अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा

बिआरटीनेपाल २०८० माघ १५ गते ५:०५ मा प्रकाशित

मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । टाइब्रेकरमा मनाङका लागि रणदिप पौडेलले प्रहार गरेको नवौं पेनाल्टी जाउलाखेलका गोलरक्षक युनेश चौधरीले बचाए र टिमलाई सेमिफाइनल पुर्‍याए ।यसअघि  निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि थपिएको अतिरिक्त समयमा कुनै गोल भएन र खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

थपलियाले सुदीप श्रेष्ठबाट प्राप्त पासलाई पेनाल्टी बक्समा हल्का अघि बढाउँदै प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मनाङका किपर जियारथ शेखले बल बचाउने कुनै अवसर नै पाएनन् ।तर, खेलको अन्तिममा आएर मनाङका राजेश परियारले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले ८९ औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।खेलको अन्तिम मिनेटमा परियारले बायाँ साइडबाट सिधै विपक्षीको बक्समा क्रस गरेका थिए । तर, बल सिधैं पोस्टभित्र छिर्दै गोलमा परिणत भयो ।

त्यसअघि पनि दुवै टिमले पटकपटक आफूले पाएको अवसर सदुपयोग गर्न सकेनन् । खेलको ७२ औं मिनेटमा निराजन धामीले परियारको पासमा बक्सको एजबाट हानेको ओभरहेड किक क्रसबारमा लागेर फर्किएको थियो ।

खेलको २८ औं मिनेटमा जावलाखेलले पाएको फ्रिकिक मनाङका गोलरक्षक जियारत शेखले उत्कृष्ट बचाउ गरे । कप्तान विशाल तामाङले बायाँ क्षेत्रबाट हानेको प्रिकिक रियाजले सिंगल पञ्च गर्दै बचाए । रिबाउन्ड बललाई सुनिल खड्काले बक्सबाहिरबाट प्रहार गरेका थिए । तर, बल टार्गेटमा पर्न सकेन । त्यसअघि ९ औं मिनेटमा जावलाखेलका खेलाडीले प्रहार गरेको बल विपक्षीको गोलपोस्ट बारमा लाग्दै बाहिरिएपछि सुरुमै अग्रता लिने सुन्दर अवसर गुमाउनु पुग्यो ।

प्रतिक्रिया