अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

अनेसासको बोर्ड अफ ट्रष्टीजका अध्यक्षमा गीता खत्रीको सम्भावना प्रबल

नारायण अधिकारी २०७५ मंसिर ४ गते ११:२६ मा प्रकाशित

अहिले हामी बसेको समग्र भूगोलमा अन्तर्राष्टिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीको चुनावी सरगर्मी बढिरहेको छ । ठुलो होस् वा सानो होस्, खेल होस् वा चुनाव होस् प्रतिस्पर्धा आखिरी प्रतिस्पर्धा नै हो । जहाँ जीत र हारको कुरा आउँछ, त्यहाँ ततसम्बन्धी कार्यनीतिक र रणनीतिक प्रक्रिया स्वाभाविक रूपमा अगाडि आउँछन् । यसरी अहिलेको चर्चित यो चुनावी प्रक्रियामा वर्तमान अध्यक्ष डा.श्याम कार्कीले अर्को चार वर्षे कार्यकालका लागि पुनः उम्मेदवारी घोषणा गरिसक्नु भएको छ भने अन्तर्राष्टिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवम् बोर्ड अफ ट्रस्टी सदस्य गीता खत्रीले पनि आफ्नो घोषणापत्र सहित आफ्नो उम्मेदवारीको घोषणा सार्वजनिक गरिसक्नु भएको छ ।

यो निर्वाचनका लागि निर्वाचन आयोगको कार्यसूचीभित्रको म्यादसम्म यदि अन्य कसैको तेस्रो वा चौथो उम्मेदवारी अप्रत्याशित रूपमा परेन भने यिनै दुई उम्मेदवारहरूबिच प्रतिस्पर्धा हुने देखिन्छ । तथापि विश्वस्त सूत्रबाट सुन्नमा आएअनुसार अनेसासको पूर्व अध्यक्ष एवम् अघिल्लो बोर्ड अफ ट्रस्टीका पराजित उम्मेदवार पुरु सुवेदीले पनि आफ्नो उम्मेदवारी दिने सुरसारमा हुनुहुन्छ । यदि पुरु सुवेदीको उम्मेदवारी आयो नै भने पनि मुख्य प्रतिस्पर्धा भने डा.श्याम कार्की र गीता खत्रीका बिचमा नै हुनेछ र यी मध्ये कुनै एकले नतिजा आफ्नो पक्षमा पार्ने निश्चित छ ।

यहाँ म पनि अनेसासको आजीवन सदस्य भएको नाताले स्वतन्त्र रूपमा यी मुख्य दुई प्रतिस्पर्धी डा.श्याम कार्की र गीता खत्रीको थोरै चर्चा गर्न जाँगर चलाएको छु । सर्व प्रथम डा.श्याम कार्कीज्यूबाट नै सुरु गरौँ । उहाँ अर्थात् डा.श्याम कार्की आफैँमा एक कुशल सामाजिक अभियन्ता हुनुहुन्छ र सामाजिक अभियन्ताकै रूपमा उहाँले अनेसासको बोर्ड अफ ट्रस्टीको अध्यक्ष पदमा एक कार्यकाल अर्थात् चार वर्ष सेवा गर्ने अवसर प्राप्त गर्नुभएको हो र उहाँले यो चार वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गर्नु भई अहिले नयाँ नेतृत्वको लागि चुनावी प्रक्रियामा आफ्नो उम्मेदवारीको पुनः घोषणा गर्नुभएको छ । आजको मितिसम्ममा चुनावी प्रक्रिया पनि आरम्भ भइसकेको अवस्था छ । डा.श्याम कार्की केवल अनेसासको बोर्ड अफ ट्रस्टी अध्यक्षमा मात्र नभई अन्य विविध सामाजिक गतिविधिमा भरपुर लाग्नुभएको कुरा विदितै छ र म उहाँलाई एक स्वतन्त्र विचारका रूपमा उहाँको कदर पनि गर्दछु । यसका साथसाथै यसै लेखमार्फत उहाँले आगामी अर्को चार वर्षे कार्यकालका लागि आफ्नो पुनः उम्मेदवारी जो घोषणा गर्नुभएको छ, प्राविधिक रूपले उहाँमा यो अधिकार भए पनि भावनात्मक रूपमा उहाँको यो उम्मेदवारी उहाँका लागि प्रत्युत्पादक हुने छ भन्ने मैले ठानेको छु ।

अनेसास आफैँमा एउटा विशिष्ट साहित्यिक संस्था हो र यस्तो संस्थाको नेतृत्व खास गरी साहित्यिक क्षेत्रकै व्यक्तित्वबाट हुनुपर्छ भन्ने विचारका बाबजुद पनि डा.श्याम कार्कीको विशेष छविका कारण उहाँले यसको नेतृत्व गरिसक्नु भएपछि उहाँ स्वयम्ले पुनः पद ग्रहण गर्ने लालसा नदेखाई आफूले गरेका र गर्न बाँकी रहेका कार्यहरूलाई नयाँ नेतृत्वमार्फत आफ्नो विरासतको जिम्मा लगाउनु उत्तम हुने थियो तर उहाँले त्यसो नगर्नु भई पुनः प्रतिस्पर्धामा आउने चाहना राख्नुले उहाँप्रति सदस्यता राख्ने हामी जस्ता स्वतन्त्र व्यक्तिहरूलाई निराशा बनाएको छ । आफूले गरेको काम मैले मात्र पूरा गर्छु वा गर्न सक्छु भन्नु आफैँमा एउटा भ्रम हो । आफूले पूरा गरेका त पूरा भइसके, आफूले नसकेका वा गर्न बाँकी कामहरू अर्को नेतृत्वबाट पूरा हुनका लागि सल्लाह सुझाव दिएर बस्नु डा.श्याम कार्की जस्तो व्यक्तित्वका लागि सुहाँउदिलो हुने थियो तर उहाँ लड्न र भिड्नमा नै इच्छुक देखिनुभएकोले यो अन्यथा हो कि जस्तो देखिन आउँछ ।

कतिपय पदहरू, स्थानहरू मानका लागि मान वा आलङ्कारिक हुन्छन् । अनेसास बोर्ड अफ ट्रस्टीको अध्यक्ष पद आलङ्कारिक जस्तै नभए पनि कार्यकारिणी भने होइन । यो आलङ्कारिक भन्दा अलि बढी तर कार्यकारिणी भन्दा धेरै कम पद हो । म यो पदलाई “मान पद” हो भन्न रुचाउँछु । यो मान पद उहाँले पाइसक्नु भएको छ भने अर्को चार वर्ष फेरि चलाउँछु भन्नु उहाँको आफ्नो मर्यादाको स्वास्थ्यका लागि पनि हितकर देखिँदैन । तसर्थ, डा.श्याम कार्कीज्यूले आफ्नो उम्मेवदारीलाई फिर्ता गरी अर्को नयाँ नेतृत्वका लागि बाटो खोलिदिनु भएको भए सरल हुने थियो भन्ने मेरो बुझाइ रहेको छ ।

अब यहाँ चर्चा गर्न लायक अध्यक्षका अर्का प्रत्यासी गीता खत्री हुनुहुन्छ । उहाँ अनेसासको केन्द्रीय कार्यसमिति २०१०–२०१२ मा महासचिव एवम् २०१२–२०१४ मा अध्यक्ष रही आफ्नो कार्य क्षमता र कार्यकुशलताको प्रमाण दिइसक्नु भएको छ । उहाँले आफ्नो कार्यकालमा अनेसासको विधान संशोधन गर्ने र त्यसलाई पारदर्शी बनाउने कुरामा महत्त्वपूर्ण योगदान दिनुभएको छ भने उहाँकै सबल नेतृत्वमा प्रथम अन्तर्राष्ट्रिय नारी सम्मेलन, न्युयोकर्मामा सम्पन्न भएको थियो । त्यसै गरी, विश्वभरि ७० भन्दा बढी देशहरूमा फैलिएर रहेको सर्वाधिक ठुलो साहित्यिक सञ्जाल अनेसासका च्याप्टरहरूको प्रथम न्यु योर्क सम्मेलनसमेत पनि उहाँकै संयोजकत्वमा सम्पन्न भएको थियो ।

यो उहाँको साहित्यिक गतिविधिको साङ्गठनिक उपलब्धि हो भने उहाँ स्वयम् अहिलेको बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष पदमा कार्यरत समेत हुनुहुन्छ । उपाध्यक्ष भएकै नाताले उहाँमा अध्यक्षमा हुनुपर्ने र गर्नुपर्ने कार्यहरूको स्पष्ट रूपरेखा तयार छ जुन उहाँले आफ्नो घोषणा पत्रमा समेत उल्लेख गरिसक्नु भएको छ । यही कारणले पनि उहाँको उम्मेदवारी उपाध्यक्षबाट अध्यक्षमा जाने स्वाभाविक प्रक्रियाको निरन्तरताको रूपमा लिनुपर्ने हुन्छ ।

यसका अतिरिक्त अनेसासको बोर्ड अफ ट्रस्टी अध्यक्षका उम्मेदवार गीता खत्रीले प्रवासमा बसेर आफ्नो सम्पूर्ण समय नेपाली भाषाको उन्नतिमा खर्चिनुभएको छ । अध्यक्षका प्रत्यासी गीता खत्री केवल एक कुशल संगठक मात्र नभई अत्यन्तै प्रतिभाशाली नारी स्रष्टा पनि हुनुहुन्छ । उहाँका कथा सङ्ग्रह, कविता सङ्ग्रह, गीति सङ्ग्रह एवम् विभिन्न गीतका सिडीहरू पनि बजारमा साङ्गीतिक बजारमा आइसकेका छन् ।

तसर्थ, साहित्यिक संस्थामा साहित्यिक व्यक्तित्त्वकै स्थापना यस पटकको अनेसासको चाहना हो । महिला भएर पनि उहाँमा लैङ्गिक कमजोरी कत्ति पनि देखिँदैन । महिला पुरुषहरूसँग उत्तिकै जोडदार रूपमा काम गर्न सक्ने क्षमता उहाँले अहिले र पहिले पनि देखाइसक्नु भएको छ । सङ्गठनमा बसेपछि सांठनिक कुशलता र क्षमता सबैभन्दा ठुलो विशेषता हो, जो उहाँमा प्रचुर मात्रामा देखिन्छ । तसर्थ, गीता खत्रीको अध्यक्षको उम्मेदवारीलाई मैले यसै सेरोफेरोमा हेरेको छु । उहाँको विजयप्रति म अग्रिम शुभकामना दिन चाहन्छु ।

 

रिचमण्ड, भर्जिनिया, अमेरिका ।