अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

‘जातीय विभेद अन्त्यको जिम्मा युवा विद्यार्थीको काँधमा’

बिआरटीनेपाल २०७४ चैत ७ गते ८:१७ मा प्रकाशित

जातीय विभेदको अन्त्य गर्न युवा विद्यार्थीहरुले नेतृत्व गर्नुपर्नेमा विभिन्न वक्ताहरुले जोड दिएका छन् । नेकपा (माओवादी केन्द्र) का निटक अखिल क्रान्तिकारी केन्द्रीय दलित विभागले आयोजना गरेको ‘५३ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा सांस्कृतिक रुपान्तरणसहितको विभेदमुक्त समाज निर्माण गर्न युवा विद्यार्थीको भुमिका’ विषय अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले जातीय २१ औं शताब्दीमा जातीय विभेद हुन आपत्तिजनक भएको बताउँदै त्यसको अन्त्यको लागि निरन्तर संघर्षको आवश्यकता रहेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका कार्यालय सदस्य तथा दलित आन्दोलनका अगुवा तिलक परियारले पुँजिवादी व्यवस्थामा दलितको पूर्ण मुक्ति नहुने भएकोले कम्युनिस्टहरुले समाजवादी व्यवस्थाको लागि संघर्ष गर्दै आएको धारणा राखे । उनले राजनीतिमा नयाँ पुस्ता नआएसम्म ठूलो परिवर्तन सम्भव नभएको बताउँदै त्यसको लागि युवा विद्यार्थीले नेतृत्व गर्नुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रकी केन्द्रीय सचिवालय सदस्य अन्जना विशंखेले जनयुद्धले खोजेको राजनीतिक परिवर्तन अझै नभएको बताइन् । “विभेद उन्मुलन गर्न भनेर कानुन बनेका छन् तर कार्यान्वयन हुन नसक्दा दलितमाथिको विभेद जारी नै छ” विशंखेले भनिन् । उनले दलितबारे समाजमा स्थापित भएका मान्यता अन्त्य नभएसम्म विभेद जारी रहने भन्दै त्यसको विरुद्ध संघर्ष युवा विद्यार्थीहरुलाई आग्रह गरिन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पूर्वीय दर्शनले जातीय विभेदलाई संस्थागत रुपमा विकास गराएको बताउँदै त्यसको अन्त्यको लागि मानसिक रुपमा तयार हुनुपर्ने धारणा राखे । उनले तामाङले आर्थिक सम्पन्नताका आधारमा दलितहरुबीच पनि विभेद हुने गरेको बताए । उनले अखिल क्रान्तिकारीले शैक्षिक क्षेत्रमा दलित विद्यार्थीको पक्षमा छात्रवृत्तिलको लागि पहल गर्ने बताए ।

त्यसैगरी अखिल क्रान्तिकारीका उपाध्यक्ष इन्द्र भुसालले दलितहरुबीचमै पनि विभेद हुने गरेको बताए । उनले दलित–दलितबीच हुने विभेदको अन्त्य नगरेसम्म अन्य जातिले गर्ने विभेदको अन्त्य नहुने धारणा राखे । भुसालले मानसिक रुपमा तयार नभएसम्म जातीय विभेद जारी रहने बताउँदै त्यसको लागि युवाहरु नै जुट्नु पर्ने बताए ।

त्यसैगरी अखिल क्रान्तिकारीको महासचिव उत्तम अधिकारी दलित आन्दोलन राजनीतिक आन्दोलनभन्दा पूरानो आन्दोलन भएपनि अझै विभेदको अन्त्य नभएको बताए । जातीय विभेद अन्त्यको लागि अखिल क्रान्तिकारीले अभियाना थाल्ने बताए ।

कार्यक्रममा सहभागी दलित विद्यार्थी लक्ष्मी रम्तेल, कविन्द्र परियारलगायतले धारणा राखेका थिए ।

संगठनका केन्द्रीय सचिव तथा दलित विभाग प्रमु्ख मदन कुमार भुलले अध्यक्षता गरेको कार्यक्रमको संचालन बाबुराम नेपालीले गरेका थिए ।

प्रतिक्रिया