अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

बाल गीतहरूको सङ्ग्रह ‘रोख्तोकोम्’ सार्वजनिक

कृष्ण भट्टराई २०७५ भदौ ३१ गते ९:१२ मा प्रकाशित

काठमाडौँ– खालिङ राई भाषाका बाल गीतहरूको सङ्ग्रह ‘रोख्तोकोम्’ (इन्द्रेणी) काठमाडौँमा लोकार्पण गरिएको छ । पेन ड्राइभ तथा सिडीमा तयार पारिएको उक्त संग्रहलाई वरिष्ठ सङ्गीतकार शान्तिराम राई, किराँत खालिङ राई उत्थान सङ्घका अध्यक्ष अर्जुन खालिङ राई, माप्य दुधकोशी गाउँ“ पालिकाका प्रमुख बुद्धि किरण खालिङ राई सहितका व्यक्तित्वले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । किराँत खालिङ राई उत्थान सङ्घ केन्द्रीय कार्यसमिति, काठमाडौँले आयोजना गरेको साङ्गीतिक समारोहमा विमोचित एलबमका गीतका झलकहरू समेत प्रस्तुत गरिएको थियो ।

अमेरिकामा रहेका सङ्गीतकार पविधन खालिङको शब्द तथा सङ्गीतमा उक्त एलबममा सात वटा गीत तथा चार वटा ट्रयाक समावेश छन् । अमेरिकामै सञ्चालनमा रहेको सुर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका एलबमका गीतहरूमा सङ्गीतकार खालिङले नै सङ्गीत संयोजन गरेका छन् । एलबमका गीतमा प्रियंका खालिङ राई, यशोदा खालिङ राई, प्रतीक खालिङ राई तथा पविधन खालिङ राईका स्वर सुन्न सकिन्छ ।

‘आफ्नो जाती र राष्ट्रको स्वाभिमान र अस्तित्व बचाउने यो युगमा जन्मिएका सम्पूर्ण नानीहरूमा समर्पित’ भनिएको उक्त एलबमका रोक्तोकोम्, छ्याम्पुलेम्, झुङ् कैल्य, कम्बी उङ् आदि बोलका गीतहरू समावेश छन् ।