अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

इजरायली आक्रमणका कारण सहायता समूहहरूले गाजामा कार्यक्रम रोक्न थाले

बिआरटीनेपाल २०८० चैत २२ गते ८:३२ मा प्रकाशित

इजरायलको आक्रमणमा परेर सातजना सहायताकर्मी मारिएपछि सहायता संस्था वर्ल्ड सेन्ट्रल किचेनसँगै अरु विभिन्न संस्थाले गाजामा सञ्चालन भईरहेका सहायता कार्यक्रम धमाधम स्थगित गर्न थालेका छन् । गाजामा सहायता सामग्री उपलब्ध गराईरहेको अमेरिकी परोपकारी संस्था, एनेराले पनि आफ्नो स्थानीय कर्मचारी र उनीहरूका परिवारहरूले सामना गरिरहेको बढ्दो जोखिमको कारणले काम स्थगित गरेको बीबीसीले जनाएको छ । गाजामा यी दुई संस्था मिलेर हप्तामा २० लाखका लागि खानाका सेवा दिईरहेका थिए ।

यसअघि संयुक्त राष्ट्रसङ्घले इजरायलले सहायता वितरणमा लगाएको प्रतिबन्ध र निरन्तरको आक्रमणका कारण क्षेत्रको आधा जनसङ्ख्या अर्थात १० लाखभन्दा धेरै मानिस भोकमरीमा फसेका जनाएको थियो । सहायता संस्थाहरुले काम रोक्न थालेपछि गाजापट्टीका धेरै प्यालेस्टिनीहरूले आफ्नो परिवारलाई कसरी खुवाउने भनेर चिन्ता व्यक्त गरेका खबरमा उल्लेख छ ।

गाजाबासीले सामना गरिरहेका भोकमरीको समस्या विकराल हुँदै जाने राष्ट्रसङ्घले चेतावनी दिइसकेको छ । गएको अक्टोबरमा इजरायल र गाजाबीच युद्ध शुरु भएदेखि अहिलेसम्म १ सय ९७ जना सहायताकर्मीले ज्यान गुमाएका खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू