अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

नोस्टाल्जिया– कृष्ण शर्मा

बिआरटीनेपाल २०७३ पुष ६ गते १२:४० मा प्रकाशित

बितेको समय प्रतिको नोस्टाल्जिया कसलाई हुदो रहेनछ र ? तपाइहरूलाइ जस्तै बाल्यकालप्रतिको नोस्टाल्जियाले कहिलेकाहीँ मेरो दिमागलाइ ढपक्कै ढाक्छ कुहिरोले माडिफांटलाइ मध्यदिन नहुंजेल छपक्क छोपे जस्तै ।

स्वभावै हो: हामीसबै बितेका कुराहरू प्रति अलिक बढी नै आशक्त हुन्छौं । नराम्रा पक्षलाई चटक्क बिर्सेर केही राम्रा पक्षलाई अतिऱजित तरिकाले पस्कंदै आत्मरतीमा दङ्ग पर्छौं । दोष हाम्रो होइन । दोष त्यो राम्रो समयको हो जसले हामीलाई सधैको लागि त्यहीँ राख्न सक्तैन ।

नोस्टाल्जियाको कुरा गर्नु पर्दा विक्रमको २०३५ देखि २०४१ सालसम्म दक्षिण तराईको रूपन्देही स्थित मक्रहर गाउँमा बस्दाखेरीको समय मेरो दिमागमा बारम्बार ठोकिन आउँछ। सङ्घीयताको सवालमा गत महिना रूपन्देही जिल्ला नेपाली राजनीतिको केन्द्रमा प्रवेश गरेपछि समय सन्दर्भ मिलेकोले पनि हुनसक्छ त्यो समयका क्षणहरू अरू समयका क्षणहरू भन्दा अलिक बढी तीव्रताका साथ दिमागको ढोकै फुटाल्छन् कि जस्तो गरी दौडेर आइरहेछन् ।

यो साँचो हो कि त्यो समयमा बाटाहरू सुबिस्तापूर्ण थिएनन्। बिजुलीबत्ति घरघरमा आइपुगेको थिएन। टेलिफोनको सुबिस्ता थिएन। प्रहरी चौकी, हुलाक नजिक थिएनन्। स्कुल पुग्न कम्तीमा एक घण्टा लाग्थ्यो। तर जीवन बिल्कुल सरल, सुन्दर एवं शान्तपूर्ण थियो।

कच्ची बाटाहरू हुदैं सधैजसो बयलगाडा अनि कहिले काहीं ट्र्याक्टरहरूले समान ल्याउंथे । बर्सातको बेलामा हिलोमा कहिलेकाहीँ गाड़ा या ट्र्याक्टर फँस्दा पराल राखेर सबै गाउलेहरूले पछाडिबाट धक्का दिएर निकाल्थे । धेरै जसो साइकलको सवार। स्वच्छ वातावरण । मौसम अनुसारको खानपिन । मौसम अनुसारका फलफुल । मौसम अनुसारकै चाडवाड । मौसम अनुसारका गीत सङ्गीत । कहिलेकाहीँ सिनेमा, कहिलेकाही नाटक, कहिलेकाही ताजीयाको मेला अनि वर्षको एक पटक असारको पन्ध्र ।

व्यवस्थाको कुरा गर्नुपर्दा म पंचायतको हिमायती थिइन । परिवार नै कांग्रेसी संस्कारमा हुर्केकोले पचांयती राजावादी हुने कुरै भएन । तर मैले स्वीकार्नै पर्छ कि राजाको भ्रमण हुँदा हामीले त्यसताका अंचलाधिस एवं मन्त्रीहरूले गर्ने भाषण नबुझिकनै पनि सुनेर बस्नुपर्थ्यो । राजाको मुख हेर्न पाउने लालसामा हामी वाल सुलभ तरिकाले घन्टौं त्यो गर्मीको समयमा खुला मैदानमा बस्थ्यौं । अरू उपाय पनि थिएन आफू चढेर आएको ट्रयाक्टरमा फिर्ता जाने बाहेक । घर फर्कने बाटो थाहा थिएन । न हुन्थ्यो पैसा नै । भाषण सकिए पछि राजा बग्गिमा बसेर रानीसंग सवारि भएको देखेर घर फर्कन्थ्यौं। राजालाई देख्न पाएकोमा दङ्ग। राजतन्त्र कहिल्यै मन परेन तर ती राजालाई चाहिँ मृत्युपर्यन्त पनि माया लागिरहन्छ ।

प्रसगंमा फर्कने अनुमति चाहान्छु ।
त्यसरी मन नपराइएको व्यवस्थामा पनि त्यसताकाको गाउँ अहिलेको भन्दा राम्रो, उन्नत एवं उधमी थियो। त्यसबेलाको करहीया एवं मक्रहर गाउँ पंचायत (हालको तिलोत्तमा नगरपालिका)का केही गाउहरूको कुरा गर्ने जमर्को गर्दै छु मैले यहाँ।

भैरहवा लुम्बिनी भुमीगत जल परियोजना अन्तर्गत नहरहरूबाट सिंचाई हुन्थ्यो त्यसताकाको खेतीमा । गाउँ गाउमा घरेलु कपड़ाका तानहरू खुलेका थिए। बर्सातको समयमा खेती गर्ने अनि बाकीं समयमा कपड़ा एवं अन्य नगदेवालीमा गाउका मानिसहरू व्यस्त हुन्थे । बेरोज़गारी भन्ने शब्दको अर्थ आवश्यक नै थिएन। कुनै खेत बांझो रहंदैनथ्यो। गाउको अति गरिब परिवार पनि अर्काको घरमा माग्न जानुपर्दैनथ्यो । गाउँको छेउमा घर भएको सबैका गाईबस्तु वर्षभरि नै जङ्गल लगेर चराइदिने चरूवा ले समेत मागेर परिवार पाल्नु पर्दैनथ्यो। माग्नेहरू भनेका भारतबाट हिउंदमा आउने बंजाराहरूमात्र हुन्थे । गाउलेहरू बिच पालो पैंचो चल्थ्यो । म स्वीकार्छु जमिन्दारि प्रथा थियो । केही हद सम्म शोषण थियो । तर थिचो मिचो त्यति थिएन जति आजकल समाचारपत्रहरूमा व्यक्त भएको देखिन्छ। मैले गाउमा पढ्दा सबै ज़ातका केटाकेटीहरूले पढ्थे । हाइस्कुल पास गर्न सक्नु नसक्नु अर्कै बहसको विषय हो । अहिले पनि अमेरिका जस्तो मुलुकमा १२.१ प्रतिशत बिधार्थीहरू हाइस्कुल पास नगरीकनै पढाइ छोड्छन् ।

अहिले त्यो क्षेत्रमा तपाइ जानुभयो भने उदेक लागेर आउँछ । नहरको नामोनिशान छैन । उधोगको नाममा इटाभट्टा बाहेक केही छैन । जमिनको माथिल्लो भागको माटो इटा बनेपछि जमिनको उब्जाउ घटेको छ।त्यहाँ पाखुरी बझार्नुपर्ने युवाहरू विदेश जान बाध्य छन्। परिवारहरू टुक्रंदा छन् । युवाहरूले पठाएको पैसाले अनियन्त्रीत एवं असंगठित रूपमा घरहरू बनेका छन् । घरहरूमा खाना खाजाको साटो चाउचाउ पाक्छन् । विदेशबाट पैसा आउने भएपछि खर्च गर्न सजिलो भएको छ । जुवाका खालहरू बढेका छन् । पसल र चमेनागृहहरू व्यस्त छन् । ठगी व्याप्त छ । खेत बांझा छन् । घर किनारमा हुने गोठ छैन । गाईबस्तु छैनन् । करेसाबारी छैनन् । मकै बारी छैनन् । आलुबारी छैनन् । युवा जनसङ्ख्या बिना फुटबल खेल्ने मैदान ख़ाली छन् । लाग्छ राष्ट्रिय राजनीति आफ्नो कमजोरीको कारणबारे मुल्याकंन गर्नै चाहन्न । अरूको विरोध गरेर आफ्नो विकास हुँदैन भन्ने कुरा बुझाउन मात्र होइन बुझ्न मुस्किल छ कि उ किन बुझ्दैन । जातपातका कुरा त्यति उठ्छन् जति जयस्थिति मल्लका पालामा निर्णय गर्दा भारदारहरू बिच भएको बहसमा पनि उठेका थिएनन् होला ।

सामाजिक संबेदनशिलता, सौहार्दता एवं सुरक्षाको अवस्था घटेको छ। त्यति बेला प्रहरी चौकी टाढा भएकोले गाउलेहरूले आफ्नो गाउको सुरक्षा आफै गर्थे: पालैपालो गस्ती गर्दै जागतेरहो भन्दै । सुरक्षा चौकी, हुलाक, स्कुल अहिले सम्म पनि नजिकै आउन सकेका छैनन्। बाटो आएको छ विकृति भित्र्याउनका लागि । केटी बेच्नेहरू बढेका छन् । हत्याको शृंखला बढ्दो छ ।

नक्कली जग्गाका दलालहरू बढेका छन् । किर्ते काम गर्नेहरूको बिगबिगि छ । समाजसेवाको ज़िम्मा लिएकाहरूबाटै शोषण यति हद सम्म हुन्छ कि त्यसको कुनै लेखाजोखा गर्न सकिँदैन । पहाड़ र हिमाली भेगको तितो यथार्थ सुनिसाध्य छैन । भूकम्प पीडित क्षेत्रको व्यथा हामीमाझ छर्लंगै छ । स्थानीय चुनाव भएको छैन ।

हो, परिवर्तनको नाममा गाउँमा बिजुली बल्छ आजकल । कच्ची घरको ठाउँमा पक्की घर बनेका छन् । गाड़ी पहिले भन्दा अलिक बढी गुड्न थालेका छन् । अबैज्ञानिक र असान्दर्भिक भौतिक विकासको लागि र जे पायो त्यही बोल्न पाउनका लागि मात्र व्यवस्था परिवर्तन गरिएको भए मेरो यस अघि भन्नु केही छैन । तर यो वर्तमान राज्य प्रणालीले समाजको बिधमान बिग्रदो रूपलाई सपार्नका लागि गाउमा स्वरोजगार मूलक कार्यक्रम लिएर बिदेशिएका युवालाई काग़जमा मात्र नभई व्यवहारमा कहिले आकर्षित गर्ने हो हेर्न र त्यसै अनुसार आफ्ना भावी योजना बनाउन बिदेशिएको युवा जमात प्रतीक्षारत छ ।

प्रतिक्रिया