अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

नियात्रा : एक्लै हुँदाको मजामा मलेशिया

कृष्ण प्रसाई

कृष्ण प्रसाई २०७४ चैत १४ गते २१:३१ मा प्रकाशित

सिटी वान प्लाजा ब्लक बी को ३८ तला माथिको आफ्नो कोठाबाट वाहिर हेर्न एक किसिमले काहाली नै लाग्दथ्यो । तरै पनि यति माथिबाट बाहिरको भागलाई हेर्नु मजै अर्को थियो ।

हिड्दा जति टाडा भएपनि यति माथिबाट देखिने क्वालालम्पुर टावर र टुइन टावर जुम्ल्याहा भवन आँखै अगाडि यसरी देखिन्थे मानौ तिनीहरु मेरै छिमेकी घरहरु हुन् । तर जव मैले एउटा फूस्रदिलो दिनलाई आफ्नो बनाएर कब्जा गरेपछि हिडेरै त्यहापुग्ने अठोट लिए अनि मात्र मलाई थाहा भो त्यो ठाँउ मैले अनुमान गरे भन्दा धेरै फरक र टाडा रहेछ । क्वालालाम्पुर शहरका मुख्य भाग सौदापात किन्ने ठाँउ र डिपार्टमेन्टल स्टोर बाहेकका ठाँउहरुमा पैदल हिड्ने मान्छे कमै भेटिन्छन् । स्थायी वासिन्दाहरुका प्रायः आफ्नै सवारी साधन हुन्छन् र जस्को छैन तिनीहरु पनि बस टयाक्सी र शहरभरि छरिएर रहेका तीन किसिमका मेट्रोहरुमा चढेर आफ्नो यात्रा गर्छन् क्वालालम्पुर शहरमा ।

तर म एक्लै हिँडिरहेको थिए क्वालालम्पुर टावरलाई भेट्न बाटाको छेउबाट । पछाडिबाट फर्केर हेरुन्जेल र अघाडि आँखाले भ्याइन्जेल सम्म कुनै पनि मानव आकार त्यो बाटोमा हिडिरहेको देखेको थिइन मैले । त्यति नै खेर मैले रवीन्द्र नाथ ठाकुरको ूअकेला चलो रेू भन्ने कविताका पंत्तिहरु संझिँए । एक किसिमले उन्को अनुयायी भएर हिड्न पाएकोमा मजा पनि लाग्यो । कमसेकम यो दुर देशमा आएर मैले वंगाली कवि ठाकुरको अनुसरण गरिरहेछु । ती मेरा देशका नभएर छिमेकी देशका हुन् । मेरो त छिमेकी देश मात्र नभएर छिमेकी राज्य बंगालका हुन् जो जन्मेको शहरमा मैले विसौं पटक पाइला राखिसकेको छु र उन्को मातृभाषा पनि एनकेन प्रकारेण काम चलाउ बोल्दछु ।

म गमिरहेथे ठाकुर बाजेका घरभरि प्रशस्त नोकर चाकरहरु थिए । ठुलो जमिन्दारी थियो । नाम दाम प्रतिष्ठा र बाहै घन्टा मनिसहरुको राजधानी हुन्थ्यिो उनको घरमा । तर किन धेरै मानिसहरुको विचबाट चोइटिएर एक्लै हिड्ने सन्देश दिए ती मूर्धन्य कविले सायद एक्लो हुँदा र एक्लै हिड्दा आफ्नै मजा हुन्छ ।

कसैको बैचारिक भारी बोकिरहनु पर्दैन । मनमौजी हुन पाइन्छ र त्यसबाट हुने एक किसिमको आनन्दले योगानुभूतिको आस्वादन पाइन्छ भनेरै एक्लै हिँड भनरे भनेका होलान् ती महा-मानवले । म यस्तै सोचिरहेको थिए र हिडिरहेको थिए । मेरो एकातिर केही उठेको वस्ती बिहिन जंगलले भरिएको पहाड थियो भने मेरो देब्रेतिर मानव निर्मित आलिसान भवनहरु र व्यवसाय साँधेर बसेका निजी अफिसहरु थिए । हिड्ने म मात्र एक्लो थिए तर सडक भरि सवारी साधनमा हुइकिरहेका मानव महासागरको कमी थिएन त्यहाँ । दुवैतर्फ चल्ने सवारी साधनहरु गुडिरहेका थिए आफ्ना मालिकहरुलाई आफ्ना यात्रुहरुलाइ लिएर । तर म मान्छेहरु विचपनि नितान्त एक्लो थिए र एक्लै हिडिरहेको थिँए क्वालालम्पुर ।टावरलाइ भेट्टाउन ।

निक्कैबेर हिडिसकेपछि चौबाटो आयो । उस्तै उस्तै लाग्ने बाटाहरु भएकाले कुन बाटो रोज्दा चै टावरमा पुगिन्थ्यो मलाई ठम्याउन अलि मुस्किल भयो तर सानो टापु जस्तो डाँडामा अवस्थित क्वालालम्पुर टावरको भौगोलिक बनावटको बारेमा म रहदै आएको ३८ तल्ला माथिको कोठाबाटै मैले भेउ पाइसकेको थिए । त्यसैले टापु जस्तो थुम्कालाइ छोड्नु हुदैन भनेर मैले मनमनै बिचार गरेँ । सोधुँ भनेपनि कोही मान्छे थिएनन् । त्यसैले पनि म ढुक्क भने हुँन सकिन आफ्नो सोचमा र एउटा आकाशे पुलमा केहीक्षण बसेर मान्छेको प्रतिक्षा गर्न थालेँ । पन्ध्र मिनेट बस्दा पनि के को भेटिनु मान्छे ! मेरो केही चलेन र अन्त्यमा आफ्नै हिसावले बाटो रोजे क्वालालम्पुर ।टावरको । संयोग नै भयो मैले ठिक बाटो रोजेछु । अलिपर गएपछि त केही सानातिना क्युरियोका पसलहरु भेटिए । क्युरियोका पसले शाहुलाई मैले जान चाहेको ठाँउको बाटो सोधेँ यद्धपि टावर मैले देखिरहेको थिएँ तर त्यहा पुग्ने बाटोमात्र मलाई चाहिएको थियो । नभन्दै अन्ततः उसको निर्देशन अनुसार म टावरमा पुगेरै छोडे ।

१८ मार्च २००७ को झन्डै मध्यान्न दिनको १ वजेको समय हुनुपर्छ । साइरन सुरक्षागार्ड र मान्छेहरुको बाक्लै उपस्थितिभित्र बाँचिरहेको थियो मैले उसलाइ पहिलो पटक छुनै खोन्दा क्वालालम्पुर टावर । रातो कार्पेट पनि बिच्छ्याएको थियो छेउमै र अस्वभाविक हिसावले मान्छे भन्दा सुरक्षा जत्था धेरै देखिए पछि मैले अनुमान गर्न थालेँ आज कुनै मन्त्री वा ठुलो मान्छे आउदै हुनुपर्छ टावर चढ्न । नत्र यति धेरै सुरक्षा संयन्त्र किन

नभन्दै मैले २० िरंकेट मलेशियन पैसा हाल चारसय नेपली रुपैयाँ तिरेर टावरको लिफ्टमा के उक्लन खोजेको थिए मैरे अघाडि पो देखिए पाकिस्तानी राष्ट्रपति परवेज मुसरफ त ! रत्तपात विहिन शैनिक कु गरेर सत्ता हत्याउने मुसरफलाई नेपालमा आउदा पनि मैले टेलिभिजनमा मात्र देखेको थिए तर आफ्नै अगाडि उनकी श्रीमती र उनकै दुतावासका केही कर्मचारीसँगै उनलाई श शरिर देख्दा म तीन छक्क परेँ । एउटै लिफ्टमा हामी चडिरहेका थियौँ  । लिफ्टमा अरु नचिनेका मलेशियनहरु पनि म जस्तै टावर चढ्न आएका थिए तर सायद कमैले चिनेका हुन सक्छन् मुसरफलाई । सवै सँगसँगै टावर माथि पुगियो । माथि पुगिन्जेल कोही कसैसँग वोलेनन् । मौन अवस्थामै यात्रा गरियो १० मिनेटसम्म । मैले एक मनले सम्झेँ जाउँ परर्वेजसँग हात मिलाउँ र आफ्नो नागरिक परिचय दिउँ । आखिर उ पनि मै जस्तो विदेशी त हो मलेशियाका लागि । तर फेरि अर्को मनले त्यसो गर्न मानेन । उ त तानाशाह हो । प्रजातन्त्रलाई सिध्याउन चाहने मान्छे हो ऊ । अनुहार राम्रो भए पनि खागी वर्दी को विचारलाई विश्वास गर्ने मान्छे हो ऊ । जस्लाई मैले जीवनमा सधै नकार्दै आएको छु । मलाइ रमाइलो केमा लागिरहेको थियो भने त्यत्रो मुलुकको त्यति शक्तिशाली राष्ट्रपति भए पनि आखिर हामी त्यहा सवै समान थियौ र एउटै प्रयोजनका लागि गएका थियौं । त्यो थियो क्वालालम्पुर टावरको माथिबाट आँखाले देखिए जति चारैदिशाका दृष्यहरु नियाल्नु र आ-आफ्नै अनुभवहरु आफ्नो मस्तिस्कमा कैद गर्नु । मैले सम्झे नेपालमा भएको भए एउटा सामान्य मानिसले यसरी एउटै लिफ्टमा चढेर समान हिसावले कुनै बादशाहलाई नजिकबाट हेर्नु असम्भव प्रायःहुन्थ्यो । सवारी चलाउदा मात्र पनि दुई घन्टादेखि बाटो जाम हुनेगरि सवारीका साधन र पैदल यात्री लाई रोकिन्थे । नपाउने सास्ती मान्छेहरुले पाउँथे । अति विशिष्ट व्यक्तिको सवारी छ भनेर सवैलाई दुख दिनेकाम हुन्थ्यो । तर देखियो त्यहा चल्दोरहेछ त सवारी नरोके पनि ! चल्दोरहेछ सवै साथसाथै हुँदा पनि ! अनि चल्दोरहेछ कसैलाई दुःख नदिइ सहज तरिकाले बिशिष्ट र साधारण भनाउँदो नाता सम्वन्ध एकै ठाँउमा रहदा पनि !

मुसरर्फ कतिखेर फर्किए मलाइ थाहाभएन तर मैले झन्डै एक घन्टा लगाएर सवैतिरबाट टावरको माथिबाट क्वालालम्पुरलाई नियाले । त्याहा देखिएका आलिसान भवनहरुलाई हेरेँ । केही पर उभिएको माथिबाट सानो जस्तो देखिने अहिले सम्मकै संसारको सर्वोच्च भवन टुइन टावरलाई पनि दोहोर् याई तेहेर् याई अवलोकन गरेँ । धन्य भएँ म संसारका गतिला भवनहरु हरियाली दृष्यहरु र विकासका फड्काहरु त्यति माथिको टावरबाट हेरेर । आनन्दित भएँ म मलेशियाली विकास र मानव संसाधनको तिब्र गतिसँग अनि गौरवान्वित भएँ म मान्छेले गर्न चाँहदा हुनसक्ने परिणाम देखेर । म कति सानो रहेछु भनेर मैले त्यतिबेला नै थाहा पाएँ जतिखेर मैले आश्रय लिइरहेको ४२ तले भवन पनि मेरै आँखा अगाडि लिलिपुट जस्तो भएर उभिइरहेको देखियो ।

मेरो देश पनि विकासमा लिलीपुट नै थियो अझै । मन कुँडिएर आयो । बिरक्त लागेर आयो आफु र आफ्नो देश सम्झेर । आखिर आफ्नै औकात नाप्न ठूलै भएर सोच्नु पर्ने रहेछ असल भएरै हेर्नुपर्ने रहेछ र उचाइमा पुग्नै पर्ने रहेछ । आफु भन्दा माथि उक्लिएर आफुलाइ हेर्दामात्र आफ्नो उचाई थाहा पाइने रहेछ । मैले यस्तै यस्ता बिचार गरेँ क्वालालम्पुर।टावर माथिबाट ।

विकासले फड्को मार्दा कसरी मार्दोरहेछ त्यो मैले चीनमा देखेकोथिए । भौतिक विकास पछिको मानसिक र व्यवहारिक विकास कसरी गर्न सकिन्छ भनेर मैले जापानलाई भेटेको थिएँ ा भौतिक र व्यावहारिक विकास सँगसँगै जाँदा कस्तो हुन्छ भनेर मैले केरियालाई छानेको थिएँ तर मलेशियामा विकास पसेर थाहै नपाई कसरी सुटुक्क चुलियो त्यो नै हेरिरहेको थिएँ र अचम्म मानिरहेको थिएँ म ।

चार पटक मलेशिया टेकिसके पनि पहिलो यात्रा अनुभवबाटै मैले मलेशियालाई अनुमान गरिसकेको थिएँ त्यो चानचुने रहेनछ अव भनेर । त्याँहा लमतन्न सुतिरहेका बाटा बाटा वरिपरी फुलिरहेका फूल र मौसम नै बर्दान भएर भूमिलाई दिएको प्राकृतिक सौगात नै पर्याप्त थियो मलेशियाले विकास गर्नुमा । त्यसैले मलेशियाको कुनै पनि कुनाबाट जुनसुकै कुना र ठाँउहरु जाँदा घुमाउरो बाटो भएर हिड्नु नै पर्दैन । पुनः पहिलेकै ठाँउमा फर्किनै पर्दैन । जहिँतहीँ बाटै बाटा छन् । जताबाट गए पनि आफ्नो गन्तव्यमा पुगिहालिन्छ । त्यति राम्रो सडक संजालका लागि एसियाकै नमुना हुनुपर्छ मलेशिया । हप्तै पिच्छे पानी परिरहने उष्ण भुमध्यरेखीय तापक्रम नै पर्याप्त भयो सदासर्वदा हरियाली बनाउन मलेशियालाई । रबर खेती र पामतेल उत्पादनको लागि सुहाउदो माटोलाई साथ दियो मौशमी वातावरणले मलेशियालाई । यति मात्र होइन महाथिर जस्ता राष्ट्रवादी र विकास प्रेमी नायकलाई जन्मदियो मलेशियाल जस्ले छोटो समयमै नजिकैको इन्डोनेशिया भन्दा कयौँ गुणा विकासे फड्को मारेर दुनियाँलाई चकित पारिदिए । देखाइदिए आफ्नो विलक्षण विकास शक्तिको परिक्षा पराई मुलुकलाई ।

कुनै बेला वेलायती उपनिवेश भएको मलेशियाले भौतिकी विकासमा फड्को मारेको धेरै भएको छैन । इन्डा्नेशियाबाट आएका बहुसंख्यक आदिवाशी भूमिपुत्र मुसलमान सम्प्रदाय चिनियाँ मुलका ब्यपारिक वर्ग र अल्प संख्यक भारतीयमुलका बिशेषगरी तमिल सम्प्रदाय को आधिकारिक बसोवास रहेको मलेशियालाई समुद्रहरुले पनि समृद्ध बनाएको छ ।

मलेशियाको पहिलाको नेपाली नाम मालाया थियो । मलाया पहिले- पहिले शैनिक भर्ति लाहुरे लहोरमा भर्ना हुने भएकाले जन्मिएको शव्द तत्कालिन भारत र हाल पाकिस्तान भएर वेलायती उपनिवेश कालिन भारतबाट लडाईमा लगिने ठाँउ बिशेषले चिनिन्थ्यो नेपालमा । त्यसो त आजभोलि पनि राबाङ्ग (Rawang) भन्ने ठाँउमा अझैसम्म पनि नेपालीहरुको सानो वस्ती छ जुन द्धितीय विश्वयुद्धमा लडाई लडेका नेपालीहरुको परिवारहरुको बसोवास रहेकोछ । त्यो बसोवास मिलाउन र गोर्खालीहरुलाई मलेशियाली नगरिकता दिन तत्कालीन प्रधानमन्त्री महाथिर मोहम्मदले भूमिका खेलेका थिए । आजभोलि भने मलेशिया सस्तो श्रम वजारको रुपमा नेपाली माझ चिनिएको छ । झन्डै चारलाखको हाराहारीमा नेपाली कामदार रहेको मलेशियामा इन्डोनेशिया र बंगलादेश पछि नेपाली कामदारको गणना हुन्छ ।

सन् १९५७ मा वेलायतबाट स्वतन्त्र भएको मुलुक मलेशियाको त्यतिबेला नेपालको भन्दा पनि आर्थिक अवस्था जर्जर थियो तर आज आएर मलेशियन नागरिकको बार्षिक प्रति व्यक्ति आम्दानी दश हजार अमेरिकी डलर भन्दा उकालो लागिसकेको र दिनानुदिन यो चुलिएको चुलिऐ छ ।

कहाँसम्म सत्य हो भनिन्छ पाँचहजार भारतीय नागरिक सहित पाँचसय वटा कागहरु बेलायतीहरुले मलेशिया आफ्नो उपनिवेश रहदा मलेशियामा लगेका थिए रे । त्यति धेरै संख्यामा रहेका भारतीयहरु त्यहा बाटो बनाउने र अन्य निर्माण कार्यमा सहयोग पुर्याउने परियोजनाका लागि मजदुर बनाएर लगिएको थियो । कागहरु चाहँी फोहोर बस्तु खानेहुँदा सरसफाइको हिसावले लगिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । कागले पर्यावरण पनि अनुकुल बनाइ दिन्छ भन्ने धारणा छ त्यसैले पनि होला नेपाली चाडपर्वमा कागलाई महत्वपुर्ण पंक्षी मानेर उसको नाममा पर्ब राखिएकोछ । त्यहु लगिएका पाँच हजार भारतीय मजदुरहरुको संख्या बढेर सात दसक पछि अहिले लाखौं पुगिसकेको छ । भारतीय मुलका मान्छेहरु गएपछि उनीहरुका नातागोता र अन्यलाई पनि क्रमैसँग बिस्तारै लगेका प्रमाणहरु भेटिएका छन् । हाल पनि भारतीय मुलका मानिसहरु जो कोही भेटिन्छन् तिनीहरुका बावु मात्र त्याहा जन्मिएका र हजुरबुवा भने भारतबाटै गएका भन्ने शव्द मुखबाट सुनिन्छ ।

मलेशिया आउदा कतिका आफन्त र नातेदारहरु भारतमा नै छोडिएकाले हालसम्म पनि उनीहरुले आफ्ना नातेदारहरु खोजिगर्ने गरेको र नयाँ पुस्ताहरुले लगभग आफ्नो पुख्यौली थलो बिसर्िसकेको यथार्थ पनि छ्रयाप्छ्याप्ति भेटिन्छ भने कतिको भारतमा रहेका आफ्ना सगोत्री सन्तानहरुको मनग्य आवत जावत र सम्वन्ध रहेको देखिन्छ । त्यसैले उनीहरुमा भारत प्रेम असाध्य रहेको छ । भारतबाट मलेशिया जाने प्रायः सवै हिन्दू धर्मी बिषेश गरी शैवमार्गी रहेका छन् र हिन्दी भाषा मलेशियामा नबोलिए पनि हिन्दी फिल्म र हिन्दी गीतको बजार पत्याई नसक्नुको छ । भारतीय मुलका मलेशियालीहरु अधिकंाश तमिल भाषी भएकाले तमिल फिल्म हेर्न र तमिल गीत पनि प्रसस्त सुन्न पाइन्छ मलेशियामा । भारतीय मुल मात्र होइन मलेहरु पनि भारतीय कलाकार भने पछि हुरुक्क हुन्छन् । यसो हुनुमा धेरै भारतीय फिल्महरुको छायाङ्गकन मलेशियमा रहनु पनि हो ।

सानातिना दर्जाका सरकारी जागिर एकाध उच्च राजनैतिक पदहरुमा तमिल मुलका भारतीयहरु रहे पनि पछिल्ला दिनहरुमा व्यपारको क्षेत्रमा चिनिया र यो समुदायबाट उल्लेखनीय प्रगति गरेको देख्न पाइन्छ । त्यसो त मलेशियामा एक नम्वर मा चिनिया त्यसपछि भूमिपुत्र मले र भारतीय मुलका मनिसहरु नै व्यापारमा देखिएका छन् । वहुराष्ट्रिय कम्पनीहरुको संख्या अत्याधिक रहेकाले वीस लाख मजदुरहरु मलेशियाको विकाशमा सहयोगी भएका छन् । माथिल्लाृ सरकारी पद र राजनैतिक निर्णायक ओहदामा अधिकांश भूमिपुत्र मले हरुकै बोलवाला छ मलेशियामा । भूभिपुत्र मुसलमानहरुका लागि सरकारले धेरै सुविधा दिएको छ मलेशियामा । कति विषयमा भूमिपुत्र मले वाहेक अन्य नागरिकलाई दोश्रो दर्जाको नागरिक झै लिइन्छ । यहाँसम्म कि बहुराष्ट्रिय कम्पनी र अन्य व्यापारिक प्रयोजनमा ५१ प्रतिशत लागानी भूमिपुत्रको नाममा हुनै पर्छ नत्र इजाजत पाइदैन । त्यसैले निःशुल्क पाइने शेयरले गर्दा भूमिपुत्रहरु धेरै अल्छे आराममुखी आशामुखी भएर गईरहेको तर्क समाजशास्त्रीहरुले गर्न थालेका छन् ।

बाटाघाटाको विकाससँगै भवन निर्माण योजनाको उच्चतम्् नमुना भने मलेशियाको प्रसाशनिक राजधानी पुत्रजयामा देख्न सकिन्छ । त्यहाँका भवन निर्माणको बनोट संभवतः एसियाकै उच्चतम बस्तुकला र वैज्ञानिक बनोटमा छ । हेर्दै आकर्शक मनमोहक र उदाहरणीय लाग्ने पुत्रजयाले सवैलाई मन लोभ्याउछ र मष्तिष्कलाई हुरुक् हुरुक् पार्छ । हेर्नै पर्ने ठाँउको नाम हो पुत्रजया । जानै पर्ने ठाँउको नाम हो पुत्रजया र सोच्नै पर्ने ठाँउको नाम हो पुत्रजया ।

त्यसो त वास्तुकला र सुन्दरताका हिसावले क्वालालम्पुरका जुम्ल्याहा भवन सम्भवतः विश्वमै प्रख्यात छन् । किनभने त्यो भवनमा प्रयोग गरिएको मानवीय कालिगढीले प्रत्येक मान्छेलाई मोहनी नलगाई छोड्दैनन् । झन् साँझ र रात्रिपख देखिने चाँदीमय प्रकाशको आभाले जुम्ल्याहा भवन उज्यालिदा यस्तो लाग्छ मानौ स्वर्गको एउटा भाग नै हो त्यो जुन पृथ्वीमा खसेर मान्छेका आँखाहरुलाई हेर्नुको मजामा वेहुला-वेहुली भएर अन्मिएको छ । मैले चीनको सेन्जेन टावर हेरेको छु चीनकै Window of the world भनाउदो आइफेल टावरको कान्छो भाईका टाउकाबाट आकाश सुम्सुम्याएको छु । चीनकै गन्झाउ टावर र संघाइको एसियामा पहिलो र संसारकै तेश्रो उचाई ४६८ मीटर को पर्ल टावरको टुप्पाबाट भेटिएसम्मका दृष्यहरु हेरेर मनलाई धन्य वनाएको छु । त्यतिमात्र होइन जापानको टोकियो टावर कोरियाको सामुन्द्रिक सतह भन्दा ३६० मीटर उचाईमा रहेको शिओल टावर र कोरियाकै होङ्ग नदीको किनारमा चुनौति दिने सम्पदाहरुको उचाई र त्यसमा आत्मासत गरिने अनुभव संगालिसकेको छु । तर मलाई मलेशियाको ४५१ मीटर अग्लो यो जुम्ल्याहा भवन जत्तिको मन अरु कुनैले तानेनन् । त्यसैले मैले प्रत्येक पटकको मलेशिया यात्रामा पा्रयः जसो साँझ र रातिका समयहरुलाई ती जुम्ल्याहा भवन छेउमै लगेर रम्न सम्म रम्ने गरेको छु । हेरेर छोएर र सुम्सुम्याएर पुलकित भएको छु र कहिल्यै नरित्तिने मायाँ लाएको छु तिनीहरु सित । ख्यै कस्तो जादु छ ती जुम्ल्याहाको सौदर्यमा म हुरुक्कै भएको छु ।

0 0 0 0 0

एक्लै हिडेर मैले क्वालालम्पुर टावरलाई गोलाकार रुपमा बाँधिसकेको रहेछु । मैले जति सोचेँ एक्लै रहेर नै सोचेँ । समुह वीचमा रहेपनि म एक्लै थिएँ र मलाई चिन्ने कोही थिएन त्यो यात्राभरि । सवै भन्दा नरमाइलो चै समुह बीचमै रहेपनि एक्लै हुँदाको एक्लै बन्दाको र कसैसँग नबोल्दाको क्षण हुँदोरहे छ । यद्धपि पूर्वीय मान्यतामा मौन रहनु एक किसिमको योग हो जस्ले मन स्थिरमा राख्छ र मानसिक शान्ति दिन्छ भनिन्छ ।

सोच्दा सोच्दै म क्वालालम्पुर टावरबाट टावरलाई दाहिनेतिर पार्दै कोतराय छेउको बाटो हुँदै कोठामा आईपुगेछु । पसिनै पसिनाले भिजेको सरिरबाट लुगा फुकाएर मैले पुनः ३८ तला माथिबाट क्वालालम्पुर टावरलाई हेरे । उ अझै मेरो नजिक जस्तो लाग्यो मलाई । यस्तो लाग्दै थियो कि मेरो खुसी मेरो थकान र मेरो दुःख ऊ पनि साट्न चाहान्छ मसँग । तर म विवश थिएँ उस्का सम्पूर्ण मौन भाषा बुझ्न नसक्नुमा र विवश थिएँ आफ्नो संवेगीय कमजोरीमा ।

प्रतिक्रिया