अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

बिदेशीएको छोरालाई सन्देश – धुव्र थापा

बिआरटीनेपाल २०७३ चैत १३ गते २३:१८ मा प्रकाशित

मेरो मन्द गतिमा धड्किएको मुटु भित्र रगत बनेर चलिरहेको मेरो प्राणको नदी, कठाड़ंग्रिने जाडो अनि निस्पट अन्धकारमा आउने मेरो आशाको सूर्य, रत्नहरुको पनि रत्न मौसमहरुको वसन्त हिमालहरुको सगरमाथा मेरो प्यारो छोरा प्रेम तिमीलाई तिम्री दुखी आमाको साचो र न्यानो माया छ प्रत्येक बिहानी र साझमा तिम्रो लागी भगवानसँग मागेको लामो र खुसी जीवनको शुभ आशीर्वाद ।

मनका कुनामा थुप्रै बहहरू छन् ती वेदनाका आधीहरुलाई मसी बनाएर कलमबाट पोखेर अब त तिमीले बुझ्ने अक्षर लेख्न सक्ने भएकी छु आफैले लेखेका अक्षरहरुमा तिमीलाई भुटेको बासी भातको गन्ध मिसाएकी छु । गुन्द्रुक हालेको कोदोको खोलेको गन्ध मिलाएकी छु । जुन तिमीलाई अति मन पर्दथ्यो र हाम्रो जीवन संङग पनि सामिप्य छ । अगेनाको डिलमा बसेर तिमी बाबुछोरा सुरुप्प पारेर पिउथ्यौ त्यो कोदोको खोले म खुसीले हेरिरहन्थे र अघाउथ्य त्यही सम्बन्धको स्वाद मिसाएकी छु अक्षरहरुमा तिमीले रुचाऊने गरी ।

छोरा आर्काको भर पर्दाको परिणाम बुझेकी छु मैले त्यसैले माझटारमा प्रौढ कक्षा पढेर लेख्न जानेकी हु । बारह खरी नजान्नाले तिम्रो बा लाहुर जाँदा अरूलाई नै चिठी लेख्न लगाउथ्ये रात साझ, बेला कुबेला केही भन्न नपाईने, आफ्नो मनको कुरा लेख्न लाउनै पर्‍यो केरे तिनीहरूले गाठी कुराको भेउ पाए पछि कम्ता हेपेका थिएनन र मलाई ।

बाबु पुरै देश दुखीरहेको बेला फेरि चुनाव आउँदै छ गाममा म आरामै छु कसरी भनम त्यही चुनावको ज्वरोले अहिले सम्म थलिएकी थिए बल्ल शरीरले कत्ला फेर्दै थियो फेरि महामारि बनेको त्यो चुनावको हुरी आउदैछ अरे नजिकै, देश र हाम्रो जीवन टोक्ने त्यही भाइरस फेरि पनि यही चुनावले लिएर आउँछ की भनेर खुबै डराएकी छु । परार चुनावमा मिसिएर आएका यी किटाणुहरू अझै मरेका छैनन् भनेर माईला बाले हिजो भन्दै थिए । देशको मृत्यु सङ्गै सती जानु पर्लाकी की भनेर आत्तीएकी छु । तिम्रो अस्तित्व हराउला भनेर पिर लाऊच मलाई । कहिल्यै नदेखिने नौला मुन्छेहरू गाममा ओहोर दोहोर गरेकाछन अचेल म डर र आक्रोसको मिश्रीत भावमा घर पछाडिबाट लुकेर हेर्छु यस्तै मुन्छेले हाम्रा खुशीहरु लुटेर लगेको कहाँ बिर्सेकी छु र छोरा मैले । अहिले सम्म यी ओठहरुमा आलिकती पनि हासो जुटाउन सकेकी छैन । फागु जस्तै हाम्रो जिन्दगीले सेतो रङग बोक्यो अलिकति पनि फूलेको छैन मेरो मनको बारीमा आखाको नानीमा कुनै खुसी । म यो चुनावी हुरी सङ्ग कसरी विश्वास राखु ।

बद्ध रोएका छन् यहाँ सच्चा मान्छेको आत्मा भित्र मेरा साठी धर्का परेका ओठमा कसरी मुस्कानको कुरा लेखम । परिवारसँगै बस्ने हाम्रो मात्र हैन रहेछ प्राय नेपालीको भाग्य नै त्यसतो रहेछ । अचेल लर्को लागेर विदेश जान्छन अरे तिमी जस्ता युवक भनेर रेडियोले खबर भन्छ म तिमीलाइनै सम्झन्छु यस्ता कुरा सुनेपछि । पहिला पनि कति त्यस्ता राम्रा मुन्छेहरू गएर फर्केर आएनन अरे भनेको सुनेकी रेडियोको खबरमा, आत्मा बेच्न पर्ने अवस्था आए पछि आफ्नो स्वाभिमान बोकेर गका अरे तिनीहरू । पिपल डाडे साईलाको छोरो नि कुन पार्टीको मुन्छे बनेछ कुन्नि अनेक मुन्छे ल्याऊछ घरमा पैसा पनि खुब कमाछ अरे ताल किनारको खेत पनि किन्यो अरे भनेर फौदारे भाइले भन्दैथियो । लुटपाटीमा लागेर जे गरेनी हामी जस्ता निमुखाले सहनै पर्‍यो केरे ।

छोरा एकथरी मुन्छेहरूले भनेका छन् यो देशको आकाशमा बिहानी भैसक्यो अरे अब दिनको उज्यालोमा जीवन सेकाउनु पर्छ त्यही भएर चुनाव हुने अरे । तर तिमी यो भ्रमलाई साचो भनेर पटक्कै नपत्याउनु है। रातको कालोमा हामी छोपीरहेकै छौ पत्याउदिन छोरा म पनि मान्छे उसैगरि मरेका छन् लुटिएका छन् दुधे नानीहरू बलात्कृत भई रहेछन् घुसखोरीहरू सम्बृद्ध बनेर सहर डुल्छन । रातको प्रहर अझै बाकी नै छ छोरा उनीहरू भन्छन् आकाशमा घाम लाग्यो म देख्छु मध्यरातको जुन । तिमी देश अध्यारोबाट मुक्त नभ्एसम्म फर्केर नआउनु है कतै रातको आडमा तिम्रो बाबुलाई सिकार गर्ने तिनै सिकारीहरू तिम्रो पनि त्यसै गरी सिकार गर्छन् की भन्ने डर लाग्छ ।

घाम र जुन प्रकाश दुवैले छरे पनि फरक छ तिनीहरूको उज्यालो रातको साम्राज्य भित्र जीवन खस्दा त्यही जुनले देखेको छ हाम्रो बियोग अझै आकाश रातमा हराको छ तिमी भ्रममा परेर यता नआउनु रातसँग हामी हारेका छौ रातको अन्धकारमा क्षतबिक्षत बनेको हाम्रो जीवनको बगैचा । तिमीलाई मैले धेरै टाढा कता हो कता अनजान ठाउँमा पठाए उज्यालो भएर घर फर्कने आशामा जहा तिमीले दश वर्ष गुजार्यौ । दिनको उज्यालो पर्खाईमा घाम बनेका मेरा ममताका आभाहरू बोकेर अझै तिम्रो स्पर्श खोजी रहेकी छु । पर्खीरहेकी छु । एक दिन आमाछोरा स्वतन्त्र भएर निभर्य हास्ने आशामा ।

हरेक रातहरुमा तिम्रो सम्झना बगेर आफै भीज्ने गर्छु अचेल नितान्त एक्लो झुपडीमा सात समुन्द्र पारिको तिम्रो अनुहारको ज्योतिले मात्र उज्यालिंन्छु अनि तिम्रो पर्खाईको आशा बोकेर दिन बाच्ने गर्छु .. उपल्लो गाउको बिरेसँग तिमीले पठाएको नासो पाए ।मेरो मन सार्है भक्कानियो बालुवाको राप मा सेकिएर मनले मृग तृष्णा बोकेर रहरका बिउहरू मासेर खुसीका ती हुर्कदा सपनाहरूलाई मनैको जेलमा थुनेर कलिला हातले कसरि काम गरेर यस्तो पठायो होला भनेर धिक्कार लग्यो मलाई तिमीलाई मेरो काखमा राखेर दुई गास भात ख्वाउन सकिन …त्यही भोकको दुखाईले मेरो प्रेम तिमि बिदेसिन विवश थियौ । यिनै चुनाव बोकेर आउने मुन्छेहरूले नै हाम्रो जीवनलाई हाम्रै आँखाको संघारमा पगालेका थिए।

छोरा यति बेला तिम्रो बाउको जीवन खाने त्यही ब्वासो जसले टोकी टोकी मार्यो तिम्रो निर्दोष बाबुलाई र हामी पनि प्रतेक दिन मरिरहेछौ जिऊदै । हो उ पनि चुनावी हुलमा आउँदै छ रे तिमी उसलाई रक्षा गर्ने वफादार कुकुर हो भनेर भ्रम नपर्नु उ अचेल सिकार खोज्न साधु बनेर सहर पसेको हो । जसका कारण तिम्रो कलिलो जीवन बालुवाको तातो रापमा आज मृगतृष्णा बोकिरहेछ कथित सपनाका व्यापारी कतिको जिन्दगी सपना देख्दै गर्दा रित्याईदिए हाम्रो सानो बगैचा उजाड बनाइदिए ।

आज हामी आखामा पिर बोकेर जीवन तट्पाउन बाहेक अरू केही गर्न सकेनौ लाचार हुन बाध्य बन्यौ … मेरो प्यारो छोरा अलिकति ज्वरो आउँदा पनि तिमीलाई मेरो स्पर्श चाहिन्थ्यो मलाई सारै पिर छ बिरामी हुदापनि काम गर्नै पर्छ अरे परदेशमा ।

मेरो जस्तै थुप्रै चोटहरु बढ्दै गएर पुरै देश दुखेको छ आज तिमीजस्तै विवश बनेकाहरूको पलाएनले गाउघर खाली बनेको छ तैपनि बेशर्मी अन्धकारका मलामीहरू जन्ती बनेर राजधानीमा भोज गर्दैछन भोट लिन गाऊ ऊक्लदै छन् । हाम्रो जीवन भत्काउनेले …देश चलाउने अरे .रातमा तरबार बोकेर बिधवा टुहुरा बनाउने अपराधीलाई म यो देशको शासक कदापि मान्दिन छोरा तिमी पनि कहिल्यै नमान्नु है ।

म कसरि बिर्सन्छु त्यो पल …..

आज धेरै वर्ष बित्यो बाबु त्यो अन्धकार रातले हामीलाई बेसहारा बनाएको, हाम्रो जीवनको फुलबारी भत्काएको अनि हाम्रा सम्पूर्ण रंगहरु पखालेर नितान्त स्वयत जीवन दिएको । सम्झन नाचहादा पनि फेरि देशमा चुनाव फर्केर आएको छ मलाई चुनावसँग कुनै गुनासो हैन गुनासो ती हत्याराहरू सँग छ जसले राजनिको आडमा निर्दोषहरू मारेर देशको मुहार फेर्ने कुरा गरे र रगतले नुहाएर मात्र आफू फेरिए ।

जातका कुरा तिनैले गरे हामीलाई तल्लो जात भनेर यिनीहरुनै तर्कीन्छन, बरु टिभीमा नाटक गर्ने धुर्मुस भन्ने केटाले दलित संगङै बसेर भात खायो अरे जात जातीमा छुवाछुत गर्नु हुन्न भन्छ तराईको मुसहर बस्ती बनाउँदै छ अरे भनेर रेडियोले खबरमा भनेको सुनेकी भूईतालो आउँदा पनि धेरै घर बनाईदियो अरे त्यस्तो मुन्छेपो नेता हुनु पर्ने । अपराधी लुटेरा छन् नेतहरू त ।

जुनले आफ्नो रङ्ग छर्ने बेला थियो तिम्रो अबोध चाहनामा मिठो खुसी भर्ने बेला थियो दसैको खुसीयाली फुलेको थियो आगनमा । जमरा थिए मझेरीमा हो त्यही बेला आफ्नो पक्षमा नभएको भनेर तिम्रो सोझो र इमान्दार बाबुलाई घर तलको खोल्सोमा लगेर हत्या गरे। तिमीलाई पनि मार्छन भन्ने डरले बचाउन र गरिबी दुखेको हाम्रो अवस्थाले तिमीलाई म देखि टाढा पठाए आज हाम्रा चाढपर्बहरु आआफ्नै आँखाबाट खस्ने गर्छन्। छोरा प्रेम हामीले धेरै सहेयौ लाचार बनेउ फेरी ती गीद्धहरू हाम्रो आकाश भरि ऊडेका छन् अचेल, तिमी परेवा भनेर भ्रम नपर्नु । बरु म केही समय रातसँग विद्रोह गरौला तर यो देशमा उज्यालो भयो भनेर नफर्कनु । देशको छातीमा बिझेका काडाहरूलाई हटाएर जिउदो मान्छे खान पल्केका ब्वासाहरुलाई फलामे घर भित्र राखेपछि, चुनावको साचो परिणामले शान्तिको घाम ऊदाएपछि बल्ल तिमी फर्केर आउनु । यो बेला रातकै बेला छ।दिन भएपछि आउनु सेता परेवा उडाएर तिम्रो बाबुको आत्मा भित्र शान्ति भरिदिन मन छ मलाई ।

त्यति बेला तिमी आउनु जति बेला साँच्चै नयाँ र स्वतन्त्र नेपालको स्रृजना भएको होस परजिबीहरू निमीट्यान्न भएका हुन मेरो कलेठी ओठमा मुस्कान होस रातले कहिल्यै नजितोस दिनको उज्यालोमा शान्तिका परेड देखिएको होस हो तिमी त्यही बेला मात्रै तिमी आउनु ।

तिमीलाई माया गर्ने आमा

शान्ति नेपाली

प्रतिक्रिया