अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी) मन्दिरको लागि ३ लाख डलर दान

विजय थापा २०७५ असोज २० गते ७:४४ मा प्रकाशित

वासिङ्गटन डिसी, अमेरिकाको नेपाली समुदायमा सबै भन्दा पहिले नेपाली सामुदायिक भवन बनाउने उद्देश्यले १८ वर्ष अगाडी स्थापित भएको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी), पशुपति–बुद्ध मन्दिरको १८ औँ वार्षिक उत्सवमा दानवीर समाजसेवीहरूले एकै बसाइमा मन्दिरको लागि ३ लाख डलर सहयोग गरेका छन् । 

एएनएले स्थापना गरेको एनइसीसी एक महत्वाकांक्षी परियोजना थियो भने भने हाल पूर्ण रूपमा एनइसीसी स्वतन्त्र छ । उक्त १८ औ वार्षिक उत्सवमा एएनएका संस्थापक सभापति डा हरि शर्मा मुडवरी,पूर्व अध्यक्ष कृष्ण निरौला, वर्तमान अध्यक्ष मेदिनी अधिकारी, क्यानडाका कुञ्जर शर्मा तथा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी लगायत अन्य उपस्थितिले एएनएनले सुरुवात गरेको सामुदायिक केन्द्रलाई कति माया लाग्दो रहेछ भन्ने पुष्ठी भएको छ ।

उक्त कार्यक्रममा नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी),ले अघि सारेका विभिन्न परियोजनाहरूका लागि नगद ५० हजार डलर सहित ३ लाख डलर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । साथै उक्त प्रतिबद्धता प्राप्त रकम मध्ये सगुनइंकको तर्फबाट एक लाख डलर बराबरको इक्यूटी शेयरको प्रतिबद्धता रहेको छ।

उक्त कार्यक्रममा अमेरिकाका विभिन्न राज्य तथा डिसी महानगर क्षेत्रबाट आएका सामाजिक अभियन्ता, समाजसेवी, विभिन्न पेसाका ब्यक्त्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा एनइसीसीका वरिष्ठ सल्लाहकार तथा संस्थापकहरू मध्ये एक डा.हरि तथा इन्दिरा शर्माले नगद पाँच हजार सहित २५ हजार डलर तथा संस्थाका बोर्ड अफ ट्रष्टिजका अध्यक्ष कृष्ण तथा रिता निरौलाले समेत संरक्षक बन्ने घोषणा गरेको थिए । एनइसीसीको संरक्षक बन्न ५० हजार डलर सहयोग गर्नु प्रावधान रहेको छ ।

उक्त कोष वृद्धि कार्यक्रममा बेनिफ्याक्टर(उपकारी )सदस्यताका लागि २५ हजार डलर प्रदान गर्ने प्रतिबद्धता गर्नु हुने हरूमा डा.शशि तथा मौरिन उपाध्याय, डा.अमर तथा मिनागिरी, खिलेन्द्र तथा शान्ति न्यौपाने र लोक तथा शान्ति तिवारी रहेका छन् ।

यस्तै उक्त कार्यक्रममा २४ जनाले गुठियार (ट्रस्टी)र ३ जनाले आजीवन सदस्यता बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने २६ जनाले डलर अ डे (हरेक दिन १ डलर) दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

कार्यक्रम संस्थाका बोर्ड अफ ट्रष्टिजका अध्यक्ष कृष्ण निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । विशेष अतिथिका रूपमा संस्थाका सल्लाहकार तथा मेरिलैण्ड तथा पेन्सिलभेनियाका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महतको उपस्थिति रहेको थियो।

सभापति खिलेन्द्रमणि न्यौपानेले अब ७ महिना सम्म निरन्तर मन्दिर निर्माण गर्न लागिने बताए । संस्थाका कोषाध्यक्ष तथा लेखा परीक्षक लक्ष्मण प्रधानले ३७ प्रतिशत आय विगतमा देउसी भैलो खेलेर आएको बताए । यसै गरी यस वर्ष पनि यसलाई निरन्तरता दिने सभापति न्यौपानेले जानकारी गराए ।

पशुपति/हिन्दु परियोजनाका बारेमा उपाध्यक्ष लोक तिवारी तथा बोर्ड अफ डिरेक्टर विष्णु शीतलले जानकारी दिएका थिए भने भगवान् शिवको मूर्ती मन्दिर सँगै स्थापना गरिने, माताजानकीको प्रतिमा स्थापना गरिने लक्ष्य रहेको बताएका थिए।

उपाध्यक्ष सरोज प्रजापति तथा बोर्ड अफ डिरेक्टर बुद्ध रत्न मानन्धरले अर्बपति विनोद चौधरीले दिएको ८ फिट अग्लो भगवान् बुद्धको मूर्ती केवल १० प्रतिशत मात्र सकिएको बताएका थिए । अब उक्त स्थानमा १०८ वटा माने राखिने,लुम्बिनी बगैँचा बारेमा समेत चर्चा गरेका थिए ।

यसै गरी विजयकुमार सिंह तथा विजय प्रताप सिंहले छठ पर्व मनाउनका लागि ‘भव सागर’ नामक कुण्ड निर्माण गरिने र जानकी मन्दिरको स्थापना गरिने जानकारी गराएका थिए ।

साथै संस्थाले लिएर हिँडेका महत्वाकांक्षी परियोजनाहरूको बारेमा उपाध्यक्ष अभियन्ता उमेश निरौलाले निर्माण खर्च सहितको बारेमा जानकारी दिएका थिए भने अभियन्ता गोपाल मैनालीले प्रस्तावित गुरु योजना बारेमा प्रस्तुत गरेका थिए। कार्यक्रममा एएनए का सभापति मेदनी अधिकारीले पनि बोलेका थिए ।

कार्यक्रममा केसी डान्स सेन्टरका तर्फबाट नवीन के.सी. तथा लुना श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए भने संस्थाका सदस्य मगन श्रेष्ठले नेवारी गीतमा नृत्य प्रस्तुत गरेकी थिइन। संस्थाका महासचिव नेत्र घिसिङले संस्था तथा मन्दिर स्थापनाकाल देखि हालसम्म सयहोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई धन्यवाद दिएका थिए ।

एनइसीसीका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक रामचन्द्र खरेलको स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रम सञ्चालन परशु तिम्सिनाले गरेका थिए । 

प्रतिक्रिया