेन्द्र सुवेदीले भने, “ दाइ ! यति लामो बाटो गाडीमा जानुभन्दा बरु जहाजबाट जाऔँ ।”
मैले भने, “भई हाल्छ नि ! टिकट पाइन्छ कि कोसिस गर्नुस् न ।”
दुभाग्र्यबस जहाजको टिकट पाइएन ।

अन्ततः बिहान पाँच बजेनै धनगढी छोडयौँ काठमाडौका लागि । जहाजमा धनगढी पुगेका महानुभावहरू भने जहाजबाटै फर्किने भएकाले मस्त सुतिरहेका थिए ।

यात्राको प्रारम्भदेखि अन्तसम्म गाडीमा यात्रा गर्ने हामीबिच यात्राभर राजनीतिक बहस सकिएन । बहस गर्नेहरू उही ! अनि राजनीतिक बहसको विषय पनि उही ! धेरै कुरा देखियो/महसुस गरियो सुदूर पश्चिमको अवलोकन भ्रमणमा । अन्तक्र्रिया, अन्तक्र्रिया र अन्तक्र्रियाहरू । सुदूर पश्चिमका असम्बोधित प्रश्नहरू अनि उनीहरूका पीडाका तरङ्गहरू । मैले घुमेको नेपालका अरू धेरै ठाउँहरूसित पनि दाँजेर हेरेँ सुदूर पश्चिमलाई । तर टीकापुर, चाँदनी–दोधारा र डडेल्धराका क्षणहरू व्यक्त गर्न म असमर्थ । किताबका पानाहरूजस्तै छरिएर रहेका प्राकृतिक छटाहरूलाई ब्यख्या गर्न पनि म असमर्थ । महाकालीसित कालो साम्राज्यले निर्मम ठट्टा गरिरहेको दृश्य र मातृभूमिमाथि भइरहेको निरन्तर बलात्कारलाई शब्द चित्रमा उतार्न म असक्षम । खै ! कसरी भनूँ नेपालको ऐतिहासिक एउटा महत्त्वपूर्ण हिस्सा ओगट्ने सुदूर पश्चिम कस्तो छ भनेर !

प्रतिक्रिया