अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

रबिन वज्राचार्यको अपिल

बिआरटीनेपाल २०७४ असोज २१ गते ११:५१ मा प्रकाशित

आदरणीय NRN परिवारका सम्माननिय सदस्यगणहरुमा म रबिन वज्राचार्यको सादर प्रणाम !

गत सातौँ विश्व सम्मेलन पश्चात् हाम्रो जन्म भूमि नेपाल र हाम्रो आफ्नै सङ्गठन NRN मा धेरै उतार चढाव आई सकेको छ। हाम्रो देशले यस दुई वर्ष भित्र तीन जना प्रधानमन्त्री पाइसकेको छ, भने सम्माननिय सुशील कोइरालालाई समेत गन्ने हो भने चार जना प्रधान मन्त्रीले देश विकास गर्ने नेतृत्व ग्रहण गरिसकेको छ भने देश र जनताका आर्थिक र सामाजिक स्तर झन् खस्किएको छ।

प्रकृतिले पनि यस दुई वर्ष भित्र हाम्रो प्यारो जन्म भूमिलाई पहिले भन्दा पनि बढी सरापेको छ। सिन्धुपाचोकको बाढी होस वा महाभूकम्प होस र हाल सालै गएको मधेसमा ठुलो बाढी होस यसले देशका विभिन्न भागका हाम्रा परिवारहरुलाई निर्ममता पूर्वक दण्डित गरेको छ । पीडित मध्ये धेरैले हाल सम्म पनि आफ्नो बासको व्यवस्था गर्न सकेको छैन भने सरकारी सहयोगको पनि हाल सम्म कुनै ठेगाना लाग्न सकेको छैन, जनताको आशा अहिले पनि सरकारी कार्यलयको टेबलका फाइलहरुमा ठन्किएर रहेको अवस्था छ ।

त्यस माथि पनि भूकम्पको लगतै पश्चात् हाम्रा दक्षिणका छिमेकीले गरेको अघोषित नाकाबन्दीले गर्दा दैनिक आवश्यक वस्तुहरू लगायत औषधी समेतको कमीले गर्दा जनताले दुख पूर्वक जीवन बिताउनु परेको हामीले कहिल्यै भुल्ने छैन ।

आदरणीय परिवारगण,
यस्तो परिस्थितिमा पनि हामी NRN समुदायबाट जनताको दुखेको घाउमा अलिकति भए पनि मल्हम लगाउन सफल भएका छौँ । हामी प्रवासी नेपालीले पनि देश दुखेको बेला केही सहयोग गर्छ र नेपाली जनताको मनमा हाम्रो संस्थालाई हेर्ने नजर अलिकति भए पनि सकारात्मक परिवर्तन ल्याउन सफल भएका छौँ । यो सबै तपाईँ हामी सबैको संयुक्त प्रयासको फल हो । हामी अति बिकत ठाउँमा समेत गएर केही राहात उपलब्ध गराउन सफल भएका थियौँ । लाप्राकको बस्ती विभिन्न बाधा अडचन र भौगोलिक कठिनता हुँदा हुँदै पनि ढिलै भए पनि पूर्ण हुने तिर उन्मुख हुँदैछ । नाकाबन्दिताका हाम्रै सङ्गठनबाट औषधीहरु निर्यात गरेर पनि विभिन्न अस्पतालहरुमा निःशुल्क वितरण गरेको कुरा यहाँ उल्लेख गर्न चाहन्छु साथै यसका लागी नेतृत्व वर्गलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

आदरणीय मित्रहरू,
यस दुई वर्ष भित्र हाम्रो सङ्गठन भित्र पनि नयाँ चुनौतीहरू थपिएका छन् । हाम्रा सङ्गठन अझ बढी सिण्डिकेटेड भएको छ । विश्वभरि हालसालै भएका चुनावहरुमा अझ ब्यापकरूपमा अनियमितता भएको छ । NRN भित्र पनि व्यापक रूपमा गुट उपकुटहरुको श्रृजना भएका छन् । चुनावै जित्न पनि झूठा सदस्यहरू बनाइएका छन् । डेलिगेटस पनि ICC का गाइडलाइनहरु मिचेर आफ्ना भोटरहरुलाई मात्रै दिइएका प्रमाणहरु प्रशस्त रूपमा देखा पर्न थालिएको छ । जर्मनीको NCCले त ICC र राजपत्रको खुल्लै अपहेलना गरेर विध्यार्थीलाई समेत सदस्यता वितरण गर्ने निर्णय गरेको छ । यस्तै रहने हो भने भोलिका दिनमा NRN भनेको एकादेशको कथा नहोला भन्न सकिन्न ।

आदरणीय मित्रगण,
संसार परिवर्तऩील छ । भगवान् बुध्दले पनि संसार अनित्य छ भन्नु भएको छ र भगवानको शिक्षापनि अनित्य मै केन्द्रित छ । यसै गरी चार्ल्स डार्विनले पनि आफ्नो Theory of Evolution मा समय अनुसार परिवर्तन हुन सक्नेहरुको मात्रै अस्तित्व बाकिरहने कुरा करिब दुईसय वर्ष अधि प्रमाणित गरी सकेको छ ।

यदि हाम्रो संस्था पनि दिर्धकाल सम्म जोगाइ राख्ने हो भने यस भित्र पनि यसका नियम र विधानका बारेमा निरन्तर रूपमा बहस हुन जरुरी छ साथै समयानुकुल यसमा परिमार्जन गर्दै अगाडि बढ्नु पर्ने हुन्छ। हुन त विश्व सम्मेलनको प्रमुख एजेण्डा भनेको विधान संशोधन र नयाँ कमिटीको निर्वाचन नै हो। तर हाल सम्म (सम्मेलन सुरु हुन भन्दा छ दिन अगाडी सम्म) पनि सुझाव सङ्कलन गर्न सदस्य स्तरमा आधिकारि रूपले (सार्वजनिक) आव्हान गरिएको छैन। तर पनि छलफलका लागी मेरा निम्न सुझावहरू प्रस्तुत गर्न चाहन्छु।

१) NRN मा सबैको पहुँच पुर्‍याउन, ICC को अध्यक्ष पद बाहेकका सबै पदहरुमा एक कार्यकाल सदस्य भइसकेका सबैले उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने

२) ICC को अध्यक्ष पदमा उम्मेदवारी दिन एक कार्यकाल ICC को उपाध्यक्ष भएर काम गरिसकेको हुनु पर्ने।

३) NCC हरुले आफ्नो देश भित्र प्रयोजनको लागी आफ्नो भूमि अनुकूलको नियम बनाउन पाउने।

४) NCC का एक कार्यकाल सदस्य भई सकेकाहरुले आफ्नो क्षेत्रको NCC को कुनै पनि पदमा उम्मेदवारी दिन पाउने

५) ICC का विभिन्न समिति र उप समितिमा मनोनीत भएर जाने सम्पूर्ण सदस्यहरूलाई, मनोनीत भएर जाने सल्लाहकार र ICC सदस्य समानको अधिकार दिने

६) ICC अध्यक्षले बढीमा ३ कार्यकाल सम्म काम गर्न (चुनाव लड्न) पाउने व्यवस्था गर्ने

७) बिध्यार्थीहरुले समेत सदस्यता लिन पाउने व्यवस्था गर्ने

८) सदस्यता लिनको लागी फोटो अनिर्वाय गर्ने, र ती फोटो सहितको नाम NCC र ICC को वेभ साइतमा प्रकाशित गर्ने

९) धेरै सदस्यहरू भएको देशलाई समेत सम्मानजनक रूपमा सहभागी हुन दिन, विश्व सम्मेलन को डेलिगेटस दिँदा १०,००० ( दश हजार) भन्दा बढी सदस्यहरू भएको देशका NCC हरुलाई कुल सदस्य सङ्ख्याको ३% ( तीन प्रतिशत) सम्म डेलिगेटस दिने

१०) ICC ले पंजिकृत सदस्यहरूको सदस्यता शुल्क बापट लेभी उठाउँदा , सदस्य शुल्क बापत उठाएको रकम को ३०% ( तिस प्रतिशत) भन्दा बढी उठाउन नपाउने व्यवस्था गर्ने

मेरा उपरोक्त सुझावहरुमा छलफल गरेर NRN लाई अझ बढी सङ्गठित बनाइ हातेमालो गर्दै हाम्रो मातृ भूमिको सेवा गर्दै कर्म भूमिमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीको हकहितका लागी अधि बढ्न सकौं भन्ने हार्दिक शुभकामना सहित विश्व सम्मेलनको सफलताको कामना गर्दछु।

जय NRN ।

प्रतिक्रिया