अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

म आफ्नो रचना पोस्ट गर्नको लागी चित्र बनाएर २५ पैसामा बेच्ने गर्दथें -आचार्य प्रभा

बिआरटीनेपाल २०७३ पुष १६ गते ०:१५ मा प्रकाशित

लेख/संस्मरण

यस्तो लाग्यो लेख्नै पर्दा सधैँ भावनामा बहेर काल्पनिक कुराहरू मात्र कति लेख्ने ? लेख्नु नै छ भने आफ्नै कथा लेखौं जो रचनामा नौलो स्वाद पनि हुन्छ । त्यसैले मैले आफ्नै भोगाईका केही दुखद क्षणहरू यहाँहरूलाई बाँड्ने जमर्को गरेँ । आखिर कथा/व्यथा सबैका आ-आफ्नै हुन्छन् पोख्नु नपोख्नु आफ्नै इच्छा हो। मैले भने हिम्मत गरेँ आफ्ना केही दुखद पलका कथाहरू बाँड्ने । पढेर मात्र यसको मर्मभित्र पस्न सक्नु हुन्छ । त्यसैले समयले साथ दिएमा पढेर नै प्रतिक्रिया पाए म धन्य बन्नेथिएँ ।

“म आफ्नो लेख/रचना पोस्ट गर्नकोलागी त्यो समयमा चित्र बनाएर २५ पैसामा बेच्ने गर्दथें । ”
हर प्राणीको जीवनमा आ-आफ्नै प्रकारका कथा व्यथा हुन्छन् ती कथा,ब्यथाहरु मान्छे मात्रले पोख्न सक्छन् तर चरा चुरुङी पशुहरुले भने भोग्छन् मात्र पोख्न सक्दैनन् । हुन त औसत मान्छेहरुमा पनि त्यो भाव पोख्ने आधार केवल बोलीमा हुन्छ भने कोहीमा मात्र लेखेर आफ्नो भाव व्यक्त गर्ने प्रतिभा हुन्छ । यसै सन्धर्भमा मैले पनि कहिले कँहि आफ्नो कथा, व्यथा भावनाहरू कलमी श्रोतबाट पोख्ने जमर्को गर्ने गरेकीछु। यो मेरो प्रयास हो र यो प्रयास अनवरत रूपमा रहिरहनेछ ।

अँ….मान्छेका जीवन नै विगतबाट सुरु हुन्छ त्यसैले मान्छेको विगतका कथाहरू सप्तरंगी इेन्द्रेणी झैँ हुन्छन् जहाँ धेरै रंगहरुको समिश्रण हुन्छ । रातो,हरियो,निलो आदी आदी । त्यस्तै मान्छेका विगतका रंगहरु पनि कालो,सेतो,अँध्यारो हुन्छन् । जस्लाई मान्छेले कालो रङ्गलाई दु:ख र सङ्घर्षको रूप दिन्छन् भने सेतो रङ्गलाई सुख र खुसीको उपमा दिन्छन् ।

यस्तै रंगहरुको समिश्रणलाई मैले पाएकी आधारमा ती रंगहरुको बखान गर्नु पर्दा मैले जानेसम्म मैले पाएकी रंगहरुमा ज्यादा त कालो रङ्गको अनुभव नै बढी मात्रामा भोगेको अनुभव छ । सानै उमेरमा आमा-बाबाको काखबाट बन्चित हुनुपरेको म शायद सुख अर्थात् सेतो रङ्गको कंचन लहरमा कसरी पो लहराउँन सक्थेँ र ? भाग्यमा नै कालो रङ्गको टिको धसिएर आएपछि बाहिर पोँतेको रङ्गको के अर्थ नै रहन्छ र ? हो मेरो भागमा त्यही कालो रङ्गको आधिपत्य थियो ।
म सम्झन्छु ती क्षणहरु जसले मलाई धेरै आहत पुर्‍याएको थियो। म त्यही आहतमा राहतको खोजी गर्दै कहाँदेखी कहाँसम्म भौँतारिएकी थिएँ त्यो क्षण। ती धेरै कथाहरू मध्ये आज मलाई एउटा बिर्सन नसक्ने त्यो समयको याद आइेरहेको छ जुन मेरो जीवनमा म कहिले कँहि धेरैबेर घोत्लिएर सम्झने गर्छु । त्यो समय हो जतिबेला म शायद १३/१४ वर्षकी थिएँ । मेरो बाँच्ने तथा हुर्कने क्रममा त्यो समयमा मेरो खासै स्थापित स्थान थिएन । म कहिले दाजु भाउज्युसँग बस्दथें भने कहिले ठुलो दिदी,भेनासँग । ठुली दिदी हामी सबै भाइ,बहिनीहरुका निम्ति आमा भन्दा अझ महान् हुनुहुन्थ्यो जसले टुहुरा भाइ,बहिनीहरूलाई आफ्नो खुसी,गाँस,बास सबै बाँड्नु भएको थियो । त्यस्तै ठुलो दाजुले पनि १६ वर्षको उमेरदेखि भाइ,बहिनीहरूलाई हुर्काउँने,पाल्ने जिम्मेवारी लिनु भएको थियो। शायद अबको जमनामा त्यस्ता महान् दाजु,दिदी पाउँन सायदै अर्को जुनी लिनु पर्ला ।

अँ….. मैले आफ्नो त्यो विगतको बारेमा केही लेख्ने सुरसार कस्दैथिएँ । शायद म १३ वर्षकी थिएँ । त्यस्तै परिस्थिति पर्‍यो म माथि अर्थात् म र मेरा दुई दिदीहरुमाथी । हामी त्यो समय दाजु भाउज्युसँग बस्ने गर्दथ्यौं दमकमा । हामी अचानक दाजु भाउज्युको घरबाट बहिष्कृत भयौँ अर्थात् हामीलाई त्यहाँ स्थान भएन । हामी ३ जना दिदी,बहिनी अब कहाँ जाने? कहाँ बस्ने? भन्ने सल्लाहा हुन थाल्यो । त्यो समय त दाजु भाज्युको त्यस्तो व्यवहारले हामी धेरै विचलित बन्यौँ । धेरै चित्त दुख्यो । हामीलाई घरबाट निकाल्दा तर अहिले म सम्झन्छु । हर मान्छेको आ -आफ्नै जीवन हुन्छ । आफ्नै घर संसार हुन्छ । सबैलाई नै आफ्नो बेग्लै संसार होस् भन्ने लाग्दछ । शायद त्यो समयमा हाम्रो दाजु भाउज्युलाई पनि त त्यस्तो महसुस हुन स्वभाविक थियो नि । सधैँ अर्काको बोझ बोकेर आफ्नो व्यक्तिगत जीवनमा भारी बोक्न कसले चाहन्छ र ? उसो त दाजुले आफू वयष्क भएदेखी नाबालक भाइबहिनीहरुलाई पालेर आफ्नो जवानी र उमेर नै बिर्सिसक्नु भएको थियो । १६ वर्षको उमेर देखी माष्टरी पेसा गरेर हामीलाई त्यँहासम्म ल्याइेपुर्‍याउँनु भएको थियो । त्यसैले पनि अब आफ्नो वैवाहिक जीवनमा वहाँले अब आफ्नै जिन्दगीलाई अघि बढाउँने मनसाय गर्नु भयो शायद । त्यो मनासिब पनि थियो ।

अँ…. हामी तीनजना दिदी बहिनीले को कहाँ जाने? को कहाँ बस्ने? भन्ने निर्क्यौल गर्‍यौँ र हामी त्यस्को भोलि पल्ट आ -आफूले रोजेको गन्तब्यमा लाग्यौँ ।
यहाँ मैले मेरोबारेमा मात्र लेख्ने अभिप्राय गरेकीले म आफ्नै मात्र कथालाइे उजागर गर्ने प्रयास गर्दैछु ।

म मेरी दिदीकै एक जना साथी जस्को नाम भन्न म असमर्थ छु, को’मा बस्न गएँ । जो त्यो समय गर्भवती थिइेँन् । उन्को बच्चा जन्मने समय भएको र मान्छेको खाँचो परेकोले पपनि मलाई साथ लिएको हुनुपर्छ तिन्ले र हो रहेछ पनि । ती दिदी त ठिकै थिइेन् उन्को श्रीमान् जस्लाई म दाजु भन्दथें वहाँ भने असल र कोमल मनको नै हुनुहुन्थ्यो । म बसेको केही दिन पश्चात् नै ती दिदीको बच्चा बिराटनगरको हस्पिटलमा जन्मियो । त्यो समय मेजर अप्रेसन गरेर बच्चा जन्मेकोले त्यो घट्नालाई डाक्टरहरुले निक्कै ठुलो सफलता मानेका थिए । यसरी अप्रेसन गरेकोले ती दिदी लग्भग ५/६ महिना नै थलिइेन् । अब सोँचौँ त्यो समय म कति खटिएँ हुँला र मेरो महत्त्व कति भयो होला ?

ती दिदी अलिक तङ्रिइेन् र यसो उसो हिंड्डुल गर्ने भएपछि उन्लाइे उन्को माइेती ईलाम लैजाने सल्लाहा भएछ र हामी इेलाम जाने भयौँ । मलाई अलि अलि सम्झना छ। हामी सनिश्चरे सम्म जिपमा गयौँ र खोइे कुन ठाउँबाट जंगलै जङ्गल भएर पैदल नै इेलाम लाग्यौँ । हिँडेको यस्तै १०/ ११ घण्टामा हामी सोक्तिम भन्ने ठाउँमा पुग्यौँ जहाँ उन्का सानीमा र सानो बुवा रहेछन् । त्यँहा बास बस्यौँ । भोलि बिहानै त्यँहाबाट इेलाम लाग्ने भन्ने कुरा थियो रातीसम्म तर बिहान त इेलाम जान त उनीहरू मात्र पो तयार छन् । मलाई नलैजाने भएछन् त्यो दिन । अरुकुनै दिन लिन आउँने सर्तमा उनीहरू बाटो लागे । म भने किङ्कर्तब्यबिमूढ भएर निशब्द बनी बसेँ । मैले भन्न पनि त के भन्ने ? उनीहरूलाई कर पनि थिएन तर मानवताको नाताले भने उनीहरूले मलाई त्यो अपरिचित ठाउँमा छाड्न नपर्ने थियो ।

समय बहँदै गयो आफ्नै बेगमा । म त्यँहि सोक्तिमको चिया कमानमा हराउँदै गएँ ।म बसेको घरमा साना साना तीन छोराहरू थिए । म उनिहरुसँगै भुलिन थालेँ । सानैदेखि केटा केटी मन पराउँने स्वभाव भएकोले म उनिहरुसँगै रमाउँन थालेँ । उनीहरूलाई पढाउँने,लेखाउँने जिम्मेवारी थियो मेरो । उनीहरूले पनि मलाई आफ्नै दिदी जस्तै गर्न थाले । मानौं ती बालकहरुसँगको सामिप्यताले गर्दा म पनि उनीहरूकै परिवार जस्तै बन्न पुगेँ । शायद उमेरको हिसाबले होला र त्यो समयमा ऐले जस्तो चाँडै आफ्नो भविष्य र उद्देश्य सोँच्ने बुद्धि नभएर होला,म पनि निस्चिन्त थिएँ त्यो समय । म कहाँ छु ?के गर्दैछु ? मेरो भविष्य के होला ?भन्ने रत्तिभर चिन्ता नलिइे म निस्चिन्तसँग त्यँहा बाँचीरहेकी थिएँ । अहिले सम्झिँदा मेरो ढुक्कपनसँग आफैलाइे डर लाग्छ ।

त्यो घरको सदस्य नै भएर म बसिरहेको पनि पल पल गर्दै वर्ष दिन पुगी सकेछ । मलाई त्यँहा एकप्रकारको राम्रो व्यवहार नै थियो । उनीहरूका छोरी नभएकाले मलाई सो सरह नै व्यवहार थियो । म काका,काकी भन्दथें । मलाई काकाले भने “छोरी”को सम्बोधनले नै बोलाउँनु हुन्थ्यो । मलाई पनि आफ्नै बाबु सरह लाग्दथ्यो । घरको काम काज सबै म नै गर्दथें । मलाई आफू त्यही घरको सदस्य झैँ महसुस हुन लागेको थियो र म कुनै पनि हिच्किचाहट बिना नै सबैको लुगा फाटा धुइदिन्थें ।

सोक्तिम पहाडी इेलाका भएकोले लुगा धुन भने बाटोमै एउटा धारा थियो । त्यँहि धारामा लुगाको कुम्लो लगेर लुगाहरु धुन्थें म । बाटोमै धारा पर्ने हुनाले बाटो हिँड्ने यात्रुहरुले सबै दृश्य देख्दथे । म प्रायजसो लुगा धुन जाँदा दमकका कति परिचित यात्रुहरु पनि ओहोरदोहोर गर्दथे । म उनीहरूबाट छलिन कहिले लुक्दथेँ । कहिले नदेखे झैँ अभिनय पनि गर्दथें, किनकि मलाई दमकका मान्छे हरू देख्दा नमिठो महसुस हुन्थ्यो । भनौँ मदेशबाट ईलाम जाने पैदल वा मोटर बाटो त्यँहिबाट पर्दथ्यो । यसरी म त्यो समय त्यो अल्पपरिचित ठाउँमा बिना कुनै लक्ष र जिजीबिषाहिन भएर बाँचीरहेकी थिएँ । बस मलाई एक मुठी खाएर जीवन धान्नसँग मात्र मत्लब थियो । अहिले सम्झँदा त्यो मुर्खपनसँग पनि आफैलाई हाँस उठ्छ । म त्यही समयदेखि नै यदाकदा लेख्ने गर्दथें । मेरा रचनाहरू फाट्ट फुट्ट काठमांडौका पत्रिकाहरूमा आउँने गर्दथें । दमक भइेन्जेलसम्म त रचनाहरू यसो उसो पोस्ट गर्ने पैसा हुन्थ्यो र पोस्ट गर्दथें तर जब म सोक्तिम पुगेँ मसँग पैसाको अभाव हुन थाल्यो । मैले चाहेर पनि रचनाहरू पोस्ट गर्न सक्दिन थिएँ । लेखन मोह र छापिने चाह त ज्युँदै थियो मभित्र । मैले कसै गरेर पनि त्यो मोह र चाहनालाई मार्न सकिन ।

मलाई त्यो गाउँका सबैले माया गर्थे । म पनि सबै सँग हेलमेल हुने गर्दथें । त्यँहा एक दुई जना युवाहरू थिए । जो मसँग मिल्दथे। उनीहरूलाई थाहा थियो कि म लेखन क्षेत्रमा रुचि राख्छु भनेर । म त्यो समय अलि अलि चित्र पनि कोर्दथेँ । मैले त्यो ताका स्व.भु.पु रानी एैश्वर्यको पुरानो फोटो जुन फोटो “ब्ल्याक एण्ड व्हाइेट ” हाल्फमा कपाल अग्लो बनाएर बिचमा माछाको क्लिप लगाएको थियो । त्यही फोटोको चित्र बनाउँने गर्दथें । चित्र बनाउँदा बनाउँदा बानी परेर होला पछीबाट त नहेरी नै छोटो समयमा नै बनाउँन थालेँ र त्यँहा आउँनेहरुलाइे जबर्जस्ती नै चारआनामा बेच्न थालेँ । उनीहरूले पनि रहर र मन पराएर मात्र होइन कर र मेरो हालतलाई आत्मसात गरेर पनि किन्न थाले । म स्पष्ट नै भन्दथें “मलाई “टिकट र खाम” किन्न पैसा चाहिएको छ भनेर । म रचनाहरू पोस्ट गर्छु अनि दमकका मेरा साथीहरूलाई पत्र पठाउँछु भनेर । “बालकपन नै भएर होला मलाई त्यसो भन्न शरम लाग्दैनथ्यो । अनि पैसा आउँने अर्को माध्यम थियो मेरो । ती “काका”अलि अलि रक्सी खाने गर्नु हुन्थ्यो र मलाई २ रु.दिएर सानो माने बोतल बोकाएर लुकाएर रक्सी किन्न पठाउँनु हुन्थ्यो गाउँमा । फिर्ता आएको पैसा “तिमी नै राख भनेर दिनु हुन्थ्यो अनि काकीलाई नभन्नु है” भन्नु हुन्थ्यो । म पनि “बार्‍हना” पैसा पाउँदा दङ्ग पर्थेँ र चुप्चाप कुनातिर लाग्दथेँ । त्यसरी आएको पैसाबाट म आफ्नो गुनासो र दु:खका कुराहरू साथीहरूलाई पत्र मार्फत पोख्दथें र आफ्ना रचनाहरू पोस्ट गर्दथें ।

यस्तै गरेर म आफ्नो दिनचर्या काटिरहेकी थिएँ निस्चिन्तसँग । त्यो समय मलाई न’त भविष्यको चिन्ता नै थियो न’त घर संसारको। कहिले कँहि भने दिदी बहिनी र दाजु भाइको सम्झनाले पिरोल्थ्यो त्यति बेला केही लेखेर म आफूलाई सान्त्वना दिने गर्दथें त्यसैले त्यही समयदेखि नै लेखन मेरो जिन्दगी,खुसी र आश्वसनको सहारा थियो । हो म निस्चिन्त थिएँ र त बाँच्न सफल भएँ । यदि मलाई अनेकौँ कुराहरू र जीवनको,भविष्यको चिन्ताको छट्पटिले पिरोलेको भए शायद म पिर र चिन्ताले नै अस्ताइे सक्थेँ की ?

मान्छेले धेरै चिन्ता र पिर लिँदा पनि मान्छे सधैँ हतास र दुखी हुन्छन् । भनिन्छ नि “चिन्ताले चितामा पुर्‍याउँछ” त्यसैले चिन्तित बनेर बाँच्दा पनि अस्वस्थ्य र सधैँ निरस भईन्छ तर त्यसो भन्दैमा बिना चिन्ता निर्धक्कसँग “जस्तो पर्छ त्यस्तै टर्छ” भन्ने धारणा लिएर बस्नेहरुको पनि जीवन सुखी र सफल हुन्न । त्यस्ता बर्गहरु उदेश्यहिन र अस्तित्वहिन पनि बन्न सक्छन् । भविष्य र जीवनको केही चिन्ता त लिनै पर्छ जसले जीवनलाई कर्तब्यसिल र उज्यालो भविष्यतिर डोहोर्‍याउँन सक्छ तर यी दुवैभित्र मेरो निश्चिन्तपन (ढुक्कपन) भने परेन। मेरो निश्चिन्तपन त मेरो उमेर र बालापनको समयले हो वा म एक्लोपनको अन्योल्तामा डुबेर हो । यसैले म बाँचिरहेकी थिएँ आफ्नै एक्लो संसारमा । भोलिको दिन मेरोलागि अनभिज्ञा थियो शायद ।

त्यो घरमा म आफ्नै परिवार सरह बाँची रहेकी थिएँ । मलाई लाग्दथ्यो उनीहरूले मलाई आफ्नै सन्तान सरह नै ठानेका छन् र बाहिरी व्यवहारमा त त्यस्तै थियो पनि । एक रात काका खै! कहाँबाट अलि ढिला आए । म र ती भाइहरु सुत्ने कोठा भएर उनीहरूको कोठा पस्नु पर्दथ्यो । काकाले ढोका ढक्ढक्याएको थाहा पाएर मैले ढोका खोली दिएँ । काका भित्र पस्नासाथ मैले ती काकीको आवाज सुनेँ । “जा न तेरी स्वास्नी बाहिर छ त्यँहि सुत……..”यो शब्द सुनेर म अवाक बनें । मलाई विश्वास पनि लागेन कि काकीले मलाई भनेकी हुन् भनेर। त्यो रात रातभरि सुत्न सकिन । मनमा अनेकौँ कुराहरू खेल्न थाले । बल्ल मलाई महसुस भयो । म त साँच्चै नै निरीह रहेछु । यिनीहरू त मेरालागि पराइे रहेछन् । मैले आफ्नो ठान्नु ब्यर्थ रहेछ । अब म कहाँ जाउँ?यस्तै यस्तै सोंच मनभरि भर्दै कतिबेला निदाएँ मलाई पत्तो नै भएन । भोलि बिहानै म उठेँ सदा झैँ चिया बनाएर सबैलाई दिएँ । ।मेरो मुहारमा सदा झैँ उज्यालो किरण थिएन । मलाई पटक्क बोल्न मनै थिएन । मेरो उदासीपन देखेर काकाले मलाई सुटुक्क भन्नु भो । ” छोरी हेरन तिम्री काकीको मन कति पापी छ । तिमीले सुन्यौं होला । हिजो राती के भनेकी त्यस्तो ? आफ्नी छोरी जस्तिलाई पनि त्यसो भन्न के मुख लागेको होला ? तिमीले चित्त नदुखाउ । तिमी मेरी छोरी समान हौ । नरिसाउ है ?”भनेर मलाई सान्त्वना दिनु भयो । मैले के जवाफ दिने र ? न त मसँग बोल्ने शब्द नै थियो । न त धम्की लगाएर बोल्ने बाटो नै थियो । म मौन बनें । बदलामा मेरा आँखाबाट तरर आसुँ मात्र चुहे । काका पनि निरस अनुहार लगाएर बाहिर निस्के ।

यस्तो पीडाबोध लिएर अघि बढेको जीवन शायद कम कष्टकर थिएन ता पनि आजको सुनौलो दिनको प्रतीक्षाकोलागी मैले सबै समस्या र दुखद पललाइ अंगाल्न स्वीकार गरेँ । आज त्यही दुखद पलको समय नै मेरो थाकेको कुनै पनि पलकोलागी ऊर्जा बनेको छ । हो मान्छेले समस्या र दुखसंग डराउँन हुन्न । पुराना ती दिनहरू आज मेरोलागि अझ तागत बनेको छ र त अहिले पनि ममाथि समस्याको पहाड खसे पनि म बोक्न समर्थ बन्छु /हो यही नै जीवनको सत्यता र सार हो भन्छु म ।

आचार्य प्रभा

प्रतिक्रिया