अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

किन भैरहेकाे छ, राजधानीमा अहिले अत्याधिक जाम ?

बिआरटीनेपाल २०७३ मंसिर २१ गते १०:०१ मा प्रकाशित

काठमाडौँ, मङ्सिर २१ गते । गोगबु नयाँबसपार्कबाट माइक्रोबसमा सोह्रखुट्टे हुँदै रत्नपार्क पुग्न कति समय लाग्ला ? सर्वसाधारणले सहजै अनुमान गर्न सक्छन् बढीमा आधा घण्टा ।

करिब तीन किलोमिटर लम्वाइ रहेको यो सडकमा गुड्ने सवारी साधनलाई रत्नपार्क पुग्न डेढ घण्टासम्म लाग्ने गर्छ । केही दिनयता रिङरोडक्षेत्र भित्र कार्यालय समयमा मात्र नभई अन्य समयमा पनि जामको समस्या बढेको छ ।

प्रत्येक ट्राफिक चोक–चोकमा घण्टौसम्म जाम हुँदा सर्वसाधारण निकै हैरानी हुने गरेका छन् । सार्वजनिक यातायातका साधनमा झुण्डिएर यात्रा गर्ने सर्वसाधारण, एम्वुलेन्स र आकास्मिक सवारी साधनलाई जामले निकै सास्ती दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्ल भन्नुहुन्छ, जाम कहिल्यै नहट्ने रिङरोडभित्रको रोग नै भइसक्यो । अन्य दिनमा त्यतिकै पनि जाम हुने उपत्यकामा केही दिनयता राजनीतिक गतिविधिले झन् समस्या थपेको हो ।

राजनीतिक दलका कार्यकर्ताले विरोध प्रदर्शन र धर्ना कार्यक्रम सञ्चालन गर्दा सडक नै रोज्ने भएकाले जाम बढेको भनाई उहाँको छ । लैनचौरस्थित अस्कल र घण्टाघर अगाडि त्रिचन्द्र कलेज, प्रदर्शनी मार्ग र माइतीघर मण्डला अगाडिको सडक अवरुद्ध हुने बित्तिकै पुरै उपत्यकामा जाम हुने गरेको छ ।

जाम खुलाउन सडकमा तैनाथ ‘स्वयम सेवक ट्राफिक’ प्रवीण श्रेष्ठ भन्नुहुन्छ, चालक अनुशासित नभएसम्म २४ सै घण्टा सडकमा खटेपनि जामको समस्या सुल्झिदैन । बिहान नौवजेदेखि साँझ छ बजेसम्म रिङरोडभित्र निकै जाम हुने गरेको छ ।

जामका कारण ट्राफिक प्रहरीले सर्वसाधारणबाट गालीसमेत खाने गरेका छन् । ट्राफिक प्रहरी कन्ट्रोल–१०३ मा फोन गरेर जाम भयो, जाम खुलाउनु पर्‍यो, ट्राफिक प्रहरी सडकमा देखिएन भन्दै सूचना दिनुका साथै हप्काउने र गाली समेत गर्ने गरेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार उपत्यकामा दैनिक नौ लाखभन्दा बढी सवारी साधन गुड्ने गर्छन् । त्यसमा पनि धेरैजसो रिङ्रोड क्षेत्रभित्र प्रवेश गर्छन् । यतिका सवारी साधन एक्कासि बिहान नौ बजे सडकमा निस्कदा जाम हुने गरेको हो ।

महाशाखा प्रवक्ता मल्लले भन्नुभयो, जाम कम गर्न स्कुल बस तथा ढुवानीका सवारी साधनलाई बिहान नौ बजे अगाडि र साँझ चार बजेपछि चल्न नदिने तयारी भइरहेको छ । यसो गर्दा केही जाम घट्छ । ट्राफिक नियम तथा लेन अनुशासनमा पनि कडाइ गरिएको छ ।

ठुला खाले सवारी साधनभन्दा मोटरसाइकलका कारण पनि उपत्यकामा जाम अधिक हुने गरेको छ । उहाँका अनुसार हतार गर्ने, नियम पालना नगर्ने, जथाभावी रूपमा ओभरटेक गर्नेमा मोटरसाइकल चालक बढी छन् । त्यस्तैं, उपत्यकामा सडक क्षमताभन्दा सवारी साधनको सङ्ख्या बढी भएको छ । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको जनशक्ति १२ सयबाट बढाएर १४ सय पुर्याइएको छ । तर, पनि समस्या झन् बढ्दै गएको छ ।

ट्राफिक प्रहरीले जाम घटाउन चालकहरुलाई अनुशासित भएर लेनमा सवारी चलाउन र जथाभावी ओभरटेक नगरी दिन आग्रह गरेको छ । त्यस्तैं, एक व्यक्ति एक सवारी चलाउनु भन्दा एक परिवार एक सवारी सञ्चालन गर्न सुझाव दिएको छ ।

अञ्चल यातायात कार्यालय बागमतीका अनुसार, दसैँ र तिहारपछिमात्र काठमाडौँ उपत्यकाको लागि पाँच हजार वटा नयाँ सवारी साधन दर्ता भएका छन् । सवारी साधनको सङ्ख्या थपिने क्रमसँगै जाम पनि बढ्दै गएको हो । गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू