अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

पूर्व युवराज्ञी हिमानी शाहको नाममा ठगी गर्ने पक्राउ

बिआरटीनेपाल २०७४ वैशाख २ गते ६:१६ मा प्रकाशित

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् । उनले १५४ सर्वसाधारणबाट करिब रु १४ लाख ठगी गरेको इप्रका, बिर्तामोडले जनाएको छ ।

आफू हिमानी ट्रष्टको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने हु वल्र्डवाइड एसोसिएसन, झापाको निर्देशक भएको बताउँदै संस्थाको विभिन्न पदमा जागिर लगाउने प्रलोभन देखाएर सर्वसाधारणबाट सो रकम ठगी गरेको बताइएको छ ।
पक्राउ परेका शाक्यले स्वीडेनको दातृ संस्थाबाट सञ्चालित हिमानी ट्रष्टका नाममा झापामा कार्यालय सञ्चालन गर्दैआएको र झापा, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारणबाट रकम ठगी गरेको इप्रका, बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।

हिमानी ट्रष्टद्वारा सञ्चालित हु वर्ल्डवाइड एसोसिएसन संस्था झापाको बिर्तामोडमा हिमानीले उद्घाटन गर्ने र सोही संस्थामा विभिन्न पदमा जागिर लगाइदिने आश्वासन बाँडेर उनले सर्वसाधारणलाई ठगी गरेको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो । इप्रकामा आफूहरू ठगिएको भन्दै सर्वसाधारणले उजुरी गरेपछि प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले ठगीमा संलग्न शाक्यलाई काठमाडौँस्थित उनकै घरबाट पक्राउ गरेको बताइएको छ । ठगी मुद्दामा जिल्ला अदालत, झापामा बिहीबार म्याद थप गरी शाक्यमाथि थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू