अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

असन्तुलित कूटनीति

बिआरटीनेपाल २०७३ कार्तिक २३ गते १२:४१ मा प्रकाशित

सामान्य अर्थमा कूटनीति भनेको राष्ट्र राष्ट्रका बिचको सम्बन्ध दक्षतापूर्वक सञ्चालन गर्ने राष्ट्रहरूको नीति हो । यो एक देश र अर्को देशको बिचमा चल्ने राजनीतिक सम्बन्ध पनि हो । अन्तर्राष्ट्रिय राजनीतिमा कूटनीतिलाई कुनै पनि देशको अन्य मुलुकलाई हेर्ने आँखा र सुन्ने कानको रूपमा स्वीकार गरिएको छ । तर आजकल कूटनीतिलाई समान्यभन्दा बढी विशेष रूपमा बुझ्ने र व्याख्या गर्न थालिएको छ । पछिल्लो समय कूटनीतिको अर्थ अन्तर्राष्ट्रिय राजनीतिक दाउपेच, व्यवहार, राजनैतिक चलाखी, आफूलाई चोखो र अरूलाई बिटुलो तुल्याउने वा देखाउने अन्तर्राष्ट्रिय राजनैतिक खेल, गुप्त चालबाजी वा विश्व राजनीतिलाई आफ्नो प्रभावमा पार्ने सीपको रूपमा बुझने गरेको देखिन्छ ।

विश्वव्यापीकरणको युगमा विश्व राजनीतिको घेरा साँगुरिँदो छ । एक देशको राजनीतिले अर्को देशको राजनीतिलाई प्रभाव पारिरहेको छ । जतिसुकै निरपेक्ष र तटस्थ रहन्छु भने पनि अन्तर्राष्ट्रिय राजनीतिबाट अब विश्वको कुनै पनि मुलुक अछुतो रहन सक्तैन । शक्तिशाली मुलुकहरू बिच विश्व राजनीतिलाई आफ्नो पक्षमा पार्न र शक्ति आफूमा केन्द्रित गर्न होडबाजी चलि नै रहेको छ । त्यसैले शक्तिशाली मूलकका लागि कूटनीतिको अर्थ अरू मुलुकलाई आफ्नो प्रभावमा पार्नु नै एकमात्र उद्देश्य भैसकेको छ ।

खासगरी बाह्य राजनीतिमा हस्तक्षेप गर्न चाहने देशका सन्दर्भमा कूटनीति अब सामान्यभन्दा विशेष अर्थ दिने भएको छ । शक्ति राष्ट्रहरुका बिच अरू देशलाई अल्मल्याउने र विश्व राजनीतिमा आफू सधैँ हाबी हुने चाललाई कूटनीति भनेर बुझिन्छ । हरेक देशको कूटनीति कुनै न कुनै रूपमा विश्वका शक्ति राष्ट्रहरुबाट प्रभावित हुन थालेको छ । यसको चपेटामा भने विकाशोन्मुख मुलुकहरू पर्ने गरेका छन् । त्यसैले यस्तो शक्तिको होडबाजीको कूटनीतिबाट असंलग्न रहँदै सबै राष्ट्रहरु बिच समदूरी कायम गरी सन्तुलित हुन सक्नु नै नेपाल जस्तो विकाशोन्मुख मुलुकका लागि कुटनीतिक सफलता हुन्छ । अहिले विकाशोन्मुख मुलुकका लागि विश्व राजनीतिमा आफ्नो हिस्सा सुरक्षित गर्ने विषय समेत चुनौतीको रूपमा देखिएको छ ।

कूटनीति अब राजनीतिक विषय मात्र रहेन । विश्वमा अब आर्थिक कूटनीतिले महत्त्वपूर्ण स्थान ओगट्न थालेको छ । जापान कोरिया जस्ता राष्ट्रहरु राजनीतिक कूटनीतिभन्दा पनि आर्थिक कूटनीतिका माध्यमबाट विश्वका गरिब मुलुकहरुलाई आफ्नो प्रभावमा पार्ने होडबाजीमा अगाडि बढिरहेका छन् । कतिपय युरोपियन मुलुकहरू समेत आर्थिक कूटनीतितर्फ आकर्षित हुन थालेका छन् । गरिब राष्ट्रमा आर्थिक सहायता र ऋणका माध्यमबाट आफ्नो कुटनीतिक प्रभाव विस्तार गर्न धनी राष्ट्रहरु लागि परेका छन् । यस्तो अवस्थामा नेपाल जस्ता विकसित मुलुकहरूले ती धनी राष्ट्रहरूको कूटनीतिक स्वार्थको प्रभाव आफ्नो देशमा कमभन्दा कम मात्र पार्न दिई आर्थिक सहयोगलाई चाहिँ बढीभँदा बढी भित्र्याइ सदुपयोग गर्न सक्नुपर्दछ । देशलाई गरिबीबाट माथि उकास्न धनी राष्ट्रको आर्थिक सहायताले ठुलो भूमिका खेल्छ । तर ती राष्ट्रहरूको कूटनीतिक प्रभाव मात्र नेपालमा बढ्दो छ । धनी मुलुकको त्यो कुटनीतिक स्वार्थबाट नेपालले लिन सक्नुपर्ने जति फाइदा लीनबाट नेपाल चुकेको छ ।

कूटनीतिमा समानता र सन्तुलनको प्रश्न कति जायज हुन्छ ? यो पस्न पनि आफैँमा विवादित छ । जति विवादित भए पनि यति चाहिँ स्पष्ट हो कि समान हैसियतका राष्ट्रहरु बिच कुटनीतिक हैसियत पनि समान हुनु जरुरी छ । हरेक राष्ट्रसँग स्वार्थ फरक हुने भएकाले धनी राष्ट्रसँग हामी कुटनैतिक प्रभावबाट मुक्त रहेर सम्बन्ध विस्तार गर्न सक्नुपर्छ । तर नेपाल यो अवस्थाबाट पनि चुक्दै आएको छ । खासगरी भारत प्रभावित कूटनीतिले हाम्रो कूटनीति अन्यौलग्रस्त छ । भारत र चीन हाम्रा दुवै छिमेकी हुन् । तर ती दुवै छिमेकी बिच समान व्यवहार हुन सकेको छैन र दुवै छिमेकीमध्ये चीनले बढी नेपालको आर्थिक समृद्धि र सहयोगतर्फ हात बढाएको देखिन्छ भने भारतले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न चाहेको प्रस्टै देखिन्छ । नेपालका नेताहरूले नै भारतलाई परोक्ष त्यो अवसर जुटाइदिएका छन् ।

नेपालको राजनीति जहिले पनि प्रत्यक्ष परोक्ष भारतसँग जोडिन्छ । ब्रिटिस इण्डियाको समयदेखि बेलायतमा आश्रित नेपालको राजनीति भारत स्वतन्त्र भए पछि भारत निर्भर हुन पुग्यो । सत्ता सङ्कट पर्दा लैन (तत्कालीन ब्रिटिस दूतावास) मा धाउने शासक अहिले पनि सत्ता धराप पर्नासाथ लैनचौर (भारतीय दूतावास) र दिल्लीसम्मको दौडधुप गर्ने गरेकै कारण नेपालको राजनीतिलाई हस्तक्षेप गर्ने भारतको आदत नै बनिसक्यो । नेपालको राजनीतिमा प्रभाव पार्न सक्नुलाई भारत कुटनीतिक सफलता मान्छ ।

नेपाललाई कसरी हुन्छ आफ्नो प्रभावमा राख्ने अघोषित नीति भारतले लिएको छ । तर नेपालसँग भने वैदेशिक मामिलामा कुनै स्पष्ट नीति छैन । खासगरी भारतको सन्दर्भमा नेपालको कुनै स्पष्ट अडान नै छैन । भारतसँगको सम्बन्धमा नेपाल सधैँ अल्मलिएको देखिन्छ । बरु नअल्मलिने चाहिँ के छ भने नेपालका हरेक नेता भारतका नेताहरूलाई खुसी पार्न चाहन्छन् । हरेक नेता भारत खुसी पार्न सक्नु र त्यहाँबाट आशीर्वाद पाउनुलाई सफलता ठान्छन् । देशको कुनै नीति नहुनु तर देशका नेताचाहिँ अर्को देशका नेता खुसी पार्न दौडधुप गर्नु भनेको नीतिविहीन नीति हो । यसलाई अन्धकार परराष्ट्र नीतिको संज्ञा दिन सकिन्छ ।

भारतसँग नेपालले कहिल्यै पनि समान हैसियत खोज्नै सकेन । एउटा सार्वभौमसत्तासम्पन्न मुलुकले अर्को मुलुकसँग गर्ने व्यवहारमा जबसम्म समानताको दाबी गरिँदैन तबसम्म कूटनीतिमा समानता हुँदैन । उदाहरणका लागि भर्खरै सम्पन्न भारतीय राष्ट्रप्रतिको नेपाल भ्रमणलाई लिन सकिन्छ । भारतीय राष्ट्रपति नेपाल आउँदा नेपालले जति महत्त्व दिइयो त्यति नै महत्त्व आसन्न नेपालका राष्ट्रपतिको भ्रमणमा भारतले देला ? पक्कै दिँदैन । न भारतका राष्ट्रपतिको भ्रमणलाई नेपालले दिएको झैँ महत्त्व नेपालका राष्ट्रप्रतिको भ्रमणलाई भारतले दिन्छ न भारतबाहेक अन्य देशका राष्ट्रपतिको नेपाल भ्रमण भएमा भारतका राष्ट्रपतिलाई झैँ नेपालले महत्त्व दिन्छ । यो असमानता किन ? हाम्रो कूटनीति कति असन्तुलित छ, यहीँबाट देखिन्छ ।

राष्ट्र सङ्घमा नेपाल भारत समान हैसियतका राष्ट्र हुन् । तर नेपालले संयुक्त राष्ट्र सङ्घमा आफ्नो प्रभावकारी भूमिका खोज्न सकेको छैन । भुटानको जस्तो घोषित भारतमा निर्भर परराष्ट्र नीति नभए पनि नेपाल अघोषित रूपमा भारतीय परराष्ट्र नीतिको एउटा हिस्सा बनेको सन्देश विश्वभर जाँदैछ । कतिपय पश्चिमा मुलुकहरूले आज नेपाललाई भारतीय आँखाले हेर्ने दृष्टिकोण बनाएका छन् । यो नेपालले राष्ट्र सङ्घमा प्रभावकारी भूमिका खेल्न नसक्नुको परिणति हो ।

कूटनीति एउटा कला पनि हो । हाम्रो कूटनीति कलाविहीन छ । राजदूताबासहरु अधिकांश समय खाली हुन्छन् । राजदूत नियुक्ति राजनीतिक भागवण्डाले ध्वस्त छ । पार्टी झन्डा बोकेकै भरमा कूटनीति नबुझेकाहरु राजदूत नियुक्त हुन्छन् र सरकार परिवर्तन हुनासाथ मन्त्री सरकारबाट फर्के जस्तो गरी फर्कन्छन् । अनि कसरी हात लाग्छ कूटनीतिमा सफलता ? अनि कसरी हुन्छ देशको स्थिर परराष्ट्र नीति ?

यो भन्न हिच्किचाउनु पर्दैन कि नेपालको कुनै स्पष्ट परराष्ट्र नीति नै छैन । विगतमा भन्ने गरिएको असंलग्न परराष्ट्र नीति पनि व्यवहारमा त्यस्तो छैन । भारतप्रति बढी नै झुक्ने र अरू देशसँगको कूटनीति भनेको आर्थिक सहयोग भित्र्याउने मात्र हो भन्ने जस्तो बुझ्ने सरकार भएसम्म नेपालको कूटनीति मस्त निन्द्रामा हुन्छ । अहिले कूटनीति भनेकै मात्र भारतसँगको सम्बन्ध हो जस्तो देखिन थालेको छ । नेपाल भारतसँगको कूटनीतिक सम्बन्धमा भुटान नै जस्तो भैसकेको त छैन तर अरू स्वतन्त्र राष्ट्रसँग हुुनुपर्ने जस्तो कुटनीतिक सम्बन्ध पनि भारतसँग हुन सकेको छैन । नेपालले चीनसँग सम्बन्ध विस्तार गर्दा पनि भारतले के प्रतिक्रिया दिने हो भनी डराइ चीनतिर हात बढाउनु परेको छ । यसले नेपालको कूटनीतिको तराजु असन्तुलित भएको प्रस्टै देखिएको छ ।

कूटनीति राष्ट्रिय हितको लागि हो । तर नेपाल भारत बिचको कूटनीतिले स्वतन्त्र देश नेपाललाई दिनप्रतिदिन भारत आश्रित गराउँदै छ । भारत निर्भरता झन् झन् बढाउँदै छ । भनिन्छ– समान संस्कृति भएका मुलुक बिच कूटनीतिक सम्बन्ध बढी सुदृढ हुन्छ । नेपाल भारत जस्तो समान संस्कृति र परम्परा भएका मुलुक बिच विश्व राजनीतिमा मात्र नभएर द्विपक्षीय सम्बन्धमा पनि समान एजेण्डा हुनुपर्ने हो । तर नेपाल भारत बिच त्यस्तो एजेण्डागत समानता छैन । भारत प्रभाव विस्तारमा छ । हामी भारतीय प्रभावबाट मुक्ति खोज्नुभन्दा बढी उसलाई खुसी पारेर देशको राजनीति चलाउने नीति लिइरहेका छौँ । यसले नेपाल भारत बिचको कूटनीतिमा मात्र नभएर विश्व कूटनीतिमा नै नेपाल असन्तुलित र असफल हुँदै गइरहेको छ ।

प्रतिक्रिया