अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

केआरएसएमा नयाँ नेतृत्व

बिआरटीनेपाल २०७९ जेठ ८ गते २०:२० मा प्रकाशित

बिआरटिनेपाल संवाददाता
न्यू योर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्यू योर्क च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ । न्यू योर्कको क्वीन्समा आइतबार आयोजित साधारणसभाले वाकासा वान्तावाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

 

च्याप्टर उपाध्यक्षमा सन्देश राई, सचिव बिजयकुमार राई, कोषाध्यक्षमा चन्द्रकुमार राई, सहसचिव गोपाल खालिङ, सह कोषाध्यक्ष प्रकाश राई, सदस्यमा विमल राई, मेघनाथ राई र प्रजन राई आएका छन् । नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

नयाँ कार्यसमितिलाई केआरएसए केन्द्रिय अध्यक्ष राम राईर च्याप्टरकी निवर्तमान अध्यक्ष भारती राईले सफलताको शुभकामना दिए । नवनिर्वाचित अध्यक्ष वान्तावाले पुरानो कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा किरात राई समुदायको हीतमा केन्द्रित भएर काम गर्ने बताइन् । यसका लागि सरोकारवाला सबैसँग सहयोगको आग्रह गरिन् ।

वान्तावाले यसअघि केआरएसए बोर्ड अफ डाइरेक्टर र च्याप्टर उपाध्यक्षको भुमिकामा काम गरिसकेकी छन् । बरुक कलेजबाट ग्रेजुयट एकाउन्टिङमा ग्रेजुयट वान्तावा कोलम्बिया युनिभर्सिटीकी सिनियर फाइनान्सिय एनालिस्ट पनि हुन् । नेपालमा इलाम घर भएकी वान्तावा हाल न्यू योर्कको वेस्टचेस्टरमा बस्छिन् ।

साधारणसभामा निवर्तमान कोषाध्यक्ष राजन राईले पेश गरेको आर्थिक प्रतिवेदन र सचिव बिजेन्द्र राईले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । नयाँ कार्यसमितिले आइतबारै सपथ ग्रहण गरि पदभार सम्हालेका थिए ।

केआरएसए केन्द्रको साधारणसभा टेक्सास, डालसमा यहि मे २८ मा हुँदैछ । त्यसका लागि व्यापक तयारी भइरहेको आयोजकले जनाएका छन् । केन्द्रको साधारणसभाले केआरएसएको केन्द्रमा नयाँ नेतृत्व चयन गर्नेछ । केन्द्रको नयाँ नेतृत्व पनि सर्बसम्मतिमा चयन हुने अपेक्षा गरिएको छ । त्यसलगत्तै मे २९ मा साकेला उभौली कार्यक्रम आयोजना गरिने छ ।

   

न्यू योर्कमा भने साकेला उभौली मे २१ मा आयोजना गरिएको छ । उक्त कार्यक्रममा किरात राई समुदाय र अन्य नेपाली समुदायका करिब डेढ सय मानिस उपस्थित थिए ।

कार्यक्रमलाई संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनीधि अमृत राईले सम्बोधन गर्दै सोकला उभौलीको शुभकामना दिए । प्रमुख अतिथी पनि रहेका स्थायी प्रतिनीधि राईले किरात राई परम्परा अनुसार ३ ढुंगे चुल्हामा आगो बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।

उनले करिब ८ सय भाषा बोलिने भाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण न्यू योर्कमा नेपाली राई समुदायको उपस्थिति रहनु सुखद कुरा भएको बताए । ‘हरेक वर्ष साकेला कार्यक्रम गरेर नेपाल चिनाउन भुमिका खेल्नुभएको छ,’ उनले भने, ‘त्यसका लागि तपाइँहरु बधाइ र धन्यवादका पात्र हुनुहुन्छ ।’

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार बिस्ट, गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यू योर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पा, केआरएसए कार्यबाहक अध्यक्ष खगेन्द्र राई, न्यू योर्क च्याप्टर निवर्तमान अध्यक्ष भारती राई लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा हालै अमेरिकाको न्यू योर्क आप्रवासन गरेका २६ नयाँ सदस्यलाई सदस्यता वितरण गरिएको थियो । साथै, करिब एक दर्जन नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । अधिवेशन र साकेला उभौली दुवै कार्यक्रम नवनिर्वाचित सचिव बिजयकुमार राईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया