अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

नेपाल नजिक सर्दै न्यूनचापीय रेखा, सोमबार साँझदेखि वर्षा बढ्ने

बिआरटीनेपाल २०८१ साउन २० गते ८:४८ मा प्रकाशित

देशका कतिपय स्थानमा एकरदुई दिनयता सुक्खाजस्तो देखिएको छ । यो अवधिमा ठूलो क्षेत्रमा एकैपटक वर्षा नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको शुक्रबारयता ठूलो क्षेत्रमा वर्षा भएको छैन । भारी वर्षा पनि खासै भएको छैन । अब वर्षाको गतिविधि फेरि बढ्न लागेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । “केही दिनयता सुक्खाजस्तो भएको छ । वर्षा नै नभएको होइन, मध्यमदेखि भारीसम्म पनि वर्षा भएको छ,” उहाँले भन्नुभयो, “सोमबारसाँझबाट भने वर्षाको गतिविधि बढ्नेछ । बदली (आकाशमा बादल)बढ्नेछ ।” देशका धेरै स्थानमा सोमबार साँझदेखि वर्षामा वृद्धि हुने सम्भावना छ । आउँदो मंगलबार रातिसम्मै वर्षाको क्रम बढ्ने देखिएको अधिकारीले बताउनुभयो ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा क्रमशः उत्तरतर्फ अर्थात् नेपालनजिक सर्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । “मनसुनको न्यूनचापीय रेखा क्रमशः नेपालनजिक सर्दै छ । न्यूनचापीय रेखा नेपालनजिक हुँदा वर्षाको गतिविधि बढ्ने हुन्छ,” अधिकारीले भन्नुभयो।

न्यूनचापीय रेखा नेपालनजिक हुँदा वर्षा मात्रासँगै क्षेत्रगत रूपमा पनि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । “मंगलबार रातिसम्म केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ,” उहाँले भन्नुभयो, “बुधबारका विषयमा भोलि (सोमबार बिहान)जानकारी गराउँछौँ ।” महाशाखाले आइतबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनको ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श’मा उल्लेख छ, “सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।”

कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई हल्कादेखि ‘मध्यम’ र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू