अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

डिप्रेशन(अवसाद): बाहिरबाट नदेखिने, नदुख्ने र नपोल्ने यो मानसिक रोग

डा. दुर्गा दाहाल, ‘अनुभव’ २०७४ मंसिर २ गते २२:३४ मा प्रकाशित

डिप्रेशन(अवसाद): बाहिरबाट नदेखिने, नदुख्ने र नपोल्ने यो मानसिक रोग सामान्य जस्तो लागेता पनि एउटा भयावह र प्राणघातक रोग हो । घर परिवारका अन्य सदस्यहरूले बेलैमा ध्यान नपुर्याए बिरामी झन् झन् तनावग्रस्त भई अन्तिम विकल्पको रूपमा आत्महत्या गरी ईहलोक बाट परलोकका लागी प्रस्थान गर्छ ।

सुरु सुरुमा बिरामीलाई समेत ज्ञान नहुने यो रोगको बारेमा अरूलाई त झन् के पो थाहा होस र । त्यसैले, एकातिर बिरामी एकान्त र चिन्ताग्रस्त हुँदै जान्छ भने अर्कातिर अरूहरूले बेवास्ता, अनादर र अवहेलना गर्दै जान्छन । फलस्वरूप, निराशाको घनघोर बादलबाट ऊ चिर विश्रान्तिको लागी तयार हुन्छ ।

अतएव, कुनै व्यक्तिमा अचानक केही अप्रत्याशित परिवर्तन, मनोगत स्वभाव, आचरण र क्रियाकलापमा भिन्नता देखिन थाल्यो भने अविलम्ब मनोचिकित्सक कहाँ पुर्याई हाल्नु पर्छ ।यस्तो अवस्थामा बिरामीलाई कुनै एक नज़ीकको व्यक्तिको सख़्त आवश्यकता महसुस हुन्छ जो सँग उसले आफ्ना मनका भावना, कथा, व्यथा, वेदना र पीडाका भावनाहरू व्यक्त गर्न सकोस र उ बाट माया, ममता, सहानुभूति र सल्लाह सुझाव समेत पाउन सकोस ।

तर विडम्बना, हाम्रो समाजमा अद्य परिमित यो रोगलाई “बौलाहा वा पागलपन“ को संज्ञा दिएर कुटपीट गर्ने, गाली गर्ने, तिरष्कार गर्ने परिपाटी विद्यमान छ । अल्छी, कपटी, सुस्त मनःस्थिति आदि इत्यादिले परिभाषित गर्दै बिरामीको मनोबल घटाउने र हेय दृष्टिले हेर्ने गरिन्छ तर त्यो असहाय र उत्कट मानसिक वेदना र छटपटीबाट आक्रान्त प्राणीको मनोदशा कसैले वस्तुत: बुझ्ने प्रयास गरेको देखिन्न बरु ढर्रा पार्छ भन्ने खालका अपयश आउने गर्छन् ।

अत: घर, परिवार , समाज, समुदाय र सरकारबाट समेत उचित सहयोग, समर्थन र ध्यानाकर्षण नभएको यो रोगको बारेमा सामाजिक जनचेतना जोगाएर अकालमृत्यु बाट राष्ट्रको यो एउटा पीड़ित वर्गलाई जोगाउनु अत्यावश्यक छ ।साथ साथै स्वास्थ्य मंत्रालयले यस रोगको अध्ययन, अनुसन्धान र उपचारको लागी विशेष पहल गर्नु पर्ने देखिन्छ !

कसको मृत्यु भयो, कहाँ भयो, कसरी भयो, कसको छोरा वा छोरी अथवा को गयो भन्दा पनि अब यो रोगको निदान कसरी गर्ने, कसरी रोग लागेको थाहा पाउने, के कस्तो उपचार गर्ने घर परिवारको भूमिका के, कस्तो हुनु पर्छ आदि इत्यादि भन्ने कुरामा तँपाई हामी सबैको ध्यान जानु अनिवार्य छ ।

सरसर्ती हेर्दा, एक पटकमा एउटा व्यक्तिको ज्यान गएको देखिएला तर यथार्थमा,परन्तुमा गएर एउटा सिङ्गो परिवार, समाज, समुदाय र देशको ज्यान समेत गएको हुन्छ गहिरिएर हेर्दा ! सोच्नुहोस, आत्महत्या गरी अकाल मृत्यु वरण गरेका ती सबै व्यक्तिहरूलाई हामीले जोगाउन सकेको भए तत् तत् घर, परिवार, समाज, समुदाय र देशहरू कति उपकृत हुने थिए होला ।

स्मरण रहोस्, यो रोगबाट आक्रान्त हुने अधिकांश व्यक्तिहरू ( अपवाद बाहेक )सहज, सरल, संवेदनशील र शान्त प्रकृतिका हुन्छन् र हर हमेसा आफ्नो घर, परिवार, साथी भाइ र समाज बाट माया, ममता र सहयोगको अपेक्षा गरिरहेका हुन्छन् र दिन्छन पनि ।साना साना कुराहरूमा चित्त दुखाउने, पिर मान्ने र निराश हुने खालका हुन्छन् ।

( यो लेखको मूलभूत उद्देश्य समाजमा जनचेतना जोगाउनु र मृत्युको ढोकामा पुगेका अमूल्य नर नारीहरूलाई पुनर्जीवन दिनु हो )