अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 18:59

(संस्मरण) सामुहिक रुपमा नाङ्गै नुहाउँदा

कृष्ण प्रसाई

कृष्ण प्रसाई २०७४ माघ २५ गते १:२३ मा प्रकाशित

समुद्रसंग छुट्टिएको टापु होक्काइडो सम्म पुग्न हवाइजहाजको सुविधा भए पनि यसअघि कहिल्यै नगरिएको त्यति ठूलो पानीजहाजको महासागरीय यात्रा आफैमा रोमान्चक लाग्नु स्वभाविकै थियो । बिहान नौ बजेतिर सुबिधा सम्पन्न बसबाट टोकियो बस टर्मिलनबाट हामी उत्तरतिरको यात्रामा निस्केका थियौं । टोकियो भएर सेन्डाइ हुदै ओमोरी पुग्नु थियो आजको यात्रा । नभन्दै बस छुटिसकेपछि टोकियो उत्तरतिर पर्ने बिभिन्न ससाना शहरहरु हुँदै सेन्डाईलाई पनि नाघेर हामी ओमोरी पुग्यौं ।

ओमोरीबाट होक्काइडो टापुस्थित प्रसिद्ध शहर सापोरो पुग्न पानी जहाजबाट उत्रिएर फेरि बसमा यात्रा गर्नुपर्ने रहेछ । यो ट्राभल एजेन्सीको अग्रिम जानकारी थियो । बेलुका ७ बजेको समय थियो हाम्रो ओमारीबाट पानी जहाज चढ्ने । निर्धारित समयभन्दा हामी दुई घण्टा अघिनै ओमारी पुगिसकेका थियौ । ओमारी जापानको उत्तरी भागमा अवस्थित ठुला पानीजहाजहरुको वन्दरगाहा रहेछ त्यहाँबाट जापानका अन्य ठाँउमा पनि पानीजहाजहरु छुट्दा रहेछन् । पानीजहाजहरुको वग्रेल्ती संख्या हेर्दा यो कुरा सहजै अनुमान गर्न सकिन्थ्यो । काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिरू भएजस्तै पो भयो । कताको यात्रा कहाँको प्रसंग ।

म जीवनमै पहिलो पल्ट त्यति ठूलो वडेमानको पानीजहाज चढिरहेको थिए । झण्डै एक हजारको हाराहरीमा रहेका यात्रु र झण्डै दुई सयको संख्यामा रहेका कारहरु पानीजहाजभित्र चढ्दै थिए । मान्छे चढ्नका लागि ठूलो हजाइजहाज कै जस्तो सिंढी र गाडीहरुका लागि जहाजको तल्लो भागमा रहेको प्रवेश मार्ग रहेछ । यात्रु र गाडीहरु सवै जहाज भित्र समाहित गर्न झण्डै एक घण्टाको समय लाग्यो ।

पानीजहाजभित्र चढिसकेपछि पनि जहाज भित्रै अझ उक्लिनुपर्ने तीन-चार तला थिए । जम्मा जम्मी वाइस घण्टाको प्रशान्त महासागर माथिकॊ यात्रा थियो यो । जहाजको सवै भन्दा तल्लो भागमा गाडीहरु राखिएका थिए ।

एक हप्ताको छुट्टि मनाउन सापोरो सहर र होक्काइडो पुग्ने जो सुकैले निजी सवारी साधन आफुसगै पानीजहाजमा हालेर यात्रा गर्दारहेछन, ताकी जहाजबाट उत्रिसकेपछि पनि हप्ता भरको यात्रा गर्दा आफ्नै गाडी होस् । त्यसोभयो भने भाडाका गाडी खोजिरहनु पर्ने झन्झट पनि नहुने र मन चाहे ठाँउमा पारिवारिक यात्रा गर्न सजिलो हुने रहेछ । गाडीहरु राखिएको भन्दा माथिल्लो तला धेरै महंगा तारे होटलको सुविधा दिएर वनाएका व्यवस्थित कोठाहरु रहेछन् । त्यो तलामै मान्छेका इच्छा अनुसार सुविधाका लागि वनाइएका पुस्तकालय योगा कोठा अरु शारिरीक व्यायमका हल साना तिना फेन्सी पसल लगायतकाहरु थिए । त्यो भन्दा माथि सामुहिक यात्रीका लागि वनाइएका सार्वजनिक सुत्ने कोठाहरु थिए । अरु भन्दा ती कोठाहरु धेरै ठूला र एउटै कोठामा लहरै ओछ्रयाइएका फोमका विछ्यौनाहरु थिए ।

लगभग एक सय जनाजति एउटै कोठामा सुत्न मिल्ने ठूला कोठाहरु रहेछन् । त्यति ठूलो कोठामा लहरै विछ्याइएका विछ्यौनाहरु मध्ये एउटाको हकदार म पनि थिए । जस्लाइ मैले पैसा तिरेर वाइस घण्टाकालागि आफ्नो वनाएको थिए । महिला पुरुष सवै थिए त्यो कोठामा । कुनै भेदभाव थिएन त्यहाँ । सवै कोठामा त्यस्तै थियो तर महिलाको एकातिरको भाग र पुरुषको अर्कोतिरको भागमा आ-आफैले ओछ्यान छान्ने चलन रहेछ । तर ट्वाइलेट र नुहाउने ठाँउ लगायत साउना चै महिला र पुरुषको अलग अलग थियो । यो तलाको प्रायः सवै भागमा सुत्ने कोठाहरु नुहाउने कोठाहरुनै थिए । खानपिन र रेष्टुरेण्टका लागि भने सवैभन्दा माथिको र सारै फराकिलो ठाँउ छुट्टयाइएको रहेछ । रेष्टुरेण्ट भन्दा माथिल्लो पाँचौं तलामा भने समुद्रको दृश्य हेर्नका लागि र सिगरेट आदि पिउनका लागि छुट्टाइएको थियो ।

हाम्रो यात्रा पाँच दिनको लागि तय गरिएको थियो । सापोरो र होक्कइडोका लागि । पाँच दिन मध्ये दुई दिन त आउने जाने गरि पानीजहाज मै विताउनु पर्ने थियो । समुद्र बाहेक जमिनको यात्रा भने तीन दिनको मात्र थियो । पाँच दिनको प्याकेज टुरको पैसा दिएका थियौ हामीले । पानीजहाजभित्र पसिसकेपछि मलाई सवै तलाको परिवेस र स्थितिले कौतुहल बनाएको थियो ।

एक घण्टा त मैले तलमाथि गरेरै विताएँ । मानिसका लागि चाहिने सवै वस्तु थिए जहाजमा । खेल्ने सामाग्री देखी पिउने नाच्ने गाउने रमाउने सवै सुविधा बिद्यमान थिए त्यहाँ । जहाजभित्रको यस्तो निरिक्षण भ्रमण सर्वथा नौलो भएकाले मेरा सहयात्री साथीहरुले पनि छाडा छाडिदिएका थिए मलाई । म भने प्रत्येक कुरालाई नियालिरहेको थिए ।

जहाजको सवैभन्दा माथिल्लो तलाबाट मैले सारा संसारलाई हेरेँ । पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर समुदै्रसमुद्र देखिने साँच्चै नै समुद्रको संसार थियो त्यो । म त्यही समुद्रको संसारमा त्यति ठूलो वडेमानको पानीजहाजबाट झण्डै एक हजार यात्रुको घर संसार वोकेर सामुहिक यात्रा गरिरहेको थिए । एक हजार यात्रुमा नेपालको वटुवा सायद म मात्र हुँदो हुँ । मैले देखेसम्मका सवै यात्रु जापानिज नै थिए त्यहाँ । वाहिर अन्य मुलुकको अनुहार वोकेका कसैलाई देखिन मैले त्यहाँ ।

प्रायः सवै जापानकै आन्तरिक पर्यटक थिए र आफ्नै गाडी नहुनेहरु सायद प्याकेज टुर गर्दै थिए हाम्रा सहयात्री भएर । जापानमा गरिने प्राय सवै आन्तरिक र वाह्य भ्रमणहरु प्याकेज टुर मै सवैले गर्नेगर्दछन् । आफै गरिने भ्रमण झन्झटिलो र वढी खर्चिलो हुने हुँदा अधिकांश पर्यटकहरुको रोजाइनै प्याकेज टुर हुने गर्दछ जापानमा ।

प्याकेज टुरमा हिंडेको सामुहिक टोलीलाई सजिलै चिन्न सकिन्छ जापानमा । सम्वन्धित ट्राभल एजेन्सीको चिनारी स्वरुप टोपी गन्जी वा झण्डाको लोगोमा समेटिएर यात्रा भराइन्छ जापानमा । त्यसो गर्दा विभिन्न समुहभित्र पनि आफ्नो भ्रमण दलको यात्रीलाई सजिलै चिन्न सकियोस भनेर यस्तो भ्रमण संकेत दिइएको हुन सक्छ । किनभने प्रत्येक पटकको मेरो जापान भ्रमणमा आन्तरिक पर्यटकहरु यस्ता संकेतहरुमा टा्रभल कम्पनीहरुका वसमा र पर्यटकीय ठाँउहरुमा प्रसस्तै मात्रामा भेटिएका थिए ।

संसारभरमै यात्राका लागि जापानीहरु प्रसिद्ध छन् । भनिन्छ जापानमै वसिरहने कुनै जापानी भन्दा अन्य मुलुक विशेषगरी गरिव मुलुकमा यात्रा गर्ने जापानीहरुको मासिक खर्च निकै कम हुने गर्दछ । यसो हुनाको कारण जापानमा हुने संसारकै उच्च महंगाइ प्रमुख रहेको छ ।

जापानमा एक महिना धान्ने पैसाले अन्य एसियाली मध्यम र विकासशील देशहरुमा तीन महिना धानिन्छ । त्यसैले पनि जापानमा पर्यटन व्यावसाय ज्यादै फस्टाएको छ ।

म पानीजहाजको पाँचौ तला माथि चढेर चारैतिरको समुद्रमा धेरैवेर एकाकार भएँ । चारैतिर समुद्र भएकाले अनौठो लागिरहेको थियो । प्रशान्त महासागरको उत्तरी भागमा वहेको चिसो हावाले वाहिर त टिक्नै नसक्ने बनायो मलाई । केहिक्षण पछि आफ्नो ओछ्यान भएको कोठातिर लागे म । मेरा अरु साथीहरु ओछ्यानमा आराम गरिरहेका थिए ।

किताव हेरेर वसिरहेकी फुमीकोसानलाई (सान शब्द जापानमा मान्छे वा सम्मानित पहाडको नामपछि आउछ) मैले आँखाको इसाराले रेष्टुरेण्टतिर जाँउ भन्ने इसारा गरेँ । आवाज निकालेर वोल्दा अरुलाई वाधा नहोस भनेर नै मैले फुमीको दिदीलाई त्यसो गरेको थिएँ । मेरो इसारा बुझ्ने बित्तिकै हामी लागिहाल्यौ माथिको रेष्टुरेण्टमा । हामी रेष्टुरेण्टबाट तल ओर्लिएर आ-आफ्नो ओछ्यानमा सुत्दा रातीको १२ वजिसकेको थियो ।

विहान उठिसकेपछि यताको यात्रामा हिड्नु अधि साकाइसानले सिकाएको जापानी सस्कृति र जीवन शैलीलाई फेरि एकपटक संझे । साकाइसानले सिकाए ‘पुरुष साउनामा नुहाउन जाँदा निर्वस्त्र भएर समुहिक रुपमा नुहाउनु पर्ने जापानको चलन र परम्परा धान्न मलाई मानसिक रुपमा धौ धौ पर्ला जस्तो थियो । तरै पनि नुहाउनु पर्ने अनिवार्य बाध्यता पनि म सँगसगै थियो । जे त होला नी भनेर भएभरको हिम्मत कसेर म पनि नौ वजेतिर पुरुष साउनामा भित्र पसेको त वाफरे वाफ ! संसारै नाङ्गो देखें भित्र मैले । त्यतिधेरै पुरुषहरु सामुहिक रुपमा त्यसरी नाङ्गिएर नुहाइरहेका र बाफ लिइरहेका देखेर म त तीन छक्क परे । जापानीहरुको चलनमा यसरी निर्वस्त्र भएर नुहाउनु सामान्य थियो र त्यो एउटा संस्कृतिभित्र पर्दथ्यो । तर मेरो परिवेश फरक थियो । संस्कृति फरक थियो । त्यति धेरै मान्छेका अगाडि नाङ्गिनु भनेको एक किसिमको महाभारत थियो मलाई । अधि वाहिर पलाएको हिम्मत पनि पानी-पानी भयो मेरो । समुहको अगाडि नाङ्गिने कुरा चानचुने साहासको कुरा थिएन । यद्यपी यसरी नाङ्गिनु भनेको जापान कोरिया र चीनमा एक किसिमले समान्य मानिन्थ्यो र निर्वस्त्र भएर नुहाउन साउनामा जाने दैनिकी जस्तै हुन्छ जापान कोरिया र चीनमा ।

भित्रको वातावरणले मनमा अझ संकोच थपियो । कस्तो दशा ! नुहाउन भित्र पसिकेसपछि निर्वस्त्र नहुनु भनेको पनि नुहाइरहनेहरुको सस्कृतिमाथिको अपमान थियो । समुहमा आफुमात्र विदेशी देखिरहेको थिए त्यहाँ मैले ।

त्यो समुहबाट भाग्नु भनेको अझ ठूलो गल्ती हुन जान्थ्यो । त्यसैले प्रसान्त महासागरमा हिंडिरहेको जहाजभित्रको साउनामा मन मिचेर पहिलो पटक सार्वजनिक रुपमा नाङ्गिए म । एक्लै रुपमा नाङ्गिनु र सामुहिरुपमा नाङ्गिनुमा आकास पातालको फरक हुन्छ ।

निर्वस्त्र भएपछि दिमागले एकपल्ट त कामै गरेन । म टोलाएको अरुहरुले पनि देखेजस्तो लाग्यो त्यसैले आफु सम्हालिदै गएँ र साउना भित्रकै सानो मन्द तातोपानीको कुवामा हतपत्त पसेँ । म जस्तै जनेन्द्रीयको आकार र अवस्था ओडेर विभिन्न सानो र ठूलो आकारका कुवामा नुहाई रहेका मनुस्यहरुको त्यहाँ कमी थिएन । तर मैले कसैको अनुहारतिर आफ्नो नजर पार्नसकिन । नपारेरै नुहाउन थालेँ । त्यतिबेला भने मैले आफु सानो छँदा गाउको हडिया खोलामा बर्खे भेल आएको बेला आफ्ना बाल दौतरीहरुसंग कसैको पर्वाह नगरी सामुहिक रुपमा नाङ्गै नुहाएको सम्झे । कुवाहरु भएकै छेउमै पसिना फुटाउने तातो कोठा पनि थियो ।

म त्यहाँ पनि गएर सरिरैभरि पसिना छुटाएर फेरि कुवामै फर्किए । तातो कोठाभित्र पनि नाँङ्गा मनुस्यहरुको कमी थिएन । पच्चीस भन्दा वढी ठाँउमा भने एक्लै वसेर नुहाउन सकिने पानीका छहारा र सावर जडित स्थानहरु थिए । तर जति थिए सवै सार्वजनिक थिए । सवैले सवैलाई देख्न सक्ने अवस्थाका थिए ।

आफ्नो छोप्नु पर्ने अङ्ग पनि डराएर होला दौराको एक पटक मात्र सिलाएको इजार जस्तो भएको थियो । बडो सकस परिरहेको थियो शरिरका सवै भागलाई समुहिक युद्ध गर्न त्यो समय । म जस्तै शरीरका सबै भाग भिजेको परालझै भएका थिए शरम र संकोचले ।

यसरी मैले पहिलो पटक सामुहिक रुपमा निर्वस्त्र नुहाएपछि कसैको मुखमा एकै पटक सम्म नहेरी आफ्नो नुहाउने कर्म विदेशी महासागर माथि हीँडिरहेको जहाजमा सकेको थिएँ । मैले नुहाउने काम सकेको देखेर मेरा पुरुष र महिला जापानी साथीहरुले एकपटक मुखामुख गरे ।

उनीहरुको मुखामुख गराईलाई मैले बुझिहाले तर बुझपचाउदै सामान्य जस्तै लिए मानौ मलाई नुहाउदा केही सकस भएको थिएन । म जापानी संस्कृतिसंग रत्तिएको देखेर उनीहरु खुसीहुनु स्वभाविक थियो तर मैले नाङ्गिनु अघि खेपेको मानसिक तनाव र संकोचको ब्याख्या उनीहरुलाई कसरी गर्न सक्थेँ र किनभने म उनीहरुको हाँसोको पात्र पनि त हुन चाहान्नथेँ ।

नुहाउने घरभित्र एक्लै नाङ्गिनुलाई पनि पूर्वीय दर्शनभित्रको हिन्दुधर्मले समेत नकारेको छ । इसाई धर्ममा पनि यसलाई स्वीकारिएको छैन । तेसैले भनिन्छ ननहरु एक्लै नुहाउदा पनि ईश्वरले नांङ्गिएको देख्नसक्ने ठानेर आफ्ना अंङ्गहरु पेटानीले छेकेर वा ढाकेर नुहाउछन् तर अचम्मको सोचनीय कुरा के छ भने त्यत्रो पर्खाल नाघेर नांङ्गिएको देख्नसक्ने सर्वशक्तिमान त्यो सत्ताले जाबो सुतीको पेटानी छेड्न नसक्ला त?।

‘काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिर’ भएजस्तै पो भयो । कताको यात्रा कहाँको प्रसंग ।

सापोरो छेउको बन्दरगाहमा ओमारी वन्दरगाहबाट हिडेको ठ्याक्कै २२ घण्टा पछि हाम्रो पानीजहाजले पुर्‍यायो। वन्दगाह आउनु पूर्व इन्धन संरक्षण गरिएका कैयौं ठूलाठूला तेलका ट्याङ्गकरहरु देखिए । सायद त्यस्ता उज्वलनशिल वस्तुहरु समुद्रभित्र भण्डारन गरिएर राख्दा कुनै भवितब्य वा दुर्धटना भैहाल्यो भने पनि कम क्षती खेप्नुपर्छ भनेर त्यसरी राखिएको होला । यो मैले अंदाज मात्र गरेको थिएँ । हामी संग ठूलाठूला समुद्र नभए पनि ठूला नदीहरुको छेउछाउ वा विचमा यस्ता प्रज्वलनशील बस्तुलाई भण्डारण गर्दा राम्रो हुने रहेछ जस्तो लाग्यो मलाई पनि ।

पानीजहाजबाट उत्रिसकेपछि आफ्ना गाडी हुनेहरु गाडीको प्रतिक्षामा थिए भने प्याकेज टुरमा निस्किएका हाम्रा टोलीहरुका लागि भने छेउमै ट्राभल कम्पनीकै सुविधासम्पन्न वस तैनाथ थियो । हाम्रा दलका सहभागी सवैले रातो रङ्गको घाम छेक्ने टोपी लगाएका थिए । हेर्दाहेर्दै केहीक्षण पछि झमक्क साँझ पस्यो सापोरोमा । होक्काइडो प्रान्तको सवै भन्दा ठूलो सहर भएकोले त्यसको सान नै फरक रहेछ । इटालीयन र वेलायती मोडलका पुराना घरहरु पनि प्रसस्त देखिए सापोरोमा । हामी त्यहाँ पुग्दा जात्रा चलिरहेको थियो शहरभरि । जापानको उत्तरी भागमा भएकाले टोकियो भन्दा जाडो रहेछ सापोरोमा ।

आलु र तरबुजा प्रसस्त पाइदारहेछन् त्यहाँ । सम्पूर्ण जापानभरि यहीबाट वितरण हुँदो रहेछ चिसो माटाको आलु । वजार घुमाउदै झण्डै एक घण्टा पछि हाम्रो वसले पहाडी इलाकाको जंगलभित्र रहेको एउटा होटलमा बास बस्न पुर् यायो । हजारौं मान्छेहरु एकैपटक खान र वस्न मिल्ने होटल रहेछ त्यो । अति सुन्दर ठाउँमा वनाइएको होटल प्राकृतिक हिसावले वडो मनमोहक थियो । वेलुका डिनरका लागि मात्र एकपटकमा हजारौं मान्छेले एकैपटक खान सक्ने होटल रहेछ त्यो । सयौंको संख्यामा परिकारहरु थिए खानेकुराका । वेलुकाको खाना खाएर हामी आ-आफ्नो कोठामा सुत्न गयौं । रमाइलो के रहेछ भने राति सुत्दा लगाउने गाउन भने प्राचीन जापानीहरुले सुत्दा प्रयोग गर्ने शैलीको पहिरन रहेछ जस्लाई लगाएर के ढल्केको थिएँ म त भुसुक्क भएँछु ।

भोलिपल्ट बिहानै दृश्य अवलोकनका लागि पर्यटक बसबाट बाहिरमात्र के निस्केको थिए पाटननै पाटन जस्ता लाग्ने स-साना थुम्काथुम्कीहरु बीच हामी गुडिरहेका थियौं । समतल भने कुनै ठाँउ थिएन तर थुम्काथुम्की बीचपनि यसरी फूलहरु फुलेका देखिन्थे मानौ सवै देखिए जति फूलकै संसार हो । यस्ता फूलका संसारहरु होक्काइडो प्रान्तभरि प्रसस्तै रहेछन् । यसलाई ‘राविन्द्रा’ भन्दा रहेछन् जापानीहरुले । दिउँसो फूलै-फूलको संसार घुमियो । त्यतिधेरै फूलका संसार पहिलो पल्टनै देखिरहेथें म । दिउँसोको खाना खाएपछि भने बुद्धधर्मका पुरातात्विक महत्व वोकेको एउटा ठूलै संग्राहलय हेरियो र साँझतिर हिजो वसेकै होटलमा बास बसियो ।

सापोरो यात्राको अन्तिम दिन भने हामीलाई विहानको खाजा खाइसके पछि सिधै झरना र गुफा देखाउने पूर्व निर्धारित कार्यक्रम रहेछ । मुख्य सडकमा गाडी रोकेर जंगलको बाटो भएर केहीवेर िहंडेपछि झरना र गुफा पनि आयो । हामी जस्तै हजारौ पर्यटकको भीड लागेको त्यो झरना र गुफा के-के न होला भन्ने ठानेको थिएँ तर केही न केही कामको सानो न सानो छाँगो जस्तो मात्र थियो । त्यस्ता छुगा त बर्खामा नारायणघाट मुग्लिन खण्डमा देखिने सामान्य छुगा जस्ता थिए ।

गुफा पनि हाम्रो देशमा पहाडका भारी बोकेर हिड्ने भरियाले यसो खाना पकाउन र आराम गर्न खोजेको ठाँउ जस्तो मात्र थियो । गन्नै हो भने त्यस्ता गुफा मेरो देशमा दशौं हजार छन् । त्यहाँ देखिएका जस्ता झरना हजारौ छन् । हिजैदेखि बहुप्रचारित गुफा र झरना हेरे पछि झल्झली मैले मेरो देशमा हेरिदिने मान्छे समेत नभएर त्यसै त्यसै मानव आँखाहरुलाई पर्खेर वसिरहेका पर्यटक विहिन हजारौं गुफा कन्दरा र छहराहरुलाई संझे ‘लाटो देशमा गाँडो तन्देरी’ भने झै केही नभेटे पछि पर्यटको मन बहलाउन कृतिम तरिकाले बनाएरै भएपनि प्रचार प्रसार गरेर पर्यटक लोभ्याइने गरिदो रहेछ विदेशमा । यस्ता हेरी त हाम्रो देश त प्राकृतिक सम्पदामा स्वर्ग नै छ । देश चलाउने मान्छे अदुरदर्शी हुँदा मात्र तिनीहरुले महत्व नपाएका रहेछन् जस्तो लाग्यो मलाई । सापोरोका सवै गुफा कन्दरा र छहराहरु सम्झिएर दिक्क पो लाग्न थाल्यो त्यताका ठाँउ हेर्न ।

केहीदिन अघि मात्र पनि पुराना सम्पदा हेर्ने लालसा बोकेर टोकियो संग्राहलय पुगेको म नेपालमा अहिले सम्म प्रयोगमा आइरहने हलो जुवा कोदालो र दमाहा जस्ता बस्तुहरु हेरेर फर्किएको थिएँ । जापानीहरुले आफ्नो इतिहास भनेर सजाइएका ती सामानहरु मेरो देशका हजारौं गाँउमा अहिले पनि छ्यासछ्यास्ति भेटिन्छन् ।

यस्तो लाग्यो मेरो गाँउका प्रत्येक घरनै बिदेशका लागि सानातिना सम्पदा बोकेका संग्राहलय रहेछन् । मेरो देशले सम्पदैसम्पदाको इतिहास बोकेर दुनियाँ सामु प्राचीनतम् संग्राहलाय आफैमा उभ्याएको रहेछ ।

मलाई खुसी लागिरहेथ्यो आफू र आफ्नो देश सम्झेर । सोच्दा सोच्दै हाम्रो बस त हामीले दुई दिन अघि छाडेको सापोरो वन्दरगाहमा पो आइपुगेछ । सापोरोबाट पनि सातै बजे साँझ छुट्ने पानीजहाजमा जानुपर्ने हाम्रो यात्राको तय पहिलेनै भइसकेको थियो । त्यसैले हामी पनि पहिला जसरी नै पस्यौं पानीजहाजको पेटभित्र ।

साँझ छिप्पिसकेपछि सवै भन्दा माथिको तलामा गएर मैले भएभरको समुद्र हेरेँ । समुद्रको अध्यारो रातबाट देखिने पानीका तरङ्गहरु हेरेँ । चिसो हावाले जति हिर्काए पनि मैेले समुद्रको आश्वादन गरिनैरहेँ । चिसोको डरले पाँच तला माथि कोही ननिस्किएकाले एक्लो मनको तरंग संगै अन्दाज मात्र गर्न सकिने सामुदि्रक तरङ्गहरु भित्र फेरि पनि रमाइरहेँ । यस्तो समुद्रको यात्रा पछिल्ला दिनमा हुने नहुने सोचाइबीच अल्झिएको मेरो मनले अघाउन्जेल सम्म समुद्रको संसारलाई पिइरहेँ । पिइनैरहेँ ।

घाम उदायो विहानै प्रसान्त महासागरमा । आफ्नो ओछ्यान छोडेर अरु नयाँ ओछ्यानमा हत्तपत्त निंन्द्रै लाग्दैन मलाई । रातिपनि धेरैपटक व्युँझिएर नजिकैको महासागरलाई छेवैको झ्यालबाट हेरेको थिए मैले । विहान म उठ्दा समुद्र लमतन्न सुतिरहेको थियो । यस्तो लाग्दै थियो आजको सुर्यले पुरै मानवता लिएर उदाएको छ । समुद्रलाई भने कुनै हतारो छैन उठ्नलाई । सदियौं देखि उ यसरिनै सुतेको छ चीर निद्रामा ।

प्रतिक्रिया