अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

‘राष्ट्रकवि भेट्दा’ लघुकाव्यको प्रशंसामा राष्ट्रकवि घिमिरेले भने-‘गीता गौतमले चमत्कार गर्नुभएको छ’

बिआरटीनेपाल २०७३ फागुन २१ गते ८:५५ मा प्रकाशित

कवियत्री गीता भेटुवाल गौतमद्धारा लिखित ‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य विमोचन गरिएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उक्त लघुकाव्यको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवन बहादुर शाही र राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयूक्त रुपमा बिमोचन गर्नुभएको हो ।

मन्त्री शाहीले कवियत्री गौतम विदेशमा रहँदापनि राष्ट्रप्रतिको मायामा डुबेकी बताउँदै भन्नुभयो,‘उहाँले देश छोडेर परदेशमा बस्दापनि देशको बारेमा चिन्ता गरेर कृतिहरु लेख्नुभएको रहेछ, यो कुरा थाहा पाउँदा म निकै खुशी छु।’ शाहीले कविता, साहित्य र कृतिहरु संसारभरि नै फैलने बताउँदै कवियत्री गौतमलेपनि सात समुन्द्रपारि हुँदापनि देशको माया गरेर कृतिहरु ल्याएको देख्न पाउँदा आफू हर्षित भएको बताउनुभयो। 

त्यस्तै उहाँले कवियत्री गौतमले राष्ट्रकवि घिमिरेको बारेमा भेट्दाका कुराहरुलाई लघुकाव्यको रुपमा ल्याउनुभएको बताउँदै भन्नुभयो,‘यहाँ कस्तो छ भने, ज्यूँदो हुँदा कसैलेपनि प्रशंसा गर्दैनन्, मरेपछि मात्रै प्रशंसा गर्ने चलन छ, तर कवियत्री गौतमले राष्ट्रकविको बारेमा आफ्नो मनमा लागेको कुराहरु लेखेर कृत्रि ल्याउनुभयो, यो अत्यन्तै सकारात्मक कुरा हो, यसको सबैले प्रशंसा गर्नुपर्छ।’

उहाँले कवियत्री गौतमलाई अन्य स्रष्टाहरुले आँशुकविको संज्ञा दिएको उल्लेख गर्दै भन्नुभयो,‘बास्तवमा उहाँले राष्ट्रकविलाई भेट्दा आफ्ना भावनाहरुलाई कवितामार्फत उतार्नुभयो, उहाँले घिमिरेज्यूलाई भेट्ने वित्तिकै लघुकाव्य नै लेख्नुभयो, उहाँ अत्यन्तै प्र्रशंनीय पात्र बन्नुभएको छ।’

उहाँले आफूले पनि आजै पहिलोपटक राष्ट्रकविलाई भेट्न पाएको बताउँदै यो अवसर सिर्जना गरिदिएको पत्रकार ऋषि धमलालाई धन्यवाद दिनुभयो।

मन्त्री शाहीले भन्नुभयो,‘मैलेपनि राष्ट्रकविलाई आजै पहिलोपटक प्रत्यक्ष रुपमा भेटेको हुँ, संयोग कस्तो हो भने राष्ट्रकविलाई भेट्दा भन्ने कृति विमोचन गर्ने बेलामा मैलेपनि भेट्ने मौका पाएँ, यो मेरो लागि सौभाग्य हो।’

उहाँले राष्ट्रकवि ९८ वर्ष पुग्दापनि नथाकीकन महाकाव्य लेखनमा रहनुभएको कुराबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो। शाहीले भन्नुभयो,‘म भर्खरै ४८ वर्ष भएँ, अहिलेदेखि नै अल्छी लागेजस्तो भएको छ, उहाँलाई देखेपछि अब हामी सबैले अल्छी त्याग्नुपर्छ।’
मन्त्री शाहीले राष्ट्रकवी घिमिरे सबै नेपालीहरुको प्रेरणाको स्रोत भएको बताउँदै भन्नुभयो,‘उहाँ अहिले ९८ वर्ष पुग्नुभयो, तर राष्ट्रको लागि उहाँ अहिलेपनि महाकाव्य लैख्दै हुनुहुन्छ, एक मुठी श्वाँस र एक थोपा रगत बाँकी रहँदापनि देशको लागि केही गर्नुपर्छ भन्ने प्रेरणा उहाँबाट पाएका छौं।’

विमोचन समारोहमा बोल्दै राष्ट्रकवि माधव प्रसाद घिमिरेले कवियत्री गौतम विदेशमा रहँदापनि साहित्य सिर्जनामार्फत नेपालको शीर ठाडो बनाउने काममा लाग्नुभएको भन्दै आगामी दिनमा समेत लेखन कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो।

घिमिरले नेपाल प्राकृतिक सुन्दरताको धनी देश भएको उल्लेख गर्दै भन्नुभयो,‘नेपाली हामी रहौंला कहाँ? नेपाललै नरहे?, आफ्नो देशलाई छोडेर कर्मको लागि परदेशमा गएकी गीता गौतमको मन भने स्वदेशमै छ, गौतमको मनमा सँधै नेपाल नै रहेको पाएँ, उनी विवशताले क्यानडमा छिन्, तर उनको मन नेपालमा छ।’

राष्ट्रकवि घिमिरेले कवियत्री गौतमले क्यानडा गएपनि नेपालीपनलाई नछोडेको देख्दा आफूलाई निकै खुशी लागेको बताउनुभयो। उहाँले भन्नुभयो,‘कवियत्री गौतमले लोकभाकाका शब्दहरु प्रयोग गरेकीछिन्, ठेट नेपाली शब्दलाई प्रयोग गरेकीछिन्, विदेशमा बस्नुपर्दाको नराम्रोपनलाई हृदयदेखि नै उनले भक्कानिएर पोखेकी छिन्।’ घिमिरले गौतम मात्रै नभएर विदेशमा बस्ने अन्य साहित्य स्रष्टाहरुको पनि मन नेपालमै रहेको बताउनुभयो।

उहाँले पुस्तक नै आफ्नो बारेमा लेखिएकोले सुरुमा पुस्तक विमोचन गर्नको लागि आग्रह गर्नुभएको पत्रकार ऋषि धमलाको आग्रहलाई सहजै स्विकार गर्न आफूलाई निकै असजिलो भएको स्मरण गर्दै भन्नुभयो,‘ऋषि बाबु मलाई यो पुस्तक विमोचन गर्नुपर्यो भनेर आउनुभएको थियो, मैले मेरो बारेमा लेखिएको पुस्तक म आँफै विमोचनमा जाँदा नराम्रो सन्देश जान्छ कि भनेर सोचेको थिएँ, तर यसो सोचें जसले मेरो बारेमा यति धेरै दुःख गरेर कृति जन्माउनुभयो, यो मेरो कर्तव्य हो, म जानुपर्छ भनेर नै आज आएको हुँ।’ उहाँले थप्नुभयो,‘अन्यथा नसम्झिदिनोस्।’

राष्ट्रकवि घिमिरेले पत्रकार धमलाको हँसिलो मुहार, गोरो अनुहार र मेहनती स्वभावले आफूलाई तानेको बताउँदै भन्नुभयो,‘त्यसैले म आज यो कार्यक्रममा आउन बाध्य भएँ।’

उहाँले आफूले काठमाडौंमा असाध्यै ठूलो पहाडको संघर्ष भोगेको स्मरण गर्दै भन्नुभयो,‘मैले जीवनमा ठूलो संर्घष भागेको छु, मैले म २८ वर्षको हुँदा श्रीमती गुमाएँ, त्यतिवेला मलाई ठूलो बज्र परेको थियो, त्यो कुरापनि कवियत्री गौतमले यहाँ चर्चा गरेकी छिन्, मेरा दुई छोरीका बारेमा पनि लेखेकी छिन्।’

कार्यक्रममा घिमिरले कवियत्री गौतमद्धारा लिखित उक्त लघुकाव्यको पुष्ठ ४० मा उल्लेख गरिएको एक हरफ वाचन गरेर समेत सुनाउनुभएको थियो।

पोथीले गर्छे चल्लाको हेरचाह
भाले चाहिँ रनबन
दुई मन मिले संसारै राम्रो
चाहिँदैन केही धन।

उहाँले कवियत्रीले नेपालीपन, लोकभाका, ठेट नेपालीलाई गज्जब रुपमा प्रस्तुत गरेको भन्दै आगामी दिनमा समेत यस्तै खाले कृतिहरु, साहित्य सिर्जनालाई निरन्तरता दिन गौतमलाई शुभकामना दिनुभयो। उहाँले भन्नुभयो,‘गौतम नानी तिमी यहाँ छैनौं, तर तिम्रो मन सँधै नेपालमा छ, मेरो तिमीलाई लाख–लाख शुभकामना छ।’ घिमिरेको शब्दवाणी भुईँमा खस्न नपाउँदै दर्शकदिर्घाबाट तालीको घड्घडाहटले हल गुञ्जायमान बनेको थियो।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले साहित्यिक स्रष्टाहरुको सिर्जनादेखि आफू प्रभावित भएको बताउँदै भन्नुभयो,‘कवियत्री गौतमलेपनि आज यो लघुकाव्य राष्ट्रकविलाई भेट्दा भन्ने ल्याउनुभयो, यो कस्तो खाले सिर्जना होला? उहाँको क्षमताबाट हामी सबै प्रभावित छौं।’

धमलाले कवियत्री गौतम क्यानडामा बसेपनि नेपाल र नेपालीहरुलाई मन, मस्तिष्कमा लिएर बसिरहनुभएको उल्लेख गर्दै भन्नुभयो,‘उहाँको मनमा सँधै नेपाल छ, उहाँका कृतिहरुपनि नेपाल र नेपालीहरुकै बारेमा केन्द्रित भएर आएका छन्, त्यसैले उहाँ देशलाई माया गर्ने स्रष्टा हो।’ उहाँले कवियत्री गौतमको कृतिहरुमा राष्ट्रियता र देशको वास्तविकता झल्किने गरेको समेत बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू