अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

बिआरटीनेपाल २०८० चैत २० गते ७:०६ मा प्रकाशित

गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले बताएका छन् । ‘मानिसहरूलाई उपचार गर्न र अस्पतालको अवस्था बुझ्न मद्दत गर्न सकियोस् भनी हामी जतिसक्दो चाँडो अस्पताल जाने योजना बनाइरहेका छौँ,’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भनेका छन् ।

यसैबीच मध्य गाजास्थित अल अक्सा अस्पतालमा आइतवार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को एक टोलीले मानवीय सहायता अभियान सञ्चालन गरिरहेको बेला अस्पताल परिसरभित्र रहेको शिविरमा इजरायली हवाई आक्रमण भएको थियो । घटनामा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

उनले इजरायली रक्षा बलले अल शिफा अस्पताल परिसर खाली गरेको भन्ने समाचार आएपछि यो कदम चालिएको बताएका हुन् । इजरायली सरकारबाट द्वन्द्व कम गर्न र उचित सुरक्षा आश्वासनको प्रतिक्षा डब्लूएचओले गरिरहेको प्रवक्ताले बताएका छन् । डब्लूएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयेससका अनुसार उनीहरूले प्राप्त गरेको सूचना निकै निराशाजनक रहेको दुजारिकले बताए ।

प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लूएले गाजा प्रवेश गर्ने मानवीय सामग्रीको परिमाणमा कुनै उल्लेखनीय परिवर्तन नभएको वा उत्तरमा पहुँचमा सुधार नआएको जनाएको छ । मार्च १ देखि ३० सम्म दैनिक औसत १५९ सहायता ट्रक गाजा प्रवेश गरेका छन् । बिहीवार सबैभन्दा बढी २६४ ट्रक गाजामा प्रवेश गरेका थिए । यो दैनिक ५०० ट्रक सञ्चालन लक्ष्यभन्दा निकै कम रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू