अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

ग्लोबल नेपाली फिल्मको तयारी द्रुत गतिमा

विजय थापा २०७५ कार्तिक २७ गते १८:५९ मा प्रकाशित

आगामी डिसेम्बरको २२ तारिखमा नर्थ क्यारोलिना राज्यको सार्लोट सहरमा हुन् गै रहेको तेस्रो ग्लोबल नेपाली फिल्मको तयारी द्रुत गतिमा अघि बढी रहेको जानकारी आयोजकले दिएका छन् । यो पुरस्कार समारोहलाई ऐतिहासिक बनाउन आयोजक समिति दृढ सङ्कल्प साथ हातेमालो गर्दै अगि बढी रहेका छन् ।

मूलतः नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै चलचित्रको बजार प्रवर्द्धन ,पुनर्मिलन र चलचित्र पर्यटन पुरस्कारको उद्देश्य रहेको छ । सबै वर्गलाई समेट्ने र सबैको साझा मञ्चको रूपमा यसलाई लैजाने समेत सोच बनाइएको मूल आयोजक समितिका संयोजक द्वय मनोज राई तथा शिव विष्टले बताए ।

विष्टले अगाडी भने यस वर्ष देखि नेपाली सङ्गीत, सञ्चार र सामाजिक क्षेत्रमा विशेष योगदान दिनु भएका स्रष्टा/सर्जक एवं अभियन्ताहरूलाई पनि एकै मञ्चमा सम्मान र पुरस्कार प्रदान गरिने छ ।

अर्का मूल समारोहका संयोजक मनोज राईले नेपाल, अमेरिका, भुटान लगायत विश्वभरका नेपाली चलचित्रकर्मी, सङ्गीतकर्मी, सञ्चारकर्मी र सामाजिक अभियन्ताहरूलाई पनि यस पटकको पुरस्कार वितरण समारोहमा सम्मानित गरिने कुराले आफू पनि उत्साहित भएको बताए ।

स्मरण रहोस् पुरस्कार समारोहको आयोजना गायक एवं लभ एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाका अध्यक्ष मनोज राई तथा अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ( इन्जा)का महासचिव एवं लभ एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाका कार्यक्रम निर्देशक शिव विष्टको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ ।

युवा चलचित्र निर्देशक शङ्कर घिमिरेले पनि अमेरिकामा रहेका चलचित्रकर्मीहरूलाई समन्वय गरी रहेको आयोजकले बताएका छन् । यसै गरी नेपलिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकाल लगायत समिति सदस्यहरू पनि यस पुरस्कार समारोहमा उत्साहित भएका छन् ।

यस पटक देखि नेपाली भाषी भुटानी चलचित्रकर्मी, सङ्गीतकर्मी र कलाकर्मीहरूलाई समेतलाई पुरस्कार तथा सम्मान गरिने भएकोले भुटानी समुदाय उत्साहित भएको राईले बताए । यो हामी सबै मिलेर गर्ने कार्यक्रम भएकोले सबैलाई यस पुरस्कार समारोहमा सहयोग र सहभागिताको लागी मूल आयोजक समितिका संयोजक शिव विष्टले अनुरोध गरेका छन् ।

प्रतिक्रिया