अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

एनआरएनए स्कटल्याण्डको शपथ ग्रहण सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर १८ गते ११:२८ मा प्रकाशित

स्कटल्याण्ड, हालै गठन भएको गैर आवासीय नेपाली सङ्घ स्कटल्याण्ड राज्य समन्वय परिषद् कार्यसमितिको शपथ ग्रहण गरिएको छ । गैर आवासीय नेपाली सङ्घ युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा. रामकुमार अधिकारीले स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई शपथ ग्रहण, प्रमाणपत्र वितरण र सम्मान गर्नु भएको थियो ।

उक्त समारोहमा बोल्दै एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले स्कटल्याण्डमा राज्य परिषद्को गठनबाट एनआरएनए युकेको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनएको भूमिकालाई सशक्त गर्नु पर्ने बताउनु भयो । यस्तै गरी एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले एनआरएनए स्वयम् सेवी संस्था भएको र एनआरएनए युकेले गैर आवासीय नेपालीहरूको नागरिकता, नेपालमा लगानी, युकेमा नेपालीहरूको पहिचान, च्यारिटीहरु लगायत धेरै कार्यहरूको गरिरहेको बताउनु भयो । यस्तै उपाध्यक्ष ललित न्यौपानेले एनआरएनए युकेले स्कटल्याण्ड सहित वेल्स र नर्थन आयरल्याण्डमा राज्य परिषद् गठन गरिएको र चाडै इङ्गल्याण्डमा राज्य परिषद् गठन गरिने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै नवगठित स्कटल्याण्ड राज्य समन्वय परिषद्का अध्यक्ष मोहन कार्कीले एनआरएनए स्कटल्याण्डले नेपालीहरूको दोहोरो नागरिकताको अभियानमा कटिबद्ध भएर लाग्ने, स्कटल्याण्डबाट नेपालमा सामूहिक लगानीको पहल गरिने र आउँदा दिनहरूमा स्कटल्याण्डमा एनआरएनएको सदस्यता वितरण कार्य तीव्र पारिने र सङ्गठन विस्तार गर्ने बताउनु भयो । अध्यक्ष कार्कीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई विदेशमा रहेका नेपाली बालबालिकाहरूमा नेपाली भाषा, लिपि, संस्कार, संस्कृतिको बारेमा जानकारी दिन भिडियो कार्टुन, पाठ्यसामग्री निर्माणको लागि पहल गर्न आग्रह गर्नुभयो ।

एनआरएनए युकेका सल्लाहकार डा. रामकुमार अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्कटल्याण्ड राज्य परिषद्का संरक्षण भोला खनाल, स्कटल्याण्ड राज्य परिषद्का सचिव कृष्ण दाहाल र प्रकाश अर्यालले स्कटल्याण्डमा एनआरएनएको आवश्यकता र भूमिकाबारे चर्चा गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू