अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

तपाँईको भोट कुन पार्टीलाई ? पढ्नुस यी तथ्य अनि निर्णय गर्नुस्– रमेश लम्साल

बिआरटीनेपाल २०७४ वैशाख २५ गते १०:५५ मा प्रकाशित

स्थानीय तहको निर्वाचन संघारमा छ । बिस वर्षपछि हुन लागेको निर्वाचनको रौनक अझै बढी छ । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गराउने महत्त्वपूर्ण अवसरको रूपमा यसलाई लिइएको छ । विगतका निर्वाचन भन्दा यस पटकको निर्वाचन अलिक बढी महत्त्वपूर्ण र फरक आयाम सहितको छ । संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ ।

सिंहदरबारबाट हुने र गरिने मध्येका ६० बढी अधिकार जनस्तरमा पुगेको छ । गाविसहरु भत्किएका छन्, गाँउपालिकामा रुपान्तरित भएका छन् । जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा परिणत भएको छ । गाँउपालिकामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको काम हुन्छ । नागरिकता दिने देखि स्थानीय स्तरमा हुने सबै काम अब नागरिकले गाँउमा नै पाउँछन् । विगतमा त्यस्तो थिएन । पहिलो पटक जनताले केन्द्रको अधिकार गाँउ तहमा नै उपभोग गर्न पाउने भएका छन् । यो सन्दर्भमा हुन लागेको निर्वाचनको महत्त्व पनि बढी छ । मतदाता निर्वाचनका लागि तयार छन् ।

तपाईँको घर टोल र बस्तीमा पनि निर्वाचनको माहोलले छोपेको छ । विभिन्न नाम र रूपका पार्टी मत माग्न आएका होलान् । मलाई जिताए यसो गर्छु, उसो गर्छु पनि भनेका होलान् । आश्वासनको मिठो बचन सुन्दा सुन्दा तपाईँ पनि दुविधामा पर्नुभएको होला । भोट चाही कसलाई दिऊ ? कुरा त सबैका राम्रा छन् । यो लेखमा केही तथ्यहरू पस्कने कोसिस गरेको छु । जसको आधारमा तपाईँले मत कसलाई दिने, तपाईँको साँँच्चै प्रतिनिधि को हो ? तपाईँको मत किन यता र कसरी भन्ने केही प्रश्नका उत्तरहरु खोज्ने प्रयास गरेको छु । तपाईँ दोधारमा हुनुहुन्छ भने पनि प्रष्ट्याउने कोसिस गरिएको छ ।

को हुन् शान्ति प्रक्रियाका असली हिस्सेदार ?
मुलुकमा दश वर्षसम्म द्वन्द्व चल्यो । त्यसको निकासको प्रमुख हिस्सेदार शक्ति भनेकै नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) हो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नै शान्ति सम्झौताका हस्ताक्षरकर्ता हुन् । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन गर्ने महत्त्वपूर्ण कार्यभारका साथ दुई नेताले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । नेकपा(एमाले)लगायतका दल पड्के किनाराका साक्षी मात्रै हुन् । शान्तिको मर्म र भावनाको कोही कसैले आत्मसात् गरेको छ भने त्यो काँग्रेस र माओवादीले मात्रै गरेको छ । काठमाडौँमा जनआन्दोलन चलिरहेको थियो । गणतन्त्रको नारा लागिरहेको थियो । नेकपा(एमाले) का नेताहरू प्रतिगमन आधा सच्चिएको भन्दै सरकारमा सहभगाी हुन दौरा सुरुवाल सिलाइरहेका थिए । गिरिजाप्रसाद कोइराला लाठी खान तयार भए । तर आफ्नो दृढताबाट पछि हटेनन् । जनअधिकार खोसिएकोमा, लोकतन्त्र मासिएको कोही कसैलाई पीडा थियो भने त्यो उनै गिरिजाप्रसाद कोइरालालाई थियो । ‘नेपालमा गणतन्त्र आउनु र बयलगाढा चढेर अमेरिका पुग्नु उस्तै’ हो भन्ने खड्गप्रसाद ओली प्रतिगमन आधा सच्चिएको भन्दै दरबार पस्न तयार भएको बेला गिरिजाप्रसाद नयाँ सडकमा पुलिसको लाठी खान तयार भएका थिए । बुढेसकालमा प्रहरीको लाठीबाट टाउको फुट्दा समेत गिरिजाप्रसाद पछाडि हटेनन् । शान्ति प्रक्रियामा एउटा चरणमा ल्याउन भारतीय सहरका गल्ली गल्लीमा समेत उनी दौडन तयार भए ।

शान्ति प्रक्रियाको मर्म र भावनाको महत्त्वपूर्ण केन्द्रभागमा उनै गिरिजाप्रसाद र प्रचण्ड रहे । एमाले नेतृत्व ताली बजाउन मात्रै केन्द्रित रह््यो। उसको कुनै प्रधान भूमिका थिएन । बरु प्रधानमन्त्रीको पदका लागि प्रतिगमन आधा सच्चिएको बहानाबाजीमा रत्नपार्क छाडेर सुइकुच्चा ठोक्न नै लालायित थियो । संविधानसभाबाट संविधान जारी गराउने इच्छा अधुरै छाडेर निधन भए पनि गिरिजाप्रसादको सपना साकार भएको छ । संविधान जारी भएको छ ।

शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एकमात्र ज्यूँदा पात्र प्रचण्ड प्रधानमन्त्रीमा छन् । गिरिजाप्रसाद कोइरालाको सपना साकार पार्ने हो भने तपाईँले मत दिने उपयुक्त पार्टी अब को हुन सक्ला ? विचार गर्नुस त । तपाईका लागि दुई वटा मात्रै विकल्प छ । तपाईँले काँग्रेसलाई मतदान गर्दा पनि खेर जाँदैन । माओवादीलाई मतदान गर्दा पनि तपाईँलाई हीनताबोध हुने छैन । किनकि शान्ति प्रक्रियाका महत्त्वपूर्ण पाटा र पक्ष भनेकै यी दुई दल हुन् । अरू पार्टी साक्षी हुन् । कार्यकारी रूपमा काम कसले ग¥यो त्यो नै महत्त्वपूर्ण हुन जान्छ । तपाईँ पड्के किनारमा बसेर ताली बजाउनेलाई जिताउने कि वास्तविक खेलाडीलाई जिताउने महत्त्वपूर्ण अवसर आएको छ ।

स्वीच अन गर्दा बत्ती बलेको छ ?
तपाईँले घरमा गएर स्वीच खोल्दा बत्ती बलेको छ ? पक्कै पनि बलेको छ । नेपाल विद्युत् प्राधिकरणले गत कात्तिकदेखि विद्युतीकरण भएका सबै क्षेत्रमा लोडसेडिङ अन्तय गरेको छ । विगतमा तपाईँले लोडसेडिङ अन्त्यको भाषण मात्रै सुन्नुभएको थियो । साँझ परेपछि मैनबत्तीको खोजीमा तपाईँ र तपाईका गृहिणी दौडनु पथ्र्यो । विद्यालयबाट फर्केकाहरु गृहकार्य गर्न मुस्किल थियो । एक प्रकारको मानसिक तनाव थियो । उद्योग व्यावसाय चोपट थियो ।

कुन बेला बत्ता आउला र मोबाइल फोन चार्ज गरौला भन्दै अनिदो बस्नु परेको थियो । पानी तान्न समस्या थियो । विद्युत्को अभावका अस्पतालमा सहज सेवा उपलब्ध हुन सकेको थिएन । तर आज एकाध मिनेट बाहेक तपाईँको घरमा बत्ती निभ्दैन । विगतमा वर्षहरूमा जस्तो तपाईँको परिवार मानसिक तनावमा छैन । तपाईँ उज्यालोमा बस्न पाउनु भएको छ । हुँदै नभएको हावाबाट बिजुलीको हवाई गफ पनि तपाईँले सुन्नु परेको छैन । जिओ थर्मलको बेपरवाह भाषण पनि तपाईँले महसुस गर्नु परेको छैन । स्वीच अन गर्नुस् तपाईँको घरमा बिजुली बल्छ । अबको दुई वर्षभित्र त तपाईँले बिजुलीबाटै खाना पकाउन सक्नुहुन्छ । यो सबै काम नेपाली काँग्रेस र माओवादी नेतृत्वको संयुक्त सरकारले गरेको हो । विगतमा तपाईँले गफ गर्नेहरु धेरै देख्नुभएकै थियो । तर गफले तपाईँको घरमा स्वीच थिच्दा बत्ती बलेको थिएन । यस पटक काम भएको छ । तपाईँ अध्यारोमा बस्नु परेको छैन । तपाईँ कुन बेला बत्ती आउला र पानी तानौला भनेर पिरोल्दिै सुत्नु परेको छैन ।

प्रतिक्रिया