अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

भारतको नयाँ दिल्लीमा विश्व व्यापार सङ्गठनको अनौपचारिक मन्त्रिस्तरीय बैठक सम्पन्न

बिआरटीनेपाल २०७४ चैत ६ गते ९:५९ मा प्रकाशित

भारतको नयाँ दिल्लीमा मार्च १९ र २० मा आयोजना गरिएको विश्व व्यापार सङ्गठनको अनौपचारिक मन्त्रिस्तरीय बैठक विश्व व्यापार प्रणालीमा वार्ताको क्रममा रहेका विषय र नयाँ मुद्धाको सम्बन्धमा छलफल गरी सम्पन्न भएको छ । उक्त मन्त्रीस्तरीय सम्मेलनमा ४५ सदस्य राष्ट्रका वाणिज्यमन्त्री तथा उच्चस्तरका प्रतिनिधिहरू साथै विश्व व्यापार संगठका महानिर्देशकको सहभागिता रहेको थियो । उक्त बैठकलाई नेपालकोतर्फबाट सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय मातृकाप्रसाद यादवले विश्व व्यापार सङ्गठनलाई सबै सदस्य मुलुकहरूको निमित्त सान्दर्भिक र उपयोगी तुल्याउन ती मुलुकहरूको व्यापार र विकासको अवस्था अनुसार विशेष र फरक व्यवहारका साथै लक्षित कार्यक्रमहरू लागू गर्नुपर्ने भनाई राख्नु भयो । नेपाल जस्ता सीमित उत्पादन क्षमता भएका अतिकम विकसित भूपरिबेष्ठित सदस्य राष्ट्रहरूले विभिन्न प्रकारका गैर–कर अवरोधहरू सामना गर्नु परेको र केवल अरूको निमित्त निर्वाध बजार बनिदिनु परेको अवस्था बारेमा उल्लेख गर्दै माननीय मन्त्री श्री यादवले विश्व व्यापार प्रणालीमा सुधारका लागि विगतका विभिन्न बैठकमा भएका निर्णय र घोषणाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, विकासशील र अति कम विकसित मुलुकहरूको हित संरक्षण गर्न गम्भीरतापूर्वक कदम चाल्नु पर्ने, व्यापार सम्बन्धी नयाँ विषयहरू उठान गर्दा अतिकम विकसित देशहरूको निमित्त विशेष व्यवस्था गर्ने, यस्ता विषयहरू सहमतिका आधारमा अघि बढाउने, बहुपक्षीय व्यापार प्रणालीका विवाद समाधान लगायतका स्तम्भहरूको सम्वद्र्धन गर्ने र नियममा आधारित स्वतन्त्र र स्वच्छ विश्व व्यापार प्रणालीबाट साना–ठुला, धनी–गरिब सबै मुलुकहरूले समान किसिमले लाभ लिन सक्ने वातावरण सिर्जना गर्नुपर्ने विषयमा विशेष जोड दिनु भयो ।

बैठकमा मुख्य रूपमा यसअघि एघारौँ मन्त्रिस्तरीय बैठकमा निर्णय हुन नसकेका विषय र विश्व व्यापार सङ्गठनको विवाद निरूपण संयन्त्रमा सदस्य नियुक्तिको अवरुद्ध प्रक्रियालाई अघि बढाउने बारेमा विभिन्न मुलुकका उद्योग तथा वाणिज्यमन्त्रीहरुले आआफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको समापन गर्दै आयोजक राष्ट्र भारतका उद्योग तथा वाणिज्यमन्त्री श्री सुरेश प्रभुले सदस्य राष्ट्रहरूले उक्त बैठकमा व्यक्त गरेका बिचारहरूले विश्व व्यापार सङ्गठनका अनिर्णित र समाधान गर्न बाँकी रहेका विषयहरूलाई टुंग्याउन मार्गदर्शन प्रदान गर्ने र विश्व व्यापार सङ्गठनलाई सवलीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा सहभागी वाणिज्यमन्त्रीहरुलाई भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्री मातृकाप्रसाद यादवज्यूले प्रधानमन्त्री श्री मोदीज्यूसंग संक्षिप्त भेटघाट गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू