अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

योगी आदित्यनाथको जनकपुर भ्रमण – ३६ व्यञ्जनको परिकार पस्किने तयारी

बिआरटीनेपाल २०७५ मंसिर २५ गते ८:३४ मा प्रकाशित

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मानमा प्रदेश नं २ को सरकारले बुधबार आयोजना गरेको भण्डारा (दिवाभोज) मा ३६ व्यञ्जनको परिकार पस्किने भएको छ । राम–जानकी विवाह महोत्सवमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ बुधबार जहाजबाट सिधैं जनकपुर आउँदै हुनुहुन्छ । दिनभर जनकपुरमा रहने आदित्यनाथको सम्मानमा प्रदेश २ को सरकारले मधेस भवनमा भण्डाराको व्यवस्था गरेको छ ।

भण्डारा तथा सम्मान व्यवस्थापन मूल समितिका संयोजक जितेन्द्र यादवका अनुसार भण्डारामा ३६ वटा ब्यञ्जन पस्किने छ । पन्डाल र भोजनका लागि विराटनगरको टेन्ट हाउसले २ सय कालिगढ खटाएको छ । भण्डारामा प्रदेश सरकारले शाकाहारीको ३६ वटा ब्यञ्जन तयार पारिरहेको छ ।

आदित्यनाथको सम्मानमा राइस जिरा, दाल फ्राइ, मटर पनिर, मिक्स भेज, काउली फ्राइ, कचौरीरपालक पुरी, सदा रोटी, खिर, गाजर हलुवा, सुजि हलुवा, अमिति, बुनिया, पेडा, काला जामुन, ३ प्रकारको रसभरी, तछुवा(पकौडा), नेपाली आचार, राइता, पापड, सलाद, दही, राजभोग,, बडाम कतली, काजु कतली, मुङ दालको हलुवा, लालमोहन, बदाम रोल, गुलाव जामुन, क्रिम जेरी, मटर पनिर, मलाइ कोपता, बेसन गांता सब्जी र कोभी मटर सब्जीको परिकार पस्किनेछ । सबै परिकार र त्यसमा प्रयोग हुने समाग्री सुरक्षाकर्मीको उच्च रेखदेखमा भइरहेको छ ।’

प्रदेश सरकारले आदित्यनाथको भण्डाराका लागि बनाइरहेको परिकारका बारेमा नेपालका लागि भारतीय राजदूत मन्जीभ सिंह पुरी र भारतीय सुरक्षाकर्मीले पनि चासो देखाएका छन् । भण्डाराका लागि प्रदेश २ को सरकारले मधेस भवनमा करिव साढे ८ हजार स्क्यवायर फिटको विशाल पन्डालको निर्माण गरिएको छ । यादवका अनुसार आदित्यनाथसँग ५ सय १ जना साधु–सन्तले भण्डारा खानेछन् । त्यसका अतिरिक्त अन्य अगान्तुकसहित करिब १ हजार ५ सय जनाले भण्डारा खाने संयोजक यादवले जानकारी दिनुभयो ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ र प्रदेश २ को मुख्यमन्त्री मञ्चमै बसेर भण्डारा(दिवाभोज) गर्नुहुनेछ । अन्य साधु–सन्तका लागि पन्डालमुनि भुइँमा बसेर दिवाभोज खाने व्यवस्था गरिएको छ । भण्डाराका लागि भुइँमा ओछ्याइएको रातो कार्पेट सबै नयाँ प्रयोग गरिएको छ । कार्पेटमा बसेर साधु–सन्तले थोरै उँचो बनाइएको टेबलमा राखिएको पातामा भण्डारा खानेछन् ।

करिब ७० लाख रुपैयाँ खर्चेर प्रदेश सरकारले आदित्यनाथको भण्डारा र स्वागत सत्कारको तयारी गरेको छ । भण्डारासँगै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको सम्मानमा प्रदेश सरकारले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने भएको छ । भण्डाराको पन्डालसँगै सांस्कृतिक कार्यक्रमका लागि भव्य पन्डाल र मञ्च निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू