अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

न्यूह्यामसर नेपाली समाजले बनभोज मनायो

बिआरटीनेपाल २०७४ साउन २३ गते १६:४० मा प्रकाशित

अमेरिकाको न्यूह्यामसर राज्यस्थित नेपालीहरूको एकमात्र छाता सङ्गठन न्यूह्यामसर नेपाली समाज (एनएचएनसी) ले आफ्नो वार्षिक गृष्मकालिन बनभोज (समर पिकनिक) आयोजना गरेको छ । राज्यको स्ट्राटमस्थित स्ट्राटम हिल पार्कमा शनिवार आयोजना गरिएको बनभोज कार्यक्रममा राज्यका विभिन्न स्थानबाट चारसयभन्दा बढी नेपाली एवं नेपालीभाषीहरुको सहभागिता रहेको थियो । उक्त बनभोज कार्यक्रममा विभिन्न नेपाली खाद्य परिकारहरुका साथसाथै भलिबल, हाउजी (विङ्गो), लङ्गुरबुर्जा (डाइस) लगायतका खेलकुद प्रतियोगिताहरुको आयोजना गरिएको थियो ।

बनभोज कार्यक्रममा न्यूह्यामसर नेपाली समाजका निवर्तमान पदाधिकारीहरुलाई बिदाइ गरिएको थियो भने आगामी सन् २०१७–२०१९ कार्यकालका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत गरिएको थियो । नवनिर्वाचित पदाधिकारीहरू सोम गुरुङ (अध्यक्ष), शान्ता विष्ट (उपाध्यक्ष), रामचन्द्र भण्डारी (महासचिव), माधव गुरुङ (सचिव), कमल ढुङ्गाना (कोषाध्यक्ष), मुना कोइराला (सह–कोषाध्यक्ष) र सदस्यहरू नरेन्द्र गुरुङ, दिल गुरुङ, हरिमाया गुरुङ, हेमा घले, सचिन राई, कुमार भट्टराई, एलिसा खड्का, कृष्ण खनाल, भेषराज शर्मा र पविता परियारलाई समाजका निवर्तमान अध्यक्ष रविन थापाले खादा ओढाई स्वागत गर्नुभएको थियो ।

यसै गरी निवर्तमान पदाधिकारीहरुलाई समाजका संस्थापक अध्यक्ष मीन गौतमले खादा ओढाई बिदाइ गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष मीन गौतम, निवर्तमान अध्यक्ष रविन थापा र नवनिर्वाचित अध्यक्ष सोम गुरुङले न्यूह्यामसरमा बसोबास गर्ने सबै नेपाली र नेपालीभाषीहरु एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । यसै गरी संस्थाद्वारा स्थापित राहत कोषका संयोजक इश्वरी भट्टले हालसम्मको संस्थाको आर्थिक गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा आयोजित विङ्गो खेलका हाउसफूल विजेता कुमार भट्टराईले पुरस्कारवापत प्राप्त १६० डलर रकम न्यूह्यामसर नेपाली समाजलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नेपाली लोकप्रिय गायिका पविता परियारको विभिन्न प्रस्तुतिले थप मनोरञ्जन दिलाएको थियो ।

प्रतिक्रिया