नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह गर्नुभएको छ । साथै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिनुभएको छ । आज मङ्गलवार एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उहाँले प्रधानन्यायाधीश एक्लै नभएर परमादेश गर्ने पाँचै जनाले राजीनामा गर्नु उपयुक्त होइन र ? भनेर प्रश्न गर्नुभएको छ ।
अदालतलाई मर्यादित र निर्विवाद बनाउनुपर्नेमा उहाँको जोड छ । एमाले अध्यक्ष ओलीले लोकतन्त्र र संविधानको रक्षा अहिलेको मुख्य दायित्व रहेको बताउनुभयो ।देशभरका पालिकामा नेकपा एमालेको अधिवेशन सुरु भएको छ । तीन दिनअघि वडा अधिवेशन गरेको एमालेले आज पालिकास्तरमा नेतृत्व चयनका लागि अधिवेशन गरेको हो । बाढी, पहिरो तथा डुबान प्रभावितबाहेक अरू पालिकामा आज एमालेले अधिवेशन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यसअघि वडा अधिवेशन पनि बाढी, पहिरो प्रभावित क्षेत्रमा रोकिएको थियो । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मङ्सिर १० गतेदेखि चितवनमा हुँदैछ ।