अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

७ मणि र ३३ नागराजहरू जसले श्री पशुपतिनाथ फाउन्डेसन लस एन्जलसलाई सिण्डीकेट पारे

सूर्य प्रसाई २०७५ असोज २४ गते ११:०१ मा प्रकाशित

विजया दशमी २०७५ को मङ्गलमय शुभकामनाका साथ
आउनु होस, महाशक्तिको भव्य उपासना गरौँ, शक्तिमान बनौँ ।।
श्री पशुपतिनाथ फाउन्डेसन युएसए

इतिहासका पानाहरूले भविष्यलाई मार्ग निर्देशित गर्दछ । विगतमा हामीले गरेका कर्महरूले आज र भविष्यको हाम्रो सुन्दर समाज र पुस्ताको नासोका रूपमा आउने सन्ततिले त्यसलाई गौरव साथ शिरोधार्य गर्दछन् । व्यक्ति, परिवार, समूह र समाजको त्यो सुन्दर सपना तब मात्र पूर्ण हुन्छ जब हामी समूहबाट समाजमा रुपान्तरित हुन्छौ । बृहत् लस एन्जलसमा बसोबास गर्ने तपाईँ हामी तमाम नेपाली समुदायमाहरुको स्थाई बसाइको त्यत्रो लामो इतिहास छैन । पहिलो पुस्ताका नेपालीका हैसियतले व्यक्ति, परिवार, समूह र समाज बनाउने प्रक्रियामा हामी छौ । स्थानीय विभिन्न सामाजिक सङ्घसंस्थाका माध्यम देखि होस् वा व्यक्ति, परिवार हुँदै समूह सम्मका प्रयासले बाबु-बाजे देखिको कर्म र धर्मको प्रतिनिधित्व गर्ने हामी तथा हिन्दु धर्म र धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा स्थापित श्री पशुपतिनाथको मन्दिर र यसको सञ्चालन गर्ने श्री पशुपतिनाथ फाउन्डेसन यति खेर लस एन्जलसमा बिलखबन्दमा परेको छ ।

आगामी दुई वर्षका लागि भनी सेप्टेम्बर ३० सम्म माग गरिएको २१ जना बोर्ड सदस्यहरूको प्राप्त बिन्ती पत्रमा बिन्ती बिसाउनेहरूको नामावली आज सम्म तथाकथित छनौट समितिले सार्वजनिक गरेको छैन । सोरश्राद्धको अपसकुनले हो या नौरथाभित्रका नौ देवीको महाशक्तिको उपासना र त्यसबाट प्राप्त हुने शक्तिमान फलको पर्खाइमा रहेको फाउन्डेसनका ७ “मणि” हरूको समितिले नव दुर्गा भवानीको आशीर्वाद लिएर २१ नवोदित नागराजहरूको नामावली प्रकाशित गर्ने अन्तिम तयारीमा साइत पर्खेर बसेको छ । हुन त २१ जना भित्र पर्न सक्ने नवोदित छोटे मोटे नागराजहरू शिवलिंगलाई परिक्रमा गर्न थालिसकेका छन् । यधपी फाउन्डेसनका ७ “मणि” हरू मध्ये अधिकांश अन्तै कतै अलमलिएका छन् । जमरे औसीको पूर्व सन्ध्याले त्यो प्रमाणित गरिदिएको छ ।

जे होस् यो ९ दिन शुद्ध मनले महाशक्तिको उपासना गर्दै शक्तिशाली बन्ने अवसर श्री पशुपतिनाथ फाउन्डेसन र यसका सञ्चालकलाई सुनौलो अवसरका रूपमा प्राप्त भएको छ । भलै विजय दशमीका दिन विजयका प्रतीकका रूपमा २१ जनाको नाम निकाले पनि त्यस्तो आश्चर्य चकित नभए हुन्छ तर दसैँ पर्वलाई रावण र उनका अनुयायीहरूले नि श्रीलंकामा हिन्दु धर्म अनुसार नै धूमधामसँग मनाउने गरेको सनातन परम्परालाई सम्झन अनुरोध गर्न मात्र सक्दछु ।

साथीहरूले मन्दिर विरोधी र राजनीतिक चलखेलका उपमा दी रहँदा नि मन विचलित नभई यो त संस्था सुदृनिकरणको एउटा सामाजिक अभियान र आन्दोलनका रूपमा परिमार्जित गर्दै आफूलाई अझ कठोर बनाउन बाध्य भएको छु । यो अभियानबाट त्यति खेर विश्राम होला जति खेर श्री पशुपतिनाथ फाउन्डेसन समुदायको बन्ने छ, यसका विधि विधान निर्माण प्रक्रियामा समुदाय सहभागी हुने छन् । थोपरिएको विधानले तानासाहहरू ढलेका छन् भने तपाईँ साथीहरूको विचार, सोच र कार्यशैली ढाल्न त्यत्रो परिश्रम गर्नु नै पर्छ भन्ने नि छैन, आफै ढल्नु हुनेछ । सुनिँदै छ तपाईँहरूको पेलाहापनबाट आजित बनेका तपाइकै सहोधर साथीहरू परामर्शका लागि सिटी अफिस जाँदै छन् रे । भोलि सिटी अफिसको “नियम र सर्तहरू” मा श्री पशुपतिनाथ फाउन्डेसनको कार्यक्रम र गतिविधिमा ताला लाग्ने अवसर आयो भने तेस्को जिम्मेवारी तपाईँ ७ “मणि ” र अहिलेका ३३ नागराजहरू जसले श्री पशुपतिनाथ फाउन्डेसनलाई “सिण्डीगेट ” पार्नु भएको छ त्यसको हिसाब किताब समुदायले एक एक गरी लिनेछ ।

आफ्नै समुदायका साथीहरूलाई यति सारो बैरी नदेखेको राम्रो । जस जसले जे जे प्रयास गरेका छन्, समाज निर्माणका लागि हो । संस्थालाई दिगो स्थायित्व दिनका लागि हो । संस्था प्रति सबैको अपनत्व र आफ्नो हो भन्ने भाव जगाउन का लागि हो, न त कुनै पद र प्रतिष्ठाका लागि । जति लोभ लालच तपाइहरूमा छ पद र प्रतिष्ठाको ।

त्यो परिकल्पना कहिले गर्नु भएको छ ? समुदाय सबै बाट त्यो २०१८-२० का लागि हुने भनिएको बोर्ड सङ्ख्या २१ लाई तालीले गडगडाहट गरोश । आफ्नो सिटबाट उठेर सम्मान गरोस । हरेक समुदाय सदस्यको सहभागितामा सम्मानित बनोस त्यो २१, र अब तपाइहरूकै घमन्डले प्रतिस्थापन हुने २१ को अवस्था हेर्नुस् । समाज होइन समूह निर्माणको अनुपम उदाहरण हुने छ त्यो दिन र भविष्यमा चिरा पर्ने छ समाज, चाहे त्यो जन्तीमा होस् या मलामीमा । अब भन्नुस् समूह निर्माण गर्ने कि समाज ? महा शक्तिको उपासना गरेर शक्तिमान बन्नेकी समुदायको आँखाको नानी ? बल तपाइकै कोर्टमा छ जता हानेर छिराउनु हुन्छ र विजयी हुनुहुन्छ । देवी दुर्गाले तपाइलाई विजयी बनाउन, आशीर्वाद तपाइलाई मात्र लागोस् यो दसैँको ।

भनेको मान्नु हुन्न सल्लाह सुझाव गर्नु नि बेकार लाग्छ यद्दपि यो कोही व्यक्ति विशेष उपर होइन फाउन्डेसनलाई सबैको बनाउने एउटा सामाजिक अभियान हो । कसैको गोजीमा यो संस्था रहनु हुन्दैन र रहने वाला नि छैन । बेकारका सुझाव निम्न लिखित छन् ।

१) अहिलेको प्रक्रियालाई तत्कालका लागि स्थगित गर्नुस् र पशुपतिनाथ फाउन्डेसनको आँगनमा समुदायको एक भेला डाकनुस । त्यो भेलाले दिएको राय सल्लाह सुझावले आँगन भत्कदैन झन् बलियो बन्छ । तपाईँ ३३ अनि वर्तमान ७ “मणि” र धेरै आए अरू २० देखि ३० समुदायका विभिन्न तह र तप्काबाट आउने हो, ती २०-३० बाघ भालु होइनन् तपाईँहरूलाई खाँदैनन्, आफ्नो समुदाय र समाज बलियो होस् आफ्नो संस्था बलियो होस् भन्ने मनसायले आउने तपाईँ जत्तिकै हैसियत भएका यसै समुदायका जिम्मेवार व्यक्तित्वहरू हुन्, डराउनु पर्ने कुनै कारण छैन । तपाईँ मर्दाका मलामी तिनै साथी आउने हुन् । किन आज अछुत सम्झनु हुन्छ ? 

२) समुदायसँगको छलफल र विचार आदान प्रदानमा जानेर नजानेर गरेका गल्ती कमी कमजोरी स्विकार्नुस्, त्यसले तपाइको सामाजिक प्रतिष्ठा अझ माथि लैजान्छ जसले आउने दिनमा तपाईँलाई समुदायबाट अरू सम्मान मिल्छ । यहाँको सामाजिक नेता हुने, खादा लगाउने, भाषण- आसन गर्ने, अतिथि- प्रमुख अतिथि हुने रहर त तपाईँलाई छ समुदायका सबै सदस्यको त्यो हैसियत त छैन, तपाईँलाई बाटो अझ फराकिलो बन्छ । तपाईँलाई समुदायले ताली बजाएर ठुलो मान्छे बनाउने हो, दसैँको टिकाको दिन बाबु आमाले ल बाबु ठुलो मान्छे भएस् भन्दैमा ठुलो मान्छे बनिँदैन । अरूका विचारको पनि सम्मान गर्ने बानी गर्नुस् त्यसले तपाइको प्रतिष्ठा अझ माथि लैजान्छ ।

३) समुदायलाई संस्थाको विधि विधान निर्माण गर्ने कुरामा सरिक गराउनु होस । संस्थाको दायरा फराकिलो बनाउनु होस् । श्री पशुपतिनाथ फाउन्डेसन तपाइका बुबाले दिएको अंश होइन । समुदाय सदस्यहरूको मेहनत र पसिनाले आर्जेको समुदायको सम्पत्ति हो । विधि विधान निर्माण गर्ने कुरामा विकल्प खोज्नुस् । अहिले तपाईँले विधान परिवर्तन गरी खोजेको विकल्प ठिक छैन । यसले समुदायको प्रतिनिधित्व गर्दैन । यतिन्जेल तपाइहरूले गर्नु भएका गल्ती, कमी कमजोरीहरूका विषयमामा सात मिनेट देखि सात घण्टा र सात दिन सम्म बहस, सैदान्तिक तर्क र तपाइहरूका कमी कमजोरी स-प्रमाण राख्न तयार छु र बहुसङ्ख्यक समुदाय सदस्यहरूले तैँले गल्ती गरिस् भन्नु भो भने समुदायको अगाडी ५० पल्ट कान समातेर उठबस गरेर माफी माग्न तयार छु, फाउन्डेसनको तर्फबाट को तयार हुनुहुन्छ ? बहस गर्न र यही प्रकृतिको दण्ड सजाय र भुल स्विकार्न समुदायको अगाडी तयार हुनुहुन्छ भने भन्नुस् सामूहिक बहस गरौँ । निर्णय समुदायको हातमा । यसले संस्थालाई कुनै घाटा हुँदैन, हामी बलियो बन्छौ, हामी बलियो बन्नु भनेको संस्था बलियो बन्नु हो । अनि मात्र समूहबाट हामी समाज बनाउन तिर लाग्छौ । 

४) संस्थालाई ”सिण्डीगेट” न बनाउनु होस । ५,११ र ३३ को खेल यो भन्दा अघि धेरै देखियो अब २१,७ र ७ को ताण्डव नदेखाउनु होस् । मन्दिरको पूजा पाठ र सञ्चालनमा कुनै विरोध होइन मात्र फाउन्डेसनलाई फराकिलो बनाउने क्रममा संस्थालाई महत्त्वपूर्ण योगदान दिएका व्यक्तिलाई सम्मान दिनु होस । ती व्यक्ति यसै समुदायका तपाईँ जत्तिकै सामाजिक प्रतिष्ठा भएका र संस्थालाई यो उचाइमा पुर्‍याउन तपाईँले जत्तिकै योगदान दिएका व्यक्तित्व हुनुहुन्छ ती व्यक्तित्वको योगदानलाई तपाईँले जत्तिकै समुदायले चिनेका छन् जानेका छन् । आज ती व्यक्तित्व मन्दिर परिसरमा देखिदैनन । तपाइहरूले उन्हाहरुलाई आउने वातावरण निर्माण गरेर न आउनु भएको हो वा अरू कुनै कारणले, समुदाय जान्न लालायित छ त्यो वातावरणका लागि नि एउटा सामुदायिक भेटघाट कार्यक्रम जरुरी छ अनि मात्र कस कसका कर्तुत के के हुन् थाहा हुन्छ । संवाद र बहस नै समाधानको उत्तम उपाय र विकल्प हो ।

५) संस्थालाई पारदर्शी बनाउनु होस् । किन २१ छान्ने क्रममा यति जना फलाना फलानाको नाम पर्‍यो भनेर आज १० दिन बिती सक्दा पनि निकाल्न नसकेको ? लाज भो नाम निकाल्न ? यो प्रक्रिया नै गलत छ भनेर गरिएको रणनीतिक योजना थियो र धेरै समुदाय सदस्यहरूलाई बिन्ती पत्र न हाल्न अनुरोध गरियो । अहिलेका कार्य समितिका जिम्मेवार पदमा बसेका र वर्तमान तथाकथित छनौट समितिमा बसेका भनिएका फाउन्डेसनका “मणि ” हरूले समुदायका सदस्यहरूलाई नै विभाजित हुने गरी छानी छानी बिन्ती पत्र हालौँ भन्दै गरेका तथ्याङ्क धेरै छन् येति सम्मको घटिया हरकत हुन्छ भन्ने कसलाई के थाहा ? अझ घर-घर, व्यापार-व्यापार सम्म पुगेका प्रशस्तै उदाहरण छन् । यति गर्दा पनि आफैले बनाएको विधान, त्यही विधानले छानेका ७ मणिहरू अनि छान्नु पर्ने २१ नागराज के ले छेक्यो लौ न संस्थालाई पारदर्शी बनाऊ यो नौरथा भित्र नाम प्रकाशित गरौँ । तर त्यो नाम र समितिलाई समुदायले स्विकारेँ न भने त्यसको दोषी को ? तर मेरो बुझाइमा त्यो रणनीति एक हद सम्म सफल भएको छ नाम प्रकाशित गर्न आफैमा लज्जा बोध भएको छ त्यसको निरूपण र लज्जा बोधबाट पन्छिन पनि यो प्रक्रिया रोकौँ र सामुदायिक बहसको बाटोमा जाऊ । 

अन्त्यमा,
यो साझा सम्पत्ति हो, नेपाली समुदाय र समाजको सम्पत्ति हो यसलाई नेपाली समाज र समुदाय कै सम्पत्तिका रूपमा जोगाऊ । यसले बर्षौ वर्ष र पुस्तौ पुस्ता सम्म हामीले र हाम्रा पुर्खाले आर्जेको सम्पत्तिका रूपमा जोगाएर राख्न सकौँ । मृत्यु कसलाई थाहा छ र यो सेरोफेरोमा बस्ने हरेक हिन्दु तथा बौद्ध धर्मलाम्वीहरुको अन्तिम श्रद्धाञ्जली मन्दिर परिसरमा हुन सकोश तेती खेर मात्र तपाईँ र म हुनुले महत्त्व राख्दा छ अनि मन्दिर अनि फाउन्डेसन । मैले मेरो छोराको बिहेको जन्ती मन्दिर परिसरमा लिएर आउँदाको खुसीको तपाईँ परिकल्पना गर्न सक्नु हुन्छ ? वा म भन्छु जन्ती लिएर म हाम्रो मन्दिर आउँछु अनि तपाईँ भन्नु हुन्छ होइन जन्ती चिनो हिल मन्दिर मा लिएर आउनु भन्नुस् त्यो बेला तपाइको मन्दिर र हाम्रो मन्दिरको फरक । अनि भन्नुस् म गलत कि तपाईँ ? अनि भन्नुस् तेती खेर समाजले तपाईँलाई थुक्छ कि मलाई ?

हठ बन्द गर्नुस् यो प्रक्रिया रोक्नुस् भोलि नै समुदाय सदस्यहरूलाई दशैको यो शुभकामना “विजया दशमी २०७५ को मङ्गलमय शुभकामनाका साथ आउनु होस, महाशक्तिको भव्य उपासना गरौँ, शक्तिमान बनौँ ” होइन कि बडा दसैँको यो पावन अवसरमा सम्पूर्ण समुदाय सदस्यहरूमा नव दुर्गा भवानीले सुख शान्ति र संवृद्धि ल्याउन । हामी दुर्गा भवानीसँग यही प्रार्थना गर्दछौ भनियोस । धेरै शक्तिमान र सुपरम्यानहरूको नि हामीले हविगत देखेकै हो, शक्तिमान नबनेकै राम्रो ।

देवी दुर्गा शक्तिमान बन्न खोज्नेहरूको शक्तिलाई शक्तिहीन बनाउँदै यो २१ सौ शताब्दीको युगमा त्यस्ता शक्तिमान बन्न खोज्नेहरूको शक्ति माटोमा मिलाई देऊ र सबै समुदाय सदस्यहरूमा सु-स्वास्थ्य, सुख र शान्ति देऊ ।

जय दुर्गा भवानी ।
या देवी सर्व भुतेशु शक्ति रुपेना सस्तिता !
नमः तस्यै नमः तस्यै नमः तस्यै नमोनमः !!

 

लस एन्जलस
prasaisurya@hotmail.com

प्रतिक्रिया