अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

रुसी गुप्तचर माथिको नर्व एजेन्ट हमला – सुरक्षा परिषदमा आरोप/प्रत्यारोप

बिआरटीनेपाल २०७५ भदौ २२ गते ९:२९ मा प्रकाशित

पूर्व रुसी गुप्तचर सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलाबारे फेरि आरोप–प्रत्यारोप सुरु भएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा यस विषयमा भएको छलफलमा आरोप प्रत्यारोप चलेको हो । बैठकमा बेलायतका अनुसन्धानकर्ताले घटनाको जानकारी दिएका थिए ।

बेलायतले सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि रुसी सेनाको गुप्तचर अधिकारीले नै हमला गरेको आरोप लगाएको छ । अमेरिका, फ्रान्स, जर्मनी र क्यानडाले पनि रुसविरुद्ध बेलायतले लगाएको आरोपको समर्थन गरेका छन् । चारै देशका शीर्ष नेताहरुले संयुक्त बयानसमेत जारी गरेका छन् ।

बेलायती प्रधानमन्त्री टेरिजा मे, जर्मनीकी चान्सलर एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जारी गरेको संयुक्त वक्तव्यमा बेलायतको सेलिस्वरीमा गत मे ४ मा भएको नोविचोक नामको रासायनिक नर्व एजेन्ड आक्रमणको विरोध गर्ने उल्लेख छ । उनीहरुले नोविचोक कार्यक्रमका पूरा विवरण सार्वजनिक गर्न रुस समक्ष माग गरेका छन् ।

संयुक्त राष्ट्रसंघका लागि बेलायती राजदूत क्यारेन पियर्सले रुसले अन्तर्राष्ट्रिय कानुन विपरितका काम गरेको आरोप लगाउनुभएको छ । उहाँले अन्य मुलुकले समेत बेलायतलाई साथ दिएकोमा खुसी व्यक्त गर्दै सहयोगी देशसँग मिलेर रुसले गरेको अन्तराष्ट्रिय कानुनविपरितका काम रोक्न प्रयास गर्ने वताउनुभयो ।

यसअघि बेलायती प्रधानमन्त्री टेरिजा मेले संसद्लाई सम्बोधन गर्दै रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले नै स्क्रिपाल र उनकी छोरीको हत्याको प्रयास गरेको आरोप लगाउनुभएको थियो । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले रासायनिक हतियारको प्रयोगका विषयमा अमेरिका सधैं विरोधमा रहने स्पष्ट पार्नुभयो । उहाँले रासायनिक हतियारको विरोधमा अन्तर्राष्ट्रिय कानुन र बेलायतले लिएको अडानको समर्थन गर्ने वताउनुभयो । रुसले भने आफूमाथिका आरोप अस्वीकार गरेको छ । बेलायतले विना कुनै प्रमाण आफूहरुमाथि गलत आरोप लगाएको रुसको जिकिर रहदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू