अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 23:43

सन्दर्भ: नेपाली राजनीति र आसन्न चुनाव

डा. दुर्गा दाहाल, ‘अनुभव’ २०७४ कार्तिक १४ गते १५:२९ मा प्रकाशित

यद्यपि म पनि प्रजातन्त्रवादी हुँ र विगतका जन आन्दोलनहरूमा सक्रिय रूपले देश र परदेशमा रहेर प्रजातन्त्रका निमित्त काम गरिरहेका छु अद्यपरिमित र आजीवन यसै वर्गमा रहने छु तर नेपालको राजनीतिमा यसको आवरणभित्र रहेर तथाकथित प्रजातन्त्रवादी हरूले यसको धज्जी उडाउँदै यति धेरै वर्षसम्म विकासको गतिलाई अवरूद्ध गरेको तथ्यलाई सजिलै ग्रहण गर्न सकिन्न ।

चुनाव त हुनै पर्छ र पहिले पनि हुँदै आएका हुन । अन्य जुनसुकै तन्त्र मन्त्र र राजनैतिक संयन्त्रको कुरा गरेता पनि प्रजातन्त्र जस्तो उत्तम व्यवस्था कुनै हुनै सक्तैन । व्यवस्थामा खराबी थिएन र छैन पनि तर व्यवस्थापनमा धेरै कमजोरी र छिद्रहरू छन् ।

कृडामंच राम्रो हुँदैमा खेल राम्रो हुँदैन, विद्यालय भव्य हुँदैमा पढ़ाई राम्रो हुँदैन र नाट्यमंच फराकिलो हुँदैमा नाटक रोचक हुँदैन । त्यसै गरी व्यवस्था राम्रो हुँदैमा व्यवस्थापन राम्रो हुँदैन ।

प्रजातन्त्र ल्याउने महान् र जोखिमपूर्ण कार्यमा गरेको त्याग, तपस्या र समर्पणलाई पनि हामी सबैले स्वीकार गर्दै त्यसको उच्च मूल्याङ्कन गर्नै पर्छ तर आजको नियति भोग्नलाई हामी कसैले, अर्थात् नेपाली जनताले जन आन्दोलनहरू गरेका थिएनन ।
सबै नेताहरूलाई एउटै डोकोमा हालेर तराजु लाउन मिल्दैन हो, तर अधिकांश नेताहरूले र तिनका आसेपासे र चम्चाहरूले अनियमितता र भ्रष्टाचार गरेको तथ्य सर्वविदितै छ ।

यस चुनावमा पनि कुनै दल विशेषको बहुमत आउँदैमा देशले काँचुली फेर्छ र जनस्तरको सर्वस्थितिमा सुधार हुन्छ भन्ने कुरामा यो पंक्तिकार किंचित पनि विश्वस्त छैन । किनभने, हाम्रा नेताहरूमा (अपवाद बाहेक) अध्ययन, चिन्तन, मनन र विश्लेषण गरी कुनै कार्यक्रमलाई लागु गर्ने हैसियत छैन । केवल भाषण, भूषण, आभूषण, शिलान्यास, फल, फुल, खादा र दादागिरीमै व्यस्त रहन्छन ।

यी अहिलेका नेताहरूले आजसम्म राष्ट्रको अस्मिता जोगाउने र देशलाई बाह्य हस्तक्षेपबाट जोगाउने राष्ट्रिय सहमतिको सरकार बनाउन सकेनन् । व्यक्तिगत र पार्टीगत सीमित स्वार्थबाट माथि उठेर सर्वहिताय र सर्वसुखायको काम गर्न सकेनन् । अपितु आ- आफ्नै पार्टीभित्र द्वन्द, अन्तरद्वन्द, घात- प्रतिघातको राजनीति गरेर बहुमना सरकार र राजनैतिक पद्धतिलाई अपाँग बनाए ।

बौद्धिक व्यक्तित्वहरूलाई पाखा लगाए, राजनैतिक भागवण्डाका नाममा शैक्षिक विश्वविद्यालय देखि लिएर, अनुसन्धान केन्द्र र कल कारखानाहरू डुबाए तर तत् तत विषयका विशेषज्ञहरू राखेर अपेक्षित अन्तरक्रिया गरेर राजनीतिलाई सही दिशानिर्देश गर्न सकेनन् ।

आन्तरिक मामलाहरूका विषयमा समेत दिल्ली र छिपी हुई बिल्लीको आदेश र निर्देशनमा क्रमशः भास्सिंदै गए र जनईच्छा विपरीत सङ्घीयता र धर्म निरपेक्षतालाई संविधानमा भित्र्याएर एउटा शान्त र सुन्दर देशलाई अधोगतिमा पुर्याए ।

सबै नेताहरूले भन्ने गर्छन्, “प्रजातन्त्र जोगाउनु पर्छ, लोकतन्त्र जोगाउनु पर्छ, गणतन्त्र जोगाउनु पर्छ तर कसरी जोगाउनु पर्छ, किन जोगाउनु पर्छ भन्ने सायदै सुनियो । हैन बिहे गरेर मात्रै हुन्छकि स्वास्नी (प्रजातन्त्र) र छोरा छोरीको (नेपाली जनता) इज्जत जोगाएर राम्रोसँग पाल्नु पनि पर्छ ? नेपाली जनता धार्मिक स्वतन्त्रताका पक्षधर हुन तर शदियौं देखिको आफ्नो धर्म, संस्कृति र विश्वासलाई तिलाँजलि दिन किमार्थ सक्तैनन ।

विश्वमा एकमात्र हिन्दु राष्ट्र भएको गरिमा र सोबाट आर्जन हुने तीर्थयात्री मार्फ़त संकलित राजस्व पनि अब डुब्ने अवस्थामा छ ।
अत: जबसम्म राजनैतिक संस्कार, पारदर्शिता, काम, कर्तव्य र अधिकार, नागरिक शिक्षा, भ्रष्टाचारको अन्त्य, आन्तरिक व्यवस्थापन, समस्त प्रणाली, स्वतन्त्र न्यायप्रणाली आदि इत्यादिमा आमूल परिवर्तन हँदैन तबसम्म जुनसुकै पार्टीले बहुमत ल्याए पनि र जसले जतिसुकै खोके पनि सर्वसाधारणको र नेपाल भन्ने मुलुक र नेपाली जनताको भलो हुने छाँट काँट अहिलेकै पाराले देखिन्न बरु अधोगति तिर लम्कँदै समयको कालखण्डमा यसको नक्सा बदलिने प्रबल सम्भावना देखिन्छ !

अत: यसपटकको आसन्न चुनावमा केवल पार्टीलाई मात्रै नहेरी गुणदोषको आधारमा नेतृत्व प्रदान गर्न सक्ने, समाजमा राम्रो छवि भएको, निडर, बौद्धिक व्यक्तित्वलाई आफ्नो अमूल्य मतदान गरी हाम्रो राष्ट्रलाई पराधीनता, दासत्व र अधोगतिबाट जोगाउनु सबैका लागी उचित हुनेछ ।

बरु बहुमना अथवा बहुमतको सरकार नआएनि सर्वदलीय सरकारको सानो सरकार गठन गरी राष्ट्रिय मुद्दालाई अघि सार्दै हाम्रो अस्मिता,गरिमा र वीरतालाई जोगाई राख्नु पर्छ । केवल सगरमाथाको देश, बुद्ध जन्मिएको देश, खुकुरी चलाउने बहादुरररूको देश भनेर आत्मरति लिएर हुन्न अब ।
हामी भन्दा पछि जन्मिएका कैयौँ देशहरू धेरै धेरै पर पुगी सके ! विडम्बना, हामी आफ्नै घरको झगड़ा र व्यवस्थापन मिलाउन नसकेर रूमल्लि राखेका छौँ कुहिरोको काग जस्तो ।

यही हो नयाँ नेपाल !
(लाजमर्दो बाबा ठाकुरे ! “……….लाई भन्दा देख्नेलाई लाज”…. भने जस्तो विभिन्न तन्त्र मन्त्र र संयन्त्रको कुरा गर्या छ, संक्रमणकाल भन्या छ, आफ्नो धोती फुस्केको थाहा छैन अथवा थाहा भएरनि लत्तो छाडेको हो ! खोइ के ! खोइ के !)