अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 06:01

चिनियाँ राष्ट्रपति सिद्वारा अमेरिका उत्तर कोरिया वार्ता सफलताको कामना

बिआरटीनेपाल २०७४ फागुन २९ गते ९:३१ मा प्रकाशित

 

बेइजिङ,

चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुन लागेको भनिएको वार्ता सफल तथा प्रगतिउन्मुख होस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले उक्त वार्ताको सफलताको कामनागर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भनी सार्वजनिक अभिव्यक्ति दिनुभएको दुई दिनपछि चिनियाँ राष्ट्रपतिको यो भनाइ आएको हो ।

उहाँले भन्नुभयो– आसन्न वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उपलब्धि हासिल होस् र आगामी दिनमा विश्व शान्तिका लागि पनि उपलब्धिमूलक हुन सकोस् ।

राष्ट्रपति चिनफिङले सो धारणा चीन पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतसँग मङ्गलबार राख्नुभएको हो । दक्षिण कोरियाली राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ सोमबार चीन पुग्नुभएको छ ।

हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्र्किएका चुङ दक्षिण कोरियाली विशेषदूतका रुपमा गएको बिहीबार अमेरिका पुग्नुभएको प्राप्त समाचारमा जनाइएको थियो ।

उहाँहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू