अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी

बिआरटीनेपाल २०८१ वैशाख ६ गते ७:५० मा प्रकाशित

पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी भएको छ । चर्को गर्मी र सुख्खापनले अफ्रिकाको जनजीवन निकै नाजुक अवस्थामा पुर्‍याएकाे एक अध्ययन रिपोर्टलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।मार्चको अन्त्य र अप्रिलको शुरुमा पश्चिम अफ्रिकाका धेरै देशको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । रातमासमेत अत्यधिक गर्मी हुँदा मानिस झन धेरै प्रभावित भएका छन् । विश्व मौसम एट्रिब्युसन डब्लुडब्लुएको रिपोर्टअनुसार माली र बुर्किनाफासोमा तापक्रम यति धेरै बढेको छ कि यो दुई सय वर्षमा एक पटक हुने घटना हो ।

पश्चिम अफ्रिकामा मार्चको अन्तिम र अप्रिलको सुरुको गर्मीले सयौँ र सम्भवत हजारौँ जनाको ज्यान गएको हुन सक्ने डब्ल्यूडब्ल्यूएले जनाएको छ । मालीको राजधानीमा रहेको ग्याब्रिएल टुर अस्पतालले अप्रिलको पहिलो चार दिनमा एक सय दुई जनाको ज्यान गएको बताएको छ । त्यहाँ पछिल्ला केही दिनदेखि अधिकतम तापक्रम ४८ डिग्री सेल्सियसम्म पुगेको छ । अस्पतालका प्रमुख डाक्टर जिबो महामने जाङ्गोले असाधारण अवस्थाको सङ्केत देखिरहेको बताउनुभएको छ । अफ्रिकाका धेरै क्षेत्रमा चरम खडेरीले बालीनाली उब्जन छाडेको र पशुपंक्षीसमेत मरेका छन् । स्वच्छ खानेपानीको अभावले धेरै देशमा हैजालगायतका रोगको प्रकोप बढेको छ ।

डब्ल्यूडब्ल्यूएका तथ्याङ्कविद् क्लेयर बार्नसले अत्याधिक जिवाश्म इन्धनको प्रयोगका कारण औद्योगिक क्रान्तिको समयमा भन्दा पनि अहिले अवस्था खराब गइरहेको बताउनुभएको छ । विश्वको औसत तापक्रम अहिले पूर्व औद्योगिक समयको तुलनामा १ दशमलव २ डिग्री सेल्सियसले बढी भइसकेको छ । यदि विश्वव्यापी तापक्रम २ डिग्री सेल्सियससम्म पुग्यो भने हरेक २० वर्षमा शक्तिशाली गर्मीको लहर आउने वैज्ञानिकले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू