अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

अनेसास कोलोराडो च्याप्टरको चुनाव रोकियो

बिआरटीनेपाल २०७५ असोज १३ गते १३:४४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो च्याप्टरको निर्वाचनको लागि निर्वाचनको प्रकृया चलिरहेको अवस्थामा निर्वाचन समितिका प्रमुख विनोदराज त्रिपाठीले एक्कासि राजीनामा दिए पछी निर्वाचन रोकिएको छ । त्रिपाठीको टिममा पूर्व प्रमुख जिल्ला अधिकारी मुकुन्द अधिकारी र गायक सुरेशचन्द्र प्रधान रहनु भएको छ । निर्वाचन आयोगले निर्वाचनको प्रकृयाको लागि सबै नियमहरू प्रकाशित गरिसकेको थियो । कोलोराडो च्याप्टरका उपाध्यक्ष मिना पौडेल र महासचिव श्याम श्रेष्ठ अमेरिका बाहिर भ्रमणमा रहनु भएको अबस्थामा अध्यक्ष ढुंगेलले निर्वाचन रोकिएको जानकारी सबै लाइफ मेम्बरहरुलाई ईमेलबाट गराएका छन् । यसबाट कोलोराडोका आजीवन सदस्यहरुले निर्वाचन रोकिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

अन्ततः अनेसास कोलोराडो च्याप्टरको चुनाव बिथोलिएको छ । निर्वाचनमा अध्यक्षमा वर्तमान अध्यक्ष कृष्ण मुरारी ढुङ्गेल र साहित्यकार कपिल सुबेदी, उपाध्यक्षमा मिना पौडेल, महा सचिवमा श्याम श्रेष्ठ र दामोदर लुइँटेल र कोषाध्यक्षमा रमेश कोइरालाले उम्मेदवारी दिनु भएको चर्चामा आएको छ । साहित्य समाजको दर्पण हो यसमा ब्यतिगत अभिष्टा भन्दा साहित्य र श्रीजनालाई प्राथमिकता पाउनु पर्छ । विगतमा भित्रिएका अनेसासका विकृति केन्द्र देखी च्याप्टर सम्म बेला बेला देखिँदै आएको छ । यसै सन्दर्भलाई लिएर सम्बन्धित विभिन्न साहित्यिक व्यक्तित्वको धारणा कस्तो छ त बिआरटी नेपालको जिज्ञासामा उहाहरुको धारणा यस्तो पाइएको छ ।

कृष्ण मुरारी ढुङ्गेल, अध्यक्ष अनेसास कोलोराडो च्याप्टर:
साधारण प्रक्रिया हो यो चुनाव, बिचमा निर्वाचन कमिटीलाई प्रेसर दिएको हुनाले विनोद त्रिपाठीले राजिनामा दिनु भएको हो । मेरो महासचिव कोलोराडो फर्केर आए पछि म नयाँ निर्वाचन कमिटी बनाएर फेरी चुनावको प्रक्रिया अगाडि बढाउँछु । अलिकति पछाडि जाने भयो त्यति मात्रै हो ।

पदम विश्वकर्मा,  केन्द्रीय अध्यक्ष अनेसास
अनेसास कोलोराडो च्याप्टरको निर्वाचनका क्रममा विभिन्न दबाबका कारण निर्वाचन प्रमुखबाट राजीनामा आएको र सो कारण निर्वाचन प्रक्रिया रोकिएको थाहा पाउँदा सारै दु:ख लागेको छ । निर्वाचन प्रक्रिया नियमितरुपमा सञ्चालन गर्न निर्वाचन समितिको गठन गरी वा वर्तमान निर्वाचन समितिलाई निर्वाचन कार्य तालिका अनुसार निर्वाचन कार्य अघि बढाउन अनेसास कोलोराडो च्याप्टरबाट आवश्यक पहल गर्न बान्छनीय देखिन्छ ।

विनोद त्रिपाठी, प्रमुख निर्वाचन आयुक्त:
निर्वाचन गर्नको लागि असहज सिर्जना परिस्थिति भएको हुनाले मैले राजीनामा दिएको हुँ ।

राजु सिटौला, केन्द्रीय सदस्य अनेसास:
अनेसास कोलोराडो च्याप्टरको नयाँ कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया अगाडि बढ्दै गर्दा च्याप्टरको अध्यक्षको मार्फतबाट निर्वाचन समितिको संयोजक र सदस्यको हठात् आएको राजीनामाले एउटा निराशा, शङ्का, र अनिश्चितताको वातावरण सिर्जना गरेको छ । निर्वाचन समितिको संयोजकमा नियुक्त हुनुभएका र हालै राजिनामा दिनुभएको भनिनुभएका श्री विनोद त्रिपाठीको कार्यदक्षतामा मलाई रत्तीभर पनि शङ्का छैन । म आफैँ कोलोराडो च्याप्टरको कार्यकारिणी समितिमा कार्यरत रहँदा वहाँको सहयोगमा भएका निर्वाचनहरू सफलतापूर्वक र सहजतापूर्वक सम्पन्न भएका थिए । तर हाल वहाँ कुनै अर्कै नेपाली संस्थाको अध्यक्ष रहनुभएको अवस्थामा अनेसास, कोलोराडो च्याप्टरको निर्वाचन संयोजकको भूमिकामा नियुक्त गर्नु आफैमा एथिकल (नैतिक?) थिएन । हामीले संस्थामा बसेर काम गर्दा Conflict of Interest को अवस्था कसरी सिर्जना नगर्ने भनेर एउटा घोषणापत्र नै जारी गरेका थियौ । तर त्यो त काग कराउँदै गर्छ पिंधा सुक्दै गर्छ भने जस्तो मात्र भयो । तर म वहाँले त्यो जिम्मेवारी स्वीकार नै गरिसके पछि सफलतापूर्वक निर्वाचन सम्पन्न हुनेछ भन्ने कुरामा ढुक्क थिए ।

मेरो जानकारीमा आएसम्म श्री विनोद त्रिपाठीको अध्यक्षतामा/ संयोजकत्वमा सुरु गरिएको कुनै पनि कार्यक्रम बिचैमा अवरुद्ध गरी यसरी छोडिएको छैन । यो निर्वाचन पनि समय तालिका अनुसार नै सफलतापूर्वक अगाडि बढिरहेको अवस्था हठात् व्यक्तिगत कारण देखाउँदै अध्यक्षबाट वहाँको राजीनामा आउनुले एउटा शङ्काको वातावरण सिर्जना गरेको छ । अनेसास, कोलोराडो च्याप्टरको विधानमा निर्वाचन समितिले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा कार्यकारिणी समितिसमक्ष राजिनामा गर्ने भन्ने कतै उल्लेख गरिएको छैन । यसै पनि निर्वाचन समिति गठन गरेर निवार्चनको घोषणा गरिसकेपछि बहालवाला कार्यसमितिको भूमिका तदर्थ समितिको रूपमा मात्र सीमित हुने विश्वव्यापी मान्यता छ । म निर्वाचन संयोजकलाई कोलोराडो च्याप्टरका सम्पूर्ण सदस्यहरूलाई सम्बोधन गरेर यो शङ्काको वातावरण निवारण गर्न आग्रह गर्छु ।

भुपेन्द्र महत, निवर्तमान अध्यक्ष- अनेसास कोलोराडो च्याप्टर
अनेसासमा जे जति काम गरिरहेको छ त्यो आफैमा एउटा नेपाली भाषा र साहित्यको लागि गरिएको विशिष्ट योगदान हो । हाम्रो भन्दा राम्रो, साहित्यकारको अनुहार भन्दा श्रीजनालाई प्रोत्साहन गरिनु पर्नेमा केही विचलन आएको महसुस हुँदै आइरहेकोले अहिले यसको साख गिर्दो अवस्थामा छ । यसर्थ यसलाई सुधार गर्न सही मार्ग पर्दशकको पवित्र निष्ठा र इच्छा शक्तिको खाँचो छ जुन अमेरिका जस्तो धन्टामा साटिएको जिन्दगीमा निकै कठिन पनि छ । यद्दपी उहाहरु साहित्य र श्रीजनाको अभिब्रिधीमा लाग्ने प्रतिबद्धतालाई नमन गर्दै चुवाबी प्रकृयाले निकास पावोस र साहित्यको जित होस् । शुभकामना ।

कपिल देव सुवेदी, पूर्व उपाध्यक्ष/महासचिब -अनेसास कोलोराडो च्याप्टर तथा अध्यक्षका प्रत्यासी:
प्रजातान्त्रिक समाजमा सामाजिक संस्थाहरू पनि प्रजातान्त्रिक विधिले चल्छन् । प्रजातन्त्रमा यसका प्रकृयाहरुमा भाग नलिन पाइन्छ तर पद्धतिकै अवमूल्यन हुने हर्कत गर्न पाइन्न । यहाँ प्रजातान्त्रिक पद्धतिलाई व्यक्तित्वको आडमा नकार्ने र संस्थालाई व्यक्तिको निजी सम्पत्ति बनाउने घृणित हर्कत भएको छ । निर्वाचन प्रकृयाको संवेदनशील मोडमा आएर प्रमुख निर्वाचन आयुक्त र एक आयुक्तले एकै समय राजीनामा दिने कार्य मंचित हो सरासर नाटक हो भन्ने प्रस्ट छ । यसले निर्वाचन आयुक्तहरूको योग्यतामा पनि प्रश्न चिन्ह खडा गरेको छ । निर्वाचन आयोगले आफ्नो गोप्य हुनुपर्ने सूचना अध्यक्षलाई प्रसारित गरिएको र आफ्नो सम्भावित पराजयको दुर्दशा टार्न वलात् नाटक घटाइ निर्वाचन बिचैमा जसरी तुहाइएको छ यो अनैतिक काम हो । सभ्य समाजका योग्य हुँ भनी घमन्ड गर्ने मान्छेहरूको लागि यो अशोभनीय कार्यले कालान्तर सम्म अवश्य दाग लाग्ने छ । स्थापित र सर्व स्वीकार्य पद्धतिहरू आफू अनुकूल हुन नसके नमान्ने व्यक्तिहरू गरिमामय संस्था हाँक्न योग्य हुन सक्तैनन् । अनेसास केन्द्रले हस्तक्षेप गरी यसको विधि सम्मत समाधान खोज्न ढिला गरे अनेसास कोलोराडो च्याप्टर अव संस्थाको रूपमा समाप्त हुनेछ । साहित्यलाई माया गर्ने तमाम महानुभावहरूलाई यस समय आफ्नो आवाज उठाउन म अनुरोध गर्दछु ।

वासु खनाल- अनेसास लाइफ मेम्बर:
कुनै पनि सङ्घ संस्था यसको विधि र पद्धति अनुरूप पारदर्शी तरिकाबाट सञ्चालन हुनुपर्छ । संस्थाको कार्यकारी विधान नै संस्था सञ्चालनको मेरुदण्ड भएकोले संस्था सञ्चालनमा आउने हरेक व्यवधान र बाधाहरूलाई विधान अनुरूप नै समाधान गर्नु पर्छ ।

Vijay Raj Sharma, INLS – Board of Trusty:
This is a very unpleasant situation, sad that election committee couldn’t resolve whatever issue led to this situation. This is yet another example of Nepali social organizations GENERALLY being incapable of fairly conducting and uncontroversially completing elections due to extreme level of factionalism among us. The election committee should clarify reasons behind their resignation, which may help find ways to solution.

प्रतिक्रिया