अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

नेपाली मुलका १४ बर्षीय `जिनियस´ सामु श्रेष्ठ

बिआरटीनेपाल २०७४ असार १० गते १३:५१ मा प्रकाशित

१४ वर्षीय नेपाली मूलका श्रेष्ठले कम्प्युटर एप्लिकेशन बनाए
कोलोराडो स्थित हाइल्याण्ड रेन्च निवासी १४ वर्षीय नेपाली विद्यार्थी सामु श्रेष्ठ अहिले कोलोराडोमा चर्चाको विषय बनेका छन् । अपांगता भएकाहरु खासगरी शरीरका अंगहरु चलाउन कठिन भएकाहरुलाई कम्प्युटर प्रविधि चलाउन निकै उपयोगी हुने कम्प्युटर एप्लिकेशन बनाएर एका एक चर्चा बटुलेका हुन् । भर्खरै मात्र क्रेष्टहिल मिडल स्कुलबाट ८ कक्षा सकाएका सामुले बनाएको ‘एप’ ‘Discovery Education 3M Young Scientist Challenge‘ अन्तर्गत छानिएका १० उत्कृष्ट युवा वैज्ञानिकहरुको सृजना भित्र पर्न सफल भएको छ । 3M को हेडक्वाटर मिनसोटामा आगामी अक्टूबर हुने अन्तिम प्रतियोगितामा सामुले Perception Based Interaction Framework (PBIF) अन्तर्गत तयार भएको ‘एप’ लाई प्रस्तुत गर्नेछन् र उनको एप उत्कृष्ट ठहरिए २५ हजार डलरको ग्रान्ड प्राइज समेत जित्नेछन् । 

“अहिलेको सूचना प्रविधिको दुनियाँमा सबै आफ्नो स्मार्टफोन, ट्याबलेट, ल्यापटपमा व्यस्त हुन्छन् तर मसँगै पढ्ने साथी आफ्नो शारीरिक अपांगताका कारण त्यो सबै सुविधा प्रयोग गर्नबाट बन्चितछ, मैले उसैलाई देखेर नै अनुहारको हाउभाउ, टाउको तथा हातको साधारण हलचल समेत डिटेक्ट गरेर कम्प्युटर प्रविधिसंग अन्तरक्रिया गर्न मिल्ने ‘एप’ तयार पार्ने ढृढता गरेँ र केही हद सम्म सफल पनि भएँ ।”, आफ्नो एपबारे निकै आशावादी देखिए सामु ।

गणितमा निकै चलाख सामुले यो गर्मीको छुट्टीको समय विशेष खालको शारीरिक अपांगता भएकाहरुलाई सूचना प्रविधिको दुनियाँसंग नजिक्याउन निकै उपयोगी हुनसक्ने कम्प्युटर एप बनाउन सकेकोमा उनी आफैँ त खुसी छँदैछन्, त्यो भन्दा पनि बढी खुसी उनकी आमाछिन् जसलाई छोराको काम अरूको हितको लागि सहयोगी हुने सम्भावना बोकेकोले अत्यन्त खुसी लागिरको छ। विलक्षण प्रतिभा सम्पन्न सामुले पाएको सफलता आफ्नो उज्जवल भविष्य अवसरको देश अमेरिकामा खोजिरहेका नेपाली मूलका विद्यार्थीहरूको लागि समेत निकै सकारात्मक सन्देश बनेको छ। कम्प्युटर सूचना प्रविधिको क्षेत्रमा सामुको सफलताले सिङ्गो कोलोराडोवासी नेपाली-अमेरिकन समुदाय समेत निकै खुसी छ र सामुको एपले नै उत्कृष्ट पुरस्कार जित्न सकोस् भन्दै शुभकामना व्यक्त गर्दैछन् । 

भिडियो :

प्रतिक्रिया