अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

औतारीहरुको चटक, भ्रमको खेती – स्वयम्भुनाथ कार्की

बिआरटीनेपाल २०७३ फागुन ४ गते २३:३६ मा प्रकाशित

एकाएक नेपालमा जन्मेर भारतमा साधु, महन्त भएकाहरुको नेपालमा चासो बढेको छ । हिन्दु गणतन्त्र बनाएर नेपालको सामाजिक तथा धार्मिक नियन्त्रण पनि महन्तका नाममा आफ्नो हातमा राख्ने प्रयास असफलता तिर उन्मुख छ ।
हिन्दु अधिराज्यमा रहेको राष्ट्रिय भावना तथा धर्मनिरपेक्ष सादृष्थ सर्वधर्म समभाव र हिन्दु गणतन्त्रमा रहेको भारत पुज्नुपर्ने र धार्मिक कट्टरताको फरक जनताले बुझ्दै गएका छन् ।

हिन्दु गणतन्त्र कुनै पनि तरिकाले शास्त्र सम्मत छैन यदि भएको भए भारतीय संविधानमा पछि संशोधन गरेर धर्मनिरपेक्ष घुसाउनु पर्ने थिएन । न भारतका हिन्दूहरु नै सनातनको मान्यता ‘वसुधैव कुटुम्वकं’ विपरीत अर्को सम्प्रदायको रगत वगाउने थिए ।

नेपालमा राजसंस्थाको लगातार बढदो लोकप्र्रियताले आत्तिएका केही भारतीय शक्तिकेन्द्र नजिकका साधुहरु नेपाल पस्दैछन । उनीहरू स्वस्थानीको हात्तीले माला लगाए जस्तो संसदले चयन गर्ने र पदमुक्त गर्ने राजाको अवधारणा पस्कदै हिंडदैछन ।

उनीहरूको निशानामा राजसंस्था समर्थकहरु छन् , आफ्नो शिष्य बनाएर अनि धाराप्रवाह व्याख्यान दिएर त्यो समर्थन कमजोर पार्न खटिएका छन् । भागवण्डे संसद् अनि केही नेताहरूको मर्जिमा छाप लगाउन विवश सांसद भएको कुरा कसैबाट छिपेको छैन ।

यत्रो साधन, श्रोत, जनताको रगत खर्च गरेर बनाएको संविधान लगातार संशोधनको मारमा पर्नुले यो कुरा प्रस्ट गर्छ । यस अवस्थामा कुनै पनि वेलामा केही ठुला भनाइका दलहरूका शिर्षनेताहरुलाई प्रभावमा लिएर जेजस्तो पनि संशोधन गर्न मिल्ने संविधान छ ।

संसद् नियन्त्रित राजा भएको अवस्थामा तुरन्त कसैलाई पठाएर नेपालको राजा बनाउन सकिन्छ ।
तात्कालिन संविधानले स्पष्ट मनाही गरेको प्रधान न्यायधिशलाई बाधा अडकाउ फुकाउने हतियारले ढालेर सरकार प्रमुख बनाएको उदाहरण अस्ति भर्खरको हो ।

यस्तोमा एकिकरणको प्रक्रियामा रहेको राप्रपाले महाधिवेशनलाई भनेर छोडेको मुद्दालाई हतार हतार कार्यसम्पादन समिति मार्फत टुँगो लगाएको छ । अनौठो संयोग के छ भने उसले परिकल्पना गरेको राजा र भारतीय साधुहरुको परिकल्पनाको राजा एकै प्रकारको छ ।

यत्रो वर्ष राजसंस्था बोकेको दल पनि सामेल भएको राप्रपाले नियतवश गरेको नमान्दा पनि चुक त भएकै छ ।

त्यसमाथि राजाले फोन गरेर बधाई दिएको जस्तो हावा कुरा औतारीको चटक नै हो । यो भ्रमको खेतीमा नेतामा समर्पित कार्यकर्ता त पर्न सक्लान तर अरू पर्दैनन ।

यस्तै औतारी चटकेहरुले आफ्नो नामको व्यापार गरेको देखेर आजित भएका राजाले दमकबाट आफू कसैको सिंढी नभएको कुरा भन्नु परेको थियो ।

राजाको हैसियत कमल थापा वा डा प्रकाशचन्द्र लोहनीको निमित्त भोट मागिदिने होइन । त्यो पनि अझ दलको आन्तरिक छनौटमा ।

यस्तो हल्ला चलाएर राजाको छविमाथि प्रहार सुरु भएको छ ।

राजसंस्थाको मुद्दा पहिले महाधिवेशनमा लैजाने भन्नु , अनि जब कार्यकर्ता राजसंस्थाको मुद्दा भरसक सर्वसम्मत पारित गराउन तैयार भए अचानक कार्यसम्पादन समितिले यस्तो लचर निर्णय गर्नुमा शङ्का गर्नै पर्दछ ।
पहिलो कुरा त दलको आधार भएको मुद्दालाई एक सेकेन्ड पनि छोड्न पाईन्न थियो । महाधिवेशनसम्म पुगेको भए त्यो पक्का हुने थियो । त्यसैले कार्यसम्पादन समितिबाट पारित गराईएको औतारी चटक हो ।
यो कार्यसम्पादन समिति नै राप्रपा नेपालमा लगातार विवादमा पर्दै आएको अध्यक्षको हतियार हो ।

कार्यकर्ताहरूले भोलि केही केन्द्रीय नेताहरूले उल्टाउन मिल्ने कार्य समितिको निर्णय हो भन्ने थाहा पाउलान भनेर हतारमा राजाले बधाई दिएको भनेर भनिएको हो भन्दा खासै फरक नपर्ला ।
त्यसै पनि आफूले मुद्दा छाडेको छैन भनेर लगातार किरिया खानपरेको नेतृत्वलाई बचाउन पहिले पनि राजाले खटाएको काम गरेको भनेर भ्रम छरिएकै हो ।
अहिले भारतीय अभियन्ताको र राप्रपाको बोली मिल्नु यदि काकताली हैन भने धेरै कुरामा शङ्का गर्नु पर्ने अवस्था आएको छ । यो अवस्था विनाशर्त राप्रपा नेपाललाई २४ स्थान दिलाउन आस्थाले लाग्नेहरुको निमित्त अत्यन्त कष्टदायक हो ।

आस्थाले माया गरेकाहरुलाई मूर्ख सम्झेर जे भने पनि पत्याउछन भन्ने सोच्नु ठिक हुँदैन । हिजो दुलोमा लुक्नु पर्ने अवस्थाकालाई आज सरकारमा पदको मोलाई गर्नेसम्मको हैसियत पुर्‍याउनेहरु दल बाहिर नै छन् ।

जुन स्थानमा निर्वाचन प्रतिनिधिसम्म राख्न राप्रपा नेपाले सकेको थिएन त्यहाँ पनि उल्लेख्य मत खसेको रेकर्ड निर्वाचन आयोगमा हुनु नै पर्दछ । त्यसैले आफैले आफ्नो पिठ्यूमा धाप मारेको सुहाउदैन ।

त्यसै पनि प्रत्याक्षमा दलको टिकट लिएर दललाई मत मागिदिएकाहरु निर्वाचनको लगत्तै पाखा लागेका छन् । ती न हिजो दलका कार्यकर्ता थिए, न आज छन्, न भोलि नै हुनेछन ।

ती त जसले राजसंस्थाको मुद्दा बोकेको भनेर भरोसा दिन सक्छ त्यसलाई निस्वार्थ्य सहयोग गर्न जानेछन ।

प्रतिक्रिया