अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

डिसी क्षेत्रमा दोस्रो पुस्ताका बालबालिकाको लागि निबन्ध प्रतियोगिता सम्पन्न

विजय थापा, वासिङ्टन डिसी २०७४ पुष ११ गते ६:५९ मा प्रकाशित

गत डिसेम्बर २३ तारिख डिसी महानगर क्षेत्रको भर्जिनिया स्यानटिलीमा अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालबालिकाहरुका लागि निबन्ध प्रतियोगिता फरक प्रस्तुतिमा सम्पन्न भएको छ l उक्त नौलो कार्यक्रममा अमेरिकाका लागी नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीको उपस्थिति रहेको थियो ।

निबन्ध प्रतियोगिता नामाकरण गरिएता पनि उक्त निबन्ध प्रतियोगितामा अमेरिकामा जन्मिएका बालबालिकाहरुको शिक्षा देखि नेपाल र अमेरिकाको बारेमा के कति ज्ञान राख्दछन भन्ने हेतूले पहिलो पटक यस्तो कार्यक्रम गरिएको हो l त्यति मात्रमा सीमित नरही गणित तथा अङ्ग्रेजीको स्पेलिङ्ग समेत सोधिएको थियो । प्रतियोगितामा सहभागी हुने बालबालिका/विद्यार्थीहरूले आफैले लेखेको निबन्ध कतिको महत्त्वपूर्ण हुन सक्ने शिक्षाबारे बढी ध्यानाकर्षण गरिएको थियो ।

उक्त निबन्ध प्रतियोगितामा सहभागी बालबालिकाहरुमा आरजू कार्की, एलिजाबेथ ठकुरी, ऐश्वर्य निरौला, मोनिका ढुंगेल, आदित्य निरौला, अदिति पौडेल, सगुन लुइँटेल तथा दिपर्सन खरेल रहेका थिए । उक्त प्रतियोगितामा तीन प्रतिस्प्रद्धिहरु क्रमशः: ऐश्वर्य निरौला, आरजु कार्की तथा एलिजाबेथ ठकुरी प्रथम, दोस्रो स्थानमा अदिति पौडेल तथा मोनिका ढुंगेल तथा तृतीय स्थानमा सगुन लुइँटेल, दिपर्सन खरेल तथा आदित्य निरौला भएका थिए ।

उक्त प्रतियोगिता विश्व कीर्तिमानधारी कराते खेलाडी उज्ज्वल ठकुरी तथा मोडल (नमुना) रीमा कटुवालद्वारा अमेरिकामै पहिला पटक यस्तो कार्यक्रमको आयोजना गरिएको हो । राजदूत अर्जुन कुमार कार्कीले प्रमाण पत्र वितरण गरेका थिए । कार्कीले मन्तव्य राख्दै कार्यक्रम अतिनै प्रशंसनीय नौलो राम्रो भन्नुको साथै यसलाई अमेरिका भर पनि गर्न सकिने सुझाव दिएका थिए ।

यसै गरी वरिष्ठ पत्रकार दिनेश अधिकारी तथा नेपाल अमेरिका पत्रकार सङ्घका उपाध्यक्ष गुणराज लुइँटेलले प्रत्येक बालबालिकाको लागि उपयुक्त हुने मन्तव्य राखेका थिए । कार्यक्रममा बालबालिकाका अभिभावक/बुवाआमा उपस्थित थिए भने उनीहरूले हरेक वर्ष हुनु पर्ने प्रस्ताव राखेका थिए ।

कार्यक्रमको लागि निर्णायकहरुमा ईनेप्लिजका संस्थापक विश्व राज थापा, कीर्तिमानधारी उज्ज्वल ठकुरी, संचारकर्मी सरोज केसी तथा मोडेल रिमा केसी कटवाल रहेका थिए । विशिष्ट अतिथिमा राजदूत डा. अर्जुन कुमार कार्की रहेका थिए भने कार्यक्रमलाई हौसला दिन वरिष्ठ पत्रकार दिनेश अधिकारी, संचारकर्मी गुणराज लुइँटेल तथा चर्चित फोटोग्राफर राजिव श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रमको लागि ग्लोबल नेपाल टेलिभिजन, ईनेप्लिज तथा बिआरटि नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो ।

सम्बन्धित सामग्रीहरू