अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

अमेरिकामा नेपालीको भाषण- अनिल पाण्डे

बिआरटीनेपाल २०७३ पुष १९ गते २२:३७ मा प्रकाशित

दिमागमा एकथान कार्टुन सलबलाइ रहेछ । यस पक्तिकारकै अनुहारको एक व्यक्ति कार्यक्रम सञ्चालन भइरहेको ठुलो हलमा छ । यसको छातीमा लेखिएको छ– आयोजक । उसलाई एक व्यक्तिले माइक उठाएर पिटदैछ, पिटनेले भन्छ– ‘मलाई भाषण गर्न दे भनेको नमान्ने तँ, लौ खा ! अर्को श्रोताले बलियो मुड्की पनि यसैमाथि वर्षाउँछ र भन्छ, ‘फकाई–फकाई बोलाएर बेतुकका सडक छाप लाल बुझक्कडको भाषण सुनाउने !, के हाम्रो अरू काम छैन ?’

कार्टुन भन्दा बाहिरको सत्य के हो भने, अमेरिका जस्तो विश्वको महाशक्ति र लोकतान्त्रिक मुलुकमा नेपाल जस्तो अल्पविकसित देशमा जन्मी हुर्की गरेर पनि विमान चढेर आउन सक्ने व्यक्ति स्वयम भाषण गर्ने लायकको हुन्छ नै । उसको भाषण नसुनिदिनु उसमाथिको अपमान पनि हुनसक्छ ! एक सक्षम व्यक्तिको भाषण नसुन्ने ! तर भाषण सुन्न बोलाइएका श्रोता पनि ऊ जस्तै बहादुरीका साथ अमेरिका आउन सफल व्यक्ति भएकाले पो समस्या भयो त ! सिंहको गर्जन सुनेर अरू जनावरले पो डराउने हो त, अर्को सिंह किन तर्सिने ! अब, तर्सिनुपर्ने बेला आएको छ– कार्यक्रमका आयोजकले । कार्यक्रममा बोलाएपछि सबैलाई वक्ता हुनुपर्ने, श्रोता हुन कोही नचाहने ! यस्तोमा आयोजक माथि हातपात नभए अरू कसमाथि हुन्छ !

पूर्व प्रशासक तथा लेखक श्रीकान्त रेग्मी लेख्नुहुन्छ, ‘मुलुकमा निःसन्देह युगान्तकारी राजनीतिक परिवर्तन आएको छ, परन्तु नेतृत्वको सोच, प्रवृत्ति, मानसिकता र कार्यशैली भने सनातन प्रकृतिकै छ । मुलुकलाई सकारात्मक परिवर्तनको मार्गमा अगाडि बढाउन नेतृत्व वर्गले सबैभन्दा पहिला आफ्नो पुरातन सोच बदल्नुपर्दछ ।’ कुरा होइन काम गरौँ शीर्षकको उहाँको लेखले भन्छ, सोच यथावत् राखेर परिवर्तन संस्थागत गर्न सकिँदैन । सत्य के छ भने, हामी अमेरिका त आयौँ तर हामीले आफ्नो नेपाली पुरुषत्वलाई सँगै उठाएर ल्यायौं र छातीमा टाँसेर राख्यौं । अमेरिकी राष्ट्रपतिकै भाषण दुई–चार मिनेटमा सकिन्छ, राजनीतिक दलका नेता पनि लामो बोल्दैनन् । लामो बोल्न र सुन्न कसैसँग समय छैन । समय मूल्यवान छ । किन कसैको मूल्यवान समय लिइदिने !

अर्को हामीले त्याग्न नसकेको अभ्यास हो अमेरिकामा पनि नेपाली राजनीतिको निरन्तरता । सात समुद्रपारि बसेर हामी नेपालको राजनीति गरिरहेका छौँ– नेपालमा जति दल छन्, त्यति समूहमा विभाजित भएका छौँ, एक–पासमा तासातास गरिरहेका छौँ । सामाजिक सञ्जाल खोलेर तास्छौं, मिडिया चलाएर डाम्छौं र भाषण गरेर पोल्छौं । अमेरिकामा के शेरबहादुर, के खड्ग प्रसाद र पुष्पकमल…., तर हामी उनीहरूकै नेतृत्वलाई महाभारतका एकलव्यले जस्तै द्रोणाचार्यको मूर्ती बनाएर पुजिरहेका छौँ । काम कम र कुरा बढी गरिरहेका छौँ । ‘काम कम र कुरा बढी’ भन्ने वाक्यमा अमेरिका आएपछि एक शब्द भने थप्नैपर्छ, ‘राजनीतिमा’ । त्यसो त यहाँ राम्रोसँग नसुती काम गर्नुपर्छ, बरालिएर पेट पालिन्न । तर हामी राजनीतिक क्षेत्रका जति कुरा गर्छौँ, त्यसमा चाहिँ काम कम र कुरा बढी भएकै हो । खासगरी नेपाली कार्यक्रमहरूमा वक्ताहरुको सूची पट्यार लाग्नेगरी तन्किने गरेकै हो । कार्यक्रम आयोजक माथि दुवै तर्फबाट आलोचनाको वर्षा हुने गरेकै हो ।

नेपाल बाहिर आएर पनि हामीले नेपालकै राजनीति गर्ने र मातृ भूमिप्रतिको समर्पणका रूपमा त्यसलाई लिने हो भने पुनः लेखक रेग्मीको भनाइ सुन्नु सान्दर्भिक हुनेछ । ‘मुलुक अत्यन्त कमजोर हुँदै गएको छ । त्यसैले, मुलुकमा बाह्य र आन्तरिक दुवै तत्वहरूको अवाञ्छनीय चलखेल हदै बढेको छ । वास्तवमा मुलुक अत्यन्त कमजोर राज्यमा परिणत भएको छ ।’ यो सही विश्लेषण हो । राष्ट्रिय स्वाभिमानका पक्षमा दह्रोसँग खडा हुने नेताहरू निकै कम छन् । भ्रष्ट आचरण र सत्ता लिप्साले गर्दा नेतृत्वले आत्मबल गुमाएको अवस्था छ । कानुन कार्यान्वयनको अवस्था निकै फितलो छ । जसले जे गरे पनि भएको छ । कानुन हातमा लिएर मनलागी गर्नेहरूउपर कुनै कारबाही हुँदैन । राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले हद नाघेको छ । कानुन उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्नेमा उल्टै पुरस्कृत गरिन्छ । यीआदि काम छोडेर कुरा बढी गर्ने नेतालाई लाइनमा ल्याउनेतिर हाम्रो ध्यान जानु आजको आवश्यकता बनेको छ ।

‘कुरा होइन, काम गरौँ’ शीर्षकमै ललितपुरस्थित धोबीघाटका शङ्कर आचार्य लेख्छन्, ‘स्थापना हुन लागेको जलविद्युत् विकास बैङ्कलाई स्वागत छ । तर के बैङ्क स्थापना गर्दैमा विद्युतको विकास होला र ? यसका लागि त दृढ राजनीतिक इच्छाशक्ति हुनु जरुरी छ । नेपाली राजनेतामा कुनै पनि विषयमा प्रस्ट अडान देखिँदैन । कामभन्दा कुरा बढी गर्ने चिन्तनले कसैप्रति विश्वास गर्नसक्ने ठाउँ नै बाँकी छैन ।’ अर्का लेखक मनोज थापाले पनि यसै शीर्षकमा कलम चलाएका छन्, उनको भनाइ छ, ‘विश्वमा धेरै राजनीतिक पार्टी भएको मुलुकमध्ये नेपाल पनि एक हो । जनसङ्ख्याको हिसाबले तीन करोड रहेको नेपालमा राजनीतिक पार्टीको सङ्ख्या एक सय पचास भन्दा बढी छ । राजनीतिक पार्टीको सङ्ख्या हेर्ने हो भने नेपालमा नेता उत्पादन गर्ने उद्योग भन्दा फरक नपर्ला । तर यति धेरै नेता भएको नेपालको विकास भने शून्य छ ।’ किनभने यहाँ काम होइन कुरा मात्र बढी हुन्छ । यही कुरा बढी गर्ने रोग बोकेर हामी विश्वको जुनसुकै मुलुकमा किन नपुगौं, कतै परिवर्तन सम्भव छैन । बर्मा गएपनि कर्म सँगै रहनेछ । त्यसैले प्रवृत्ति र चिन्तनमा परिवर्तन ल्याउने दिशामा लागौं, नयाँ वर्ष २०१७ को यही शुभकामना ।
Rajesh Hamal

प्रतिक्रिया