अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

डिसीमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम सम्पन्न

विजय थापा २०७५ भदौ २८ गते ८:१० मा प्रकाशित

नेपालका पूर्व प्रधान मन्त्री डा बाबुराम भट्टराईसँग अमेरिकामा रहेका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । डा भट्टराई नेपालबाट अमेरिका आई डिसी क्षेत्रको मेरिल्याण्ड राज्यमा नेपाली समुदायको पहलमा राखिएको अन्तरक्रियामा सहभागी हुनु भएको छ ।

पूर्व प्रधानमन्त्री डा भट्टराईले पहिलो उदार प्रजातन्त्र तथा साम्यवाद भएका विश्वका विभिन्न राष्ट्रहरूमा सङ्कटका मूल कारण के हुन् ? कसरी प्रजातन्त्रलाई नेपाल जस्तो मुलुकका अझ सहभागिता मूलक ,जिम्मेवार तथा समावेशी बनाउन सकिन्छ भन्ने बताउनु भयो । यसै गरी दोस्रो, नेपाल जस्तो मूलकले कसरी द्रुत गतिमा विकास गर्न सकिन्छ भन्ने उद्देश्य सहित अमेरिकामा रहेका नेपाली समुदायसँग सुझाव सल्लाह र परामर्श लिन आएको बताउनु भयो । वहाँको साथमा जीवन सङ्गिनी हिसिला यमी पनि रहनु भएको छ । 

डा भट्टराईले नेपालको विकासको लागि रचनात्मक सल्लाह ,सुझावको अपेक्षा गर्दै नेपाललाई आफ्नो जन्म थलोलाई सकिने मुख्य रूपमा ज्ञान ,सीप तथा सकिने अवस्था छ भने धनले पनि नेपालको विकासमा सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्ना विचारहरू राख्ने क्रममा मातृभूमि प्रति अमेरिकाका नेपाली समुदायले गर्नु भएको माया र राष्ट्र प्रति देखाउनु भएको चासो को प्रशंसा गर्दै यस्तै रही रहनु पर्ने बताउनु भयो । आफ्ना छिमेकी मुलुकले द्रुत गतिमा विकास गरेको सन्दर्भ ल्याउँदै अब हामी सबै मिलेर समग्र देश विकासमा लाग्नु पर्ने बताउनु भयो । 

वहाँले आफ्ना कुराहरू राख्दै अहिलेको जस्तो विकास नभई नेपालले द्रुत गतिमा विकास चाहेको र आफूले पनि त्यस्तै विकास हेर्न चाहेको बताउनु भयो । करिब एक महिने अमेरिका यात्रा रहने जानकारी गराउँदै प्रथम अमेरिकाको राजधानी वासिगटन डिसी सुरु गरी नेपालीहरूको जन घनत्व ज्यादा भएको सहर न्यु योर्क ,टेक्सस ,बोस्टन लगायत राज्यहरूमा सम्भव भए पुग्ने बताउनु भयो ।

कार्यक्रममा राजदूत डा अर्जुन कुमार कार्की, महा बाणिज्यदूत प्रेम राजा महत, अमेरिका नेपाल सोसाइटी, एनपीपीए, अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (ईन्जा)का अध्यक्ष गुणराज लुइँटेल, खसोखासका प्रधान सम्पादक किशोर पन्थी, प्रा डा गोपी उप्रेती, वैज्ञानिकहरू, विश्व बैङ्कमा कार्यरत नेपालीहरू, सञ्चारकर्मी, अमेरिकाका रहेको नेपाली इन्जिनियर्स सङ्घका अभियन्ताहरू, बुद्धिजीवी, विभिन्न सङ्घ/संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

स्वागत समाजसेवी तथा व्यवसायी लोकनाथ तिवारीले सबैलाई स्वागत गर्नु भएको थियो भने यसै गरी कार्यक्रमको समापन राजदूत डा कार्कीले गर्नु भएको थियो । कार्यक्रममा डा भट्टराईले आफ्ना कुराहरू राखे पछि सहभागीहरूले जिज्ञासा समेत राखेका थिए ।

केही समय अगाडी डा भट्टराईले युरोपका दातृ संस्थाका उच्च अधिकारी तथा युरोपमा रहेका नेपाली समुदायहरूसँग पनि भेटघाट गरेको बताउँदै नेपाली समुदाय भएको राष्ट्रमा पुग्ने बताउनु भयो । प्रश्न उत्तरको कार्यक्रम सञ्चालन पत्रकार किशोर पन्थीले गर्नु भएको थियो । 

प्रतिक्रिया