अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

अमेरिकामा २५ वर्षीय दोस्रो पुस्ताका युवा आयुष खरेल हे-मार्केट सहरको योजना आयोग सदस्यमा मनोनीत

विजय थापा, वासिङ्टन डिसी २०७५ भदौ ४ गते १७:४४ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हे मार्केट नामक सहरको योजना आयोग सदस्यमा २५ वर्षीय आयुष खरेल मनोनीत भएका छन् । सम्भवतः अमेरिकाको इतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल पहिलो बन्ने अवसर प्राप्त गरेका छन् ।

दोस्रो पुस्ताका खरेल १२ वर्षको उमेरमा अमेरिका आएका हुन् । नेपाल पाल्पा तानसेन घर भएका खरेल भर्जिनियाको मनासस सहर नजिक रहेको हे मार्केट सहरमा आफ्ना मातापिता साथ बस्दछन् ।

१३ वर्ष अघि अमेरिका आएका नेपाली मूलका युवा आयुष खरेल हेयमार्केट सहरको योजना आयोगमा सदस्यमा छानिए पछि स्थानीय हेमार्केट विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्ने खरेलले बताएका छन् ।

अमेरिकामा राजनीति गर्न चाहनेहरूका लागि यो योजना आयोग निकै महत्त्वपूर्ण मानिन्छ। खरेलले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेवारी दिएकोले दत्तचित्तका साथ आफूले थप काम गर्ने बताए।

अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि प्रारम्भिक चरणमा निवेदन दिएर अन्तर्वार्ता दिएर उत्तीर्ण हुनु पर्छ । सो चरण उत्तीर्ण गरे पछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाइ पारित भए पछि गरिने सिफारिसलाई आधार मानेर नगर प्रमुखले नियुक्ति गर्ने प्रक्रिया छ।

आयुष खरेलले उच्च विद्यालय (हाईस्कुल )उत्तीर्ण भर्जिनिया अमेरिका बाट नै गरेका हुन् । खरेलले पूर्व स्नातक (अन्डरग्राजुएट ) गरेका छन् भने हाल उनी एमाजोनमा साइबर(अंतर्जाल ) सुरक्षामा काम गर्दछन् ।

नेपाली मूलका मधु पन्थी नगर परिषद् सदस्य रहेको उक्त पद रिक्त भए पछि उक्त पदको लागि १५ जनाको निवेदन मध्ये आयुष खरेल छानिएका हुन् । मधु पन्थी प्रस्तावक रही हे मार्केट नगर परिसरको बैठकको बन्द सत्रमा बृहत् छलफल भई सिफारिस गरे पछि हे मार्केटका नगर प्रमुख डेविड लिकले अन्तिम निर्णय गर्दै आयुषलाई मनोनीत गरेका हुन् ।

आयुष समाजसेवी तिलक खरेल तथा अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस ) कि अध्यक्ष कमला खरेल का सुपुत्र हुन् । उनी उक्त पदमा अगस्त २० तारिख देखी नै लागु हुने गरी मनोनीत भएका छन् ।

उनलाई हेमार्केटको नगर परिषद्को गत अगस्त ६ तारिखमा बसेको बैठकले मनोनीत गरेको हो ।