अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

तीर्थको तीर्थयात्रा ….

डा. दुर्गा दाहाल, ‘अनुभव’ २०७४ फागुन १८ गते १४:०७ मा प्रकाशित

यो संसारमा धेरै मानिसहरू आए, निकै जाँड-रक्सी पनि पिए । कसैले तीर्थमै पिए । रमाए, गए । उनीहरूको व्यक्तिगत कुरा हो । मलाई केही भन्नु छैन । समय र फ़ुर्सत पनि छैन । पिउनेले पिउँछन्, रमाउँछन्, कसैले पिएरै पनि आफ्नो पेट पाल्छन्, कसैले परिवारको पेट समेत पाल्छन् । मैले पनि पिएँ उतिबेला कस्तो हुन्छ भनेर । पिएको रात रमाइलै हुँदो रैछ ठीक्क मात्रामा औषधिको रूपमा पिउँदा ।

मलाई थाहा छैन उहाँ सोमरस पिउनु हुन्छ कि हुन्न तर मुक्तक पिउनु हुन्छ र पिलाउनु पनि हुन्छ । मैले पनि पिएको छु मुक्तक उहाँसँग बसेर । रोचक, स्वादिष्ट र मनमोहक हुन्छ यो मुक्तक मुक्तकण्ठले पिउँदा । म एक्लै पनि पिउने गर्छु तर सँगै साथीभाइ हरूसंग बसेर पिउँदाको मज्जानै अर्को । उहाँ त सधैँ कैयौँ पटक पिउनु हुँदो रहेछ । पिउन थाल्नु भएको धेरै भएछ उहाँले । पछिल्लो पटक हामीले सँगै बसेर अस्ट्रेलियाको पर्थनगरीमा पिएका थियौँ ।

कतिपय व्यक्तिहरू स्वभावैले सरल, शान्त, सौम्य र शालीन हुन्छन् र आध्यात्मिक र व्यवहारिक पनि । यस्ता व्यक्ति हरूको सङ्गत र उपस्थितिले अन्य धेरै-धेरै व्यक्ति हरूको जीवनमा समेत सकारात्मक असर पर्न गई प्रकारान्तरले एउटा परिवार, समाज, समुदाय र राष्ट्रकै उत्थान हुन्छ ।

सबैले आ-आफ्नो ठाउँबाट सानो मसिनो काम गर्दै गयो भने पनि समाजमा सकारात्मक रूपान्तरण हुँदै जान्छ । विशाल पहाड़ फुटाउनु पर्छ भन्ने छैन । विश्व इतिहासलाई अध्ययन गर्दै जाने हो भने प्रत्येक देशमा साना र होचा मानिस हरूले पनि ठुल्ठुला र अग्ला काम गरेका अन्गिन्ती उदाहरणहरू विद्यमान छन् ।

समाज रूपान्तरणमा सबै तह र तप्काका मानिस हरूको योगदान हुनु ज़रूरी छ तर सबैले चाहँदैनन, गर्दैनन अथवा सक्तैनन । सक्नेले चाहनु पर्छ र गर्नु पर्छ । राजनीतिज्ञले राजनीति, समाजशास्त्रीले समाजसेवा, चिकित्सकले स्वास्थ्यसेवा, शिक्षकहरूले शैक्षिकसेवा, प्रशासक हरूले प्रशासनिक सेवा, न्यायमूर्ति हरूले न्यायसेवा, साहित्यकार हरूले साहित्यसेवा र पत्रकारहरूले पत्रकारिताजन्य सेवा र अन्यहरूले आफ्नो विभागीय सेवा इमान र धर्म नछोडी गरेमा समाजको गति तीव्र गतिमा अघि बढ़ने कुरामा शङ्का रहँदैन । तर, आँफू पनि नगर्ने र कसैले गर्न खोज्यो भने सहयोग नगर्ने र तगारो हाल्न खोज्यो भने समाज अवरुद्ध बन्छ ।

मेलै यहाँ कुनै विशालकाय राजनीतिज्ञ अथवा चमत्कारिक व्यक्तित्व लाई चिनाउन गई रहेको छैन । म स्वयम् पनि सामान्य र सरल व्यक्ति भएकाले एक जना सामान्य व्यक्तित्वकै बारेमा थोरै प्रकाश पार्न गई रहेको छु ।

*चतुष्पदीय मुक्तक लेख्ने कवि तथा साहित्यकार मात्रै नभएर उहाँ यस सम्बन्धी व्याकरणीय ज्ञान र गहिरो दखल राख्नु हुन्छ ।
*मुक्तको माध्यमबाट समाज र समुदायमा व्याप्त अनैतिकता, अराजकता, व्यभिचार, अन्याय, अत्याचार र भ्रष्टाचारलाई आफ्नो तिखो कलमबाट पर्दाफ़ाश गरी दिनु हुन्छ ।

*सरल, सहज र बोधगम्य भाषामा आफ्नो मौलिक सृजनाबाट मुक्तक सङ्ग्रह प्रकाशित गरी व्यँगात्मक ढङ्गले सामाजिक विकृति, विसंगति र अनुशासनहीनता लाई आक्रमण गर्नु हुन्छ ।
*मानवतावादी विचारक र दार्शनिक भएका हैसियतले मानवीय मूल्य र मान्यतालाई मध्यनजर राख्दै साहित्यका विविध फाँटमा क़लम चलाउनु हुन्छ ।
*मनुष्य जीवनका विभिन्न आरोह-अवरोहमा अनुभूत भाव, विम्ब र तिता- मिठा यथार्थ हरूलाई कविता, गीत, मुक्तक र गजलहरूमा पस्किनु हुन्छ ।

*बाल्यकाल देखि देखेका, भोगेका सामाजिक पीडन-उत्पीड़न, दु:ख-कष्ट र पीडाहरूलाई विहंगम दृष्टि लगाई साहित्यिक शिल्पकलाको माध्यमबाट चोटिलो र रमाइलो पाराले सम्प्रेषण गर्न सक्ने क्षमता राख्नु हुन्छ ।
*राजनीति, समाजनीति, अर्थनीति लगायत सबै नीतिहरूमा पारंगत र परिपक्व व्यक्तित्व हुनुहुन्छ उहाँ ।

त्यसैले पनि उहाँको सम्मानमा यही आउँदो २०१८ मार्च ४ तारिख अन्तर्राष्ट्रिय साहित्य समाज, बेलायत शाखाले एउटा साहित्यिक कार्यक्रम गर्दैछ लण्डनमा । नेपालको चन्द्रेश्वर-७, दुराडाँडा, लमजुंगका उहाँ राजनीतिमा स्नातकोत्तर हुनुहुन्छ । गृहलक्ष्मी सीतादेवी अधिकारीको अदृश्य हातबाट सधैँ उत्साहित, उत्प्रेरित र मायाबाट सिंचित उहाँ अद्यपरिमित साहित्यसेवा, समाजसेवा र मानवीय सेवामा सक्रिय र उद्यत हुनुहुन्छ ।

नेपाल प्रति असीम माया, ममता र स्नेह हुँदाहुँदै पनि पारिवारिक, व्यवहारिक र वाध्यात्मक परिस्थितिले जीवनको उत्तरार्धमा उहाँ वर्तमान अमेरिकाको ओहायो राज्यमा बस्नु हुन्छ ।

राष्ट्रप्रतिको प्रेमबाट ओतप्रोत उहाँ पोखिनु हुन्छ मुक्तकमा यसरी:

परदेशमा गए पनि
जति टाढा भए पनि
मन हुन्छ स्वदेशमै
शरीर अन्त रहे पनि ( बिरिमफूल मुक्तक सङ्ग्रह )

अहिले नेपालको विषम परिस्थिति, जातीयतावाद र विखण्डनवादको स्वर गुंजिरहेको तिक्ततालाई मेटाउन उहाँ पडकिनु हुन्छ फेरि पडकिनु हुन्छ यसरी :

थारू, नेवार, भोटे होइन म नेपाली जाति हुँ
पहाड, हिमाल, मधेस थाम्ने नेपाली छाती हुँ
मातृभूमिको सिपाही हुँ मलाई यसमै गौरव छ
स्वदेशको शान बढाउने भक्ति थापाको नाति हुँ
(बिरिमफूल मुक्तक सङ्ग्रहबाट)

उहाँ हुनुहुन्छ स्वनामधन्य मुक्तकमणि साहित्यिक व्यक्तित्व तीर्थराज अधिकारी । यो पंक्तिकार उहाँ प्रति नमन, सम्मान र अभिनन्दन व्यक्त गर्दै उत्तरोत्तर उन्नति, प्रगति र सुस्वास्थ्यको कामना गर्दछ ।