अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

धर्म भनेको कर्मकाण्ड मात्रै हैन

डा. दुर्गा दाहाल, ‘अनुभव’ २०७४ पुष ७ गते २:२३ मा प्रकाशित

म पनि एउटा विशुद्ध ब्राह्मण परिवारमा जन्मिएको जीव हूँ  तर थोरै धार्मिक र धेरै अध्यात्मवादी छु ।

मलाई धर्म र ईश्वर प्रति अगाध विश्वास छ ।बिहान बेलुकी छोटो पूजा पाठ, कीर्तन, भजन, ध्यान, नमन, आराधना र उपासना गर्छु ! मेरो एउटा ‘मनमन्दिर’र अर्कों ‘घरमन्दिर’ छ । मेरा दुईवटै मन्दिर हरूमा गणेश, शिव, राम, कृष्ण, लक्ष्मी, सरस्वती, बुद्ध लगायत जिसज, अल्ला, र अन्य विभिन्न धर्मका देवी देवताहरू छन ! सबैलाई मान्छु र संझिन्छु ! मेरा दिवंगत माता पिताहरू लाई पनि संगै राखेको छु !

अनि, मेरा दुवै मन्दिर हरूमा श्री मद्भागवत गीता, महाभारत, बाईबल, क़ुरान, त्रिपिटक आदि ईत्यादि विभिन्न धर्मका ग्रन्थहरु पनि छन, पढछु यदाकदा ।

मेरा घरमा एक विशिष्ट किसिमका देवी र देवता पनि छन ! जीवित र पुजित ! देवीका रूपमा मेरी जीवन संगिनी र देवताका रूपमा मलाई जीवित राख्ने म भित्रको मेरै आत्मा ।उनीहरूको आराधना र उपासना त झनै महत्वपूर्ण र अपरिहार्य छ ! यिनीहरु दुखित भए भने अधर्म र अशुभ हुन्छ !

तर धर्मलाई म पृथक र फरक किसिमले हेर्दो रहेछु ! यो फगत कर्मकाण्ड मात्रै होईन अपितु एउटा जीवन दर्शन हो, दिशा निर्देश हो, अनुशासन हो, सुमार्ग हो, जीवन पद्धति हो र जीवनोपयोगी र मानवोपयोगी सँस्कार पनि हो ! यसको जरो हामी सबै मानव मात्रले समाति राख्नु पर्छ ! यसलाई सँधै आत्मासंग जोडेर हेरिनु पर्छ,सबैको आत्मासंग । केवल आफ्नोसंग जोडेर हेरियो भने अधर्म हुन्छ र उल्टो प्रभाव पर्न गई कुभलो हुन्छ आँफैलाई !

धर्म विश्व्यापी हुन्छ, शाश्वत सत्य हुन्छ ! विश्वका विभिन्न भूभागमा बसेका विभिन्न मानिस र जन समुदायको आ-आफ्नै धर्म हुन्छ ! उनीहरूको आस्था र विश्वास आफनै किसिमको हुन्छ ! आँफूसंग मिल्दो जुल्दो भएन भनेर त्यसलाई कदापि कम आँकलन गर्नु हुन्न ! त्यो धर्मनै हैन भनेर घृणा अथवा हेय दृष्टिकोणले कदापि हेर्नु हुन्न ! सबै धर्म प्रति समभाव र श्रद्धा राख्नु पर्छ ।•

धर्म आँफैमा कहिलै ख़राब हुँदैन ! धर्म भनेको असल गुण हरूलाई धारण गर्नु हो ! ‘ धर ‘ भन्नाले समातेर राख्नु भन्ने अर्थ पनि लाग्छ !अर्थात्, असल गुणहरूले “म “ लाई ( धर +म =धर्म ) समातेर राख्ने कड़ी हो ‘धर्म’ । सत्गुण र दुर्गुण हरूको बारेमा मैले केहि महिना अघि फ़ेसबुक बाटै लेखि सकेको छु !

सबै धर्महरू महान छन ! सबै धर्मका प्रवर्तक र प्रतिष्ठाताहरू नमनीय, श्रद्धेय र पूजनीय छन ! उनिहरू महहान लक्ष्य, उद्देश्य र सन्देश लिएर ईश्वरको दूत भई यस धरामा आविर्भाव भए र हुँदै आएका छन ! उनिहरू सदैव स्तुत्य छन र रहन्छन, रहनु पनि पर्छ ! जसरी कुनै व्यक्तिको बारेमा राम्रोसंग अध्ययन र अनुसंधान नगरि दोषारोपण गर्नु हुन्न, त्यसैगरि कुनै धर्मको बारेमा राम्रोसंग नबुझि ठाडै आक्रमण गर्नु हुन्न !
तर, एउटा कुरा के सत्य हो भने धर्मको नाम र आडमा धेरै कुकृत्य, अधर्म, अपराध र आतंकवाद फैलिएको छ विश्ववियापी रूपमा, जुन मानव जातिकै निम्ति भयंकर त्रासदीपूर्ण र अभिशप्त भएको छ ! संसार भरिका हामी शान्तिका दूतहरूले यस्को कड़ा निन्दा र भर्त्सना मात्रै हैन; संगठित रूपमा हामीले यी दानव, जंगली र रक्त पिपासु हरूलाई विश्व न्यायालय मार्फ़त जरैबाट समाप्त पार्नु पर्छ !

अहिले पनि अधिकांश मानिष हरूमा,विशेष गरि तेश्रो विश्वमा, ‘धर्म’ भन्नाले भगवानलाई ख़ुशी पारेर, पूजा आजा गरेर, लड्डू, पेड़ा आदि इत्यादि चढाएर, कर्मकाण्ड द्वारा सोझै भगवानको आशीर्वाद प्राप्त गरि इहलोक र परलोकमा सु:ख, शान्ति र समृद्धि बटुल्ने संस्कारका रूपमा मान्ने गरिन्छ !

पैसा बढी चढायो भने बढ़ी धर्म, भोकै बसेर व्रत लियो भने धेरै पुण्य, जाडोको याममा पर्शुराम र मुक्तिनाथ गएर डुबुल्की मारि मारि चिसो पानीमा नुहायो भने झन डिस्टिंक्सन आउने जस्ता विश्वासहरू अझै पनि हाम्रा मानसपटमा जरो गाडेर बसेका छन !

तर धर्मको भाव र तत्व त्यसो हैन ! धर्मलाई सदैव चराचरका आत्मा हरूसंग तादात्म्य राखेर अनुशरण. अनुकरण र अनुशीलन गर्नु पर्छ ! वैदिक कालका हाम्रा ऋषि मुनिहरूले कैयौँ वर्ष महान तप, जप र अलप गरेर वेद, उपनिषद, गीता, रामायण, महाभारत, आदि इत्यादि विभिन्न किसिमका अमूल्य कृति, निधि र महान वाणीका खानीहरू छोडेर जानु भएको छ ! त्यसनाथि अध्ययन, चिन्तन र मनन गरेर “वसुधैव कुटुम्बकम” र “बाँचौँ अनि बचाऔँ” को मुलमंत्र लाई आफ्नो सिद्धान्त बनाउन सकियो भने त्यहीनै हो शाश्वत धर्म !

यसरी भन्दै गर्दा हामीले के कुराको हेक्का राख्नु पर्छ भने धर्मको उद्गम स्थल र प्रणेता भने पूर्वीय दर्शन, पूर्वीय सभ्यता र तत्कालीन विंशाल भारतवर्ष/ उत्तराखण्ड ( नेपाल ) नै हो ! हाम्रा गायत्री मंत्रहरू, स्तुति र जपहरू प्रबल र अर्थपूर्ण छन । पश्चिमा हरूले पछि गएर अनुसंधान (research) माथि पुन: अनुसंधान (re-research)गरेर रंगीन बनाए। अमेरिका, यूरोप र अष्ट्रेलिया महादेशका गोरा गोरी हरूले एकमात्र ईश्वर ईशा मसीहा (Jesus Christ) र उनीहरूको पवित्र ग्रन्थ बाईबल लाई मान्छन ! अमेरिकाका काग़ज़ी डलर बिल हरूमा समेत “ IN GOD WE TRUST” लेखिएको हुन्छ । हामी भने छुट्टा छुट्टै मठ मन्दिर र आश्रम बनाएर झगड़ा गर्दै धर्मलाई संकीर्ण , राजनीति गर्ने भाँडो र व्यापारमुखी पेशामा रूपान्तरित गराऊँदैछौँ !

अहिले, ईशा धर्मावलम्बी हरूको महान चाड “क्रिसमस”आँगनमा आई पुगेको छ । यो चाड हामीले पनि मनाउँदा हाम्रो महाभारत र गंगाजल अशुद्ध हुन्न ! खाद्य पदार्थलाई धर्म संग जोडेर हेर्नु हुन्न ! उनीहरूले खाएको हामीले खानै पर्छ भन्ने छैन । हाम्रै खाना र पहिरन लगाएर मनाउँदा पनि आपत्ति हुन्न । नमनाए पनि कुरा नकाटौँ र घृणा नगरौँ ! सामेल भए मित्रता र संबंध सुदृढ़ हुन्छ ! अरू धर्म हरू प्रति आदर र नैतिक समर्थन गर्नु पनि आँफैमा एउटा विशिष्ट धर्म हो !

साराँशमा भन्नु पर्दा, हामी सबैले धर्म मान्नु पर्छ, त्यो हो मानव धर्म ! सबैलाई माया गरौँ, सबैको हित सोचौँ, सबै प्रति आदर र सद्भाव व्यक्त गरौँ ! मन्दिरनै जानु पर्छ भन्ने पनि छैन, ग्यालनका ग्यालन दूध, मिठाईका अनेकन व्यन्जन र पैसाको बिटो लिएर जानुनै पर्छ भन्ने पनि छैन भीर खोज्दै ! बस, चित्त सफ़ा राखौँ, कसैको अहित र कुभलो नगरौँ ! सके सम्म सहयोग गरौँ तन, मन, धन, कर्म र वचनले ! सीधै स्वर्ग पुगिन्छ पछि र अहिले पनि स्वर्गतुल्य बन्छ जीवन !

ओम !!
MERRY CHRISTMASS !!