अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

अब नेपालमा कम्युनिस्ट शासनको पतन र प्रजातन्त्रवादीहरूको उत्थान हुँदैछ – डा. दुर्गा दाहाल, “अनुभव”

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ पुष १९ गते ११:३१ मा प्रकाशित

नेपाल अहिले इतिहासमै सर्वाधिक सङ्कटको भुमरीमा परेको छ । एकातिर राष्ट्रियताको दुहाई दिएर सत्तामा आसीन नेकपाको सरकारले जनताको आशा र अपेक्षा बमोजिम काम गर्न बिलकुलै सकी रहेको छैन भने अर्कातिर कमजोर प्रकृति र प्रवृत्तिको प्रतिपक्षी दल काँग्रेसले पनि आफ्नै पार्टी भित्रको आन्तरिक कलहले गर्दा सबल भूमिका निर्वाह गर्न सकी रहेको छैन ।

नेपाल कम्युनिस्ट पार्टी कम्युनिजमको खोल ओढेर र राष्ट्रियताको दुहाई दिएर अराष्ट्रीय गतिविधिमा संलग्न रहेको कुरा अहिले आएर छर्लङ्ग भएको छ । आफ्ना कार्यकर्ता र मतदातालाई समेत गुमराहमा राखी हिन्दु धर्म, भाषा, साहित्य, संस्कृति र कला- कौशललाई समेत लत्याएर कृष्चियन धर्मको प्रचार प्रसारमा यस दलका शीर्षस्थ नेताहरू घुँडा टेकेर कतिसम्म लागि परेका रहेछन् भन्ने कुरा सञ्चार माध्यमहरूमा सार्वजनिक भैसकेको छ । नेकपा का तथाकथित मुर्धन्य नेताहरूले देशी, विदेशी दलाल हरूको उक्साहट र निर्देशनमा जन इच्छा विपरीत कसैले नचाहेको र नमागेको धर्मनिरपेक्षता र सङ्घीयता कसरी डलरको लोभमा सीमित घृणित स्वार्थको खातिर भित्र्याएछन भन्ने कुराको अब धेरै व्याख्या गरी रहनु पर्दैन ।

नेपाली काँग्रेसका शीर्षस्थ नेताहरूले पनि इमान्दारीपूर्वक भन्नु पर्छ: उनीहरूसँग चैँ चुपचाप बसेर उक्त दुई प्रस्ताव हरूलाई समर्थन गर्नु पर्ने
बाध्यता र विवशता किन थियो ? नेपाली काँग्रेसका चैँ कुन नेताहरूको यस कु-कृत्यमा मिली भगत थियो ?

नेपाली काँग्रेसका पिता महामानव बी. पी कोइराला, लौह पुरुष गणेशमान सिंह र सन्त नेता किसुनजीले पनि राष्ट्रियता, धर्म, भाषा र संस्कृतिलाई खतरा रहेको कुरालाई हृदयङ्गम गर्दै संवैधानिक राजतन्त्रको पक्षमा आफ्नो धारणाहरू राख्नु भएको थियो । त्यसैगरि, नेकपा एमालेका तत्कालीन नेता मनमोहन अधिकारी, जननेता मदन भण्डारी लगायतका कतिपय दूरदर्शी नेताहरूले पनि राष्ट्रियता सङ्कटग्रस्त हुने भयले संवैधानिक राजतन्त्रकै पक्षमा आफ्ना सारगर्भित विचारहरू राख्नु भएको थियो ।

तर विडम्बना । अहिलेका शीर्षस्थ नेताहरूको अकर्मण्यता, अदुरदर्शिता, नेतृत्वहीनता, दास मनोवृत्ति र दरिद्र मानसिकताले गर्दा हाम्रो सार्वभौम राष्ट्रको अस्मिता बलात्कृत भएको छ । जब राष्ट्रनै बलात्कृत भएको अवस्था छ भने कैयौँ निर्मला, विमला, रमिला र प्रमीलाहरू दिनहुँ बलात्कार हुने नै भए ।

प्रत्येक पार्टीका मुष्टिमेय र अपवादमा परेका नेताहरू बाहेक हरेक दलका नेताहरूले जनता र राष्ट्रियता माथि गद्दारी गर्दै आएका रहेछन् भन्ने कुराको पोल क्रमशः: खुल्दै आएको छ। परम देशभक्त र सक्कली राष्ट्रसेवक भन्ने नेताहरू कतिसम्म देशद्रोही र राष्ट्रभक्षक रहेछन् भन्ने कार्यहरूको पर्दाफास हुँदै आएको छ अब ।

मुलुकमा भ्रष्टाचार, अत्याचार. अनाचार, बलात्कार व्याप्त छ । शान्ति-सुरक्षाको स्थिति कहाली लाग्दो छ । सीमा नियन्त्रणमा छैन । बजार भाउ अनियन्त्रित र छाडा छ । विधार्थीहरू अपहरण र बलात्कारमा परेका छन् । अन्धेर नगरी; चौपट मन्त्रीको अव्यवस्था विद्यमान छ । संविधान एकातिर छ; काम कुरो अर्कातिर छ । सबै राजा र रानी भएका छन्; कार्यकर्ताहरू पंगु नेताहरूका ठेकेदार भएका छन् । म्यानपावरका सञ्चालकहरू राजदूत भएका छन् । राजनैतिक दलका भागवण्डामा उपकुलपति र प्रबन्धकहरू भएका छन् । अदक्षहरु विभिन्न विभागहरूमा अध्यक्ष भएका छन् । विदेशी राजदूतावासहरूले हाम्रो मुलुक चलाउँदैछन । हाम्रो देशका जनताले मतदान गर्छन् तर भारतले प्रधानमन्त्री र मन्त्रीहरू तोक्छ । योभन्दा ठुलो दुर्दशा र दुर्गति नेपालको इतिहासमा कहिल्यै भएको थिएन ।

कम्युनिस्ट दलभित्र पनि देशभक्त र इमानदार नेताहरू अझै नभएका हैनन तर उनीहरू आफ्ना अग्रज नेताहरूका बारेमा बोल्न सक्तैनन किनकि यो दलमा वैयक्तिक स्वतन्त्रता हुन्न । व्यक्तिमाथि दल हाबी हुन्छ । र, यो दलले जनआस्था र विश्वास गुमाई सकेकाले अब यसको पतन अवश्यमभावी छ ।

नेकपा पतनका कारणहरू:
१. प्रधानमन्त्री के. पी बलिको दम्भ, व्यक्तिगत तथा एकांगी निर्णय र बाल हठ
२. निर्मला हत्याकाण्ड
३. वाइडवडी जहाज प्रकरण
४. होली बाइन
५. व्याप्त भ्रष्टाचार
६. शून्य दण्डहीनता
७. गलत सल्लाहकार मण्डली
८. सधैँ सपना बाँड्ने, काम कम गर्ने
९. अनावश्यक कुरामा टीका-टिप्पणी गरी आफै खाल्डामा पर्ने आदि-इत्यादि ।

अतः: अब जनताले काँग्रेसलाई भारी मतले मतदान गर्ने छन्: तर काँग्रेसले जनचाहना र भावना बमोजिम काम गर्नु पर्नेछ:

१. बी. पीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र (गणतन्त्र) र समाजवादको आधारमा नीति-निर्माण र परियोजनाहरू बनाउने ।
२. अबको महाधिवेशनमा धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्रको पक्षमा जनमत बनाउने
३. सङ्घीयता खारेज गर्ने
४. आधुनिक तथा वैज्ञानिक कृषि प्रणाली मार्फत मुलुकलाई औद्योगिकरण गर्ने ।
५. नेतृत्व बदल्ने र युवापुस्तालाई हस्तान्तरण गर्ने
६. देशमा घरेलु उत्पादन बढाई स्वदेशी कल- कारखाना निर्माण गर्ने ।
७. राष्ट्रिय पुँजीको निर्माण गर्ने
८. पार्टीगत व्यापक सङ्गठन र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
९. भ्रष्टाचार रहित शान्तिपूर्ण र सुरक्षित समाजको निम्ति युद्धस्तरमा आफ्ना कार्यकर्ताहरू सञ्चालन गर्ने ।

अन्यथा, जनता कुनै दलका र नेताका पेवा हुन्नन् र सधैँभरि मूर्ख पनि रहँदैनन् । जनता जनार्दन हुन्छन् । केही समय मौन भएर अन्ततोगत्वा तुफानको रूप लिन्छन् । संवैधानिक राजतन्त्र पुन:स्थापित हुने प्रबल सम्भावना छ र त्यसो भयो भने पनि राष्ट्र र जनताको बृहत्तर स्वार्थको खातिर हुनेछ । कसैले पिर मान्नु पर्दैन ।

(लेखक प्रा. डा. दुर्गा दाहाल नेपाली काँग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक र नेजस अमेरिकाका पूर्व उपाध्यक्ष हुनुहुन्छ)