अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 18:28

सिराइचुलीमा चुलिँदा

राजेन्द्रमान डङ्गोल २०७६ मंसिर १ गते १२:१९ मा प्रकाशित

मैले नयाँ अनुभूति गरे, त्यो दिन ।

एउटा नवीन पर्यटकीय गन्तव्य । सर्यूाेदयको त्यो रोमाञ्चक क्षण । ओठ होइन, मेरो मन हाँस्यो मज्जैले ।

जान्न सके साँच्चीकै सुरुचिपूर्ण हुन्छ, यात्रा । अझ शैक्षिक यात्राको त खास उद्देश्य हुन्छ नै । शैक्षिक यात्रा फगत यात्राका लागि यात्रा होइन । पदयात्रा सहितको यस्तो यात्रामा जन जीवन र प्रकृतिलाई अत्यन्तै नजिकबाट नियाल्न पाइन्छ । रहस्यहरूको प्यान डोरा बक्स नै हो प्रकृति र आफैँमा विशाल शिक्षालय पनि । प्रकृतिसित सिक्न नसक्नेहरूले समग्र जीवनलाई बुझ्न सक्दैन भन्ने ठान्छु म । ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भनेको यही हो ।

यस्तै सोचिरहेको थिएँ म । ताते ताते गर्दै नागढुङ्गा छिचोलेपछि कमिलाका ताँतीझैँ पृथ्वी राजमार्गमा गुडिरहेका गाडीहरूलाई उछिन्दै बत्तिएको बस हुग्दे (५०० मिटर) मा पुगेर रोकियो । बसमा सवार थिए, शैक्षिक यात्राका लागि निस्केका काठमाडौँ एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट (क्याथ) का २८ जना विद्यार्थी र शिक्षक शर्माद्वय राजकुमार र आशीष । उनीहरूको साथमा थिएँ म, टुर लिडरको रूपमा । विद्यार्थीहरूको दिमागलाई फराकिलो पार्ने शिक्षण विधिको एउटा प्रभावकारी कायदा हो– यस्तो यात्रा ।

ग्रामीण गरिबी निवारणका लागि पर्यटन परियोजना (टीआरपीएपी) ले पहिचान गरेको गन्तव्य सिराइचुली (१,९७२ मिटर) आरोहण गर्ने सिलसिलामा थियौँ हामी । यात्राको उद्देश्य थियो– प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुराताङ्खिवक पक्षको अध्ययन तथा पर्यटन व्यवसाय सम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने । क्याथको पाठ्यक्रमसँग सम्बन्धित कार्यक्रम थियो त्यो ।

हात्तीबाङको बसाइ
हुँग्देपछि गर्नु थियो पदयात्रा । पुग्नु थियो हात्तीबाङ (१,४१० मिटर) । हिडनु थियो, पाँच घण्टा । मान्छको लर्कन लाग्यो, रहर र बाध्यताको उकालो चढ्दै । नागबेली गोरेटोलाई ढपक्कै ढाकेको थियो, हाम्रै हुलले ।

आज घाम र उकालोलाई परीक्षा दिँदैछन् क्याथका विद्यार्थीहरू ।

“सरहरूले लिने विद्यार्थीहरूको परीक्षा त उकालोले पो लिने भयो नि !” राजकुमार सरसित मेरो हल्का ठट्टा ।

“परीक्षा त म आफैँ पनि दिँदै छु नि ! पास चाहिँ हुने हो कि होइन ।” बोत्तलको पानी घुट्क्याउँदै राजकुमार सरको जवाफ ।

लामो समय अमेरिकाको युनिभर्सिटीमा पढाउँदा पढाउँदै छोडेर नेपाल आएका । मातृभूमिप्रति अगाध स्नेह छ उनमा । बोल्ड पर्सनालिटी भएका उनी आफूलाई लागेका कुराहरू स्पष्ट रूपमा बेल्थे । कुरा चपाएर बोल्नेभन्दा यस्तै मान्छे मन पर्छ मलाई ।

उकालो देखेर अत्तालिएका केही विद्यार्थीहरू हिँडाइलाई निरन्तरता दिइरहेका छैनन् । अरूलाई अघि लगाएर आफूहरू उभिएका छन् ठाउँ ठाउँमा । तर आशीष सरको चाहिँ आफ्नै लय । ढिलो तर निरन्तर । उनी भलादमी, हँसमुख र मिलनशील । त्यसले त विद्यार्थीहरू सहज महसुस गर्छन् उनीसित ।

कानमा ठोक्किइरहेको छ, त्रिशूली नदीको धुन । उकालिँदै गर्दा फर्की फर्की हेर्छु म त्रिशूलीलाई । मैलो त्रिशूलीले पीडाका छालहरू उरालिरहेकी छे । विरहका गीत गाइरहेकी छे, कल्लोल आवाजमा । सुनाइरहेकी छे– पानीका छालहरूमा पसिना चुहाउने माझीहरूको कथा । बुलन्द गरिरहेकी छे– बालुवा माफियाका विरुद्धमा शक्तिशाली आवाज । यो आवाजमा न्याय मागिरहेको आभास हुन्छ त्रिशूलीले । तैपनि मान्छेले नदीको भाषा पटक्कै बुझ्दैनन् वा बुझ्नै चाहन्नन् । यही त छ विडम्बना !

सालको पहिलो महिनाको पहिलो हप्ता । बसभित्रको वातानुकुलताबाट बाहिर निस्केदेखि नै ज्यानलाई आगोको भुङ्ग्रोमा घुसारेजस्तै अनुभूति भइरहेको थियो, त्यसमाथि पनि सुरु मै ठाडै उकालोको सासना । सुस्तरी चलमलाउँदै थियो मानव लहर, प्रत्येक पाइलामा उभिएर लामो श्वास तान्दै । उकालोले कतिपय विद्यार्थीहरू त गलिसकेझैँ लाग्थे । बिचराहरू ! नगलोस् पनि किन । मै हुँ भन्नेलाई त गलाउँछ उकालोले ! सहरको सम्पन्न परिवारमा जन्मेर सुख सयलमा हुर्केकाहरूका लागि पहाड चढ्नु ठुलै चुनौती हो । पदयात्रामा पहाडको चुनौतीलाई स्वीर्कानै पर्छ ।

चुनौती बिनाको यात्रामा रोचकता पनि हुँदैन । पर्यटनका विद्यार्थी हुन्, यति कष्ट पनि नभए त कसरी बुझ्नू नेपालको पर्यटन । यथार्थमा यसै उद्देश्यका लागि थियो यात्रा ।

गाउँमा जन्मेर सहर गएकाहरूका लागि उकालो हि लड्नु समस्या होइन । कतिपयले त मज्जा लिइरहेको अनुभूत हुन्थ्यो । उत्साहको उकालो चढिरहेका एक विद्यार्थीले हठात् गुनगुनाउन थाले –
‘हिँड हिँड साथी हो
कमिलाको ताँती यो
दुलाबाट निस्केर
हिँड्छ धुलामाथि यो……….’

हो, यसरी नै गाउँथ्यौँ हामी, कमिलाको ताँती देख्दा । कमिलासँगै खेल्थ्यौँ, जिस्कन्थ्यौँ । कहिलेकाहीँ त कमिलाले टोक्थ्यो पनि । कमिलाकै पदचापलाई पछ्याउँथ्यो हामी । बालवयको यस्तै मीठा सम्झनाहरू तैरिए, मेरो मानसपटलमा ।

उनको आवाज सुनेपछि अर्को एक जनाले पनि गुनगुनाउन थाले उही लयमा तर गीतलाई समय सापेक्ष बनाएर–
‘मान्छेहरूको ताँती यो बसबाट
ओर्लेर हिँड्छ डाँडामाथि यो……….’

परिवेश अनुसार उनले गाएको बेठिक थिएन । कमिलाकै ताँतीजस्तै थियो, पहाडको छातीमा सलबलाइरहेको मानव लर्कन । कम्तीमा उनले गीतको सरु, ताल र लय नबिगारिकनै गाए । रिमिक्स गर्ने अर्थमा पुराना गायकका गीतलाई आफ्नै तालमा गाउने फेसन चलेको छ । बेसुर लाग्छन् ती गीतहरू तर कस्तो अचम्म ! त्यस्तै गीत चाहिँ हिट रे !

“हो, कमिलाको ताँतीजस्तै गरी हिँड्नुपर्छ है।” आशीष सर अर्थ्र्याउँदै थिए विद्यार्थीहरूलाई । उनी थिए, दार्जिलिङका नेपाली भाषी । बोलीमा एक खालको मिठास हुन्छ दार्जिलिङहरूमा ।

कमिलाको गीतको प्रसङ्ग चलिरहेकै बेला कमिलाकै बिम्ब प्रयोग गरिनुमा अनुशासनको पाठ अन्तर्निहित थियो । विद्यार्थीहरू टुरमा निस्केको बेला स्वतन्त्रताको पखेटा नफिँजाओस् भनेर होला, उनी अनुशासनको घेराभित्र राख्न चाहन्थे उनीहरूलाई । यति मात्र होइन, उनी एकता, मिहिनत र धैर्यको बोध गराउँदै थिए । अनुभवी शिक्षक न हो । विद्यार्थीहरूलाई आफ्नो काबुमा राख्ने कस्तो राम्रो तरिका ! मैले बुझिसकेको थिएँ, आशीष सरको ‘डिप्लोम्यसी ! ’

जीवनमा सफलता हासिल गर्न एउटा मान्छेमा भएको अनुशासनले महङ्खवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अनुशासनमै चलिरहेको हुन्छ, स्वयम् प्रकृति पनि । जसरी सूर्य उदाउँछ र अस्ताउँछ । ऋतुहरू एकपछि अर्को आउँछन् पालैपालो ।

“लुक याट द बर्डज ! दे क्यान फ्लाई बट क्यान्ट गो आउट अफ सर्टेन सर्कम्ट्यासेस ।” उडिरहेका चराहरूलाई देखाउँदै राजकुमार शर्माले बोले । उनको ओजपूर्ण बोलीमा नतमस्तक हुँदा रहेछन् विद्यार्थीहरू । अनुशासन न हो ।

मान्छेको जीवनको गति पनि अनुशासनमै चलिरहेको हुन्छ भन्ने आशय थियो उनको । कलेजका विद्यार्थीलाई अनुशासन सिकाइरहनु पर्ने विषय त होइन तर शिक्षक हुनुको नाताले जिम्मेवारी पुरा गर्दै थिए उनी । सायद उकालोको कहरमा जिब्रो फड्कारिरहने रहर नभएर पनि होला, विद्यार्थीहरूले उनलाई सुने मात्र । उनीहरूलाई पनि लाग्दो हो– टुरमा निस्केको बेलामा पनि प्रवचन सुनिरहनु पर्ने ।

अझै धेरै थियो, उकालो उक्लन । घामले आगोको मुस्लो निरन्तर बमन गरिरहेकै थियो । ‘भोकोलाई खीर’ भनेझैँ भयो हामीलाई, लैताकको चौतारी भेटेपछि । बाफिएको ज्यानलाई चिसो छहारी भित्र लुकाउँदा झरनामा नुहाएजस्तैआनन्द आउने ।

किनकिन आँखा फेरि त्रिशूलीमै पौडन पुगिरहेछ । छालहरूमा झ्वाम्लाङ्ग फाल हान्दै जल विहारमा रमाइरहेका डुङ्गाहरू देख्दा ईर्ष्या लाग्छ । र, लाग्छ– पदयात्रा छोडेर त्रिशूलीसित स्पर्श गर्न जाऊँ । कल्पना मात्र हो ! जतिखेर जे इच्छा लाग्यो त्यही गर्न त किन पाइन्थ्यो र काँधमा जिम्मेवारी बोकेर हिँडेपछि । अघिल्लो वर्ष गरेको र्याफ्टिङ सम्झरैमन बुझाएँ मैले ।

नितान्त भिन्न लाग्दै थियो, यो यात्रा । भविष्यका कर्णधारहरूलाई डोर्याउन पाउनु आफैमा संयोग थियो । पुलकित थिएँ म । यस्तो लाग्थ्यो– उनीहरू नै नेपालको पर्यटनको भविष्यको भरोसा हुन् । यीमध्ये कति पथप्रदर्शक बन्लान् ? कति सफल व्यवसायी बन्लान् ? कति नीति  निर्माणको तहमा पुग्लान् ? मनमा कुतूहलताका तरङ्गहरू उठ्दै थियो ।

अर्को चौतारी आयो खोरभञ्ज्याङको । घामको राप र तापले चनखमन्द थिए सबैसबै । सुनेको थिएँ– शीतल छहारीमा बसेर गरेको मायाप्रीतिका कुरा कहिल्यै सकिँदैन रे । आफूले त त्यस्तो अनुभव नै कहाँ नै गर्न पाइयो र । विद्यार्थीहरूको अगाडि गाउन कति उचित थियो कुन्नि !चकमन्नताकलाई तोड्नैलागि पनि गाइदिएँ मैले संिजव प्रधानले गाएको गीत सबैले सुन्ने गरी–
‘देउरालीको चौतारीमा
सङ्गिनीले आँखा छोपेको
आउँछ अझै झझल्को……..’
अर्कोले गाए–
‘उकाली ओरालीहरूमा
भन्ज्याङ अनि चौतारीहरूमा…..’

निस्तब्धतालाई तोड्यौँ हामीले । रोमाञ्चक हुनु पर्छ यात्रा । यात्रा भनेकै यही हो ।

झ्याङ्गिएर आकाश ढाकिएका वर–पिपलका पटबृक्ष लहरै उभिएका छन् र बतासको लैबरीमा निर्बाध फरफराइरहेका छन् पातहरू । यतिखेरको हावा नै पोसिलो ! टुसुक्क बस्ने बित्तिकै थकानले चुर भएको ज्यान फुर्तिले भइहाल्ने । यो पो हो त हावा खानुको मज्जा । खायौँ मज्जैले, धीत मर्ने गरी ।

पुर्खाको चिनो हो चौतारी । बटुवाहरूलाई सुस्ताउन बनाइदिएका । अहिलेको खुला मञ्च र चौतारी उस्तै हो । उहिले उहिले गाउँका मानिसहरू चौतारीमै भेला भएर छलफल गर्थे । चौतारीमै बसेर दुःख–सुख साटासाट गर्थे । खुला नाट्यशाला नै थियो चौतारी । चौतारीमै मनोरञ्जन गर्थे । गाउँले होस् वा बटुवा, सबैका लागि उपयोगी । कति दीर्घकालीन थियो हाम्रा पुर्खाहरूको सोच । त्यसलै त युग युग बाँचेका छन् वर–पिपलको जोडी, चौतारी भएर ।

सडक आएको छनै र त अस्तिङ्खवमैछन्, यहाँका चौतारीहरू । आफ्नैआँखाले देख्दादेख्दै कति चौतारीहरू मासिए । सम्झे, आफ्नै गाउँ (सेरा)को त्यो चौतारो । कम आनन्द आउँदैनथ्यो त्यहाँ बसेर हावा खाँदा । त्यहाँ घाँसको भारी बिसाएर लामो श्वास फेथ्र्यौं हामी । सडकको विकाससँगै नसिई गयो । यो पनि त नासिन के बेर र । बरको हाँगाहरूले आकाश ढाकेझैँ चिन्ताले ढाक्दै थियो, मेरो मन ।

शरीरको भारी बोकेर उकालिँदै पुग्यौँ, जयपुरी(१,३०९ मिटर)को चौतारीमा । एकातिर थकाइ, अर्कोतिर रित्तिँदै गएको पेट । विद्यार्थीहरूको पीडा म महसुस गर्न सक्थेँ । दहीको लागि प्रख्यात ठाउँ रहेछ– जयपुरी । सुन्तला पनि बिछट्टै फल्दो रहेछ यहाँ । र त यहाँका मान्छेहरू पनि रसिला हुँदा रहेछन्, सुन्तलाको रसजस्तै । बटुवालाई एकराते दहीको साथमा च्यूरा र सुन्तला रोजी छाडी भएपछि के चाहियो र ।

मुस्कुराइरहेका थिए– पश्चिम क्षितिजमा टाँसिएका मनास्ल, गणेश हिमाल, लाङटाङ र गौरीशङ्कर हिमाल । अझै पर देखिन्थे लमजुङ र अन्नपूर्ण शृङ्खला । हिमालहरूको प्रेमिल हाँसोले मन्त्रमुग्ध थियौँ हामी । मैले विद्यार्थीहरूलाई हिमालहरूको नाम बताएँ एकएक गरी ।

कुन कुन हिमालहरूको नाममा पदयात्रा चल्छ भन्ने कुरा पनि जानकारी गराए । कतिपयका जिज्ञासाहरूलाई पनि मेटाइदिए । “गाइज ! पे एटेन्शन टू हिम् । याज एन एक्पटर्, यूक्यान लर्न अ लट फ्रम हिम् ।” साइड टक गरिरहेका विद्यार्थीहरूको ध्यान मतिर खिचाउँदै थिए, राजकमार सर । उनी चाहन्थे एजुकेसनल टरु जस्तै हुनु पर्छ र, ‘एजुकेसनल टरु’ ।

हिमालका चुचुरोदेखि स्मित पहाडका केस्राकेस्रा केलाउन थाले आँखाहरूले । दृष्टि फैलियो महाभारत पर्वत शृङ्खलाका खोँचहरूसम्मै । वसन्तको मौसम । हरियाली जताततै । फुलिरहेका थिए, विभिन्न प्रजातिका फूलहरू । मन्द हावामा मधुर सङ्गीत भर्दै थिए लाँकुरीका पातहरू । बैँस कोरल्दै थिए, कोइलीका जेडी । सुमसुम्याउँदै थिए किसान दाजुभाइहरू तरेली परेका बारीका पाटाहरूलाई । र, छुन्मुनाइरहेका थिए नानीहरू विद्यालयको चउरमा । एकसेएक सुन्दर थिए दृश्यहरू । बोटभरि लटरम्म फलेका सुन्तलाका पहेँलो रङले गाउँलाई नै उज्यालो बनाइदिएको छ । त्यसो त प्रसन्नताको रङ पनि हो पहेँलो । प्रकृति रमाएको ठाउँमा मान्छे पुगेपछि नरमाउने कुरै भएन । अघि उकालोको सकसले वाक्य बसेकाहरूले पनि हाँसोको फोहरा छुटाउन थाले । हिमालहरूको लहर देख्दा सिके होलान् स्वाभिमानको पाठ पर्यटनका आँकुरोहरूले।

चुनौतिको पहाड छिचोल्न अझै बाँकी छ । कोटगाउँ र मारभञ्ज्याङका बस्तीहरू छिचोल्दै पुग्यौँ हात्तीबाङ । हात्तीबाङ हाम्रै प्रतिक्षामा थियो, स्वागतरूपी हातहरू लिएर । दिनभरि आगो ओकेलिरहेको घाम पनि चिसिइसकेको थियो, त्यहाँ पुग्दा । सिराइचुलीको द्वार हो– हात्तीबाङ । बान्की परेको पहाडले च्यापेको छ यसलाई । यसले आश्रय दिएको छ– गिरी, पुरी, मगर र चेपाङका जातिलाई । लोपोन्मुख जाति हो– चेपाङ ।जम्मा दश धुरी चेपाङ छन् यहाँ । चेपाङ भाषामा ढुङ्गालाई ‘बाङ’ भनिन्छ । हात्तीको जस्तो पाइला भएको ढुङ्गा भएकोले त्यो ठाउँलाई ‘हात्तीबाङ’ भनिएको हो रे । यही कुरा बताए मैले उनीहरूलाई । झट्ट हेर्दा पल्टेलाझैँ लाग्छ तर आदिम कालदेखि पहाडको छेउमा अडिएको अडियै छ, त्यो बडेमानको ढुङो ।

होमस्टेको अवधरणा आउनुअघि पनि यहाँ छिटपुट विदेशी पर्यटक नआएका होइनन् । एकाध ट्रेकिङ कम्पनीले क्याम्पिङ ट्रेकिङ गराउँथे । खानाको व्यवस्था पनि कम्पनीले गर्ने भएकोले पर्यटन व्यवसायको महसुस गर्न पाएका थिएनन् हात्तीबाङबासीले । भर्खरैमात्र हो– टीआरपीएपीको ओदानमा हात्तीबाङले होमस्टेको कसौँडी बसाल्न पाएको । पाहुनाहरूलाई आतिथ्य सत्कार पस्कन सिक्दैछ हात्तीबाङ । टीआरपीएपीले कम्युनिटी पनि हाउस बनाइदिएको छ तर सञ्चालनमा आउन सकेको छनै । द्वन्द्वका कारण सिङ्गो पर्यटन नै प्रभावित भइरहेको बेला टीआरपीएपीको योजना कतै ‘बिरबलको खिचडी’ भनेजस्तो हुने त होइन ! चिन्तनमग्न थिए म । कुन होमस्टेमा कतिजना बस्ने भन्ने कुराको चाँजो मिलाए तिलक राना मगरले । दशवटा होमस्टमा बाडियौँ हामी । सुत्नका लागि होमस्टे भएपनि खाने व्यवस्था भने सँगै जोडिएको तिलक र गम्भिर राना मगर घरमा थियो ।

“हे गाइज ! यू आर फ्री फर हाफ एन आवर । यु सुड कमब्याम हियर याट सिक्स ओ क्लक सार्प ।” आआफ्ना होमस्टे ताक्दै गरेका विद्यार्थीहरूलाई राजकुमार सरको आज्ञा ।

चेपाङ जातिको बारेमा बुझ्न रौसिएको म शौभाग्वस चेपाङकै घरमा परेछु– निर्मल चेपाङको । हात्तीबाङको दशवटा होमस्टेमध्ये चेपाङको होमस्टे एउटैमात्र त्यही रहेछ । एउटा मिठो संयोग थियो त्यो । उनले मलाई घरसम्म पु¥याए र अतिथिका लागि छुट्याएको कोठा दिए । घर थियो, गाउँको पुछारमा । बार्दलीसहितको सानो दुईतले घर । घर अगाडि केरापाते र थुङ्गे सयपत्रीका फूलहरू फुलिरहेका । दलानको डँडाल्नीभरि मकैका झुत्ताहरू झुण्ड्याइएका ।

आँगनमा छुन्मुनाइरहेका थिए, निर्मलका बालबच्चारू । ढुङ्गा र माटाको भएपनि लिपपोत गरेर सफा सुग्घर राखिएको छ घरलाई । पिँढीको कुनामा बुन्दाबुन्दैको डोको छ । कोठाभित्र भित्तामा ऐना झुन्ड्याइएको छ । टेबलमा काँइयो र बेडमा रूमाल राखिएको छ । एकजोर चप्पल पनि राखिएको छ । भएको एउटा कोठा मलाई दिएपछि उनीहरू कहाँ सुत्लान् त । कुतूहलता जाग्यो मलाई ।

सोधेँ, “तपाईंहरू चाहिँ कहाँ सुत्नुहुन्छ त ?”
“मझेरी, बार्दली । हामी त मिलेर सुतिहाल्छौँ नि ।”
थप सम्वाद गरेँ मैले उनीसित–
“कति छन् बच्चाबच्चा ?”
“चार छोरी र दुई छोरा ।”
“स्कुल जान्छन् त बच्चाहरू ?”
“जान्छन् । ठूली चाहिँ चारमा पढ्दैछे ।”
“अर्को चेपाङ बस्ती कहाँ छ ?”
“कान्दा र ज्यानदालामा । ज्यानदाला त नजिकै छ तर कान्दा गाउँ चाहि ँ चितवनको
अति विकटमा पर्छ ।”
“उनीहरूको दिनचर्या कस्तो हुन्छ ?” मेरो उत्सुकता ।
“खोरियामा फल्ने कोदो र मकैले छ महिना पनि खान पुग्दैन । जङ्गलमा गिठा, भ्याकुर
नखोजी हुँदैन । दुःखको बयान गरेर साध्य छैन सर ।”

“चिया खाऊँ है सर !” पिढीमा गुन्द्री ओछ्याँदै चियाको प्रस्ताव राखे निर्मलले । उनले श्रमतीलाई चिया बनाउन लगाए र आफूचाहिँ आधा बुनेको डोकोमा हात लगाए । चेपाङ जातिका बारेमा थप जानकारी लिने थियो मौका थियो यो । दैनिक जीवन पद्धति र संस्कारको बारेमा धेरैकुराहरू बताए उनल मलाई ।

कति राम्रो समझदारी चेपाङ परिवारमा । लोग्ने मान्छेहरू जङ्गलमा शिकार गर्ने र कन्दमुल खोजेर ल्याउने, अनि स्वास्नी मान्छेहरू चाहि घरको काम गर्ने र पकाई तुल्याई गर्ने । सबैको आआफ्नै जिम्मेवारी । बेलुकाको खानपिनपछि नाचगान पनि गर्ने । नियतिले भीर खोस्रेर जीवन हिँडाउन पर्ने भए पनि खुसी र सुखी जीवन बाँच्दारहेछन् उनीहरू ।

यी सबै बाध्यताबाट कहिले छुट्कारा पाउलान् यिनले । चुल्हो बाल्न पाउँदैनन्, जाडोमा नाङ्गैरात काट्नुपर्छ । ओखति त आकाशकै फलझैँ हो उनीहरूका लागि । कतिसम्म निरिह जीवन बाँच्नुपर्ने हो यिनले । भारी भयो, मेरो मन ।

साँझ ढले पछी टुल्की सल्काए निर्मलले । बिस्तारैपिल्पिलाउन थाले टुकी बत्तीहरू गाउँभरी । एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि हात्तीबाङले बिजुलीको उज्यालो देख्न पाएको छनै । आशावादी छन् उनी हात्तीबाङमा बिजुली आउँछ भन्नेमा ।

“यी नानी पनि चेपाङकै छोरी हुन् । बाआमाले चौध वर्षमै बिहे गरिदिएका ।” तिलक गिरीको घर जाँदैगर्दा पिठयूमा बच्चा बोकेर झर्दैगरेकी एउटी केटीलाई देखाउँदै उनले भने ।

“थाहा छ सर ! बाउआमाले बिहेको दाइजोको रूपमा चिउरीको बोट दिन्छन् । सक्नेले सिङ्गै बोट र नसक्नेले एउटा हाँगामात्र ।” गरिब भएको कारणले अरू कुरा दिन नसकेर चिउरीको बोट दिएजस्तो लागे पनि वास्तविकतामा प्रकृतिसित सामिप्यताको कारण प्रकृतिप्रतिको पे्रम हो भन्ठान्छु म उनहिरूको यो संस्कारलाई ।

पिँढीको डिलमा जलेको पेट्रोम्याक्सले उज्यालो छरिरहेको थियो, छ बजे तिलक गिरीको घर पुग्दा । छिनछिनमा दम दिइरहन्थे तिलक । आँगनमा ओच्छ्याइएको सुकुलमा बस्यौँ हामी । चिसो सिरेटोले चुम्दै थियो, शिरदेखि पाउसम्मै। दिउँसो गर्मी भएपनि बेलुका चिसोले भने मुटुनै छुने । यो ठाउँमा टुर गराउने सल्लाह मेरै कम्पनीले नै दिएका थियो क्याथलाई । मलाई सकसक लागिरहेको थियो– उनीहरूलाई कस्तो महसुस भइरहेको छ भनेर । “कस्तो लाग्यो त आजको पदयात्रा ?” कुरा कोट्याए मैले आशीष सरसित । तातो भात नआउन्जेल समय बिताउने मेलो पनि थियो यो ।

“रमाइलो लाग्यो । प्रकृतिका रङहरूमा रङिन पायौँ । यहाँको भूगोल, हावापानी, जनजीवन, रहनसहन संस्कृतिका बारेमा जान्ने मौका पायौँ । विद्यार्थीहरूका लागि त ठूलो कुरा हो । पर्यटकीय सम्भाव्यता बोकेको नयाँ गन्तव्य भएकोले एजुकेसनल टरुको लागि सही ठाउँ सिफारिस गर्नुभयो भन्ने लागेको छ ।” उनको सकारात्मक जवाफ ।

उही धारणा थियो, राजकुमार सरको पनि । उनी भन्थे– ‘ईट क्यान बी अ प्रिमियम प्रोडक्ट ।’ हातमा खैँजडी लिएर आइपुगे पाँच–सात जना बुढापाकाहरू । मैले ती पाका मान्छेसित सोधेँ– “आज भजन गाउने कार्यक्रम छ कि के हो ?” “हो नि ! पाहुना बनेर आउनुभएको छ । मनोरञ्जन त गराउनै प¥यो नि ।” रसिक पारामा उनले भने ।

आँगनमा जम्मा भए गाउँलहे रू । रोदीघर बन्यो तिलकको आँगन । गाउँघरमा नारायण पुजा र नुवाकोटको जात्रामा खैँजडी भजन खुबै जम्ने गथ्र्यो । रसुवाका भजन गुरू कपिलमुनी पौडेलले गाएको भजनको याद आयो ।
’हे राम ! हे राम !
भागिरथीमा
ए हेर लौ भागिरथीमा,
सुनको तोला
रामको घोडा
भागिरथीमा……………..’

मङ्गलाचरण गाएर मात्र खैँजडी भजन गाउने क्रम अघि बढ्छ । भगवान् गणेश, सरस्वतीसहित अन्य देवीदेवताको आराधना गरी भजन सुरु गरिन्छ । भजन भन्न पहिला त रामायण, कृष्ण चरित्र, देवी भागवत र स्वस्थानीको कहानी जान्नुपर्छ ।

सुनेको थिएँ– ठुवामा हारजितको ठूलो सवाल हुन्छ । कृष्णचरित्र, रामायण आदिको ठुवा पथ्र्यो । एउटाले सुरू गरेको सुन्दरकाण्डको सिलोकलाई नअड्कीकनै पूरा गर्नुपर्छ, अड्किएर अर्को सिलोक भन्न थालेमा उसको हार हुन्छ । अचम्मै छ– भजनमा दोहरी । यही हो नेपालको लोक संस्कृतिको बैशिष्यता ।

उनीहरूको टोली नेता बीचमा र अरू गोलाकार भई उभिए । टोली नेताले ‘नारायण’ भन्दै छोडेका पङ्तीलाई राम.. राम.. राम… भन्दै टिपेर खैजडीको तालसँगै नृत्य गर्न थाले खुट्टा मर्काइमर्काइ, कम्मर मर्काइमर्काई । साँच्चिकै जम्यो भजन ।

भट्याए– ‘आज भन्दा, भोलि भन्दा, पर्सि भन्दा आठ वर्षको उमेर भयो । ब्रह्माजीका नाति हुनाले व्रतबन्धादि चूडाकर्म सारा कर्म मै गर्दिन्छु भन्ने उहाँको सङ्कल्प भएको हुनाले हरेराम, राम, राम, राम । व्रतबन्धमा त सबैलाई निम्ता गर्नुपर्छ रे ! आज वामन अवतार भगवानको
व्रतबन्ध गर्ने भनेर उतातिर……’

नारायण
हरि हरि
खलबल ठूलो भो हो.. हो.. हो..
खलबल ठूलो भो
हरेराम खलबल ठूलो भो
हो हो खल्बल ठूलो भो
सारा सहरमा मुलुकभरमा
खलबल ठूलो भो हो.. हो..
सारा सहरमा मुलुकभरमा
खलबल ठूलो भो
नारायण हरि हरि

वामन अवतारको भजन यो । श्रीमद्भागवत महापुराणको अष्टम स्कन्धको रे । दानवका राजा बलिले भगवान् वामन अवतारलाई तीन पाउ जग्गा दान दिने क्रममा पाताल भासिनु परेको कथासित सम्बन्धित छ यो ।

भोलि बिहान चार बजे नै सुरु गर्नु थियो सिराइचुलीको आरोहण । रमाइलो हुँदाहुँदै नाचगन छोडेर छुट्टियौँ यही आँगनमा भेटने गरी । सिराइचुली चुम्दा “कम् अन टाइम ! अदरवाइज युवील ह्याभ टुमीस टुमरोज सनराइज ।” हिजो बेलुकाको उर्दी राजकुमार सरको ।

उनकै मुताबिक उपस्थित भइसकेका थिए विद्यार्थीहरू । कतै राजकुमार सरभन्दा ढिला हुन्छुकि भन्ने त्रास थियो ममा । त्यसैले त तीनबजे नैनिद्राले छ्याङ्गैछोडिसकेको थियो मलाई । तैतैउनी भन्दा एक पाइला छिट्टैपुगेछु। नत्र के ठान्थे होलान् उनले !

अँध्यारो छ, चुक घोप्ट्याएजस्तै । हातहातमा टर्चलाइट छ सबैको । अन्धकार चिर्दै टोली लाग्यो सिराइचुलीको उकालोमा । सूर्योदय हेर्ने उत्साहले तान्दै थियो विद्यार्थीहरू । नयाँ भूगोल पढ्ने हुटहुटी उनीहरूको । स्वयम्कै आँखा र सपनाको होडबाजी पनि थियो त्यो ।

स्थानीय पथप्रदर्शक तिलक गिरीले साथ दिएका छन् यतिखेर । नयाँ पाउला हालेर साँघुरो गोरेटोलाई ढपक्कै ढाकेका बुट्यानहरूलाई पन्छाउँदै बाटो देखाइरहेछन् उनी । उनी नहुँदो हो त त्यो अँध्यारेमा मलाई हम्मेहम्मे पथ्र्यो मानव ताँती सम्हाल्न ।

“फेरिफेरि आउनुपर्दा मलाई बेलमौ फोन गर्नुस् हैदाजै। म सबैव्यवस्था मिलाउँछु यहाँको ।” हात्तीबाङमा टुरिजमको घडा सजाएर पाहुनाहरूलाई आतिथ्यको ढोका उघार्ने रहर जागेको छ तिलकमा । राम्रै हो उनको बिचार । नत्र तिलक र तिलकजस्तै मान्छे नभए सिराइचुली र निजी क्षेत्रका बीचमा भर्याङको काम कसले गरिदिन्छ ? करिब डेढ घण्टाको आरोहणपछि पाइलाहरूले चुम्यो सिराइचुली ।

चितवन जिल्लाको सबैभन्दा अग्लो भूमि हो– सिराइचुली । गत साल मात्रै टीआरपीएपीले निजि क्षेत्रलाई ल्याएर यसको कौमार्य तोडाएको । अब निजी क्षेत्र र सिराइचुलीको प्रेम टुट्नु हुँदैन । त्यसो त सिराइचुलीसित क्याथको भटे को तारमम्य पनि निजि क्षेत्रकै प्रयासमैभएको हो । सम्भवतः यो दोस्रो ठूलो भीड थियो सिराइचुलीमा पदार्पण गर्ने ।

“आहा, क्या मज्जा ठाउँ है !” सुखानुभूति गर्दै विद्यार्थीहरू ।
“सूर्योदय हुन अझैपन्ध्र मिनेट बाँकी रहेछ ।” घडी हेर्दै आसिस सर ।
“वी डीड ईट अन टाइम ।” प्रश्न हुँदै राजकुमार सर ।
“समय बित्न बेरै लाग्दैन, छिट्टै अतीत बन्दै छ हाम्रो यात्रा ।” भावनामा डुब्दै म ।

सिराइचुलीमाथिको विजयमा खुसी साटासाट गरे विद्यार्थीहरूले । यात्राको उत्कर्ष थियो त्यो क्षण । सखारै यति धेरै खुशी हुन पाउने अवसर जीवनमा विरलै मिल्छ मान्छेलाई । बिहानी डाक्न थाले उनीहरूले । बिस्तारै पूर्व क्षितिजमा रक्तिम सिर्का फिँजिन थाल्यो । बिस्तारै उजेलिन थाल्यो धर्ति । हेर्दाहेर्दै घामले महुार देखायो । किरणहरू छरिन थाले । छताछुल्ल भयो घामको लाली पूर्वको गौरीशङ्करदेखि पश्चिमका हिम–शृङखलाहरूसम्मै । हिजो देखिएका हिमालहरूले रूप फेरे । झलमल्ल भयो सारा धर्ति । सिराइचुलीमा लटुपुटियो घामको नवीन किरण; हामी सिराइचुलीमा लुटपुटियौँ र लुटपुिटइरह्यौँ निकैबेरसम्म ।

सिराइचुली आफैँमा भब्य । यहाँबाट देखिने भूगोलहरू झनै भब्य । मौसमले साथ दिएको त्यो पल देखिए– रक्तिम हिमाल, हरिया बस्त्र लपेटके पहाड र तराईका विशाल फाँटहरू ।

घामको पहिलो किरणसँगै लज्जाउन थाले लालीगुराँस, मधुर आवाजमा चिरबिराउन थाले चराहरू गुँडबाट निस्केर । घामको रङ, आकाशको रङ, धर्तिको रङ, हिमालको हिउँको रङ, बसन्तमा फुलिरहेका फूलहरूको रङ र अरू थुप्रै रङहरू । प्राकृतिक सौन्दर्यको अतुलनीय मिश्रण । प्रकृतिको कोलाजभित्र थियौँ हामी । बिछट्टै खुसीको पल थियो त्यो ।

सुनेको थिएँ– ‘नमरी स्वर्ग देखिन्न’ भनेर । भ्रममात्र हो कि भन्ने लाग्यो । आफैँलाई सोधेँ– मैले देखिरहेको चाहि साँच्चै के हो त ? सोचमग्न भएँ म । यस्तो लाग्यो– केवल श्रुतानुश्रुत मात्र हो स्वर्ग; मैले जे देखिरहेको छुयही हो यथार्थ ।

२०६१ चैत्र ३१

प्रतिक्रिया