अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता: प्रमुख रेनु दाहाल

बिआरटीनेपाल २०८० फागुन ४ गते १६:५० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्व कप खेल्ने खेलाडीको खोजी गर्न विद्यालय स्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ ।

शुक्रवार भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालय स्तरीय क्रिकेट लिग प्रतियोगिता समारोहलाई सम्बोधन गर्दै उहाँले महानगरको एक मात्र उद्देश्य विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने रहेको स्पष्ट पार्नुभयो।

‘चितवनले यसअघि विश्वकप खेल्ने खेलाडी उत्पादन गरी सकेको छ’,उहाँले भन्नुभयो,‘विद्यालय स्तरबाटै खेलाडी छनोट गर्दा उच्च सम्भावना रहन्छ । विद्यालय स्तरीय प्रतियोगिताबाट लुकेका प्रतिभालाई बाहिरा ल्याउन मद्दत पुर्‍याउँछ ।’

प्रमुख दाहालले देशमा भएको आर्थिक मन्दीका कारण दुई चरणमा निर्माण गर्ने गरी रङ्गशालाको निर्माण कार्य अगाडि बढाउन लागेको स्पष्ट पार्नुभयो ।

पहिलो चरणमा तत्कालै खेल्न मिल्ने गरी खेल मैदान, प्याभिलियन, टावर र १५ हजार अट्ने प्याराफिट निर्माण हुने र अर्को चरणमा बाँकी रहेको सबै काम हुने प्रमुख दाहालको भनाई छ ।

बागमती सरकारले रु ५३ करोड बजेट सुनिश्चित गरिसकेको र सङ्घीय सरकारले पनि यही अनुपातमा चालु वर्षमा बजेट विनियोज गर्नेमा विश्वस्त रहेको प्रमुख दाहालले बताउनुभयो ।

अबको एक हप्ताभित्र रङ्गशाला निर्माणको टेन्डर आह्वान गर्ने तयारीका साथ कामलाई अघि बढाएकाले छिटै निर्माणको काम सुरु हुने उहाँको भनाई थियो ।

‘भरतपुर महानगरपालिका खेलकुदको हबको रूपमा विकास हुँदै गएको छ’,उहाँले भन्नुभयो,‘विशेष गरी क्रिकेटको खेलको हब नै भइसकेको छ । भरतपुरमा दैनिक जसो राष्ट्रिय स्तरको खेलकुद भइरहेको छ। नेपालको क्रिकेटको भविष्य राम्रो छ ।’

बागमती प्रदेशको आयोजनामा फागुनमा हुने खेलमा ४९ जिल्लाबाट ५ हजार भन्दा बढी खेलाडी र प्रशिक्षकहरू भरतपुर आउन लागेकाले भरतपुर खेलकुदमय हुने उहाँले जानकारी दिनुभयो ।

सन् २०२७ मा नेपालमा हुने यु १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा खेलाउने गरी महानगरले तयारी गर्ने र त्यसको समन्वय गर्न सङ्घीय सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्यानलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले भरतपुर महानगरपालिकाले विद्यालयदेखि विश्वकपसम्म भन्ने नाराका साथ लिगको आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो।

रङ्गशालाको निर्माणकाको लागि राष्ट्रिय खेलकुद परिषद् सकारात्मक रहेको र त्यसका लागि थप प्रकृया अघि बढाउने बताउनुभयो । यस्तै नेपाल क्रिकेट एशोसियसन (क्यान) का केन्द्रीय सचिव पारस खड्काले सन् २०२७ मा हुने यु १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको लागि गौतम बुद्ध क्रिकेट रङ्गशालामै प्रशिक्षण गर्न सकिने उल्लेख गर्नुभयो । यो विषयमा क्यान एकदमै सकारात्मक रहेको सचिव खड्काले बताउनुभयो ।

लिग प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी १० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शुक्रवारदेखि लिग चरणको नकआउट खेल सुरु भएको छ ।

प्रत्येक शुक्रवार र शनिवार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा क्रिकेट एसोसिएसन चितवनको प्राविधिक सहयोग रहने छ भने एक्सपोर्ट एजुकेसन एण्ड भिसा सर्भिसले प्रायोजन गरेको छ । प्रतियोगिता ३ महिनासम्म चल्ने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू